अस्पतालको बेडमा उसको आँखा उज्यालियो। त्यो उज्यालोले उसले आफ्ना आफन्तहरुको एक हुल मुहार नियाल्यो। दुधे छोरालाई छातीमा च्यापेर उस्की श्रीमती हर्षले बर्रर आँसु झारिरहेको देख्यो।
श्रीमतीको हाँसोले उसको गह्रौं मन हलुको भयो। हठात् उसलाई मन मात्र होइन, शरीर पनि हलुको लाग्यो। ओढ्नेलाई जोडले पन्छाएर, आफ्नो खुट्टातिर नजर सोझ्यायो, उस्ले हलुको अनुभव गरेजस्तो साँच्चिकै शरीरलाई हलुकाएर एउटा खुट्टाले बिदा लिइसकेको रहेछ।
ऊ जोडले करायो। अनि सम्झ्यो, राजाको सालिकमा जुताको माला लिएर चढ्दा खुट्टामा लागेको दुइटा डयाम, डयाम!
आफ्नो काटिएको खुट्टालाई देख्नेबित्तिकै ऊ कहालिएर रोयो। उस्लाई प्रेमिल भावमा सम्झाउँदै, त्यहाँ भेट्न आएको एक नेताले भन्यो, 'नरोऊ, तिमीप्रति यो देश गौरवान्वित छ। तिमीले गर्दा यो देशमा प्रजातन्त्र आएको छ। तिम्रो त्यागको गाथा स्वर्ण अक्षरमा लेखिनेछ। तिमीलाई जिउँदो सहिद घोषणा गरेर, तिम्रो आजीवन जीविकाको लागि हामी प्रयत्न गर्नेछौँ।'
सहिद भन्नेवित्तिकै आफूभन्दा अघि छातीमा ड्याम्म गोली लागेर लडेको साथीलाई सम्झियो। उस्को मुखबाट निस्कयो– 'त्यो सालिकमै छातीमा गोली लागेको साथीलाई के भयो?'
'ऊ त सहिद नै भयो।'
पुराना दिन सम्झेर उस्का आँखाबाट बर्रर आँसु झर्यो। उप्रान्तको दिनमा न उसलाई सहिद नै घोषणा गर्यो न त वाचा गरेजस्तो आजीवन जीविकाको व्यवस्था नै गर्यो। त्यो घटनाले उसको जीवनमा ठूलै घाटा लाग्यो।
जुन घाटालाई दुई वैशाखीको जोडले पनि क्षर्तिपूर्ति गर्न सकेन। उस्को अभिष्टमा ठूलै बाधा आयो। इतिहासमा ऊ जिउँदो सहिदमा लेखिएन, बरु त्यो दशकको जनगणनामा एक अपांगमा दर्ज भयो।
पुराना दिन सम्झेर, राज्यले आफूप्रति गरेको विभेदलाई कल्पेर, अनायासै चिसिएको आँखालाई पुछ्दै ठूलो छोराले सोध्यो, 'बा, बा किन रुनु भएको?'
'रोएको होइन छोरा, त्यसै आँसु आयो।'
'बा, बा आज खिर खानुपर्छ है। कस्तो भोक लागिसक्यो।'
उस्ले श्रीमतीको आँखातिर यसो हेर्यो। छातीमा दुधे छोरी च्याप्दै गरेकी श्रीमतीको आँखा भने आफ्नो छेवैमा रहेको रितो चामलको भकारीमा पोखिरहेको थियो।
वैशाखी च्याप्दै ऊ त्यो भकारीनेर गयो र भकारीभित्र हात घुसार्यो।
'कति दिन भइसक्यो खिर खाने कुरा गरिरहेको। हामीले बाबुको यति सानो आवश्यकता पनि पूरा गर्न सकेनौँ। यो भकारीको छाती निचोरेर हेर्दा, मुसाले समेत दया गरेर छोडेको एक मुठी चामल त भेटियो। अब दूधको जोहो कसरी गर्ने?'
भकारीबाट एक मुठी चामल निकालेर विजय भावमा मुस्कुरायो। फेरि त्यो चामल छेवैको थालमा खन्याएर वैशाखीलाई भित्तामा अडेस लगाएर भुइँमा बसेर खुइय्य सुस्केरा हाल्यो।
उस्को खुइय्य सुस्केरालाई चाल पाएर होला, छातीमा च्याप्दै गरेकी श्रीमतीले आफ्नी तीन महिनाकी दुधे छोरीलाई छातीबाट अलग्याउँदै ओछ्यानमा सुताइ र बायाँ हातले एउटा कचौरा टिपेर त्यही हातले कचौरा स्तनको मुन्तिर जोतेर दायाँ हातले सुत्केरी स्तन निचोर्न थाली।
मानौँ सुकिसकेको प्राचीन कुनै ढुंगेधाराको तल बसेर गाग्रीले पानीको लागि प्रतिक्षा गरेजस्तो। बलले निचोरिएकोले थोपा थोपा दूध चुहन थाल्यो।
'दिनभरि निचोर्दा एक गाँस खिरलाई कसो नपुग्ला?' श्रीमतीको बोली कठोर थियो।
ओछ्यानमा लडिरहेकी दुधे छोरी आफ्नो भागको दूध कचौराले खाएर हो कि आरिसमा हात खुट्टा फालेर रुन थाली।
उसले पनि विवश श्रीमतीको स्तनसँग आफ्ना असहाय आँखा जोडेर आँखालाई पिच्च पिच्च रुन दियो। भित्तातिर हेर्यो, भितामा अडेस लिइरहेको वैशाखीले निम्तो गरे जस्तो भान भयो- आऊ मलाई काखीमा च्याप, हामी तिम्रा खुट्टा बन्छौँ। प्रजातन्त्र ल्याएर, देशभरिका भुराभुरीको भोक मेटेको तिमी, आफ्ना भुराभुरीको दुई थान पेटको भोकसित नहार।
वैशाखीको चुनौतीलाई सहर्ष स्वीकारेर, उस्ले भित्तामा अडेसिरहेको वैशाखीहरु टिप्यो र काखीमा घुसार्यो। केही नबोली सरासर बाहिर गयो।
बाटोमा हिँडदै गर्दा उस्ले कतै टाढा तालीको आवाज सुन्यो। ताली बजेको ठाउँ नै आँखामा उज्यालिँदा थाहा पायो, सहिद पार्कमा तालीको गडगडाहत हुँदै थियो। उस्ले आज सहिद दिवस भएको झल्यास सम्झयो।
त्यो सभामा एकपंक्ति नेताहरु गलाभरि फूलमालाको गलबन्दी ओढाएर लहरै बसाइएका थिए। मन मन रिसले बोल्यो- 'साला कुकुरहरु, देश बेचेर खायो। जीवनको सबैभन्दा ठूलो गल्ति नै मेरो, यिनीहरुको व्यक्तिगत जीवनप्रगतिको लागि गोली खानु भयो। म गोली खाने यहाँ छु, उनीहरु त्यहाँ छन्। फेरि यस्तै नेताहरुको गलामा भगवानलाई भन्दा बढी फूल चढाइन्छ।'
फेरि बहुला जस्तो भुनभुन आवाजमा करायो, 'सत्तामा पुगेपछि यस्तै हो सब नेताहरु यहाँ। एक एकको विगतको जानकार छु म। यिनीहरुले जीवनमा पहिलोपटक लगाएको जुताको मूल्य कहिलेकाहीँ निधारमा टाँसेर हिँड्न मन लाग्छ।आज सत्ता र शक्तिको उन्मादमा भलै मलाई नचिनुन्, यिनीहरुको छालामा मैले पनि कैँयन न्यानो टाँसेको छु।'
फूलको मालाले गुल्जार भएको नेताहरुले उस्को भुनभुन सुन्ने कुरै भएन। फेरि जोडले ताली बज्यो। कार्यक्रम सिद्धिएको रहेछ। आयोजकहरुले उपस्थित सबैलाई मिठाइको एउटा-एउटा बट्टा बाँड्न थाल्यो। उस्ले पनि एउटा बट्टा थाप्यो। पेट भोकले आन्दोलित भइरहेकोले बट्टा खोलेर हेर्दा त्यसभित्र खिर पो रहेछ।
छुलबुल खिरमा आफ्नो छोराको अनुहार तैरिरहेकोले, खिरको मुख देख्नेबित्तिकै उस्को पेटले आन्दोलन रोक्यो। आफ्नो छोराको अनुहारलाई उस्ले खानै सकेन। त्यो बट्टालाई आफ्नो च्यातिएको कोटको गोजीमा लुकाएर अर्को एउटा बट्टा पनि थाप्यो।
अब दुइटा खिरको बट्टाले आफ्नो कोटको गोजीमा टाउको लुकाउनेबित्तिकै उस्लाई घर पुग्न हतार भयो। आफ्नी श्रीमतीको स्तनलाई सम्झ्यो जस्ले एकथोपा दूध चुहाउन पनि निकै कष्ट गर्नु परेको थियो।
छोराछोरीको रहर पूरा हुने कुरामा ऊ ढुक्क भयो। जसरी भए पनि उस्लाई घर पुग्न हतार भयो। दोबाटोमा उभिरहेको पिपलको हाँगामा बसिरहेको भँगेरोको पखेटा तोडेर आफ्नो काखीमा घुसाउन पाए पनि हुन्थ्यो नि जस्तो लाग्यो।
ऊ फटाफट घर जान थाल्यो। उस्लाई जाँदा जाँदामा आफ्नो कोटको गोजी हलुको भएको महशुस हुन्थ्यो, संशकित भएर गोजीमा हात छिराउथ्यो। खिरका बट्टाहरु सुरक्षित पाउँदा ऊ ढुक्क हुन्थ्यो।
जाँदाजाँदा ऊ निकै थाक्यो। पर उनले एउटा सहिदको सालिक देख्यो। त्यही सालिकको फेदमा एकक्षण सुस्तायो। उस्लाई हेरेर त्यो सालिकको सहिद फिस्स हाँसेको जस्तो लाग्यो।
गलामा माला लगाएको त्यो सहिदको प्रतिमाले, तँ पनि सहिद, म पनि सहिद, गोली पनि बराबरै थापेको हो। मेरो शरीरभरि फूलको माला छ, तेरो शरीर हेर कति उजाड छ भनेर च्यातेको कोटमा औंला देखाएर गिज्जाएको भान भयो। हेर्दाहेर्दै त्यो सहिदको अनुहारमा आन्दोलनको बेलामा, आफैसँग जुताको माला लिएर सालिकमा चढेको एक सहयात्रीको अनुहार झुल्कियो।
त्यति नै बेला एक फुच्चेको सडकमा कराएको आवाजले उस्को ध्यान आकृष्ट गर्यो- 'दिवाकालीन ताजा ताजा पत्रिका किन्नुस् हजुर पत्रिका। विशेष समाचार छ। प्रदेश सरकारले सहिद पार्क बनाउन तीन करोड छुटयाइयो। दश रोपनी जग्गामा सहिद पार्क बन्दै। आजको सहिद दिवसको ताजा समाचार' फुच्दै कराउँदै गयो।
उस्को मनले बुझिहाल्यो, आज फेरि अर्को एक सहिद दिवसले मरेका सहिदहरुलाई चिहान थप्ने घोषणा गर्यो।
के यहाँ लासको मात्र पूजा गर्ने हो? सहिद पार्क बनाएर दश रोपनी जग्गामा सहिदको लासलाई चिहान थप्नेहरुले त्यति नै माटोमा जिउँदा सहिदहरुलाई छाप्रो ठडयाएको भए, कति राहत मिल्थ्यो शरीरमा गोली बोकेर बाँचिरहेकाहरुलाई। सोच्दै मन खिन्न भएर आयो।
लामो सुस्केरा हावामा फाल्दै, काखीमा वैशाखी घुसार्यो। घरतिर पाइला बढायो। मनमा नाँनाभाँतिका कुरा खेलाउँदै घर पुग्यो। घरको दैलोमा टेक्नेबित्तिकै आफ्नो कोटको गोजीमा रहेको खिरको सम्झना भयो। आफ्नो कोटको गोजीबाट खिरको दुइटा बट्टा निकालेर ऊ भर्याङ उक्लिन थाल्यो।
मानौं ऊ त्यो पिता हो जो परदेशमा लामो बसाइँपछि आफ्नो परिवारको लागि एक अँगालो कोशेली लिएर फिर्ता भएको छ। उस्ले कल्पना गर्यो, आफ्ना छोराहरु त्यो खिरको बट्टा छातीमा च्यापेर कति खुसी होलान्।
बट्टा खोल्नेबित्तिकै दूधमा नुहाएको भातका सिताले पनि फूलको हर्रर सुगन्ध छर्लान्। जस्को बास्नाले घरै सुगन्धित होला। तर कोठामा पुग्दा उस्ले बेग्लै दृश्य देख्यो। आफ्ना छोराहरु खिरमा औँला चोपी चोपी रमाएर खाइरहेको थियो।
आफ्नी श्रीमती भुइँमा अचेत भएर सुतिरहेकी थिइन्। उसले श्रीमतीलाई चार/पाँच पटक बोलायो तर कुनै प्रतिक्रिया आएन। जति बोलाए पनि श्रीमतीको ओठमा हजुर नउम्लेपछि, उस्ले श्रीमतीलाई घच्घच्याउन थाल्यो। घच्घच्याउँदा पनि मौन भइरहेकी श्रीमतीले उस्को शंका थप बढायो। त्यही त्रासमा उस्को हातको खिरको बट्टा भुइँमा खस्यो, जुन भुइँमा छताछुल्ल पोखियो।
ऊ ठूल्ठूलो स्वर निकाली चिच्याउन थाल्यो। चिच्याहटसँगै आँखा पनि आँसुले भरिलो भयो। आँसु पुछेर यसो हेरेको आफ्नो साने भुइँमा छताछुल्ल भइरहेको खिरमा औँला चोपेर त्यही औँला मुखमा घुसारिरहेको थियो।
उस्को मुखबाट निस्कयो, पापी खिर!
खिरलाई सरापेकै बेला, श्रीमतीले आँखा थोरै खोल्दै, अलिकति चल्मलाउँदै बोली, 'खिरको लागि दूध निचोर्दा निचोर्दा बेहोस भएँ। साह्रै रिङ्गटा अझै छुटिरहेछ। म त मर्छु आज।'
यति सुन्नेबित्तिकै उस्को प्राण थोरै भए पनि ठिक ठाउँमा आयो। 'तिमी मर्दैनौ, म मर्न दिन्न। म टयाक्सी बोलाएर आउँछु।'
टयाक्सी बोलाउन भनेर वैशाखी काखीमा च्यापेर हतार हतार घरबाट बाहिर निस्कयो। त्यति नै बेला, ऊप्रति बाक्लै सहानुभूति राखेर उस्को खुट्टालाई तानेर, वैशाखी सडकमा बेस्कन दौडिरहेको थियो। हिँडदा हिँडदा ऊ सहिदको सालिकको फेदनेरै पुग्यो।
लगातार दौडेकोले दम फुलेर साह्रै थकाइ लागेको महशुस भयो। छाती नै फुट्ला जस्तो भयो। आफ्नो छातीमा एकपटक हात राखेर हिसाव गर्यो, एक मिनेटमै दुई सय गन्यो उस्ले। उस्लाई पनि साह्रै रिङ्गटा छुट्यो।
दिनभरि पानीसम्म नखाएकोले कमजोर भइरहेको थियो। आफ्नो शरीरको भारी थाम्ने भरमग्दूर कोशिश गर्यो। भरियाको भारी नाम्लो चुँडेर भुइँमा ढले जस्तो, उस्को शरीर पनि उस्को काँधबाट खसेर, भुइँमा छताछुल्ल भएको महशुस भयो।
अर्थात् ऊ पनि गर्लम्म ढलेर अचेत भयो सालिकको फेदमा। उस्का अचेत आँखामा आन्दोलनको दृश्य सल्बलाउन थाल्यो। गोली लागेकोदेखि लिएर उस्को घाइते शरीर बोकेर दौडाएका एक हुल अनुहार झुमिन थाल्यो।
गोली लागेर बगेको रगतमा झिँगा भुन्भुनाइरहेको पनि सम्झिन थाल्यो। सम्झिँदा सम्झिँदै उस्का आँखा धमिलो धमिलो हुँदै गयो। उस्का दुई आँखाबाट आफ्ना दुई सन्तानको बिम्ब तैरिरहेको दुईथोपा आँसु टप्प तप्कियो। आँखा हलुको भयो।
एक सहिदको सालिकको फेदमा निदाइरहेको अर्को सहिदको लासलाई झुमिरहेका मानिसहरुले भनिरहेका थिए, 'भगवान् पनि यति निर्दयी नहुनु पर्ने। विचरा, श्रीमती उता घरमा... यता यस्को प्राण उड्यो। यो अपांग, सहिद दिवसको दिन सहिदकै सालिकको फेदमा आएर मर्यो।'
अचेत अवस्थामा पनि उस्ले अन्तिम पटक सुनेको आवाज त्यही थियो। त्यसपछि ऊ दुनियाँलाई अन्तरआत्माको आँखाले हेरेर, आत्मैदेखि खित्का खित्का हाँसेको थियो।