चाहे सूर्य पश्चिम बाटै उदाउँछ, भन्दिनुहोस्
चाहे डकर्मीले नै रेल कुदाउँछ, भन्दिनुहोस्
तपाईंकै विचार अनि सिद्धान्त, बोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।
जिस्क्याउनुहोस् , उडाउनुहोस् , अनि सबैलाई हँसाउनुहोस्
हाँस्न नखोज्नेलाई, पद - प्रतिष्ठा दिएरै भए पनि फसाउनुहोस्
सित्तैमा पाए जति पनि सोमरस, धोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।
हिजोका साथीहरू सबै, दुश्मन भए, भन्दिनुहोस्
मुलुकका विद्धान वर्ग सबै , राँची गए, भन्दिनुहोस्
हजुरले नै सिकाएका पाठ, घोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।
मै जाति, मै राम्रो , लुट छन् अरू यहाँ, भन्दिनुहोस्
मै ठिक, मै सत्य , झूट छन् अरू यहाँ, भन्दिनुहोस्
तपाईंकै एक बोलीमा अरूलाई, टोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।
सहिदका रगत, देश विकासका लागि थियो, भन्दिनुहोस्
गठन - विघटन कार्य, निकासका लागि थियो, भन्दिनुहोस्
बुझी- बुझी बुझ पचाएर, खोक्नेहरू छँदैछन्
जे बोल्नुहोस्, कमरेड! ताली ठोक्नेहरू छँदैछन्।