पुरानो छानो भत्काएर त्यसैसँग सटेको देख्दा नौलो लाग्ने कुटी निर्माण गरियो। त्यो घरकुटी पहिलेको भन्दा राम्रो बनाउने खोज्ने प्रयास गरेकै हो।
पुरानो छानोले जहानलाई ओत लाग्न नपुग्ने भयो। हिउँदमा शीत तप तप चुहिने, वर्षामा पनि गर्मीमा हावाहुरी आदिले परिवारको बिचल्ली पार्थ्यो। परिवारको संख्या बढ्दै थियो।
नानानानी हुर्कदै थिए, सुत्ने कोठा अलि साँघुरो पर्न थाल्यो, भनेर सकिनसकी जीवनभरको रगत पसिना चुहाएर र ऋण सापटी गरेर नौलो छानो ओत लाग्ने ओढार बनाउने भरपूर जोहो गरेर जेनतेन सानो कुटी (गुफा) निर्माण गरियो।
मेरो सानो संसार त्यसैमा सुख शान्तिका साथ रमाउने यो जुनि जिउने प्रण गरियो। रुखोसुको गाँस एकछाक आधा पेट खाएर पनि सन्तोष सन्तुष्टिले स्वर्गको अनुभूति हुनेछ भन्ने प्रम अभिलाषा थियो।
अहिले हिउँदमा शीत तप तप चुहिन्छ। गर्मीमा हावाहुरी, त्योसँगै आएको असिना पानी वर्षात् याममा छानो चुहिने पीडाबाट मुक्त हुन सकिएन। आफैले बनाएको घरपनि कस्तो कच्चा बनाएको रहेछु भनेर पुर्पूरोमा हात लगाएर एक्लै टोलिन्छु। त्यसो होला सोचेको कदापि थिइनँ।
असिम पीडाबाट सधैंका लागि सम्पूर्ण परिवारलाई ओत लगाउने अभिप्राय थियो। त्यो किन कसरी हुन गयो? आज अपसोचमा छु। घर बनाउने डकर्मी पनि अनुभवी सिपालु थिए। ठेक्का लिने ती डकर्मी परिचालन गर्ने मानिस अनुभवी विदेशी थिए।
पाकिस्तान, बंगलादेश, म्यान्मा, ताइवान, अफगानिस्तान, सिरिया, कङ्गो, इराक, जस्ता देशमा ठूल्ठूला घर भत्काउने र बनाउने अनुभव हासिल गरेका अनुभवी निर्माण व्यावसायी थिए। सायद त्यसले कहीँ गडबडी गरेका त होइन?
सबै दोष ती ठेक्का लिने मानिसको टाउकोमा थोपर्ने कुरा पनि सही होइन किनकि मेरो घर बनाउने काम जिम्मेवारी मेरो पनि थियो। त्यतिबेला नै म सचेत हुनुपर्ने थियो, आज पछुतो मान्ने, आत्मग्लानी सर्वस्व हरण हुने थिएन होला।
आफ्नो आधा जीवन र ७० वर्षदेखिको पैत्रिक सम्पत्ति त कमाएको कमाइ सबै स्वाहा: न घरको न घाटको अवस्था सिर्जना भएको छ। घरमा दिनहुँ झैँझगडा चलिरहेको छ।
सम्पूर्ण परिवारको विचल्ली भएको छ। यस्तो घर किन बनाएको बरू पहिलेकै बाट गुजारा चलेको थियो, कमसेकम ऋण लागेको त थिएन। विश्वासघातले नानीदेखिको बल बुद्धि शक्ति आर्जन सबै घर बनाउँदै खतम भयो। अब उर्जा कम हुँदै छ। सपनाहरू सबैभन्दा हावाले उडाएर लग्यो।
त्यतिबेला कम गुणस्तरीय सामान प्रयोग गर्दा मलाई थाहा भएन। मैले ती विदेशी मित्रमाथि ठूलो विश्वास गरेँ। उनको पेशा नै अधिक फाइदा कमाउने नीति रहेछ। आज आएर बल्ल चेतको ढकन खुल्यो। अब घर बनाउने आर्थिक हैसियत मसँग छैन।
शारीरिक रूपमा पनि आधा उर्जाशील जीवन बेथित भैसकेको छ। सहारा साहयता साथ-सहयोग अब छरछिमेकमा विश्वास गर्न छोडेँ। आफ्नै परिवार समाजबाट अपहेलित हुनुपर्दो रहेछ। छन् गेडा सबै मेरा छैनन् गेडा सबै टेढा जस्तै रहेछ।
अरूलाई दोष दिएर उम्कने चेष्टा कदापि उचित होइन, गल्ती मेरै थियो। खुसीमा धेरै मात्तिने, दु:खमा धेरै आत्तिने बानी सबैभन्दा खराब रहेछ। जुनबेला ताकत थियो कसैलाई मान्छे भनिएन। दुई कौडी कमाइ के गरेको थिएँ, कसैलाई मान्छे नै गनिएन।
सबैभन्दा ठूलो विश्वास हो। विश्वास नै रहेन। विश्वास गर्दा विश्वास दिँदा दुवैतर्फबाट विश्वासघात हुनुपर्ने वातावरण निर्माण गर्दा आज मेरो घर चुहिने भएको छ। बरू पुरानै घर ठिक थियो। आफ्नै गाउँका आफ्नै नेपाली डकर्मी कालिगडले बनाएको परम्परागत पगोडा शैलीको घर नै राम्रो रहेछ।
पक्कै आधुनिक घरको नाममा आज मेरो सर्वस्व चीर हरण भएको छ। साहुको ऋणले टाउकामा भएका रौं जति तिर्नु पुगेको छ। घाँटी हेरी हाड निल्नु भनेको साँच्चै रहेछ। अर्काको देखासिकी गरियो। अर्काको लहैलहैमा लागियो भएको खाइ नखाई रगतपसिना बगाएर कमाएको धनसम्पत्ति सबै बालुवामा पानी भएको छ।
गाईको थुनमा पनि दूध छैन अनि बाछाबाछीको मुखमा पनि दूध छैन। आज बाछाबाछी भोकै छन्। उपचार छैन, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा, अमनचयन र निद्रा हराम भएको छ।
फेरि घर भत्काउने हो भने परिवारलाई साँझ बिहान छाक कसरी काट्ने, लाज कसरी ढाक्ने? मागेको लुगाले लाज ढाकिदैन, लाज छोपिदैन। परिवारलाई राम्रो लुगा लगाउने मिठो मसिनो खाने खुवाउने रहरै छ। आर्थिक आयआर्जन जोहोको उपाय छैन।
बुवा-बाजेको पूर्खौली सम्पत्तिलाई सदुपयोग गर्न सकिएन, खेतीयोग्य जमिन बाँझै छ। केही बेच्दै खाँदै गर्दा आज चौतर्फी असफलता हात लागेको छ। सानोतिनो ठाकठुके राजनीति गर्न रूचि थियो। साथीहरूको लहैलहैमा लागेर विदेशी पार्टी दर्शन, तिनले प्रतिपादन गरेको राजनीति दर्शन नैतिकता सिद्धान्त आदर्शको बारेमा रट्टा लगाउन लगाइयो।
परिवर्तन गर्न खोजिएको थियो, म परिवर्तन भइनँ, मेरो शैली बानी बेहोरा आचरण परिवर्तन गर्न सकेनन्। खाली सिद्धान्त राजनीति दर्शनको पाठ सिकाएर सिकेर आफैले आफूलाई ठूलो नेता भएको दाबी गर्दै हिडेँ। जहाँ गए जयजयकार भयो।
सबैले फलानो नेता आयो भनेर मान सम्मान गर्न थाले। तिनीहरुले मेरो विश्वास गर्न थाले तर मैले तिनीहरुलाई बेवकुफ बनाएको थिएँ। मैले आफ्नो स्वार्थ पूर्ति गर्नुपर्ने थियो। विदेशी राजनीति दर्शन र पथ देखाउने दाँत मात्रा थियो। भित्री मनसाय भ्रष्टाचार गर्ने, अकूत धन आर्जन गर्ने, विलासी जीवन बिताउने थियो।
आज तर बैराग लाग्छ, त्यो नियत उदाङ्गो हुँदै गएको छ। आज मेरो परिवार समाजले पत्ता लगाउन थालिसकेको छ। मेरो भित्री मनसाय कुकर्म भ्रष्ट आचरण पराधीन चाकरी परिवारप्रतिको बेवास्ता लाचारी सबै बाहिर आउन थालेको छ।
मेरा सहयोगीलाई पत्ता लागिसकेको छ। यो बदमासी गर्छ, विदेशीको इशारा चल्छ, कठपुतली हो भनेर। मेरो पुरानो घर नै भत्काएर नयाँ घर नै विदेशीले बनाइदिएको कुरा यिनीहरूलाई के थाहा? मनमनै गुनगुनाउने गर्थेँ।
मेरो घर बस्न लायक छैन। सबै ऋतु छल्न भरपर्दो ढंगको घर पनि छैन। अझै पनि म विदेशी मित्रलाई खुसी पारेर अहिले बनेको घर पनि भत्काएर अर्को चुहिने घर बनाउने तयार छु। अर्को कुनै कसैले विश्वमा वाद सिद्धान्त प्रतिपादन गरेछ भने म त्यसको अनुसरण गर्न तम्तयार छु।
जस्तैः पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्र अभ्यास गरे जस्तो त्यस्तै गर्न लागु गर्न तयार छु।
म घर परिवर्तन गर्न चाहन्छु तर घर किन परिवर्तन गर्ने? पुरानो घरले मेरो परिवारलाई ओत लाग्न पुगेको समस्याबाट सदाको लागि मुक्त गर्न चेतिएको पक्कै छैन। किनकि जति घर बनाए पनि विदेशी ठेकादारलाई दिन तयार छु।
उनीहरूले आफ्नो देशमा राम्रो घर बनाएकोले उनीहरूलाई धेरै अनुभव छ, यो मेरा सुझबुझ हो। म परिवर्तनकारी क्रान्तिकारी हुँ। म जे गर्छु सही गर्छु, मेरो काममा अड्चन कसैले हाल्न पाइदैन।
जति दु:ख, कष्ट, सास्ती, नर्कको जीवन जिउन बाध्य आफ्ना ती विदेशीलाई धेरै विश्वास गर्दा तिनैले पटक-पटक धोका गर्दा पनि म कति पनि चेतिएन। आफ्नोको सल्लाह सुझाव मत केही मानेन, फेरि पनि पनि नतमस्तक छु।
म नाङ्गै छु तर लुगा लगाएको जस्तै लाग्छ। म निर्वस्त्र हुँदै गर्दा मेरा अहित चिताउनेले आहा! लुगा कस्तो सुहाउँदो रहेछ भन्दा म रमाएँ। दुनियाँ हाँस्दैछ, ती मेरो बखान गरेर हाँस्दैछन् जस्तो लाग्यो। मलाई थाहा भएन म नाङ्गै छु, त्यसैले हाँसेका रहेछन् भनेर कहिल्यै आफ्नो नाङ्गो शरीर हेर्न समेत हेरिनँ।
हुन त कसले सोच्छ आफ्नो घर चुहिने होस्, हावाहुरी बतासले ढल्ने होस् भनेर। कसैले केही गर्छ भने उसले पहिला आफ्नो फाइदा हेरेर गर्छ। मैले आफ्नो क्षणिक निहित स्वार्थ र फाइदा हेरेँ। आफूलाई धेरै चतुर भएको सम्झेँ तर ऊ आफ्नो फाइदा हेर्ने गर्थ्यो।
घरको नक्सा कस्तो बनाउने, कति खर्च लाग्छ, छानो कस्तो लगाउने, कति कोठा बनाउने, झ्याल ढोका के-कति राख्ने मेरो आर्थिक क्षमताले बनाउन सम्भव छ वा छैन यो पहिले तय निधो मेरो बुद्धि विवेकले गर्नुपर्ने थियो। अहिले न्याउरी मारी पछुतो हुँदा पनि म अर्काको लहैलहैमा लागेर आफ्नो भविष्य अन्योलग्रस्त अनिश्चितता अनिष्टताको ठूलो भासमा छिराउने कोशिश गरेँ, गर्दैछु।
दु:ख पाई मंगले आफ्नै ढंगले भने झैँ भएको छ। मैले आफ्नो विश्वास आफै नगर्नु, परिवारका बाँकी सदस्यको कुरा नमान्नु, हठी अहमता घमण्ड अहंकारले गर्दा मेरो अकर्मण्यताको कारण आज मेरो सम्पूर्ण परिवारजनले साह्रै दु:ख पाएका छन्। यो मलाई थाहा छ तर म सुध्रनु पर्ने दु:खद कुरा कुकुरको पुच्छर बाङ्गोको बाङ्गै।
म जात परिवर्तन गर्न आफ्नो सनातन धर्म मौलिकता सांस्कृति मेट्न उद्धत रहेँ, राष्ट्र भाषा राष्ट्रिय भाषा देशको झण्डासम्म बदल्न तयार भएँ, देशको नाम समेत बदल्न तयार भएँ।
आफ्नो आमाको माया बिर्सन तयार भएँ तर म आफूलाई परिवर्तन गर्न सकिनँ। मेरो पुरानो घर भत्काउन तयार भएँ तर मेरा कुकर्म भत्काउन तयार भइनँ, हुन सकिनँ।
आफूलाई आफ्नो मातृभूमिप्रति आफ्नो परिवारप्रतिको जिम्मेवारी इमान्दारी, बफादारी, कर्तव्यबोध रत्तिभर गर्न सकिनँ। सधैं असफलता अन्योलमा षड्यन्त्र फोहोरी खेलमा रमाउन मात्रै जानेँ। परिवारले पाएको पीडाबाट मुक्त गर्ने भन्दा नकारात्मक कोशिश गरिरहेँ।
घर त निर्जीव बस्तु न हो। आफ्नो घर कस्तो बनाउने भन्ने हामी, म सजीव प्राणीको भूमिका महत्त्वपूर्ण हुन्छ। घर चुहिने भयो भनेर भाग्यलाई दोष देखाउने धिक्कार्ने कोशिश गरेँ। त्यो घर चुहुनुको मुख्य कारण पत्ता लगाउन सकिएन, नचुहिने बनाउन सकिनँ। म पूर्णरूपमा असफल भएँ। सम्पूर्ण परिवर्तनको बाधक म स्वयम आफै थिएँ।