चौबिसौँ घण्टा कल कल पानी बग्ने ढुंगे धारा। ढुंगे धारामा टोलबासीहरुको पानी पँधेरोको भीडभाड।
त्यो धारोसँग मेरो अनौठो मोह अनि त्रास। मोह किनभने त्यो पानीको कलकल आवाज र त्यसको धाराप्रवाह। त्रास किनभने जब जब ममीले मलाई च्याप समातेर नुहाइदिनु हुन्थ्यो, म अतालिन्थेँ।
अघिपछि मलाई धारो रमाइलो लाग्थ्यो। त्यो ढुंगे धारामा ममीले नुहाइदिँदा भने साह्रै डर लग्थ्यो। टाउकोबाट पानी बग्दा, मन अत्तालिन्थ्यो। श्वास फेर्न गाह्रो हुन्थ्यो। म ममीको सारीको फेर च्याप्प समत्थेँ। नुहाउन छिट्टै सके हुन्थ्यो जस्तो लाग्थ्यो।
एकाबिहान म ढुंगे धारोको दहिनेपट्टि अग्लो पेटीमा बसिरहेको थिएँ। घरबेटी काकी पानी भर्न आउनु भएको थियो। उहाँको छोरा केही कामले सहर गएका थिए, आउने दिन भैसकेको थियो तर आइपुगेका थिएनन्।
घरबेटी काकीलाई चिन्ता थियो। त्यो समय यस्तो थियो, न फोन्, न चिठीपत्रको भर, के भयो भन्ने अनेक कल्पना बहेक संसार शान्त थियो। सधारण थियो।
काकीले सोध्नु भयो, 'ए भागवती, ठुल्दाइ कहिले आउछ भन त? सानो बच्चाले भनेको लाग्छ, भन त भन।'
मैले कुन सुरमा हो कुन्नी 'पर्सि आउनु हुन्छ' भनेँ। काकी मख्ख हुनु भयो। म आफ्नै सुरमा खेलिरहेँ। नभन्दै पर्सिपल्ट दाइ टुप्लुक्क आउनु भयो।
'यो भागवतीले भनेको कस्तो लग्छ भन्या' काकीले सुनाउनु भयो। म आफ्नै सुरमा खेलिरहेँ।
पैया बिनाको संसार। हामी टरक हेर्न कृष्ण मन्दिर परिसर जाने गर्थ्यौँ। कृष्ण मन्दिर परिसरमा एउटा ठूलो पिपलको रुख थियो। त्यस्को चारैतिर चौतारो। रुखकै छायामा होम गर्नको लागि बनाएको अग्नि कुन्ड।
चौतारोबाट केही पर डिलबाट हेर्दा तल नाग्बेली परेको रोड। रोडमा साना-साना सलाईका बट्टा जस्ता टरक। टरक देख्ने यही एउटा उपाय थियो।
त्यस दिन् बुवा, म, र मेरो दुई वटा भाइहरु टरक हेर्न कृष्ण मन्दिर गएका थियौँ। चौतारोमा शितल हावा आइहरेको थियो। चौतारो तल अग्नि कुण्डमा खरानी देखिन्थ्यो। कुण्डको वरपर मान्द्रो बिछाइएको थियो।
म र भाइहरु त्यही मान्द्रोमा कुण्डको वर पर दगुर्दै 'छुने चोर' खेल्न थाल्यौँ। बीचमा कुण्ड भएकोले गर्दा डौडँदा अर्कोले छुन सक्दैन थियो। खेल्न निकै रमाइलो भैरहेको थियो। तर अचानक सानो भाइ कुण्डमा खस्यो। सायद खरानी तल आगो अझै बाँकी थियो।
भाइ घरि घुडा टेक्थ्यो, घरी खुट्टा टेक्थ्यो। एकछिनसम्म भाइले पनि चिच्याएन। म समान्य रुपमा भाइलाई हात दिएर तन्न खोज्दै थिएँ तर कुण्ड गहिरो थियो। म तान्न सक्दिन थिएँ। त्यसमाथि भाइ खुट्ट टेकेर उभिन सक्दैन थियो।
केही बेरमा बुवाले भाइ होम कुण्डमा खसेको थाहा पाउनु भएछ। बुवाले खै कसरी भाइलाई निकाल्नु भयो। भाइको देब्रेपट्टि घुँडा, अनि खुट्टा धेरै पोलिएको थियो। त्यस दिनदेखि मलाई मान्द्रो, चिप्लिने सतहदेखि साह्रै डर लाग्न थाल्यो। अहिले पनि लाग्छ।
त्यसदिन मैले देउतासँग निकै झगडा गरेँ। देउतालाई कसैले देख्दैन थियो। म मात्र देख्थेँ। कसैले सुन्दैन थियो, म मात्र सुन्थेँ। ममीले खेनेकुरा दिनुभए देउतालाई पनि खुवाउथेँ।
सबैजना 'खोइ तेरो देउता?'
'के गरिरहको छ?' भनेर सोध्थे, हाँस्थे। म देउताले जे गरिरहेको छ, त्यस्तै नक्कल गरेर देखाउथेँ। देउता मेरो गोप्य साथी थियो। गोप्य यो अर्थम कि ऊ कसैलाई देखिदैन, सुनिदैन थियो।
त्यसदिन, मैले देउतासँग मेरो भाइलाई किन खसाएको भनेर झगडा गरेँ। उसले 'मैले खसाको होइन, तर चिन्ता नलेऊ तिम्रो भाइ चाडै ठीक हुन्छ', भन्यो।
म भने 'अरु कुरामा पो जिस्किने हो त, भाइलाई पनि खसाउछन्!' भनेर रिसाइरहेँ। त्यसदिन मैले देउताको अनुहार पनि हेरिनँ। ऊ कुनामा बसेर मुस्कुराइ रहेको थियो। मलाई फकाउदै थियो, म भने फक्किइनँ।
मलाई साँच्चै देउतादेखि त्यसदिन रिस उठेको थियो। ममीले मेरो निराश अनुहार देखेर 'के भो? किन ढुस्स परेको?' भनेर सोध्नु भयो। मैले 'मेरो पेट दुखेको छ' भनेर झुटो बोलेँ। अनि ममीले 'जे पायो त्यो खाइस् होला' भन्नु भयो तर म केही बोलिनँ।
बेलुकी खाना खाएर म ओछ्यानमा पल्टिरहेको थिएँ। देउता मेरो छेउमै थियो। मैले वास्ता गरिनँ। उस्ले एक्कासी झ्यालबाट एउटा परेवा कोठाभित्र पठायो। मलाई थाहा थियो उसको चाल। मेरो ममीबुवा अचानक परेवालाई देखेर छक्क पर्नु भयो।
परेवा बस्ने ठाउँ खोज्दै थियो। खाटबाट ठिक विपरिततर्फ बल्बको होलडरमा ऊ बस्न खोजिरहेको थियो। ममीले परेवालाई समात्नु भयो, परेवा शान्त भयो। ममीले परेवालाई पछ्यौरा ओडाएर छेउको टेबलमा राख्नुभयो, म हेरी रहेँ। मनमनै खुसी पनि भएँ। तर खुसी भएको देखाइनँ। भोलिपल्ट बिहान परेवालाई रातो अबिर दलेर ममीले छोडिदिनु भयो, परेवा उड्यो।
म अझै रिसाइ रहेको थिएँ। अनि बेलुकी देउताले मलाई खुसी पार्न एउटा निलो परी पठायो।
त्यो परी नवजात शिशुको नापको, तर बच्चा जस्तो अविकसित होइन। युवा अवस्थाको जस्ती थिइ। ऊ सानो उचाइको पूर्ण विकसित मनिस जस्तै थिइ। सानो आकारको भएपनि, जीउडाल एकदम मिलेको थिइ।
ऊ हाम्रो टेबलको ठिक माथि अडिएर आफ्ना हात खुट्टा चलाउदै थिइ। उस्को खुट्टाले टेबल छोएको थिएन। यसो हेर्दा टेबलमाथि आकाशमा टक्क अडिएर हल्का तल माथि गर्दै के-के चलिरहेकी पुतली जस्तै देखिन्थी। तर जीवित।
टेबलमा निलो रंगको बुट्टा भरेको टेबलक्लोथ थियो। त्योभन्दा अलिक फरक निलो रङमा पहेलो फुलबुट्टे फ्रक जस्तो लुगा लगाएकी थिइ। म छक्क परेर हेरी रहेँ। म पनि मनमनै छक्क परेँ, 'यो के हो? कसैलाई भनूँ कि नभनूँ? अरुले देख्दै छ कि मैले मात्र देखेको हो? बुवा ममीले देख्दा के सोच्नु होला?'
तर ती सब सोचाइभन्दा बढी, त्यो निलो परीलाई हेरिरहन मलाई मन लाग्यो। ऊ केहीबेर त्यही अडिरही।
मलाई अनौठो लगेर 'कोठामा अरु को छ?' त्यो हेर्न एकछिन वर पर हेरेर फेरि उस्लाई हेर्न खोज्दा, ऊ हराइसकेकी थिइ।
यस्तो जादु समय समयमा देउताले देखाइरहन्थ्यो। विशेषगरी म रिसाउँदा बिरामी पर्दा मलाई खुसी पार्न उसले यसो गर्थ्यो। त्यसैले पनि मलाई ऊसँग कहिले काहीँ रिसाउन मान लाग्थ्यो।
यसअघि पनि एकपटक म बिरामी पर्दा भुइँमा लगाएको सानो ओछ्यानमा पल्टिरहेको थिएँ। मलाई बिरामी पर्दा निकै दिक्क महशुस हुन्थ्यो। म भित्ता तिर फर्केर एकटकले भित्तो हेरिरहेको थिएँ। त्यति नै बेला देउताले साना खेलौना जस्तो सिपाहीहरु पठाएर मलाई छक्क पारेका थिए।
ती सिपाहीहरु कति साना भने त्यो कोठाको भुइँ र भित्ताको बीच, भुइँभन्दा अलिक माथि भित्तामा किनार बनाइएको थियो। त्यसैले भित्ताको तल्लो भाग रातो माटोले पोतेको, र भित्ताभन्दा अलिक चौडा भएकोले त्यस्को किनारमा एक औंला अट्ने सतह बनेको थियो।
हो, त्यही सतहमा साना सिपाहीहरु चार पाँच जना लहरै हिँडेका थिए। आजकल अंग्रेजी फ्लिममा विश्वयुद्ध लड्दा देखिने सिपाही जस्ता। टाउकामा हरियो हेल्मेट लगाएका, हरियो छिर्के लुगा लगाएका, बन्दुक भिरेका, अनि त्यो भित्तोको बिडमा परेड खेलिरहेका। सिपाही देखेपछि मेरो ज्वरो हरायो, म छक्क पर्दै हेरिरहेँ।
देउताले जादु देखाउँदा मलाई अलि अलि डर, अनौठोपन, र खुसी एकैसाथ लाग्थ्यो। मलाई थाहा थियो, देउताले जे पनि गर्न सक्छ। म छक्क परेर हेरी रहन्थेँ। मलाई एउटै कुरको पिर हुन्थ्यो, 'ममी र बुवाले यो देखे के सोच्नु होला?'
निलो परी पठाइसकेपछि हाम्रो झगडा सक्कियो। भाइ पनि उस्ले भने जस्तै छिट्टै ठिक भयो। मलाई पनि उस्लाई धेरै दुख दिन मन लागेन। हामी फेरि साथी भयौँ। देउताले समय समयमा नौलो नौलो कुरा देखाइ रहन्थे।
ऊ भन्थ्यो, 'तिमीले जे भन्छौ, म त्यही गर्छु तर तिमी मसँग नरिसाऊ।'
म भने बीच बीचमा रिसाइरहन्थेँ। तर हाम्रो झगडा लामो रहँदैन थियो। म निलो परीलाई सधैँ सम्झिन्छु। अझैँ त्यो बेलाको फोटोमा त्यो टेबल देखिन्छ। मलाई निलो परीको याद आउँछ। तर उस्ले त्यो निलो परी भने त्यस दिनदेखि पठाएन।