आमा,
तिमीलाई जस्तै अरुलाई दिन अनि खुवाउन
मलाई पनि मन पर्छ
बरू,
जति छ बाँडेर खान्छु
तर तिमीले जस्तो भड्डु अरुको भागमा घोप्टाउदैँ,
मलाई खान मनै छैन भन्दिनँ।
म पनि त मान्छे
मलाई भोक छैन भनेर झुटो बोल्दै बोल्दिनँ
हेरिराख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ।
प्रत्येक दिन परिवारको सबैलाई दूध बाँड्दा
तिम्रो जस्तै मेरो गिलास पनि आधा हुन्छ।
बरु,
सबै दूध कुडेमा खनाएर फेरि भाग लगाउँछु
तर,
तिमीले जस्तो आफ्नो भागमा पानी मिसाउदिनँ।
घाँस काट्ने, दूध दुहुने, गाईभैँसी पाल्ने म
अरुको ज्यान तन्दुरुस्त राख्न आफ्नो ज्यानलाई ठग्दै ठग्दिनँ
हेरिराख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ।
तिमीलाई जस्तै खानेकुरा खेर फाल्न मलाई पनि मन लाग्दैन
बरु,
सबैको भागमा समानरुपले राख्छु
तर तिमीले जस्तो आफ्नो भागमा नराम्रो रोटी मात्र राख्दिनँ।
रोप्ने, फलाउने, केलाउने, पकाउने म
देवी, दुर्गा, लक्ष्मी, भगवती म, मलाई डढेको रोटी चढ्दैन
हेरिराख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ।
तिमीलेजस्तै आफ्नो विशेष अवस्थामा विशेष स्याहार पाउन
मैले पनि म महिनावारी भएको अरुलाई पनि भन्छु
तर तिमी जस्तो खाना, नाना र व्यवहारमा अपहेलित हुन्न।
म आफै अघि सरे सृष्टिको वीजलाई कसैले तिरस्कार गर्न सक्दैन
आइसोलोसेनमा बसी दूरी कायम गर्नु पर्ने महिनावारी, कोरोना हुँदै होइन
हेरि राख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ।
जिजुहजुरआमा, हजुरआमाको त्यही संस्कार तिमीले पनि हुबहु गर्यौ
असल संस्कारलाई मेरो पनि सम्मान छ
तर गलत संस्कारको अन्धभक्त हुन सक्दिनँ
म त संस्कार इडिट गर्छु
छोरीले फोटोकपी गरे फरक पर्दैन
हेरिराख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ
हेरिराख आमा, म तिम्रो सिको गर्दै गर्दिनँ।