कविता
गगनचुम्बी अस्तित्वका खम्बाहरु
अनगिन्ती संस्कृतिका हृदयहरु
विश्वको शिर, यात्रा गर्न नसकिने इतिहासमा
श्रृंगारिएकी मेरी प्यारी जननीलाई
तिमीले किन भकुण्डो खेल बनायौ?
सडकमा कोही निष्पक्ष राष्ट्रका लागि लडिरहेछन्
कोही सत्ता जाने त्रासमा तड्पिरहेछन्
किसान अन्यायका खियाहरु पखाल्न
माइतीघर मण्डलामा न्यायका आवाज गुन्जाइरहेछ्न्
तिमी देशलाई भकुण्डो खेल झैँ खेलिरहन्छौ।
संविधानको जग र विधिको शासनलाई
क्षणभरमै ध्वस्त बनायौ तिमीले
हत्यारा, व्यभिचारी र दुकुटी दुहुनेलाई
सत्तासीन बनायौ तिमीले
तिम्रा देहसँगै सोच पनि वृद्ध भएछ क्यारे
राष्ट्रको बा! घरको चौतारा विश्राम गर्ने बेलाएछ अब
राष्ट्रको अभिभावक बन्यौ तिमी, तर
असल अभिभावकत्व निभाउन सकेनौ
राष्ट्रको शासक बन्यौ तिमी, तर
असल संरक्षक बन्न्न सकेनौं
नेता बन्यौ नैतिकता शून्य रह्यो तिम्रो
साम्यवाद शासनको झुठो आश्वासन बाढ्दै
किन जनताका अश्रुधारामाथि भकुण्डो खेल खेल्छौ?
भातृत्व मास्यौ नेपाली नेपाली फुटेर
विदेशीलाई खेल्ने मैदान बनाइदियौ देश धुतेर
धर्म मास्यौ होली वाइन पिएर
संविधान बनायौ विदेशीको आड लिएर
कति सम्मको दमन सरकार?
सरकार !
यत्रतत्र सर्वत्र निराशा मात्र
देख्दिनँ कहीँ आशाका कोपिलाहरु
अनगिन्ती ताराहरुजस्तै छरिएका शासकहरुमा
ध्रुवतारा खोजिरहेछ्न् यी पीडित जनता
किनकी तिमी यो देशलाई
भकुण्डो खेलझैं खेलिरहेछौ।