म कतै हराएछु भने
म कतै भेटाएछु भने
म कतै लड्बराएछु भने
म कतै सम्मालिएछु भने
मेरो बेहोसमा
मेरो होसमा
म आफैंले आफैँलाई देख्नसकूँ
म आफूभित्रको म लाई छुनसकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ।
म कतै पोखिएछु भने
म कतै भरिएछु भने
म कतै फुटेछु भने
म कतै जोडिएछु भने
मेरो हारमा
मेरो जीतमा
म आफैँले आफैँलाई महसुस गर्नसकूँ
म आफूभित्रको म मा रम्नसकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ ।
म कतै जमिरहेकोछु भने
म कतै बगिरहेछु भने
म कतै विरक्तिएछु भने
म कतै श्रृङ्गारिएछु भने
मेरो दुःखमा
मेरो सुखमा
म आफैँले आफैँलाई चम्काउन सकूँ
म आफूभित्र एउटा हस्ताक्षर गर्नसकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ ।
म कतै निदाएँछु भने
म कतै ब्युझिएछु भने
म कतै रोएछु भने
म कतै मुस्कुराएछु भने
मेरो सपनामा
मेरो विपनामा
म आफैँले आफैँलाई मगमगाउन सकूँ
म आफूभित्र एउटा निष्कर्ष निकाल्नसकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ ।
म कतै अस्ताएछु भने
म कतै उदाएछु भने
म कतै छोपिएछु भने
म कतै देखिएछु भने
मेरो मिलनमा
मेरो विछोडमा
म आफैँले आफैँलाई रंगाउनसकूँ
म आफूभित्र आफूलाई सुन्न सकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ ।
क्यालेन्डरको ३६५ यात्राहरुमा
जबसम्म म बाँचिरहनेछु
मेरो प्रत्येक श्वासको त्यहीँ नै संकल्प
मेरो अशान्तिमा
मेरो शान्तिमा
एउटा सिङ्गो जीवन लेख्नसकूँ
जीवनका हरेक अक्षरलाई चुम्नसकूँ
एउटा मिठो याद छोड्नसकूँ
मानव भएर वश! मानवता अँगाल्नसकूँ
आफू भित्र आफूलाई खोज्नसकूँ
मेरो हरेक वर्षको रेजल्युशन्
म आफूले आफूलाई चिन्नसकूँ।