जलथल हिउँले ढाक्यो दया क्यै नराखी
झटपट कति चाँडो याम आएछ ठन्डी
सब जगमग हिजोसम्म डाँडा खुलेको
हिउँद किन तँ देख्दैनस् र पाठा कुदेको?
चिरबिर चिर आमा खोज्छ बाबा बचेरा
वरिपरि हिउँ मात्रै छैन खाली पखेरा
वरपर सब सेताम्मे छ पानी जमेको
किन यति रिस गर्छस् ए चरी त्यो रमेको?
हिउँद मन दु:खी बन्नेदेखि नानी चलेको
सहन कठिन ठन्डी त्यो छ आफै जलेको
पटपट फुटछन् छाला नछोपे जवानी
रुप र वय नहेरी चुम्छ लाजै नमानी।
थलचरकन खाना छैन छाना कसैको
बरफ जल छ के बाँच्ला र प्राणी जलैको?
थरथर तन काँप्दो यो छ आवाज उस्तै
सललसल नदी झैं बग्छ नाकै दुरुस्तै।
असहज हिउँको यात्रा छ फोटो त राम्रो
दलदल हिउँमा डुब्दै बाँच्न साह्रै छ गाह्रो
हर दिन घर लाग्ने घाम छोडी म आएँ
गजगज हिउँ देख्दा दिक्क भै मैं अघाएँ।