बाटोभरि नानाथरी मानिसका विभिन्न रुप र चालहरु क्यामेरा रुपी आँखामा कैद गर्दै कार्यालयको ढोका पुग्न नै लाग्दा चिल्लो गाडीमा कालो चस्मा ढल्काएर हट्टाकट्टा मेरो हाकिम आइपुग्छन्।
उनीलाई देख्दा यस्तो लाग्यो कि नेपालका जुनसुकै हिरो पनि उनको अगाडि जिरो छन् भने म त विचरो बबुरोको तुलना उनीसँग गर्ने कल्पना पनि गर्न सकिनँ।
हाकिमलाई कार्यालय पुग्ने बित्तिकै मैले बनाएको चिया बिना उनको काम सुरु नहुने भएकोले म हतार हतार कार्यालयको भान्छा भित्र छिरेँ। दूध उमालेर चिनी चियापत्ती हाल्दा हाल्दै मनमा एउटा कुरोले सताइरह्यो।
म चार कक्षा पढ्दै थिएँ त्यतिखेर। मेरो आमा ज्वरो आएर बित्नु भयो। बाले अर्की आमा ल्याए। कक्षाको प्रथम हुनी मान्छे, सरहरुको आँखाको तारा, साथीभाइको नजरमा ठूलो मान्छे, स्कुल छोडेर मेलापात जानुपर्यो। सायद पढ्न पाएको भए म पनि हाकिम हुन्थेँ होला।
त्यो कुर्चीमा बस्थे होला। सुकिला लुगा हुन्थे होला भन्ने लाग्यो। आफ्नो चप्पल हेरें अनि हाकिमको जुत्तासँग कल्पना गर्न थालेर एक्लै भुटभुटिन थालें। कल्पनामा डुबेर आधा चिया उम्लेर पोखिएछ। अभागीलाई चिया पनि खान लेखेन सोचेर हाकिमलाई चिया लिएर गएँ।
एकदिनको कुरो हो, म हाकिमको घर जानि सौभाग्य प्राप्त गरें। घर राजामहाराजको भन्दा कम थिएन। गाडी घोडा उस्तै अनि गमलामा फुलहरु देख्दा संसारभरिमा आउनी वसन्त त्यही घर भित्र आए जस्तो लाग्यो। भित्र सजावट उस्तै थियो।
सायद मेरो कल्पनामा स्वर्ग त्यही नै थियो। हाकिमकी श्रीमती अप्सरा जस्ती। हुन त लोग्ने मान्छेलाई अर्कैको श्रीमती राम्रो लाग्छ भन्छन्। मलाई हाकिमकी श्रीमती साह्रै राम्री लाग्यो।
त्यस्ती श्रीमती हुनी भने घर पनि गइराखौं हुन्छ होला जस्तो लाग्यो अनि उत्तिनै खेर आफ्नी श्रीमतीको नराम्रो रिसाएको अनुहार कंस जस्तै अनुभूति भयो। कताको हिरा कहाँको झुसिल्किरा भन्नि सोचेर मनलाई अर्को तर्फ मोड्न थालें। उसको छोरो हेरेँ अनि सोचेँ 'अहो! कति भाग्यमानि मोरो रहेछ। यत्रो सम्पतिको मालिक दु:खकष्ट नगरी बाउको सम्पत्तिमा राज गर्नी भो।'
अनि आफ्नो छोरो सम्झिएँ। अघिसम्म आफ्नी श्रीमती देखेर दिक्क लागेको मलाई अहिले आएर म आफूलाई नै देखेर दिक्क लाग्यो। छोरोले गर्वका साथ मेरो बा यस्तो उस्तो भन्न पनि पाउदैन। स्कुलबाट फर्किने बित्तिकै डोको लिएर घाँस काट्न जान्छ। राम्रो स्कुल पनि पढ्न पाएन। मिठो खाना खान चाडपर्व कुर्नुपर्छ। सम्पत्तिको नाममा एउटा कटेरो छ। मेरो छोरो पनि अभागी नै हो।
त्यो दिनदेखि झन् दिनप्रतिदिन आफू प्रति घृणा जाग्दै गयो। घर गएपछि पनि हरेक चिज मन नपर्न थाल्यो। विस्तार विस्तारै अरु सबैको जिन्दगी सहज राम्रो अनि आफ्नो बेकार लाग्दै थियो।
एकदिनको कुरो हो। म हाकिमको कोठा छिर्ने लाग्दा झलक्क मेरा आँखाले हाकिम निराश भएर बसेको देखेँ। यिनी पनि निराश? म त अचम्म परें। यिनलाई के पुगेन? मन भित्र खुल्दुली लाग्दै थियो। तर सोध्न मन लागेन। हुन त उनी हाकिम, म प्युसो सोधेर पनि उत्तर पाउनुभन्दा अरुको निजी मामिलामा दखल पुर्याएर गालीको वर्षात हुन सक्छ भनेर चुप रहनु बेस लाग्यो।
'यसै पनि हाकिम मै ठूलो हुँ भन्ने भान छ। ह्या सोद्धिनँ।'
त्यो दिनदेखि लगातार हाकिमलाई दुखी नै देख्न थालें। सोध्ने आँट पनि आएन। काममा पनि त्यति रुची लागे जस्तो लागेन।
यसरी उनीप्रति मेरा नजर झन् पर्दै गयो।
एकदिन हाकिमले मलाई बोलाएर भने 'वीरबहादुर, आज म यही कार्यालयमा बस्छु, तिमी पनि बस। खानपिनको व्यवस्था गर।'
मैले नाई भन्न सक्ने हैसियत राख्न सकिनँ। यसै पनि म हाकिमको चियोचर्चो गर्ने एक नारदमुनि नै भैसकेकोले यस्तो दिन नै मेरो लागि अवसर हुन पुग्यो।
यसरी खाना खाने बेलामा हाकिम आफैले खाना पस्केर मलाई अनि उनीलाई लिए। मैले अचम्म मानेँ। अप्ठ्यारो पनि लाग्यो। अलिकति स्याहार-सुसारमा कमी भए जागिर नै खाम्ला जस्तो गर्ने हाकिम साह्रै नै नम्र भएका थिए। उनको अनुहार यति मलिन थियो कि जोकोहीले पनि उनी साह्रै दुखमा भएको महशुस गर्न सक्थ्यो।
आज भने म नारदमुनिले उनको कुरा झिक्ने कोशिश गरेँ।
'हाकिमसाप्, हजुरलाई सञ्चो छैन र, अनुहार बिरामी जस्तो देख्छु त?'
यति नभन्दै उनले आँखाभरि आँसु पार्दै भने 'म जस्तो अभागी को छ र वीरबहादुर?'
'किन र हाकिमसाप्? हजुरलाई के पुगेन र?' मनभरि कौतुहलताले दौडादौड गरिदिनाले मुखले पनि उनको बोली नखस्दै प्रश्न गर्न पुग्यो।
यत्तिकैमा मेरी डर लाग्दी बुढीको फोन आयो। काम नपाकी बुढी भनेर गाली गर्न मन लागेको थियो तर हाकिमको अगाडि गाली गर्न सकिनँ। 'म आज आउँदिनँ, खाना खाएर सुत' भनेर फोन राखिदिएँ।
हाकिम फेरि बोले 'तिमी कति सुखी वीरबहादुर?'
व्यंग्य हाने जस्तो लागेर दुखी हुँदै 'यो विचरो हजुरहरुको कृपाले नै बाचिरहेको छ हाकिमसाप्।'
'वीरु, तिमीलाई त घरमा कुरेर बस्नी मान्छे छन्। आउने नआउने खबर राख्ने छन्।'
उनको यो बोली पनि कता-कता आलो घाउमा नुन छर्केभन्दा कम लागेन। पढे लेखेकी बुढी त्यही पनि सुन्दरी अनि सुन्दर घर त्यहाँमाथि छोराछोरी भएका हाकिम मेरी स्याउला जस्ती जिन्ग्रिंग परेकी नपढेकी बुढी अनि टिनको तातो राफले गुम्सिएको घर उनीसँग तुलना लाएक थिएन।
अलि अलि रिस उठे पनि बोली अड्कलेर बोल्नु पर्ने भएकाले थोरै नै बोल्नी निर्णय गरें। सायद मानिसलाई व्यवहारले नै परिपक्क बनाउदै लैजाने होला। त्यो बेला म १६ वर्षको लक्का जवान हुन्थेँ भने मेरो उत्तरमा अलिकति रिस, आवेग अनि चर्को पनि हुन्थ्यो होला जस्तो लाग्यो।
'कस्तो कुरा गर्नु भएको सर! हजुरको पनि त छन् नि। चराचुरुंगीको त हुन्छन्, हामी त मान्छे हुनै पर्यो नि।'
'के भनूँ र वीरबहादुर, भन्न पनि मन लागेको छैन। नभनम् पनि मनभित्र राख्न सकेको छैन। उमेर भैन्जेल पढ्न थालियो। जागिर पाएपछि बिहे गरियो। घर परिवार त्यति आर्थिक रुपमा सबल पनि थिएनन्। जिन्दगीमा पैसो भए पुग्छ सोचियो। बिहान सबेरदेखि बेलुका १२ बजेसम्म काम गर्न थाले।
कहिलेकाहीं त खाना खाने फुर्सद पनि भएन। श्रीमती पनि त्यस्तै व्यस्त भइ। एकअर्कालाई भेट्न पनि मुस्किल हुन्थ्यो। कहिले म घर जाँदा ऊ हुन्थिन, ऊ हुँदा म हुन्थिनँ। म पनि उसलाई समय दिन सकिनँ। बच्ची-बच्चो पनि बा-आमा दुवैको माया पाएनन्। आज छोरो दुर्व्यसनीमा फसेर रिहाब लगेर राखेको छु। छोरी पनि बा आमाको मतलब नै नगर्नी भएकी छे। सबै बिग्रियोनी वीरु।
यता बुढीले डिभोर्स मागेकी छ। ऊ मसँग खुसी छैन रे। म यस्तो बेला के गरुँ भन त? सम्पतीले माया दिँदो रहेनछ वीरबहादुर, न त यसले जीवन जिउन नै सिकाउने रहेछ। मैले छोराछोरीलाई केही दिन सकिनँ। न संस्कार दिन सकेँ न कुनै जिन्दगी जिउन सिकाएँ। म खराब बाभित्र पर्छु। खराब पतिभित्र पनि।
सम्पति भएर यसको मतलब राख्नी न छोरो रह्यो न बुढी न छोरी। अहिले त मलाई पनि अपुरो महशुस भैरहेको छ। उमेर भैन्जेल श्रीमतीलाई वास्ता खासै गरिनँ। खाली काम र धनको पछि दगुरेँ। अहिले महशुस हुँदैछ। मैले धेरै गल्ती गरेँ धेरै गल्ती।
मानिसलाई जे छैन त्यही कुराको कमि महशुस हुने रहेछ। तर सम्पत्तिले मिठो निन्द्रा दिँदो रहेनछ। एकदिन त मलाई यस्तो लाग्यो कि कोठा साह्रै सुन्दर र सजावट भएकाले निन्द्रा नलागेको सोचेर कोठाका सामान सबै हटाएर बिस्तारा पनि बिगारेर सुत्ने कोशिश गरें। तर पनि निदाउन सकिनँ, किन थाहा छ वीरबहादुर?'
'किन र हाकिमसाप्?'
'मन सुखी छैन भने बाहिरी सुन्दरता केही रहेनछ। ती सबै सजावटहरु व्यर्थ रहेछन्। मैले फूलमा पनि सुगन्ध भेटिनँ। न त कि कोइलीको आवाज पनि मधुर सुनें। सबै शून्य शून्य लाग्ने भएको छ।
सम्पतीले साँचो माया दिदैंन रहेछ। म आत्तिएको छु वीरबहादुर। मेरा साथी थुप्रै छन् तर सबै मेरो भोजमा आउने पाहुना मात्र हुन्। मेरो खुसीमा अनि सुखमा मेरो सम्पत्तिको धाक लगाएको बेला होमा हो मिलाएर रमाइलोमा सामेल हुने मात्र छन्।
म मेरो पीडा सुनाउन अनि सुन्न लाएकको आत्मिय मित्र कोही पनि देख्दिनँ। हुन त परिवार नै आफ्नो छैन अरुको के आश गर्नु र? म आफूलाई रित्तो देखेको छु। मैले अरु व्यापार जागिर सबै छोडीदिएँ। किन थाहा छ?'
'हजुरलाई दिक्क लागेर होला है हाकिमसाप्?'
'हो नि। किन गर्नु बेकारको दौडधुप लाग्यो। केही गर्नी जाँगर पनि हरायो। त्यसैले यही एउटा मात्र काम गर्छु। त्यही पनि पेन्सनपछि छोडिदिन्छु। आजकल त मेरो र मेडमको छुट्टै कोठा छ। मेरो वास्ता कुकुरको जति पनि छैन। बरु घरको कुकुरले उसको माया पाउँछ। कुकुर बरु भाग्यमानी छ।
मेरो मेडमको अनि मेरा बच्चाको माया पाउने ऊ मात्र एक सदस्य हो घरको। मलाई कति जलन भाछ भन्ने म बताउन पनि सक्दिनँ। ल भन त वीरबहादुर, म खुसी हुन के गरूँ? हामीले सोच्ने गर्छौं कि महिलालाई सम्पत्ति भए केही चाहिन्न। तर गलत रहेछ। एकदिन म उसको जन्मदिनमा उपस्थित हुन सकिनँ। हुन त म आफैले पनि उसको जन्मदिनलाई धेरै महत्व दिइनँ। भोलिपल्ट मैले उसलाई हिराको हार लगिदिएँ। तर उसले त्यो चिजको कुनै महत्व दिइन। हेर्दा पनि हेरिन।'
त्यही बेला म बान्द्रेलाई पनि झलक्क एउटा कुराको याद आयो। हाकिमको कुरा काट्दै भनेँ।
'हो क्या हो हाकिमसाप्।'
'त्यो दिन प्रेम दिवस थियो। खल्तीमा जम्मा २० रुपैयाँ थियो। म दोकान छिरेर रातो टीका किनिदिएँ। अनि उसलाई निदारमा लगाइदिएँ। ऊ मक्ख परेर मलाई अँगालो हाली।'
उनी फेरि बोले 'घर त मेरो पूरै बिग्रियो। उसको अन्तै अर्को मान्छे छ भन्छे। नपढेकी भएनी आफू जाने बुझ्ने बनेर सम्झाउँथेँ। म त साह्रै आत्तिएको छु। तिमी बरु सुखी छौ नि वीरबहादुर। मिठो नमिठो परिवारसँगै भएर भान्छामा खान्छौ। तिम्रो घरमा वास्ता हुन्छ।
तिमी कति खेर आउँछौ भन्दै हेर्छन्। असल छोरो छ। कुरा कस्तो राम्ररी बुझ्छन्। तिमी असल पिता भएका छौ। छोरोलाई जीवनमा उतारचडाव भनेको के हो? सानो कुरामा आत्तिनु हुँदैन। जिन्दगीमा धेरै संघर्ष गर्नुपर्छ भनेर सिकाएका छौ। उसलाई तिमीले दिएको शिक्षानै भोलिका दिनमा काम लाग्नेछ।
मैले महँगो स्कुलमा राखिदिए पनि केही व्यवहारिक ज्ञान नपाउने रहेछ। किताब र व्यवहार धेरै फरक रहेछ। तिमी र तिम्रो छोराबीच आत्मियता छ। त्यही चाडपर्वमा मिठो खान पाउँदा कति खुसी हुन्छन् तिम्रा परिवारहरु। त्यो खानाको प्रत्येक गाँसमा स्वाद भेट्छौ।
खोइ, मैले त एक्लै भान्छामा खानु पर्दा चौरासी व्यंजन नै किन नहोस्, त्यो खाना नै विष सरह हुन्छ। मन लाग्दैन घरमा खाना खान, उठेर हिड्छु भोकै। त्यही भएर त तिमीले बनाएको चिया सधैँ नखाई हुँदैन। तिमी मात्र एउटा हौ जसले मेरो वास्ता गर्छ।
तिमीसँग तिम्रो श्रीमती सम्पत्ति र पद देखेर आएको होइन। त्यही भएर तिमीसँग केही आश गर्दिन। निस्वार्थ माया गर्छे। तिमी भाग्यमानी छौ वीरबहादुर, तिमी भाग्यमानी छौ।'
अघिसम्म रित्तो महशुस गरेको म एकाएक भरिपूर्ण महशुस गरेँ। फोन उठाएँ अनि बुढीलाई फोन गरेँ। मैले उनलाई आफू आउन नसकेको कारणहरु बताएँ र उसलाई धेरै मिस गरेको पनि सुनाएँ। उनले पनि हाँसेर आफ्नो ख्याल राख्नु भन्दै फोन राखिन्।
भोलिपल्ट म कार्यालय सक्ने बित्तिकै घर गएँ। बुढी भान्सामा खाना पकाउन लागेकी रहिछन्। तरकारी काट्न थालें। उनी खुसी भइन्। मैले पनि सघाउन पाउँदा खुसी भएँ। भोलि शनिबार थियो। आफ्ना लुगा आफै धोएँ। छोरोलाई पनि केही समय दिने विचार गरेर घर परिवारसँग गफ गरेँ। त्यो दिन ऐनामा अनुहार हेरेँ। आफू पनि हिरो लाग्न थाल्यो। छुट्टै किसिमको उर्जा आएको महाशुस गर्न थालेँ।
त्यो दिनदेखि मैले बुझेँ कि मानिसका असीमित चाहनाहरु रहेछन्। ती चाहनाहरु र बेलुनभित्रको हावा एकै रहेछ। बेलुनमा जति हावा भरे पनि अझै हावा अट्छ कि झैं लाग्ने, अझै ठूलो हुन्छ कि जस्तो लाग्ने। सधैँ अपूरो महशुस गरिरहने। त्यो बेलुन फुटेपछि मात्र थाहा हुन्छ आफ्ना असीमित चाहनाले निम्ताएका दुर्घटनाहरु।
आफ्नो मन खुसी राख्नु नै ठूलो रहेछ। अरुको प्रगतिमा पनि हाँस्न सक्नुपर्ने रहेछ। अरुलाई सहयोग चाहिएको बेला केही सहयोग गर्दा आनन्द पनि मिल्ने रहेछ। आफूसँग जे छ त्यसैलाई नै धन सोच्नुपर्ने रहेछ। सम्पत्ति रुपैयाँ मात्रै होइन, आफूसंग सम्बन्धित हरेक चिज अनमोल सम्पति रहेछन्।
परिवार सुख अनि आत्मीय सुख, मनको सुख नै सबैभन्दा ठूलो सुख रहेछ। आफूले आफूलाई पनि माया गर्नु पर्ने रहेछ। अरुले जे भनेर कुरा काटुन् त्यसको मतलब नगरी आफूलाई आफ्नो नजरको असल हिरो देख्नुपर्ने रहेछ जसले आफ्नो आत्मबल बढाउने रहेछ।
एउटा हिरो जसले असल कामहरु गर्दै अगाडि बढ्छ, हिरो जो हरेक कुराको सामना गर्न सक्ने सामर्थ्य राख्छ, हिरो जो आफ्नो संगिनीको ख्याल राख्न सक्छ, जो छोराछोरीको प्रेरणाको स्रोत बन्न सक्छ, जो दीनदुखीलाई सहयोग गर्न सक्छ, जसले भौतिक चिजलाई चटक्कै नछोडी अध्यात्मिक पाटोसँग जुधाएर सही र गलत छुट्टाउन सक्छ।
हो, म त्यो हिरो जस्तै महशुस गर्न थालिसकेको थिएँ। अबदेखि सधैँ हिरो नै बन्छु भन्ने संकल्प गर्दै खाना खाएर कार्यालय तर्फ लागेँ।