कुनै दिन लाग्छ म प्यारानोइड भइरहेछु। म एउटै चक्रमा घुमिरहेछु। हरेक दिन उही दिनचर्या दोहोरिने एक जीवनढाँचा बनिसकेको छ।
एक अन्जान गन्तव्यमा पुग्न बिहानै झोला बोकेर अक्षरलोक जानु, प्रतिस्पर्धाको तुफान देखेर मनोबल हराउनु, एकसुरे भीडको बीचमा उनलाई देख्नु र मोहित हुनु, त्यसैबेला एक्कासी कुनै अपरिचितले पछ्याउन थाल्नु। अतासिदै घर तर्फ दौडिनु।
अर्को दिन पुन: उही दिन दोहोर्याएर बाँच्नु। लाग्छ, नजानिँदो पारामा म एक अपहरित जिन्दगी बाँचिरहेछु। म अर्कैको कथा र अर्कैको निर्देशनमा बनिरहेको एक झुर चलचित्र हुँ।
आज नोटिस बोर्डमा टाँसिएको साप्ताहिक मोडल टेस्टको नतिजा हेर्न म पनि भीडमा घुसेको छु। एकै सपना बोकेका हजारादा नामहरुको बथानमा मलाई आफ्नो नाम भेट्टाउन नै पाँच मिनेट लाग्यो।
नतिजा देखेर खिन्न हुँदै हुलबाट निस्किएँ। मेलै आफ्नो स्कोर सुधार्न सकेको छैन। प्रोग्रेस रिपोर्टमा ग्राफ भासुभीरको ओरालो जस्तो देखिन्छ। आफूदेखि घोर असन्तुष्ट छु। मैले पत्ता लगाउन सकेको छैन, म कहाँ नेर चुकेको छु।
कसैसँग बोल्नै मन लागेन र नाराजी बोकेर इन्स्टिच्युटको गेटबाट सिधै बाहिर निस्किएँ। बाटोभरि म जस्ता धेरै छन्। सबको पिठ्युँमा झोला छ। म यिनीहरुलाई झोला मानुष भन्न रुचाउँछु। म पनि एक झोला मानुष नै हुँ।
हाम्रा झोलाहरुले पृथ्वी बोकेका छन्, भुगोलदेखि इतिहाससम्म, विज्ञानदेखि धर्मसंस्कृतिसम्म, मानव सभ्यताको उत्पत्तिदेखि आधुनिक प्रविधिसम्म, कुनै किटको जीवन प्राणालीदेखि अनन्त ब्रम्हाण्डसम्म। हाम्रो शिक्षा प्रणालीले ज्ञानको जाँच गर्दैन, व्यक्तिको स्मरण क्षमताको जाँच गर्छ। प्रयोगात्मक सीपको जाँच गर्दैन, सिद्धान्तका ठेलीहरु घोक्न लगाउँछ। थाहा छैन यी समीकरणहरुलाई जीवनमा कहाँ नेर प्रयोगमा ल्याउने?
एक हुल झोला मानुषहरु घेरा लगाएर छलफल गरिरहेछन्। कतै त विषयगत वादविवाद नै चलिरहेछ। कोही हतार हतार गाडी समात्न कुदिरहेछन्, उनीहरुलाई चाँडो घर पुगेर पढ्नु छ। कोही हिड्दाहिड्दै किताब पढिरहेका छन्, मानौँ एक सेकेन्ड उनीहरुले टाउको उठाएर यताउति हेरे भने एक प्रश्न तयारीको समय नै अभाव हुनेवाला छ।
कोही गम्भीर मुद्रामा एक्लै एकाग्र भएर हिँडिरहेछन्, सायद कुनै पागल वैज्ञानिकको विश्लेषण बारे चिन्तन गरिरहेछन्। लाग्छ, यो डिम्बसँग निषेचित हुन दौडिरहेका शुक्रकिटहरुको म्याराथन हो। मेरो वरपरको हावामा पातला प्रश्न र तिनका बाक्ला सैद्धान्तिक शुत्रवद्ध उत्तरहरु मात्रै छन्।
केही थान गुनासा र दु:खेसो अनि सहानुभूति मिश्रित उदास संगीत पनि छ हावामा। यो व्यग्रता र गाम्भीर्यले भरिपूर्ण बतास भव्य भविष्यको परिकल्पनामा हिँडिरहेका म जस्ता झोला मानुषहरुले सहजै महशुस गर्न सक्छन्। सबमा अधिक रटानको भोक छ। सबमा कथित बौद्धिकताको प्यास छ। सबलाई घोक्नु छ।
सबलाई नाम निकाल्नु छ, सफल विद्यार्थीको फोटो राखेर एक व्यापारी पत्रिकामा प्रकाशित हुने विज्ञापनमा। यो ज्ञानको खोजी हैन, नतिजाको खोजी हो। खैर, म आफ्नो अर्धज्ञानको आधारमा अनावश्यक बहकिरहेको त छैन?
न्याउरो मुख लाउदै अक्षरलोकको बाटो हिड्दैछु। म असफल हुन्छु भन्ने मलाई पहिल्यै लाग्न थालेको छ। म भित्रको आत्मविश्वास हरण भएको छ। मेरो मस्तिष्क आफ्नो नाकामयाबीको जवाफदेहिता र रटानशास्त्रको उपादेयता खोज्दै रन्थनिएको बेला ठ्याक्कै अगाडि उसलाई देख्छु। उसलाई देख्ने बित्तिकै म भित्र एक किसिमको विश्राम उत्पन्न हुन्छ।
मन मुस्कुराउँछ। न्यास्रो विलीन हुन्छ। म पुन: स्थीर हुन्छु। ऊ जादुमयी छे। उसले मलाई नजानिदो पारामा प्रभावित पारेकी छे। उसमा पक्कै केही अलौकिक शक्ति हुनुपर्छ जस्तो लाग्छ। नत्र कसरी मलाई नछोइ म भित्र उर्जा पैदा गर्न सक्छे। सायद सुन्दरताको शक्ति नै यही होला। सुन्दरता बहुआयामिक गुण हो। रुप र शारीरिक बनोटले मात्र कोही व्यक्ति सुन्दर हुन सक्दैन।
म जस्तै ऊ पनि सधैँ एक्लै आउँछे र एक्लै फर्किन्छे। सायद उसको पनि यो अक्षरलोकमा मन मिल्ने साथी छैन। हामी सधैँ एउटै बाटो हिड्छौँ। एउटै बाटो आउछौँ र एउटै बाटो फर्किन्छौँ। सधैँ एकअर्कालाई देख्छौँ।
देखेकै भरमा एकअर्कालाई सायद चिन्छौँ होला। हामीबीच अनौठो परिचय छ जस्तो लाग्छ। मानौँ हामी अपरिचित भएर पनि परिचित छौँ। बोलचाल नभएर पनि एकअर्कालाई बुझेको छौँ।भलै यो प्रेम हो या होइन, मसँग ठोकुवा गर्न तर्कहरुको अभाव छ।
मैले आज ऊसँग बोल्ने निर्णय गरेँ। जसरी भए पनि उसको आवाज सुन्नु छ। पत्ता लगाउनु छ हामीबीचको यो मौन आकर्षण र शक्तिसिर्जनाको रहस्य। योभन्दा धेरै खुल्दुलीको बन्दी हुनु छैन मलाई। सदाझैँ हेर्दाहेर्दै आज ओझेल हुन दिन्न उसलाई। म ऊसित वार्तालाप गरेरै छोड्छु भन्ने अठोट बोकेर आफ्ना पाइलाहरु उतिर छिटो छिटो चलाउन थाल्छु।
हरेक बिहानझैँ एक चिसो बिहान म अक्षरलोक तर्फ हिडिरहेको थिएँ। धुलो मिश्रित तुवाँलो बीच झोला मानुषहरु सोही बोटो हिड्दै थिए। सबैजना आफ्नै हतारोमा हतारिरहेका थिए। म अरु जस्तो चाँडो हिड्न सक्दिनँ। म आफ्नै मन्द गतिमा हिँडिरहेको थिएँ। मेरो आँखा मभन्दा अगाडि म जस्तै विस्तारै हिँडिरहेका एक दृष्टिविहीनमा अडिइरहेका थिए।
सबका गतिहरु एक हुँदैनन्। कोही चाँडोचाँडो हिड्छन् तर गन्तव्यमा ढिला पुग्छन्। कोही सुस्तरी हिडेरै पनि समयमै गन्तव्य पुग्छन्। कसैको एक बाटो हिड्दा हिड्दै गन्तव्य बद्लिन पुग्छ। कोही प्रयास गर्दागर्दै पनि गन्तव्य पुग्न सक्दैनन्। यो यात्रा नै यस्तै हो, अनिश्चयको यात्रा।
तर भलै आफूले चाहेको गन्तव्य पुग्न सक्लान् नसक्लान् तर सबैजना आफ्नो नियतिको बिन्दुसम्म अवश्य पुग्छन।
आफ्नै बलबुतामा हिँडिरहेका ती दृष्टिविहीन व्यक्तिलाई एक्कासी एक झोला मानुषले ठक्कर खाएर लडाएर गयो तर रोकिएन। म उनलाई सहयोग गर्न स्पटमा पुग्नलाग्दा कोही अर्को आएर उनलाई उठाइहाल्यो। ऊ मभन्दा बढी रियाक्टिभ भइ। बाटोभरिका एकसुरे झोला मानुषहरु कोही रोकिएनन् तर ऊ रोकिइ।
मैले ती व्यक्तिको समान उठाउन सहयोग गरिदिएँ। त्यतिबेला ऊ बोली 'अचेल कोही अरुको दु:खमा भागेदार हुन चहान्न। सफल जीवनको खोजिमा मान्छे असल जीवन जिउन बिर्सिन्छ। भनौँ मान्छे यो दौडधुपमा जिउनै बिर्सिन्छ। मान्छे हुँ भन्ने नै बिर्सिन्छ।'
त्यति भनेर ऊ गइ। मलाई डेजाभु भएजस्तै भएको थियो किनकी म नि ठ्याक्कै त्यही कुरा भन्न खोजिरहेको थिएँ तर शब्दहरु निस्किन भ्याएनन्। लाग्यो, उसको र मेरो भेट निकै पहिल्यै भइसकेको थियो तर उसलाई चिनेको थिएन।
ती दृष्टिविहीन दाइले 'कस्तो सुन्दर व्यक्ति तपाईं। धन्यवाद' भनेँ तर ऊ पर पुगिसकेको कुरा मैले भनिदिएँ। सुन्दरता महशुस गर्न सकिने कुरा रहेछ। सुन्दरता अमूर्त हो, अमूल्य हो। बुझेँ, हृदयको सौन्दर्य व्यवहारमा प्रवाहित हुन्छ र असली सुन्दरता देख्न मनको आँखा चाहिन्छ।
उसलाई परैबाट हेरिरहेँ। आँखाबाट ओझेल नहुन्जेल म मुग्ध भएर हेरिरहेँ। कसैसँग ठोक्किएपछि पो झसंग भएँ। मलाई पनि हिड्नु छ, अडिनु होइन। यसरी उसलाई पहिलो पटक देखेको/भेटेको थिएँ।
हामी कक्षामा सँगै हुने गर्थ्यौं। जब म शिक्षकका सयौँ ब्याख्यान बीच चेपिएर दिक्दारिएको हुन्थेँ, ऊ अघिल्लो बेन्चबाट फनक्क फर्केर म तिर हेर्थी र एक हृदयउघारक मुस्कानको झोक्का म तिर फ्याँकिदिन्थी।
मेरो गम्भीर मुखारमा विनोदको सानो झिल्को आउँथ्यो। उसलाई अन्जान होला तर उसको उपस्थितमा मात्रै पनि म प्रफुल्लताले दिप्त हुन्थेँ। ऊ र मबीच मुस्कानद्वारा बोलचाल हुन्थ्यो। ऊ मुसुक्क मुस्कुराएरै हजारौँ कुरा बोलिदिन्थी। म प्रतिक्रियामा मुस्कुराएरै सबै कुरा बुझिदिन्थेँ। उनमा म आफैलाई देख्न थालेको धेरै भैसक्यो। कहिलेकाहीँ लाग्छ ऊ मेरो हृदयकै कुनै सुषुप्त सौन्दर्यचेत हो।
कुनै एक अर्को बिहान जब म नयाँ दिनमा पुरानै दिन दोहोर्याउने सुरुआती यात्रामा थिएँ, मलाई महशुस भयो कि मलाई कसैले केही समयदेखि पछ्याइरहेछ। दिनानुदिन अनुसन्धान गर्दै जाँदा मैले पत्ता लगाएँ कि एक पात्र सधैँ मेरो पिछापिछा हिँडिरहन्छ, कालो हुड, कालो प्यान्ट, कालो जुत्ता लगाएको।
हेर्दा कुनै तान्त्रिक सान्त्रिक जस्तो पनि देखिने। त्यसका आँखाले मलाई हरबखत चिहाइ रहन्थे। को हो ऊ? कुनै गुप्तचर, जासुस या त्यो दयालु केटीको कोही आफन्त? त्यो पनि म हिँडेकै बाटो हिँड्थ्यो। मेरो पिछा गर्दा त्यसका पदचापहरु मेरो कानमा ठोक्किने गर्छन्। सोही गतिमा मेरो हृदयको धड्कन पनि बढ्न जान्छ।
त्यसका नजरहरुको चालमा पर्ने बित्तिकै म भित्र अत्यासको जन्म हुने गर्छ। यो प्रकृया चल्न थालेको पनि महिनौ भइसक्यो। त्यसको उपस्थिति मेरा लागि एक किसिमको सांघातिक मानसिक प्रहार जस्तै भइरहेछ। यो नित्य आतंकित अवस्था बारे मैले कहिल्यै कसैलाई सुनाउन सकेको हैन।
आज मलाई साथी बनाउनु छ। म ऊसित बोल्ने अठोट गरेर चाँडो चाँडो हिडिरहेको छु। अब मलाई एक्लै-एक्लै, अगाडि-पछाडि होइन, सँगैसँगै हिड्न मन छ।
उसको बारेमा सोच्न लागेको मिनेट नपुग्दै म मेरो पछाडि केही पदचापहरु सुन्न थाल्छु। ती पदचापहरु कुनै नयाँ होइनन्। त्यसले मलाई फेरि पछ्याउन थालेछ। त्यसका ती पदचाप र मेरो मुटुको धड्कन बराबर गतिमा छन्। ती कर्कश पदचापहरु नजिक नजिक आइरहेछन्।
मलाई त्यसले सधैँ किन पछ्याइरहन्छ, आजसम्म थहा छैन। गर्धन घुमाएर एकछिन पछाडि हेरेँ। आज त्यो बनोटमा झन ठूलो भएको छ। एउटै पहिरन, एउटै हुलिया छ तर झन् कालो देखिएको छ। ऊ एक क्रुर आकृति जस्तो देखिदैछ।
अचम्म कुरा छ, अरु व्यक्तिहरुले त्यसलाई नोटिस गर्दैनन्। खै कसरी हो, बेप्रवाह हिडिरहन्छन् आफ्नै सुरमा। हुन त यहाँ किताब भित्र आँखा राखेर हिँडिरहेछन् झोला मानुषहरु।
अक्षरलोकबाट हिड्दा हिड्दै म शब्दनगरी पुगिसकेँछु। ऊ मेरो आँखाबाट ओझेल भइसकी। सधैँ यस्तै त हुनेगर्छ। जब यो अध्याँरो (भूत?) ले मेरो ध्यान केन्द्रित गर्छ, ऊ गयल भइदिन्छे मेरो दृष्टिबाट। अब त त्यसका पदचापहरु जोड जोडले सुनिन थाल्छन्।
मतलब त्यो नजिक नजिक पुगिसक्यो। खै किन हो मेरो मुटुको स्पन्दन आज अरु पटकभन्दा बढी रफ्तारमा छ। त्यसका पदचापहरु पनि अरु दिनभन्दा असाधारण रुपले चर्का छन्। म जति चाँडो हिड्छु, त्यो उति चाँडो पछ्याउँछ।
म वाक्यपुर नेर पुग्छु। यहाँ भीड बाक्लो छ। भीडमा मेरो एकजना शिक्षकलाई पनि देख्छु। उहाँलाई कसैले मलाई पछ्याइरहेको कुरा सुनाउँछु। उहाँ मुस्कुराएर जवाफ दिनुहुन्छ 'नआत्तेउ! सब ठिक हुन्छ।'
यति भनेर उहाँ भीडमा हराउनु भयो। मेरा सहपाठीहरुसँग कुरा खोल्न डराउँछु। उनीहरु मेरो इशारा भने बुझ्दैनन्। यतिबेलासम्म त्यसले पिछा गर्न छोडेको छैन। म अडिन्छु त त्यो पनि अडिन्छ। म हिड्न थाल्छु त त्यो पनि हिड्न थाल्छ। म दगुर्छु त त्यो पनि दगुर्छ।
त्यो अघिभन्दा झन ठूलो भएको छ, भीमकाय गोडजिला जस्तो भएको छ। घडी हेर्छु। म यसरी भागिरहेको एक घण्टा भैसककेको छ। घडीमा जम्मा तीन अंकहरु मात्रै छन्। तीन अंकहरुबीच तीन सुइहरु घुमिरहेछन्। आकाश अँध्यारिदै गइरहेको छ।
कति छोटो दिन हो? केवल तीन घण्टाको? कि त्यसले समयलाई पनि काबुमा राख्यो? सर्वशक्तिमान समय माथि पनि नियन्त्रण? अध्याँरो झन् झन् बढिरहेको छ।म काँपिरहेको छु।चिट्चिट् पसिनाले पूरै भिजिसकेको छु।
म भित्रको अत्यास चरमतामा पुगिसक्यो। म भित्रको सयल, संयम, बोध सबै सामुहिक चितामा पोलिए जस्तै भयो। म सोच्न थाल्छु, 'म कमजोर छु। म कमजोर भएकोमा आत्मग्लानी पनि छ मलाई।'
मसँगको निर्णयशक्तिले पनि आत्महत्या गरिदियो। अब मैले आत्मसमर्पण गर्नु सिवाय मसँग विकल्पको अभाव छ। म आँखा चिम्लेर उभिदिन्छु। 'हे दैत्य, आइजा मलाई खा। मलाई मेटा। मलाई लैजा। मलाई सिद्धयाइ दे।' मैले आँखा चिम्म गरेर छोडिदिएँ आफैलाई।
तर कुनै विपत्ति घट्दैन। जब म आँखा खोल्छु, देख्छु म जस्ताको तेस्तै छु। जहाँ उभिएको थिएँ त्यहिँ छु। तर वातावरण निष्पट्ट अध्याँरो भैसकेको छ। भीड गायब छ। कोही छैन। घडीमा दोस्रो घण्टा पनि बजिसकेको छ। पूर्ण सन्नाटा छ।
आकाश हेर्छु। आकाशमा ताराहरु छैनन्। म जस्तै एक्लो छ आकाशको चन्द्रमा पनि। एकछिन एक्लो चन्द्रमालाई हेरिरहन्छु। अरे! यो त चन्द्रमा होइन, उसको अनुहार हो। मेरी अघोषित प्रियतमाको। मेरी अपरिचित उत्प्रेरणाको। म हाँस्छु।
ऊ धपधप् बलिरहेकी छ मलाई उज्यालो दिन। यो उज्यालो उनको मुस्कानको तेज हो। उसको मुस्कान कति उर्जावान्, कति शक्तिशाली! मेलै उसको मुस्कानको प्रतिउत्तरमा टाउको हल्लाएँ। मेरो मनको अध्याँरो हरायो। अलिअघि बाटो देखिन थाल्यो। मध्यरात फर्केर साँझ भएजस्तै पो भयो।
मैले पछाडि फर्केर हेरेँ, त्यो शैतान त्यही उभिरहेकै छ। झन् तिखो पाराले हेर्दैछ। क्रुद्ध नजरहरुद्वारा मलाई निमोठ्न खोज्दैछ। मलाई लाग्यो, 'मैले त्यसको उपस्थितलाई बेवास्ता गर्नुपर्छ। ध्यान नदिनु नै त्यसबाटको उन्मुक्ति हो।'
म बाँकी रहेको अँध्यारो छिचोल्दै अगाडि बढेँ। ऊ स्वभाविक रुपले मेरो पिछा पिछा गर्दै आयो। म बाटो बद्लेर सानो गल्लीमा प्रवेश गरेँ। तर मैले जति नै गल्ली परिवर्तन गरेपनि त्यो अत्यासकारी प्राणी पदचापहरुको कर्कश आवाज सहित आफ्नो निगरानीबाट मलाई अलप हुन दिनेवाला छैन। न त मैले बेवास्ता नै गर्न सकिरहेछु।
अन्तत: म एक अध्याँरो डेड इन्डमा पुगेँ। अब म भाग्न-भगाउन सक्दिनँ। चन्द्रमालाई पुन: हेरेँ। म भित्रकै म बोल्यो, 'मैले आत्मरक्षा गर्नु सिवाय विकल्प छैन। मैले त्यसको सामना गर्नुपर्छ। आवश्यक परे प्रतिकार गर्नुपर्छ।'
मनमा सङ्कल्प गरेँ- म स्थीर रहनेछु। ठिङ्ग उभिएँ। गर्धन सिधा पारेँ। ऊ आफ्नो भयानक रुपाकृति लिएर अगाडि बढ्यो। मैले आफ्नो धैर्यलाई सबल राख्ने प्रयास गरेँ।
अब हामी बीच आधा हात बराबरको दूरी रह्यो। मैले उसको आँखामा हेरेँ। एकछिनको रहस्यमयी मौनतापूर्ण हेराहेरपछि मैले उसलाई चर्को आवाजमा प्रश्न गरेँ -'को होस् तँ? हु द हेल आर यू?'
मेरो प्रश्नले उसमा असहजता रोपिदियो। उसले मेरो यो सहासको कल्पना पनि गरेको थिएन होला। उसको अँध्यारो मासिदै गयो। उसका गोडाहरु लुला भए।
ऊ लर्खरायो र एकछिनपछि बोल्यो, 'म तँ भित्रको डर हुँ।' यति भनिसक्दै ऊ हावामा विलीन भइगयो।
टिन् टिन् टिन्... घन्टी बज्यो। कसैले मेरो अगाडिको उत्तरपुस्तिका खोस्यो। तीन घण्टा त सकिइसकेछ। परीक्षा हल केही क्षणमै खाली भयो। म ट्वाँ परेर प्रश्नपत्र हेरिरहेँ।
(परीक्षादेखि लाग्ने डरलाई 'इक्जामिनोफोबिया' वा 'टेस्टोफोबिया' भनिन्छ। यो कयौँ विद्यार्थीमा देखा पर्ने एक किसिमको मनोवैज्ञानिक समस्या हो।)