कविता
नेताहरूको भाषण
जनताको काम सुन्ने
सुन्दा सुन्दा
एउटाले एकथोक भन्छ
अर्कोले अर्कोथोक भन्छ
दिमागले ‘प्रोसेस’ गरिरहन्छ
‘कम्प्युटरको मेमोरी’ जस्तै
कुन ‘एस' कुन ‘नो’
को ठिक को बेठिक
अनि ‘ह्याङ’ भइदिन्छ
सोच्नै नसक्ने गरी
जति ‘रिबुट’ गरे पनि
बनाउन चाहिँ बनाउने भन्छन्
देश र देशवासीले देखेका सारा सपना
पुर्याउन चाहिँ पुर्याउने भन्छन्
चुनाव अघि गरेका सम्पूर्ण वाचा
न ‘फिप्टी फिप्टी’ ले काम गर्छ
न एक तिहाइले काम गर्छ
न त दुई तिहाइले नै काम गर्छ
भ्याक्सिनको परीक्षण भए जस्तै
पहिलो, दोश्रो, तेश्रो र चौथो चरण
सबै ‘ट्रायल एण्ड इरोर मेथड’ भइसक्यो
नतिजाले फेरि ‘रिडु’ मात्र भन्छ
घरीघरी चुनावमै लगिरहन्छ
जति ‘टेष्ट’ गरेपनि
टुटने-फुट्ने जोडिने-भाच्चिने भएपछि
अब यस्लाई कस्तो आकार भन्ने
जनताको विश्वास अलपत्र परेपछि
अब केलाई जनताको सरकार भन्ने
भाग्य हो कि भनेर
राशिफल देखाउँदा पनि
कहिले राहु कहिले केतु कुण्डलीमा
कहिले शनीको साढेसाती
कहिले मंगल र बुधको विरोध
त्यही पनि आशा छ सबैलाई
यही जीवनमा शुक्रको सुख
साथै,
हर नकारात्मक परिस्थितिलाई
सकारात्माक बनाइदिने
देश र जनताको भलो गर्ने
एक्लो बृहस्पति भएपनि
कुनै दिन त आउलान् भनेर।