ए सरकार!
तिमीलाई म कसरी कसरी तिरस्कार गरूँ
तिमी त जनताको मन जितेर
यो उचाइमा पुगेको मान्छे।
तिमीसँग बोल्न न मेरो आवाज पुग्छ
तिमीसँग भेट्न न मेरो दूरी मिल्छ
तिमीलाई हेर्न न मेरो आँखाको पावर मिल्छ
तिमीलाई विश्वास गर्न न मेरो विगत मिल्छ।
म त उहीँ तिम्रो नजरबाट टाढा छट्पटाइ रहेको
एक होनहार किसान
एक मेहनती किसान
एक इमान्दार किसान।
तिम्रा लागि बुलेटमा खसेको मतपत्र मध्ये
कुनै मत पत्रमा लागेनछ सायद किसानका हातको मैलो
त्यसैले तिमी यति सुकिलो भएर उभिन सकेको छौ।
तिमीलाई के थाहा
तिमीले छरेका आश्वासन र सपना जसरी
सजिलै उम्रिदैन खेतमा उखु
सजिलै पलाउदैन उखुमा आकुरा
र
सजिलै भरिदैन उखुमा रस
तिमीलाई के थाहा
यो उखुमा भरिएको रस किन यति धेरै गुलियो छ?
यो उखु यस कारण यति गुलियो छ
किनकी
यो उखु बेचेपछि
एक छाक पेट सजिलै भरिन्छ भन्ने आशा छ मेरो परिवारको
विद्यालयको फिस तिरिन्छ भन्ने आशा छोराको
एक सरो लुगा फेरिन्छ भन्ने आशा छ श्रीमतीको
यति धेरै आशै आशले खादिएपछि
यति धेरै गुलियो भएको हो यो उखु।
तिमीलाई लागेछ सायद
खेतमा फालिएको सोत्तरको भन्दा पनि कम मूल्य
हाम्रा सपनाको
तिमीले त कति सजिलै बुझेछौ
उखु पेल्नु र किसानको सपना पेल्नु एकै हो भनेर
उखु पेल्नु र किसानको मुटु पेल्नु एकै हो भनेर
ए सरकार!
तिमीलाई म कसरी तिरस्कार गरूँ
आऊ म तिमीलाई
एक गिलास उखुको रस
र
एक गिलास मेरा यी आँखाको आँसु चखाउछु
त्यो पनि पूरा अनुदानमा।
त्यसपछि मलाई हेर्नुछ तिम्रो अनुहार राम्रोसँग।।