यो सहरमा अल्छी र फोहोरी थुप्रै छन्। नत्र यो खाल्टो, यो डङ्गुर गन्धले भरिएको हुने थिएन। तिनै अल्छीहरु मध्ये एउटा सिन्को पनि नभाच्ने उच्चकोटीको अल्छी म पनि हुँ।
हप्ताको २ दिन जति त आनन्दले सुतिरहेको सपना पो देख्छु। धन्न अल्छीपना नाप्ने यन्त्र बनेको छैन। नत्र म रेकर्ड होल्डर हुने थिएँ 'अल्छी नम्बर वान।'
फेरि यो जगतमै धनी मध्ये एक बिलगेट्स भनेका छन्, गाह्रो काम गर्न अल्छीहरुलाई दिन्छु किनकी उनीहरुले त्यस्तो काम गर्ने सजिलो उपाय खोज्छन्। म आशावादी छु, जिन्दगीमा म जस्ता को पनि केही न केही त पक्का हुन्छ।
धन्न बिले दाजुले त्यति भन्दे नत्र म जस्ताको मन बुझाउने केले? मलाई कहिले काहीँ आफ्नो पेटसँग खुब रिस उठ्छ, म जस्तो अल्छीको पेटलाई भोक लाग्ने जाँगर किन लागेको? म फेरि खानाको खुबै पारखी, मिठो पनि चाहिने र धेरै पनि।
साथीको कुरा सुन्नुको गाह्रोले म एक्लै बस्छु। मेरो जति खायो उति तन्कदै जाने छालाको पेटलाई सन्तुष्टि पार्ने एउटै सजिलो उपाय थियो, होटेल जाने टन्न खाने, खातामा हिसाब चढाउने, पुटुस्स भुडी बढाउने। दुई थाल लतार्ने अनि फुर्सद लिएर डकार्ने।
धन्न म बस्ने नजिकै जाँगरिलो, मायालु फुयाल दाइको सानो होटेल थियो। दाजुको होटेलको सबैभन्दा धेरै मिठो के हो? म जान्दिनँ। फुयालदाइको बोली हो कि? भाउजूको माया हो कि? त्याहाँका भाइहरुले गर्ने आदर सत्कार हो कि? दिले दाजुको हात? वा मेरो भोक?
जेसुकै होस्, म हरेक दिन बेलुका फुयाल दाजुको होटेल जान्थेँ र कहिले के कहिले के खान्थे। महिनादिन कर बलले मोटे साहुको अघिल्तिर दाँत देखाउदै गिर्थेँ, तलब पाउँथेँ। अनि मुसुक्क मुस्काउदै फुयाल दाइलाई खाताको अन्तिममा सिसाकलमले जोडेर निस्केको अंक बराबरको पैसा तिर्थे। यदि बिहानको खाना र दिउँसो खाजा मोटे साहुले दिने थिएन भने मलाई जागिर खाने बिल्कुल जाँगर चल्ने थिएन।
एक बारको जिन्दगानी लर्बराउदै चल्दै थियो। एकदिनको कुरा हो, म खान खाएर आधा मुठी सुप चपाउँदै थिएँ, फुयाल दाजुले हाँस्दै खुसुक्क कानमा भने 'भाइ, होटेल बेच्यौँ नि हाम्ले।’
म झस्केँ। 'ल खाइस् अब उधारो!' मैले सुप चपाउन छोडेँ, न निल्नु न ओकल्नु। सुपको थुप्रोलाई मुखको देब्रेतिर दाँत र गालाको बीचको खाल्टोमा थुप्रो लगाउदै सोधेँ, 'किन बेचेको? कसले किन्यो?'
सानो स्वरमा दाजुको जवाफ थियो 'अब खाली कस्टुमरको गाली मात्रै सुन्न पर्ने, यो भएन, त्यो भएन। जति राम्रो गर्न खोजे नि कहिले नि जस पाइएन। काम गर्ने केटाहरुले पनि निउ मात्रै खोज्छन्। अब यो काम नै नगर्ने विचार गरेको। तपाईं धन्दा नमान्नुस्, किन्ने मान्छे यी हाम्रै केटाहरु हुन्।’
एक मनले खुसी भएँ कि उधारो खाता बन्द हुने भएन। अर्को मनले दुखी भएँ, यो बिरानो सहरमा आफूलाई धरै माया गर्ने फुयाल दाइ र भाउजु होटेल छोडेर जादै थिए। खुसी हुने कि दुखी हुने भन्ने अवस्थामा दुःखले खुसीलाई जित्यो।
मलिन मेरा प्रश्न थिए, 'कहिलेबाट जाने? कहाँ जाने?'
सालिन दाइको जवाफ थियो 'भोलि जाने, आफ्नै गाउँ जाने। के छ र भाइ फोनमा गफ गरौँला, बिहे गर्नु भयो भने चै बोलाउनु होला है।'
दाइलाई साह्रै अँगालो मार्ने चाहना थियो तर मैले चाहनालाई मारेँ। भारी भएको मनलाई कतै हुत्याएर हल्का हाँसे र भनेँ, 'त्यो भैहाल्छ नि दाइ। उधारो नतिरेको ५ दिन भएको सम्झेँ र सोधेँ, 'दाइ, अनि मेरो बाँकी के गर्ने र?'
'पिर नगर्नुस्, तपाईको बिहेमा दुई थाल भोज खाउँला।’ दाजुले मेरो मायामा ५ छाक खानाको पैसा माया मारे। मायाभन्दा पनि गुण भारी भएको महशुस गरेँ।
'अनि भाउजू?'
'कोठामा सामान मिलाउँदै छे।’
'सोधेको थियो भन्दिनुस् है।’
दाजुले शान्त मुद्रामा मुन्टो हल्लाए। म निस्केँ, मभित्र बबण्डर मच्चियो, के ग्यास किन्ने अब? खै पैसा? अनि ग्यास मात्र किनेर हुन्छ? चुलो खै? थालभाडा खै? ल जसो तसो सबै किनिएला, जाँगर खै?? रातभरि कहिले घोप्टो, कहिले टेड़ो, कहिले उत्तानो परेर सोचेँ र निष्कर्षमा पुगेँ, आफै पकाएर खान चाहिने सबै चिज पसलमा किन्न पाइन्छ तर जाँगर पाइदैन।
भोलिपल्ट साँझ पनि भोको पेट र रित्तो खल्तीले डोर्याउँदै मलाई त्यही लग्यो। फुयाल दाइको होटेलले नाम फेरेछ, 'नयाँ तीनभाइ होटेल' लाई अंगेजीमा लेखिएको थियो। तै पनि राम्रो लागेन, फिटिक्कै।
भित्र नयाँ बत्तीहरु थिए रंगीचंगी तर आफ्नो मननै अध्यारो थियो। सधैँ आफू बस्ने कुनाको टेबल अर्कै तिर फर्केछ, 'के रिसाएर हो?' हिजोसम्मको साने आजको साने साहु मुसुक्क हाँस्दै आयो।
छिटै नै अब होटेलमा यो पाइन्छ, त्यो पाइन्छ भन्दै गफ लगायो। मैले सबै सुनेँ र खाना खान्छु भनेँ। ऊ गयो। अब सानेलाई के भन्ने? तिमी? तपाईं? साहुजी? के! खाना लिएर नयाँ, झन् सानु केटो आयो। हाँस्दा पनि नहाँसी टसक्क प्लेट राख्यो र गयो।
खाना दिले दाजुको हातले बनेको थियो, थपेर खाएँ। उठेँ, काउन्टरमा कोही थिएन। बोलाएँ, मासुको चोक्टा लुस्दै हिजोसम्मको रामे र अबको रामु साहु आयो। पहिला आफ्नो औँला चुस्यो र टावेलले हात पुस्यो।
मलाई हेर्दै हाँस्यो। म खल्तीबाट पैसा झिक्दै थिएँ, उस्ले सुरुमै खाता निकाल्यो। मैले पैसालाई भित्रै पेलेँ र लामो सास फेरेँ। खाता नयाँ थियो तर भित्र पहिले नै मेरो नाम लेखिएको।
काउन्टरको टेबलमा हिजोसम्म जहाँ सुप हुन्थ्यो, आज भाडो मात्रै थियो। यतिकैमा हिजोसम्मको हिरे फुत्त भित्र पस्यो, 'अहँ! दाइ खाना खाइसक्नु भो?'
'उम् खाएँ, ल दामी भएछ होटेल। अझ राम्रो होस्।’
रामु साउ फुर्कियो। 'ए सर, यो त केही होइन, हेर्दै जानुस् न के के हुन्छ?’
'ल ल, जय होस्' भन्दै म निस्किएँ। सोचेँ, जे-जे भए नि उधारो खान पाए मलाई पुग्यो।
दिन बित्दै गए। विस्तारै होटलका चम्किला बत्ती एक एक गर्दै जल्दै गए। दिले दाजुले पनि होटेल छोडे। टेबलबाट न्याप्किन हराए, बोतल उसै सुतिरहेका हुन्थे, पानी खान पाए पो उठुन् विचारहरु।
केटाहरु फुक्दै गए, होटेल सुक्दै गयो। फुयाल दाजु-भाउजू हुँदा मसक्क मुस्कुराउने तीन केटा, आफै आफै मालिक पल्टेर ठसक्क पर्ने भए। खानेकुरा र तीन साहुजीको भाउ झन् झन् बढ्दै गयो। हरेक दिन जस्तो कामदार फेरिन थाले, तर होटेलको मुहार फेरिएन।
पहिला खुब चलेको होटेलमा मान्छे पस्न छोडे। कुनै दिन तीन केटा मजाले मुख छोडेर एकअर्कोलाई गाली गर्दै गरेको पनि सुनिन थाल्यो। उनीहरु बीच यतिसम्म कलह चल्यो कि एकअर्काको मुखसम्म नहेर्ने भए। ए
कदिन साने साहुले खुसुक्क भन्यो- 'दाजु, होटेल चल्नै छोड्यो, त्यसैले बेचिदिएउँ, तपाईंको बाँकी हिसाब मिलाइदिनुस् है।'
मैले कुनै प्रश्न गरिनँ, हिसाब मिलाएँ। अब पक्का राम्रो मान्छेले होटेल लिन्छ, मिठो खान दिन्छ। विस्तारै चिनजान बढ्छ र फेरि नयाँ खाता खुल्छ, म आशावादी थिएँ।
नयाँ साहुले लिएपछि फेरि होटेलको न्वारन भयो 'सिकन्दरको ढावा।' खाना मिठो र सस्तो पनि, म नाथेलाई के चाहियो? अब बस खाता खोल्न बाँकी थियो। एकदिन परिचय माग्दा भुडे साहुले जुँगामा ताउ लगाउदै भने 'हाम्रो त घर बिहार छ सर।’
उनी भित्ता तिर फर्किए र पोस्टर टाँसे जस्मा कालो अक्षरमा लेखिएको थियो 'यहाँ खाना खान पाइन्छ, उधारो खान पाइदैन।’
मैले सुप सर्काए, पानी खाएँ। लामो सास फेरेँ, पोस्टरलाई फेरि हेरेँ, पैसा तिरेँ, निस्केँ। त्यस दिनदेखि फर्केर त्यो होटेल छिरिनँ। खाना पकाउन चाहिने सबै सामान ऋण गरेरै भए नि किनेँ, अर्काको ऋण खाएसी जाँगर आफै पलायो, अल्छी उसै हरायो।
आजकल आफैले पकाएर खान्छु। आफैले पकाएको खानाले पेटको भोक त मर्छ तर मनमा अझै जीवितै एउटा डर छ, कतै मेरो देश पनि त्यो फुयाल दाइको सानो होटेल जस्तै पो हुन्छ कि?