दुर्गम गाउँको सामन्ती युगको सामन्ती समय।
बाटो छेकेको मिठुवालाई चमेलीले अनुरोध गरी, ‘हेर मिठुवा, मैले तँलाई धेरै पटक सम्झाएकी छु। सारा गाउँलेले हेर्दैछन्, तँ मेरो बाटो छोडेर खुरुक जा। मलाई तेरो चोसो अनुहार हेर्न पनि मन लाग्दैन।’
मिठुवालाई आफनो अनुहार चोसो भनेकोमा साह्रै रिस उठयो। गोमन सर्पले जस्तो फुँ फुँ गर्दै भन्यो- ‘हाम्रो कुलकै नाममा पहिलो पटकको त सायद यही होला, जुन तेरो घमण्डी मुखबाट निस्कयो। फेरि मेरो अनुहारलाई तैले चोसो भनिस्। तँलाई तेरै घरछेउको गोठमा सर्पले च्याउ खाएजस्तो खाइदिन्छु।’
त्यो साँझ पानीको पँधेरोमा पानीसँगै त्यो हल्ला पनि सुसायो।
गाउँको जमिन्दारको एक मात्र छोरो मिठुवाले यसरी सर्पले च्याउ खाएजसरी खान्छु भनेपछि आफ्नी विधवा आमालाई घरमा आएर चमेलीले यसो भनिन्, 'आमा अब मलाई नछुने हुँदा त्यो गोठमा सुत्न नपठाउनुस् ल। पल्लो घरकी काकी दिदीले भन्नु भएको, हाम्रो गोठमा सर्प छिरेको छ रे!'
‘गाउँको चलन नै यस्तो हो त म के गरुँ? फेरि सर्प कहाँ दिनभरि एकै ठाउँमा रहन्छ र? नडराउनेलाई सर्पको विष पनि लाग्दैन।’
चमेलीको बाटो दिनदिनै रोकेर मिठुवाले सर्पले च्याउ खाएजस्तो खाइदिन्छु भनेर धम्की दिन थाल्यो। विचरा, चमेलीको कुरा सुनिदिने यो लोकमा कोही थिएन। ठूलाबडासँग जोडिएका सबै हल्लाहरु, केवल पँधेरोको पानीमा सुसाउँथ्यो त्यो गाउँमा, विधवा आमाको कानसम्म पनि पँधेरोको कुरा नपुगेको होइन, तर जमिन्दारको अगाडि ऊ एक निरीह नारीको के चलोस्?
यस्तो सुदूर गाउँ जहाँ नछुने हुँदा गोठमै सुताइन्थ्यो। गोठमै सुत्दा कतिको सर्पले टोकेर मृत्यु भएको त कतिको लासलाई बाघ चितुवाहरुले गोठ बाहिरसम्म घिसारेर लगेको गाउँमा हल्ला हुन्थ्थो। रीतिरिवाजको अगाडि सबैले घुँडा टेकेकै थियो।
कसैले छोरीलाई घरभित्रै सुताए, सुताउने बाबुआमालाई गाउँनिकाला गरिन्थ्यो। आफ्नो भोगविलासको लालचलाई धर्मको नाम दिन्थ्यो। किनभने गोठहरु यहाँका सामन्तहरुको लागि भोगविलासको अखडा थियो। गाउँमा कतै झुलुक्क देखेको सुन्दर अनुहार, गोठमा आएर खोज्न आउँथ्यो, राति राति। सुन्दर अनुहारहरु, गोठमा सुताइने मिति पनि सामन्तहरुको सामन्ति डायरीमा लेखिएको हुन्थ्यो।
नहोस् भन्दाभन्दै पनि चमेली नछुने भइ। गोठमा सुतिरहेकी थिइ। कसैको गोठभित्र छिरेको आवाज उस्ले चाल पाइ। आँखा खोलेर त्यो गोठभित्र छिर्ने पुरुषको अनुहार गौर गरेर हेरी। त्यो त्यही जमिन्दारको छोरो मिठुवा थियो, जस्ले उस्लाई सर्पले च्याउ खाएजसरी खान्छु भनेर धम्की दिँदै आइरहेको थियो।
धम्कीको भाषामा बोल्यो, ‘मेरो प्रस्ताव तिमीले धेरैपटक लत्यायौ। आज तिमीलाई मेरो हैसियत देखाउन आएको।’
यति भन्दै मिठुवाले चमेलीको दुइटै नाडी च्याप समात्यो। चमेली चिच्याइ तर मिठुवाले चमेलीको मुख थुन्यो। चमेली निकै चल्न खोजी तर मिठुवाको अगाडि उस्को केही जोड चलेन। अन्ततः मिठुवाले उस्को एक एक अंग चुसेपछि फेरि बोल्यो- ‘भएभरको अंग जुठो बनाइसकेको छु। अब खुरुक्क मेरो कोठाको गमलाको सूर्यमुखी फूल हुन्छेस् कि अझै यही गोठमा च्याउ बनेर उम्रिनु नै छ?’
अथाह पीडाको आवाजमा बोली- ‘बरु म तँ जस्ता दुष्टबाट च्याउ नै बनेर किचियूँ, अन्तिम साससम्म म आफ्नो अस्तित्वको लागि लड्नेछु।’
उस्को जवाफ सुनेर रिसले चुर भएको मिठुवाले चमेलीको बेसरी घाँटी थिच्यो। चमेली त्यो घाँटी थिचेको हात हटाउन खोज्दाखोज्दै एकक्षणपछि शान्त भइ।
चमेलीको शरीरभरि घाउ नै घाउ थियो। चमेलीको लासलाई घिसारेर गोठबाहिर पुर्याएर मिठुवा आफ्नो घरतिर खुरुक्क लाग्यो।
भोलि बिहान गाउँभरि हल्ला भयो, चमेलीलाई मिठुवाले बलात्कार गरेर हत्या गरेको भनेर। किनभने बलात्कारपछि हत्या गरी भाग्ने क्रममा मिठुवाको चस्मा गोठमै छुटेको रहेछ। फेरि लास पनि नांगै रक्ताम्य लडाइएको थियो। त्यहीअनुसार पुलिस पनि आयो, मुचुल्का उठायो। मिठुवालाई हिरासतमा राखेर लामो अनुसन्धानपछि पुलिसले रिपोर्ट बनायो।
गाउँलेको अथक दवावपछि पुलिसले तयार पारेको लामो प्रतिवेदनभित्रको एक वाक्यांश थियो, ‘चमेलीलाई मिठुवाले हत्या गरेको।’ गाउँमा भर्खर भर्खर सरुवा भएर आएको एक युवक इन्स्पेक्टरमा पनि दम नै थियो।
प्रतिवेदन तयार भएको भोलिपल्ट, मिठुवाको बाउ इन्सपेक्टरलाई भेट्न आयो। जमिन्दारको हातमा एक भारी झोला पनि थियो। भित्र लामै कुराकानी भयो। भित्र एउटा आवाज आयो, मान्छेको गल्ती जनावरलाई थोपर्ने हो इन्सपेक्टर साहेब! गधालाई भारी बोकाउँदा अइया भन्छ र? यति भन्दै भित्र ठूलै स्वरमा हाँसेको हाँसो सुनियो।
भित्र कुराकानीसँगै त्यो भारी झोला हलुका बनिसकेको थियो। केही क्षणमै चमेलीलाई मिठुवाको हत्या गरेको वाक्यांशको ठाउँमा ‘चमेलीलाई चितुवाले हत्या गरेको’ भनेर लेख्न लगाइयो।
भोलि बिहानको समाचार पत्रहरुले सुदूर गाउँ लेख्यो। नछुने भएर गोठमा एक महिलालाई राख्दा चितुवाले मारेको भनेर समाचार आयो। देशभरि नै त्यस घटनाको सन्सनी मच्चियो। गाउँको अन्धविश्वासलाई दुनियाँभरले गाली गरे।
अखबार पढेपछि जमिन्दारले आफ्नो जुँगामा ताउ दिँदै बोल्यो ‘दुनियाँ नै पैसा हो। पैसाले यहाँ जे पनि हुन्छ। केवल एक शब्द ‘मिठुवा’लाई ‘चितुवा’ बनाइदिँदा दुनियाँ नै मूर्ख भयो। मै हुँ भन्ने अखबारहरु अन्धो भयो। पुलिस प्रशासन लाटो भयो। लाटा दुनियाँ, चितुवाले मान्छे पो मार्छ, लुगा त फुकाल्न जान्दैन।’
जमिन्दारको मृगको टाउको झुन्डयाइएको बैठक कोठा बाहिरको एउटा खुल्ला समाजमा अझै यो हल्ला बाँकी छ, 'चमेलीलाई मिठुवाले खायो कि चितुवाले?'
त्यो हल्लाको अब कुनै अर्थ रहेन, सबै सबुत प्रमाण नष्ट भइसकेको छ।