घरबाट निस्कदै गर्दा सरीताको आमा बुबाले भनेका थिए, 'पानी पर्न लागेको छ, छाता लिएर जानु' भनेर। तर छाता कसरी समात्नु। एउटा हातले बच्चालाई काखी च्यापेकी थिइन् भने अर्को हातमा बच्चा र आफ्नो कपडाले भरीएको ब्याग झुन्डिएको थियो।
सरीताको बुबाले पुर्याउन जान खोज्नु भएको थियो तर भर्खर बिरामी अवस्थाबाट उठेको हुनाले सरीताले मानिनन्। दाइले शनिबार विदाको दिनमा पुर्याइ दिने कुरा गरेका थिए। घरबाट श्रीमानले आजै आउनु भनेको हुनाले आजै जान लागेकी थिइन्।
बसको सिटमा बस्दा खेरी आकाश सफा र खुल्ला थियो। बस सडकमा आफ्नो गतिमा गुडिरहेको थियो। पश्चिम तिरबाट आकाशलाई कालो बादलले ढाक्दै लग्यो। पोखराको मौसम भन्नै नसकिने क्षण क्षणमा नै बदली भइरहन्छ। बसपार्कमा ओर्लदा थाहा भयो आज टैक्सीवालाहरुको हड्ताल रहेछ। हेर्दा हेर्दै पानी दर्किन थाल्यो।
अब घरसम्म पैदल हिडेर जानु बाहेक अर्को उपाय थिएन। अघिभन्दा अलि कम पानी परिराखेको थियो। ओत लाग्ने ठाउँ कतै देखिनन्, सरीताले छिटो छिटो पाइला चालिरहेकी थिइन्। फेरि पानी जोडले वर्षिन थाल्यो। तिनले काखको छोरा र आफूलाई साडीको घुम्टोले छोप्ने प्रयत्न गरिन् र छिटो छिटो पाइला चालिन्। त्यसैबेला सरीताको अगाडि छाता ओढेर हिडिरहेको व्यक्तिले फर्केर हेर्यो र भन्यो 'बच्चा भिज्छ छातामा आउनुस्ʼ भन्यो।
'भयो पर्दैन' भनेपनि सरीताले त्यस व्यक्तिको छाताको सहारा लिनै पर्यो। सरीता निथ्रुक्क भिजेकी थिइन्। नचाहँदा नचाहँदै पनि त्यस व्यक्तिको शरीरसँग बेलाबेलामा सरीताको कुम ठोक्कीरहेको थियो। घर नजिक आइपुग्न लागेपछि सरीताले त्यस व्यक्तिसँग छुट्टिन खोज्दा व्यक्तिले भन्यो ' घरैसम्म पुर्याइ दिउँला नत्र तपाईको बच्चा भिज्ला।’
सरीताले त्यस व्यक्तिलाई भयो भन्दै घर तिर लागिन्। सरीताले घर तिर हेरिन्, ढोकामा सासु र लोग्नेले उभिएर हेरीरहेका थिए। सायद सरीताको बुबाले ऊ आउँदै छ भन्ने जानकारी फोनबाट दिएको हुनुपर्दछ। त्यो व्यक्ति आफ्नो बाटो लाग्यो। हडबडमा सरीताले त्यस व्यक्तिलाई धन्यवाद भन्न पनि बिर्सिएछ।
घरमा खुट्टा राख्न साथ सासुले सरीताको काखबाट बच्चालाई तानिन् र रिसाउदै भनिन् 'छाता किन नल्याएको? थाहा थिएन वर्षाको याम छ भनेर!'
सरीताले कुनै जवाफ दिइनन्। जवाफ फर्काएमा विवाद हुने सम्भावना थियो। यो कुरा बुझेको भएर सरीता चुपचाप भित्र पसिन् र बाथरुममा पसेर कपडा फेर्न लागिन्।
सासु अझै पनि फत्फताइ रहेकी थिइन्। लोग्ने पनि रिसाएको जस्तो गरेर आफ्नो कोठामा गएर ओछ्यानमा पल्टिरहेको थियो। कोठामा पस्दै सरीताले सोधिन् 'के भयो? टाउको दुख्यो कि क्या हो?’
लोग्ने केही बोलेन। हेर्दै नहेरी अर्को तर्फ कोल्टे फेर्यो। सरीताले सोचिन्, सायद दुई दिन आउन ढिला भयो, त्यसैले रिसाएको हुनुपर्दछ। सरीता लोग्नेको छेउमा गएर बस्दै भनी 'मलाई माफ गरी दिनुस्।'
केही नबोलेपछि सरीताले पुन: भनिन् 'टाउको दुखेको हो भने भिक्स दलिदिन्छु।'
'त्यस केटाको घरमा गएर त्यही केटालाई दलिदिनु नि।'
सरीताले केही बुझ्नै सकिनन् र भनिन् 'कस्को कुरा गर्नु भएको?'
'धेरै बहाना बनाउनु पर्दैन, त्यही जस्ले छाता ओढाएर पुर्याउन आएको थियो।'
'के भन्नु भएको, उसलाई त मैले चिन्दा पनि चिन्दिनँ।'
'यदि उसलाई नचिनेको भए कुम जोडेर छाता ओढेर किन आएको त?'
'विश्वास गर्नुस! उसलाई त मैले चिन्दा पनि चिन्दिनँ। बाटोमा आउदै गर्दा पानीमा भिजेको देखेर छाता ओढाएको मात्र हो।'
त्यसैबेला सासु अर्को कोठाबाट कराउँदै थिइन् 'सरीता, बच्चाको कपडा कहाँ छ?'
लोग्नेको त्यस प्रकारको व्यवहारले सरीता मर्माहत भइन्। आफूलाई थाम्नै सकिनन्, आँखा टल्पलायो, आँसु पुछ्दै बाहिर निस्किन्।
'के भयो! आँखामा आँसु किन?' सासुले सोधेपछि सबै कुरा सुनाइन्। छोरालाई सम्झाउनु सट्टा उल्टै सरीताको दोष देखाउँदै भनिन् 'छोरोले ठिकै त भनेछ, नचिनेको मान्छेसँग किन आएको? देख्नेलाई नै अप्ठ्यारो टाँसिएर किन हिड्नु पर्थ्यो!'
'हैन, आमाले पनि यो के भन्नु भएको! मैले त त्यस व्यक्तिलाई चिन्दा पनि चिन्दिनँ, उसले त मलाईभन्दा पनि छोरा, तपाईको नातिको लागि छाता ओढाएको थियो।'
त्यहीबेला सासुको काखमा भएको छोरा रुन थाल्यो। छोरालाई लिएर सरीता भान्सा कोठा तिर लागिन्। दूध चुसाउँदै छोरालाई सुताउन लागिन्। तिनको लोग्ने आफ्नै कोठामा पल्टिरहेको थियो। बैठक कोठामा बसेर टिभी हेर्दै सासु फेरि फत्फताउँदै भान्साम छिरिन्।
सरीताले 'बाबु सुत्न लागेको छ, नकाराउनु' विस्तारै भनिन्।
सरीताले सोचिन् केवल छोरालाई पानीबाट बचाउन भनेर मात्र छाताको सहारा लिएकी थिइन्। यहाँ त कुराले अर्कै मोड लिइरहेको थियो। त्यस दिनदेखि घरको परिवारिक वातावरणमा कालो बादल मडारिन थाल्यो।
छाता ओढ्नाले घरमा कलहको बिजारोपण भयो। माइतीमा सरीताको आमाबुबाको कानमा पनि यो कुरा पुग्यो। आमाबुबाले छोरीको भविष्य बारे चिन्ता गर्न थाले, जबकी यसमा सरीताको कुनै दोष थिएन।
केही हप्तापछि...
आइतबारको दिन। आजको दिन घमाइलो थियो, सरीता झ्याल छेउमा उभिरहेकी थिइन्। छोरा सुतिरहेको थियो। सासु टिभीमा सिरियल हेरीरहेकी थिइन्। लोग्ने आफ्नै कोठामा थिए। त्यसैबेला ढोकाको बाहिरी घण्टी बज्यो। कसैले पनि ढोका खोल्न नगएपछि सरीता आफैले गएर ढोका खोलिन्।
ढोका बाहिर उभिएको आगन्तुकलाई देखेर सरीता झस्किन्। जुन व्यक्तिको छाता ओढ्नाले घरमा यत्रो विवाद सृजना भएको छ, त्यही व्यक्ति उसको अगाडि उभिएको थियो। सरीताले पनि चाहन्थी ऊ एकपटक यहाँ आओस् अनि सबै कुरा छर्लगं पारेर समस्याको समाधान गरीदियोस्।
'राम्रो भयो, तपाई यहाँ आउनु भएकोले' सरीताले संकोच मान्दै भनिन्।
'तर तपाई यहाँ कसरी?' आगन्तुकले आश्चर्य मान्दै सोध्यो।
'म आफ्नो घरमा नसबे कहाँ बस्नु?'
'मैले त्यस्तो भन्न खोजेको होइन, देबेन्द्र यही बस्छ! तपाई देबेन्द्रको?'
'म श्रीमती थिएँ तर अब छैन।'
आगन्तुकले केही बुझ्नै सकेन, ऊ असमञ्जसमा पर्यो।
ढोकामा मान्छे बोलेको सुनेर सरीताको लोग्ने पनि आइपुग्यो। आगन्तुकलाई देखेर 'अहो रमेश दाइ तपाई! कति बेला आइपुग्नु भयो?'
सरीताले आफ्नो लोग्नेलाई हेरिन्। धेरै पटक यस दाइको बारेमा तिनले लोग्नेको मुखबाट सुनेकी थिइन्।
आगन्तुक बैठक कोठाको सोफामा बसेपछि सरीताले भनिन् 'मलाई माफ गर्नुहोला, त्यसदिन छाता ओढाउनु भएकोमा धन्यवाद भन्न पनि बिर्सिएछु।'
आगन्तुकले केही सम्झेजस्तो गरेर सोध्यो 'अघि भर्खर ढोकामा के भन्नु भएको, मैले बुझ्नै सकिनँ!'
आगन्तुक दाइको जिज्ञासामा सरीताले एकपटक सासु र लोग्नेको अनुहारामा हेरिन्। उनीहरुको अनुहारमा एक प्रकारको गल्ती महसुस भएको भाव स्पष्ट झल्कन्थ्यो। सरीताले पानी परेको दिन छाता ओढ्नाले उत्पन्न भएको सबै कुराहरु विस्तारमा भनिन्।
आगन्तुक रमेश दाइले यो सुनेर साह्रै दु:ख महसुस गरेर भने 'देबेन्द्र, तिमी पनि अचम्मको मान्छे रहेछौ, उसलाई त मैले नै कर गरेर छाता ओढाएको थिएँ। यिनी त मानेकै थिइनन्, छोराको लागि मात्र भनेर छाता ओढ्न मानेको। अनि काकी, तपाईले त आफूलाई समाजसेवी भन्नु हुन्छ!'
सरीताको लोग्ने र सासुले केही बोल्नै सकेनन्। सरीता प्रति यतिका दिनसम्म गरेको व्यवहार सम्झेर उनीहरुलाई आत्मग्लानी भइरहेको थियो। आगन्तुक दाइले कुराको बिट मार्दै सरीता तर्फ फर्केर भने 'तिमीले मलाई भोकै राख्ने हो कि केही खानेकुरा खुवाउँछौ?'
भान्सामा पसेर सरीताले खाजा बनाउन लागिन्। आज तिनको मन एकतमासले हलुका भएको थियो। देबेन्द्रले पनि ससुरालीमा सासु ससुरालाई फोन गरेर आफूबाट गल्ती हुन गएकोमा क्षमायाचना गरेको कुरा सरीताले भान्साबाट स्पष्ट सुनिरहेकी थिइन्।
आज धेरै दिनपछि उनीहरुले सँगै बसेर खानेकुरा खाइरहेका छन्। पानी परेको त्यस दिन अर्काको छाता ओढ्नाले केही समय त्यस परिवारमा ग्रहण लागेको थियो।