आकाश खुला र सफा थियो। वातावरण हरियाली थियो। वरिपरी नियाल्दा रोमाञ्चित लाग्ने मौसम। टाढा रोडतिर हेर्दा कमिलाको ताँती जस्तै गुड्दै गरेको गाडीको लस्कार देखिन्थ्यो।
नजिकैको रोडतिर गाडी कुदाउँदाको आवाज भने कान सम्म ठोक्किन आइपुग्थ्यो। त्यही रोडदेखि केही पर ठूल्ठूला महलहरू ठिंग उभिरहेका थिए। पहाड जस्तै उभिइ रहेका ती अग्ला महलहरू भित्रको एउटा तल्लामा धेरै मान्छेहरूको भीडभाड थियो।
त्यही भीड मध्येबाट कार्यकक्ष अगाडि प्रसन्न मुन्द्रमा एक अर्धवैँशे सेवाग्राही झुल्किए। 'कति कामले आउनु भयो होला?' कार्यालयका कर्मचारीले आफ्नो कर्तव्य निभाए। तर उनी बोलेनन्। बरु मुसुमुसु हाँसी मात्र रहे।
कुनै रिहर्सल जस्तो लाग्ने त्यो दृश्य नेपाली राजदूतावास मलेसियाको कार्यकक्षमा सन् २०१३ को कुनै एकदिन देखिएको थियो। हेर्दा नेपाली मुलको देखिन्थ्यो। तर उसले नेपाली भाषा बोल्न सक्दैनथे।
'अकु सुडा लुप्पा चेकाप बहाषा नेपाली'- मैले नेपाली भाषा बोल्न भुलिसकेँ।
'सुडा बैँन्याक ताहुन् टिडा चेकाप बहाषा नेपाली'- धेरै वर्ष भैसक्यो नेपाली भाषा नबोलेको।
त्यसरी मलायु भाषाबाट कुरा गर्ने व्यक्ति थिए दिल बहादुर पुन मगर। नेपाल फर्किन यात्रा अनुमति पत्रको लागि सिफारिस बनाउन दूतावास पुगेका थिए उनी। श्रम साप्ताहिक पत्रिका मलेसियाको एउटा अंकमा उनीसँग गरिएको कुराकानी छापिएको थियो। नाम काल्पनिक भए पनि घटना वास्तविक थियो।
अवैधानिक रुपमा रहेका लाखौं विदेशी कामदारहरूको हितमा मलेसियन सरकारले जरिवाना मिनाहा गर्ने नयाँ नीति ल्यायो। वैधानिकता अपनाउन पाउने या घरफिर्ती अनुमति दिने नीति घोषणा गरेपछि लाखौं अवैधानिक कामदारहरूको मुहारमा खुसीको किरण छाउन थाल्यो।
जो वर्षौंदेखि अवैधानिक हैसियातमा लुकीछिपी काम गरेर दु:खले जीवन बिताइरहेका थिए। त्यो सूचना जारी भएसँगै राजदूतावासहरूमा कुनै नयाँ पासपोर्ट बनाउन, कुनै घर फर्कने कागजात बनाउनेको भीड लागेको थियो।
त्यही भीड मध्येको एउटा पात्र थिए दिल बहादुर। उसको कहानी अरुको भन्दा लामो र फरक पनि रहेछ।
दिलबहादुर पुन मगर बागलुङको एउटा गाउँमा सामान्य परिवारमा जन्मेका थिए। जुँगाको रेखी बसिसकेको केटो। ऐना हेरेर काइँयोले कपाल मिलाउन रहर जागी सकेको युवक। वनजंगलतिर गोठालो जाँदा सिठ्ठी फुक्न सक्ने भएको थियो।
गाउँमा रोधी, झ्याउरे र मारूनी नाचहरू नचाउँदा बाआमालाई छलेर हेर्न पुग्ने भैसकेको छोरो। उनी एसएलसी पास गरेर बसेका थिए। गाउँमा दलालीहरूको सम्पर्कमा पुगेका उनी सन १९९० को दशकमा अवैधानिक रुपमा थाइल्याण्ड हुँदै मलेसिया छिरेका थिए।
मलेसियामा पुगेपछि सुरुका दिनहरूमा एउटा फर्निचर कम्पनीमा काम गरे। काम सिक्दै गए। काममा निपूर्ण बने। कम्पनी मालिकको विश्वासिलो कामदार बन्न सफल भए। काम जानेकोले कम्पनी मालिकले उसलाई सुपरभाइजरको जिम्मेवारी दिए। तलब पनि पहिलेभन्दा केही बढाइदिएका थिए।
त्योबेला मोबाइलको सुबिधा थिएन। इन्टरनेटको पहुँचमा उनी थिएन। घरमा चिठी पत्र आदनप्रदान भैरहन्थ्यो। ढिलै होस् परिवारसँग सुख-दुखको कुरा चिठी पत्रको माध्यमबाट साट्ने गर्थे। कमाएको पैसा घर पठाउथे।
फर्निचर कम्पनीको व्यवसाय बढ्दै गयो। केही वर्षपछि कम्पनी मालिकले महिला कामदारहरू ल्याउने प्रस्ताव राख्यो। इन्डोनेसियाबाट आवश्यक महिला कामदारहरू ल्याए।
नयाँ कामदारहरूलाई काम सिकाउने जिम्मेवारी दिल बहादुरको काँधमा पर्यो। काम सिकाउदै गर्दा उनीहरूसँग नजिक हुन पुग्यो। सुख, दु:ख साट्थे। एक परदेशीले अर्को परदेशीको पिर, दु:खहरू बुझ्थे। काम सिक्दै सिकाउदै गए। दिल बहादुरले जे-जे सिकाए, त्यो मात्र सिकेनन्।
फातिया यासिन नामको कामदारले दिल बहादुरको दिल चोर्न सफल भइन्। मन बुझ्न सक्ने बनिन्। उनीहरू प्रेमजालमा पर्न थाले। एकले अर्कोलाई मन पराएपछि एउटै मन, एउटै तन र एउटै ओछ्यान हुन थाल्यो। फातियाले दिल बहादुरको दिलको मुनामा मात्र आधिपत्य जमाइनन्। उसको कमाइमा समेत आधिपत्य जमाउन थालिन्।
जब जब फातियाको मायाजालमा गहिरिँदै फस्दै गए, त्यसपछि घर परिवारसँग सम्पर्क टाढिदै जान थाल्यो। फातियासँग नजिकिनु पहिले घर परिवारसँग ज्यान टाढा भए पनि मन नजिकै थियो। विस्तारै मनको दूरी पनि टाढिदै जान थाल्यो। लामो समयसम्मको सम्पर्क विहीनताले दिल बहादुरको मनमा घर प्रतिको मोह सेलाउदै विलीन हुन पुग्यो।
उनीहरूको मन मिल्यो। प्रेम झाङ्गियो। एउटै कोठा भित्र, एउटै चुल्होमा र एउटै भाँडामा पकाएको खाएर बस्न थाले। त्यसरी एउटै ओछ्यानमा उठबास भएर बसे पनि विवाहको वैधानिक प्रमाणहरू केही थिएन। कम्पनीको मालिकलाई सबै कुरा थाहा थियो। मालिकले नै छुट्टै कोठा व्यवस्था गरिदिएका थिए। केही सालपछि प्रेम निशानीको रुपमा फातियाले छोरी जन्माइन्। उनीहरू बीचको सम्बन्धको एउटा प्रमाण थिइ छोरी आइदा।
उनीहरूको जिन्दगी मलेसियाको वातावरण जस्तै सुन्दर र हरियाली बनेर चलिरहेको थियो। खुला आकाश माथि चराहरू स्वतन्त्र उडिरहे जस्तै स्वतन्त्र जीवन बिताउदै थिए। दिनचर्या खुसीमै बित्दै थियो। तर समय एकनास नहुँदो रहेछ।
कम्पनी मालिकको लागि समय निकै खराब बन्दै आयो। जसको असर उनीहरूको जिन्दगीमा समेत पर्न आयो। सप्लाई गरेको सामानहरू देश विदेशबाट फिर्ता हुन थाल्यो। सामान सप्लाई गर्दा सामानसँगै लागूऔषध राखेर सप्लाई गरेको आरोप लाग्यो।
कम्पनीको उत्पादन र सप्लाई विरुद्ध अदालतमा उजुरी पर्यो। सोच्नै नसक्ने गरी एकदिन कम्पनीमा शिल हान्यो। कम्पनीको मालिकलाई प्रहरी प्रशासनले पक्राउ गरेर लग्यो। हजारौं कामदारहरू बिचल्लीमा परे। श्रमिकलाई सेवा सुविधा दिन नसक्ने भएपछि कम्पनीले सबैलाई आ-आफ्नो घर फर्कन सूचना जारी गरे।
त्यो निर्णयको नराम्रो प्रभाव दिल बहादुर र फातियाको भागमा पनि पर्न गयो। त्यही मारमा परेर उनीहरू एक वर्षे छोरी आइदालाई काखमा च्यापेर इन्डोनेसियासम्मको यात्रामा निस्किए।
दिल बहादुरले पहिले आफ्नै जन्मभूमि नेपाललाई छोडेर कर्मभूमि मलेसिया टेक्न पुगेका थिए। बाध्यताबस फेरि कर्मभूमि मलेसियालाई पनि चटक्कै छोडेर अपरिचित मुलुक इन्डोनेसियातिर हानिएका थिए। इन्डोनेसिया पुगेपछि सुरुमा उसले धर्म परिवर्तन गरेर मुस्लिम बन्नु पर्यो।
बिल्कुल नयाँ ठाउँ, नयाँ समाज, नयाँ भाषा, नौलो संस्कृतिमा घुलमिल हुन बाध्य भए। करिब बीस वर्षसम्म फातियासँग इन्डोनेसियाको बसाइमा उनीहरू तीन छोरीहरू- आइदा, हालिमा, युरिका र एक छोरा हामिद गरी चार सन्तानको बा-आमा भए।
छोराछोरी ठुला हुँदै गए। दिल बहादुरको उमेर ढल्किँदै जान थाल्यो। उनी इन्डोनेसियामा खेती किसानी गरेर जीविका चलाइरहेका थिए। उनीहरूको दिन झन् खराब बन्दै थियो। एक दिन इन्डोनेसियामा आएको सामुन्द्रिक भिषण तुफानले उनीहरूको बस्ती र खेतीपाती सबै उडाएर लगिदियो।
परिवारका सदस्यहरूसम्म दु:खले बच्न पाए। त्यसपछिका दिनहरू दिल बहादुरको लागि नर्क जस्तै बन्न थाल्यो। आम्दानीको स्रोत केही थिएन। बालबच्चाको पालन पोषण र शिक्षाको लागि अप्ठ्यारो पर्न थाल्यो। जिन्दगीमा ग्रहण लाग्न थाल्यो। पत्नी फातियाबाट दैनिक शोषण र दबाबमा पर्न थाल्यो।
हुर्किँदै गरेको छोराछोरीहरूलाई नचाहेरै पनि उनीहरूको पेटकै लागि टाढाका धनी साहुहरूको घरमा आँसु झार्दै बाल श्रमिकको रुपमा पठाउन बाध्य भयो। त्यसपछिका दिनहरू उनी आफू मात्र एक्लै हुन थाल्यो। जिन्दगीमा ती हण्डर र ठक्कर खाएपछि जिन्दगी माया प्रेमले मात्र नचल्दो रहेछ भन्ने पाठ सिके।
पत्नीको शोषणमा पहिलेदेखि नै परिरहेका थिए। तर छोराछोरीको अडेसोमा केही जीजीविषाहरू देख्थे। ती आशाहरू पनि तुहेपछि अन्तिम विकल्पमा आफ्नै जन्मभूमिलाई सम्झिन बाध्य भयो। उनी नेपाल फर्किने लालसामा थिए।
जब मलेसियन सरकारले अवैधानिक कामदारहरूलाई जरिवाना मिनाहा गरेर घर फर्किन या वैधानिकता अपनाउन पाउने नियमको घोषणा गर्यो। त्यो खबर पाएपछि दिल बहादुर पनि इन्डोनेसियाबाट लुकिछिपी मलेसिया प्रवेश गरे।
त्यसपछि नेपाल फर्कनलाई यात्रा अनुमति पत्र बनाउनको लागि नेपाली राजदूतावासमा आइपुगेका थिए। उसले गाउँ भुलेका थिए। नेपाली भाषा भुलेका थिए। उसको दिमागमा बागलुङ जिल्ला। बा-आमाको नाम र स्कुलको नाम मात्र याद थियो।
दिलमाया छ वर्ष पहिले हाउस क्लिनर भिषामा कुवेत सिटी पुगेकी थिइन्। छुट्टीमा आउने जाने गरिरहेकी थिइन्। घर परिवारको आर्थिक अवस्था कमजोर थियो। घरायसी लेनदेनका ऋणहरूमा बालाई सहयोग गर्ने र भाइबहिनीको पढाइमा सघाउने उद्देश्यले कलकलाउँदो उमेर मै पर्देशीएकी थिइन्।
उमेरसँगै बढ्दो जवानीमा बिहेवारी गरेर बस्ने बेला बाध्यताबस विदेश पुगेकी थिइन्। पहिलो छुट्टीबाट फर्केपछि नयाँ ठाउँमा काम गर्नु पर्यो। आफ्नै कम्पनीको सुपरभाइजर भारतीय नागरिक राकेश मुथुइको अन्डरमा काम गर्नु परेको थियो।
काममा आउ जाउ हुँदा उनीहरू बीच प्रेम पलायो। गहिरो प्रेममा परेपछि उनीहरूलाई भौगोलिक अवस्थाले फरक नपर्ने लागेको थियो। विवाह गर्ने सल्लाह भएको थियो। घर परिवारमा समेत खबर दिइसकेका थिए। एउटै कम्पनीमा सँगै काम गर्ने भएकोले खुसीयालीमा दिन बिताउदै थिए।
पैसाको दु:ख पर्दा आलोपालो सहयोग गरेर पठाउने गर्थे। दिलमाया र राकेशसँगै बस्न थालेको तीन वर्ष भैसकेको थियो। राकेशको घर केरला राज्यमा पर्छ भन्थ्यो। विवाहपछि उनलाई घरमै लगेर राख्ने सुन्दर सपना देखाएका थिए। दिलमाया पनि राजी थिइन्। खुसी थिइन्।
उनको पेटमा राकेशको चार महिने भ्रुण हुर्किँदै थियो। अफसोच! संसारभरि कोरोना भाइरस फैलिएको समाचार आयो। बिडम्बना, राकेशलाई कोरोना पोजिटिभ देखियो। उपचारकै क्रममा कुवेत अस्पतालमा राकेशको मृत्यु भयो। दिलमायालाई ठूलो बज्रपात पर्यो।
उनको सपना हुरीले उडाएर लग्यो। कोरोना भाइरसको बढ्दो संक्रमणपछि कुवेत सरकारले देशमा लकडाउन गर्यो। उनको कम्पनीले कामदारहरूलाई काममा पठाउन सकेन। महिनौंसम्म काम विहीन बन्यो। कम्पनीले कामदारलाई तलब दिन नसक्ने सूचना जारी गर्यो।
दिलमाया लगायत हजारौं श्रमिकहरू विचल्लीमा परे। उनको जिन्दगीमा धेरै समस्याका तगारोहरू तेर्सिन थाल्यो। उनको गर्भ भित्र बच्चा हुर्किँदै गइरहेको थियो। एकैचोटि धेरै समस्याहरू आइपरेपछि उनको ज्यानलाई थिलथिलो बनायो। जसको असरले उनी मानसिक रुपमा विक्षिप्त बनिन्।
नेपाली राजदूतावास कुवेतमा खबर गरेर घर फर्किनेमा नाम दर्ता गराइन्। तर उडान ठप्प थियो। धेरै प्रयासपछि नेपाली राजदूतावास कुवेतको पहलमा नेपाल सरकारले विचल्लीमा परेका श्रमिकहरूलाई उद्धार गर्ने सूचना जारी गर्यो। त्यसमा दिलमायाको नाम पनि अटाएछ।
दिलमाया कुवेतको लामो बसाइलाई बिट मार्दै नेपाल फर्केकी थिइन्। आफ्नै देशमा फर्किँदै गर्दा पनि उनको मुहारमा बिहानी किरणको धर्साहरू देखिँदैनथ्यो। बरु गोधुलीमा उज्यालोलाई अन्धकारले लखेट्दाको अवस्था जस्तै मुहारमा अँध्यारोपन छाएको प्रस्ट झल्किन्थ्यो।
त्यसो हुनुको मूल कारण थियो, गर्भमा हुर्किँदै गरेको सात महिने बच्चा। गर्भधारण गर्न सक्ने क्षमता हुँदा हुँदै पनि गर्व गर्न नसक्नुको एउटै कारण परदेशमा झाङ्गिएको प्रेमले दिएको एक अमिट निशानी थियो। हाम्रो नेपाली समाजको नियमले निश्चित गरिसकेको अवैध सम्बन्धपछि बसेको गर्भ वा अवैधानिक गर्भधारण। उनी मलिन र अध्यारो मुख लिएर नेपाल ओर्लिन्।
फूलमती दुबईमा पुगेको डेढ साल मात्र भएको थियो। माइ हाउस क्लिनर कम्पनीमा गएकी उनी जेवलआली भन्ने ठाउँमा कम्पनीकै आवासमा बस्थिन्। उनको काम काराहमामा रहेको एउटा ठूलो महलमा सफाइ गर्ने थियो।
छुट्टीको दिन र कहिले काहीँ कामबाट फर्केपछि साथीहरूसँग साँझ सपिङ महलमा घुम्न पुग्थिन्। त्यही समय हासान याकुब नामको एक पाकिस्तानी युवासँग मोबाइल नम्बर सटासाट भयो। त्यहाँबाट उनीहरूको प्रेमकहानी सुरु भयो।
प्रेम उत्सर्गमा पुगेपछि त्यहाँको सरकारले निर्धारण गरेको नियमलाई उनीहरूले वास्ता गरेनन्। समय मिलाएर कहिले बरदुबई। कहिले मारिना बिच। कहिले देरा जस्तो ठाउँहरूमा सँगसँगै घुम्न पुग्थे। प्रेमलिलामा मस्तले हराउन पुग्थे।
फूलमतीको हातमा आइफोन पर्यो। गलामा सुनको सिक्री लर्कियो। उनको लवाइ, खवाइ, बोली र हाउभाउ देखेर कम्पनीको ठूलो मान्छेहरूले समेत दाँतले जिब्रो टोक्थे।
एक सालपछि छुट्टीमा घर फर्किने योजना बनाइरहेकी फूलमती गर्भवती भइन्। उनको पेट दिन दिनै बढ्दै जान थाल्यो। प्रेमजालमा फसाएर उनलाई गर्भवती बनाउने पाकिस्तानी प्रेमी सम्पर्क विहीन बन्यो। सुत्केरी हुने बेला कम्पनीले अस्पतालमा लगिदिए। छोरी जन्माइन्।
छोरीको जन्म दर्ता गराउन बाबाको पहिचान गराउन सकेनन्। दुबई सरकारको नियमले जन्मदर्ता नखुलेको बच्चालाई देश बाहिर लिएर जान अनुमति दिदैन। त्यही भएर फूलमतीको छोरीलाई टुहुरा बालबालिका स्याहार गर्ने संस्थाले लगे। फूलमतीलाई कम्पनीले नेपाल फर्काइदिए। एक अबोध बालिकालाई खाडीमा छोडेर फूलमती रूँदै नेपाल फर्किन्। पात्रको नाम काल्पनिक छ। घटना सत्य थियो। सन २०१९ सेप्टेम्बर तिरको घटना हो।
दुई दशक बढी लामो समयपछि दिल बहादुर गाउँ सोध्दै बागलुङ पुगे। आफन्त छिमेकीहरूले आश मारिसकेको थियो। हराएको मान्छे अचानक त्यसरी गाउँ आयपुग्दा डाँडामाथि डुब्न लागेको घाम जस्ता बुढा बा-आमाको मुजा परेको मुहार खुसीले चम्किलो देखिएको थियो।
बा-आमाले खुसिको आँसु बगाउदै भन्नु भयो- 'मर्ने बेलामा छोराको मुख हेरेर मर्न पाययोस् भनेर कालिका माईसँग वर्षेनी भाकल गर्थ्यौं। इच्छा पूरा गरी दियो।'
बाआमाको कुरा सुनेर उनी खुसी पनि भए र भावुक बने पनि। धेरै समयपछि बा-आमासँग मिलन भयो। बा-आमाले भनेको कुराले उनको नजरमा आफ्नै सन्तानहरूको दृश्य आएर घुम्न थाल्यो। आइदा, हालिमा, युरिका र हामिद।
पालैपालो उनको अङ्गालोमा झुण्डिएर लाडिदै खेलेको याद आयो। उसको आँखाहरू साउनको धर्ती बनेर लछाप्पै भिज्न पुग्यो। 'मैले त मेरो बा-आमालाई यसरी भेट्न पाएँ। मेरा छोराछोरीहरूले अब मलाई कहिल्यै नभेट्ने भए।'
विगतका पलहरू याद आयो। भविष्यमा छोराछोरीहरूले बा नभएर पाउन सक्ने दु:खहरू सम्झेर निकैबेर झोक्राइ रह्यो। आफ्नै सन्तानसँग बिछोडिएकोमा मन छियाछिया भैइरह्यो। आफैलाई जिम्मेवारहीन बाको रुपमा उभ्यायो। जहाँ जहाँ रहे पनि छोराछोरीको सुख र शान्तिको लागि कामना गरे। र हृदयदेखि माफी माग्दै मन शान्त पार्न बाध्य भए।
'ममी, मेरो बाबा कहाँ हुनुहुन्छ? भन्नुस न ममी!'
एकदिन छिमेकीको घरमा आठ वर्षे एक अबोध बालकले जिद्दी गर्दै आमासँग प्रश्न गरेको दिलमायाले सुनिन्। प्रश्न गर्ने बच्चाको बाबा ऊ आमाको गर्भमा रहेको बेलामा भिरबाट लडेर मृत्यु भएको थियो। छोरालाई उत्तर दिदै उसको आमाले भन्दै थिइन्- 'बाबुको बाबा, मेरो प्यारो छोरालाई चकलेट किन्ने पैसा कमाउन टाढा जानु भएको छ।'
'ममी, हाम्रो बाबा कहिले आउनु हुन्छ रे?'
'थुप्रै पैसा कमाएर। भोलि भोलि आउनु हुन्छ।'
पल्लो छिमेकी घरमा चलेको आमा छोराको प्रश्न उत्तरले दिलमायाको मन झस्काएको थियो। 'मेरो गर्भमा रहेको बच्चा जन्मिएपछि सोध्ने प्रश्नहरू तिनै हुन्। मैले के जवाफ दिने होला? के जवाफ दिएर चित्त बुझाइ दिने होला? के बच्चालाई सधैँ त्यसरी नै ढाँटेर मात्र सम्भव हुन्छ? उसले खोजेको प्रश्नको सही जवाफ छैन? सत्य कुरा बच्चाहरूलाई सुनाउन मिल्दैन?'
कोठाको एक कुनामा बसेर पेटको बच्चालाई बाहिरबाट सुम्सुमाउदै दिलमायाको मनले प्रश्न माथि प्रश्न गरिरह्यो। आमाको अंग फोरेर बच्चा जन्मन्छन्। आमाको नशाबाट अगल भएर जन्मिने हुन सन्तान। तर बालाई मात्र किन ठूलो मान्छन् हाम्रो समाजमा?
गर्भमा हुर्काएको। प्रसव पीडा सहेर जन्माएको। दश धारा दूध पिलाएर हुर्काउने उनै आमा किन ओझेलमा पर्छन्? मनमनै प्रश्न गरी रहिन्। सन्तान जन्माउने आमा हुन्। तर आमाको मूल्यांकन कम गरेकोमा दुखी भइन्। र आफ्नै मनसँग कुरा गर्दै आफूले परदेशमा बसेर अपरिचित र बिरानो मुलुकको प्रेमिकासँग प्रेम गर्नु नै गल्ती गरेको मनमनै स्वीकारिन्।
गाउँमा बाल कार्यक्रम सम्बन्धी काम गर्ने संस्थाले सहरमा घुमाउन लैजाने कार्यक्रम बनाएको थियो। फूलमतीको पनि त्यो लिस्टमा नाम पर्यो। भ्रमणको एकदिन टुहुरा बालबालिकाहरू स्याहार गर्ने बाल गृहमा लगेको थियो। बच्चाहरूको विवरण बताउदै बाल गृहमा काम गर्नेहरूले बोल्दै थिए।
तिनी बाआमा नभएकी। यो बाटोमा बेवारिसे भेटिएको। उनको आमाको अवैध सम्बन्धबाट गर्भ बसेर जन्मिएकालाई बाल गृहमा बुझाएर हिडेको...! त्यहाँ रहेका बच्चाहरूको अवस्था देखेर फूलमती डाँको छोडेर रून थालिन्। सँगै गएका साथीहरूले सम्झाउन थाले।
बालगृहमा रहेका साना बालबालिकाहरू देखेर उनले विगत याद गरेकी थिइन्। दुबइमा छोडेर आएको आफ्नै बच्चाको यथार्थता झल्किरहेको देखिन्। त्यसैले उनले मन सम्हाल्न नसकेर रोएकी थिइन्। फूलमतीको विगत थाहा हुनेहरूलाई उनी रोएकोमा अचम्मित हुने कुरा भएन। तर उनको विगत पृष्ठभूमि थाहा नहुनेहरूलाई उनी धरधर्ती रुनुमा कमलो मन भएकीले त्यहाँको बालबालिकाहरूको अवस्था देखेर मन सम्हाल्न नसकेर रोएको अनुमान लगाए।
दिलमाया एकान्तमा बसेर निकै टोलाइरहन्छिन्। उनको मनमा अनेक कुराहरू खेल्छन्। एक साँझ निकै घोरिइन्।
गहिरो सोचपछि यस्तो निष्कर्षमा पुगिन्- 'मुहार फरक। चरित्र फरक र परिवेश फरक भए पनि सन्तानको लागि बा-आमाको महत्व उत्तिकै बराबर हुँदो रहेछ। सबै चिज हुनु तर बाआमा साथमा नहुनु। टाढा हुनु। या धर्तीमै नहुनुले सधैँ अभिभावकको अभाव खड्किन्छ। सुख या दु:ख पर्दा बा-आमाको साथ पाएमा सन्तानले मार्ग दर्शन पाउँछन्।
सुख पर्दा मात्तिन नदिनु र दु:ख पर्दा आत्तिनबाट धैर्य हुन सिकाउन बा-आमाको खाँचो रहन्छ। आफ्नो छोराछोरीले गल्ती गर्दा जति नै गाली गरे पनि। गालामा थप्पड नै लगाए पनि सन्तान बिग्रियोस् भन्ने मनसाय कुनै बा-आमाको हुँदैन। हरेक बा-आमाले आफ्ना छोराछोरीको प्रगति देख्न चाहन्छन्।
भन्ने गरिन्छ, बाआमाले आफ्नो सन्तानलाई गरेको गाली लाग्दैन। सन्तानलाई बा-आमाको ममता कहिल्यै पूर्ण हुँदैन। छोराछोरीलाई बाआमाको साथ र समीप्यको सधैँ खाँचो भैइरहन्छ। तर दुर्भाग्य मेरो गर्भमा हुर्किँदै गरेको बच्चाले बालाई कहिल्यै पनि देख्न नपाइने भयो।'
छिमेकी घरको कान्छा भाइ दिल बहादुरलाई भेट्नलाई आउँदा साथमा पाँच वर्षकी छोरीलाई हातमा दोर्याएर आएका थिए। बाउछोरीको त्यो दृश्य देखेर दिल बहादुर निकै भक्कानिए। सोच मग्न भए।
उसको मनले भन्यो- 'बा-आमा छोराछोरीको लागि ताती गर्दै हिड्न सिकाउने मार्ग दर्शक हुन्। सँगै खेल्ने साथी हुन्। दुख्दा पीडा कम महशुस गराइदिने डाक्टर हुन्। रूदा आँसु पुछि दिने हात हुन्। झरी पर्दा ओत दिने छहारी हुन्। चिसोले ज्यानलाई कठ्याङ्ग्रिँदा न्यानो दिने न्यानो छाती हुन्। त्यसैले हरेक छोराछोरी घर बाहिरबाट घरमा पुग्दा बालाई देखेन भने सोधिहाल्छन्, 'बा खोइ आमा?' आमालाई एकैछिन मात्र नदेखोस्, 'आमा खोइ बा?'
'अफसोच! मेरा छोराछोरीहरू पो मलाई देख्न मन लागेर कति तड्पिँदा हुन्। अब तिनीहरूलाई कहाँ भेटिएला र!'