'अशोक! हाम्रो बिहे भएको पनि १० वर्ष भइसक्यो, अझै तिमीलाई छोराहरुलाई झैँ ख्याल राख्नु पर्छ।'
अफिस जान हतार भएर होला अशोक केही नबोली हतार हतार बाहिर निस्कियो। स्मिताले बल्ल आरामसँग बिहानको चिया पिउने मौका पाएकी थिइन्। बिहेको ५ वर्षसम्म उनीहरुको सन्तान भएको थिएन।
तिनी सम्झिन्थिन्, त्यतिबेला लोग्ने-स्वास्नी भएर सधैँ सँगै चिया पिउने गर्दथे। स्मिताको एउटा छिमेकी दीपिका रेडियोमा आरजेको काम गर्थिन्। दीपिकाको एउटा प्यारी छोरी श्रृषा थिई।
एकदिन स्मिता घरको बरण्डामा कपडा सुकाइरहँदा दीपिकाको घरमा आँखा पर्यो, त्याहाँ दीपिकाको छोरी श्रृषालाई स्कुल पोशाकमा ढोका बाहिर सिढीँमा बसिरहेको देखिन्। स्मिताको मातृत्व भावनाले थाम्न नसकेर श्रृषालाई घरमा बोलाएर खाजा खुवाइन्। अनि दीपिकालाई फोन गरिन्। जरुरी मिटिङ भएकोले घर आउन ढिलो हुने जानकारी पाइन्।
दीपिका अफिसबाट आइन्, छोरीलाई ख्याल राखिदिएकोमा स्मितालाई आभार व्यक्त गरिन्।
'फेरि यस्तो भयो भने तिमी आत्तिनु पर्दैन, श्रृषाको म ख्याल राखूँला।'
'तिमीलाई कति दुख दिनु! अब मैले मन्टेसरी स्कुलमा कुरा गरिराखेको छु, स्कुलबाट ऊ सिधैँ त्यता जान्छे। बेलुकी म अफिसबाट फर्कँदा लिएर आउँछु।'
'यसको मतलब श्रृषा मसँग भएको तिमीलाई मन परेन!'
स्मिता उदास भएको देखेर दीपिकाले काँधमा हात राख्दै भनिन् 'त्यस्तो केही होइन, तिमीलाई जतिबेला मन लाग्छ श्रृषालाई आफूसँग लान सक्छौ। तर मेरो मान्यता के छ भने आफ्नो आवश्यकता, जिम्मेवारी पूरा गर्नको लागि आफैले काम गर्नु पर्दछ। श्रीमानको कमाईले हामीलाई पुग्छ तर आफ्नो कमाईको मजानै बेग्लै हुन्छ। म त्यसलाई गुमाउन चाहन्नँ।'
स्मिता, दीपिकाको कुरा सुनेर प्रभावित भइन्। तिनको मनमा पनि आफ्नो कमाईको सुख पाउने चाहना बलियो हुँदै गयो। एकदिन उसलाई यो अवसर पनि जुट्यो। दीपिकाको आफू काम गर्ने रेडियो स्टेशनमा एउटा कर्मचारी अचानक बिमारी भयो र अस्थायी कर्मचारी राख्नु पर्ने भयो। दीपिकाले स्मितालाई आफ्नो अफिसमा कर्मचारीको खाँचो भएकोले कामको लागि प्रस्ताव राखिन्, स्मिताले तुरुन्त स्वीकार गरिन्।
स्मिताको आत्मविश्वासपूर्ण आवाज र व्यक्तित्व देखेर दीपिकाको हाकिम प्रभावित भए। केही समयको अन्तरालमा स्मिताको स्वर रेडियोमा लोकप्रिय हुन थाल्यो। उनको लगनशीलता र मेहनतले गर्दा छिट्टै स्थायी गर्ने प्रस्ताव आयो। आफ्नो श्रीमान अशोकबाट पनि प्रोत्साहन पाएकोले स्मिताले रेडियोको संसारमा आफ्नो बेग्लै पहिचान बनाउँदै लगिन्।
यसैबीच आफू गर्भवती भएको थाहा पाएर स्मिता हर्षविभोर भइन्। स्मिताले नोकरीभन्दा पनि परिवारलाई प्राथमिकता दिने निधो गरिन्, स्वास्थ्य परीक्षण गर्दा गर्भमा जुम्ल्या बच्चा रहेको जानकारी भयो।
रेडियोको लोभलाग्दो जागिरबाट राजिनामा दिइन्। समय बित्दै जाँदा उसको जीवनमा जुम्ल्याहा सुन्दर छोराहरु आए, स्मिताको जीवनमा खुसीको सीमा रहेन।
एकैपटक दुई-दुई वटा छोराहरुको हेरचाहा गर्दा स्मिता थकाइले चुर हुन्थिन्। अशोकले छोराहरुको हेरचाह गर्न कहिल्यै समय निकाल्न सकेन, ऊ धेरैजसो अफिसमा व्यस्त रहने गर्दथ्यो। स्मिताले हुर्कदै गरेका छोराहरुको बोली, हाँसो जब जब अशोकलाई सुनाउन चाहन्थी, अशोक त्यति नै टाढा भागेको महशुस हुन्थ्यो।
फुर्सदको बेलामा स्मिता जति अशोकको नजिक जान खोज्दथी उति नै टाढा भइदिन्थ्यो। यी दुई छोराहरुको जन्मपछि उसले के अपराध गरी र अशोक यसरी टाढिँदै गएको हो, स्मिताले बुझ्नै सकिन।
विस्तारै स्मिताले बुझ्दै गइ कि अशोकलाई उसको स्पर्श समेत मन पर्न छाडेको थियो। अब त अशोक अफिसको कामले हप्तौँ दिन बाहिर जान थालेको थियो। आफ्ना दुवै छोराहरुको पालन पोषणको पूर्ण जिम्मा स्मिताको काँधमा आइपर्यो।
केही दिनअघि मात्र तिनले छोराहरुको चौथो जन्मदिन मनाएकी थिइन्। अशोक त्यसदिन अन्य पाहुनाहरु जस्तै अबेर आइपुगेको थियो। त्यसदिन केही व्यक्तिहरुले अशोकको बारेमा कानेखुसी गरेको सुनेको थिइन्। तिनले अरुको कुरामा खासै ध्यान दिइनन्। तर केही दिनपछि यस्तो घटना घट्यो कि स्मिताको जीवनमा नै परिवर्तन भयो।
के भएको थियो भने एकदिन दीपिकाले एउटा निमन्त्रणा कार्ड लिएर आएकी थिइन्। उसले काम गरेको रेडियो स्टेशनले पूर्व-कर्मचारीहरुको लागि एउटा पार्टी आयोजना गरेको थियो। त्यसमा स्मिता पनि आमन्त्रित थिइन्।
अशोक अफिसको कामले बाहिर गएको थियो। बच्चाहरुलाई प्ले स्कुलमा छोडेर स्मिता होटलमा आयोजना भएको पार्टीमा सामेल हुन गइन्। त्याहाँ उसले अशोकलाई एउटा केटीको साथमा जाँदै गरेको देखेर पिछा गरिन्। तिनीहरु दुवै जना होटलको कोठामा पसेर ढोका बन्द गरेको देखिन्।
स्मिताले होटलको रिसेप्सनमा आएर त्यस कोठा नम्बरमा बसेको रजिष्टरको नाम हेर्दा मिस्टर एण्ड मिसेज अशोक लेखेको देखेर स्तब्ध भइन्। शरीरमा रक्त सञ्चार नै बन्द भए जस्तो भयो।
यसैबीचमा दीपिकाले उसलाई खोज्दै त्याहाँ आइपुगिन् र पार्टीमा लिएर गइन्। स्मितालाई देखेर दीपिकाको हाकिमले भन्दै थ्यो 'स्मिता, तिम्रो स्वर अझै पनि श्रोताहरुले सम्झिरहेका छन्। तिमी जब चाहन्छौ पुन: रेडियोमा आउन सक्छौ। तिम्रो लागि हाम्रो ढोका हमेसा खुला रहनेछ।'
पार्टी सकेर स्मिता जसोतसो घर पुगिन्। घर पुगेर मन खोलेर रोइन्। आफूलाई छल गरेकोमा भित्रैबाट दुखी भइन्। आज पहिलो पटक आफू नारी हुनुमा दुखीत् भइन्। अशोकको मोबाइलमा पटक-पटक फोन डायल गरिन् तर स्विचअफ भएको पायो।
अर्को दिन अशोक घरमा आयो। स्मिताले अफिसको कामको बारेमा सोध्दा ऊ अक्मकायो। होटलको कुरा गर्दा अशोक रिसले रन्थनिदै स्मितालाई नानाथरी गाली गर्दै घरबाट बाहिर निस्कियो।
स्मिताले बल्ल बुझ्न थाली कि किन विगतमा अशोक ऊसँग टाढिदै गइरहेको थियो। उसले सोचेको थिइ, बच्चा जन्माएर उसले अशोकलाई बाबु हुने अवसर जुटाएपछि उसलाई धेरै माया गर्नेछ। यसको साटो अशोकले त स्मितालाई उसको जीवनबाट नै निकालिसकेको रहेछ।
उसले अशोकसँग कुरा गर्ने निकै पटक कोशिश गरी तर अशोकले कहिल्यै कुरा सुन्न चाहेन। स्मिताले बिन्ती गरी, हात जोडी, छोराहरुको अनुहार सम्झाइ, झगडा गरिन्, तर अशोकमाथि कुनै असर परेन।
हरेक पटक अशोकले दुई शब्द बाहेक केही बोल्दैनथ्यो, उसले पालण पोषणको लागि खर्च दिनेछ, तर उसको निजी जिन्दगीमा कुनै चासो नदिन भन्दथ्यो।
स्मिताले माइत जाने सोच बनाएकी थिइन्। तर सोचिन्, माइतमा गएर पनि के गर्नू, बच्चाहरुको भविष्यको ख्याल गरिन्, मानिसहरुको अनेक शव्दवाणहरु सुन्नु पर्नेछ।
तिनले आफूलाई असहाय महसुस गरिन्, आफूलाई जीवनमा यति साह्रो अपमानित भएको कहिल्यै महशुस भएको थिएन। अचानक स्मिताले पहिला आफूले काम गरेको रेडियोको हाकिमको शब्दहरु ‘तिम्रो लागि हाम्रो ढोका हमेसा खुला रहनेछ’ सम्झिन्। तिनले फोन गरेर रेडियोमा फेरि काम गर्न इच्छुक भएको जानकारी गराइन्।
स्मिता त्यो अपमानको जिन्दगीबाट बाहिर निस्कन चाहन्थिन्। ऊ आज पनि मनको एउटा कुनामा आशा गर्छिन्, कुनै दिन अशोकलाई आफ्नो गल्तीको महशुस हुनेछ र घर फर्कनेछ। तर एउटा प्रश्न जहिले पनि तिनको मनमा आउने गर्छ 'के उसले अशोकलाई माफी दिन सक्छे?'