सर्लक्क परेको, गहुँगोरो वर्णको, ओठ माथि हल्का जुँगाका रेखा बसेको, कालो र चिल्लो कपाल, हल्का हल्का खैरो रङको आँखा अनि हाँस्दा झर्लक्क देखिने देव्रे तिरको दारा। मान्छेको बनावट अनुसार कता कता नाम भने सुहाएको जस्तो मलाई लाग्दैन। सानेलाई पनि यही कुराले पिरोल्छ।
साने सबैभन्दा बलवान्, बुद्धिजीवी र विवेकशील हुने अठोटका साथ सानैदेखि हुर्किरहेको थियो। तर ऊ जवान भैसक्दा पनि अरूले ओइ साने भनी बोलाउँदा आफू सानै छु जस्तो महशुस हुँदो रहेछ।
जसका कारण ऊ, बरू मलाई कसैले नबोलाओस् भन्ने पनि सोच्ने गर्थ्यो भने अर्को मन ऊ फेरि अरूले जे भनेनी भनुन् किनकी म आफैमा हिरो छु भनी मनलाई अर्कै मोड तिर डोर्याएर आफू विश्राम लिन्थ्यो।
साने परिवारको सानो भने थिएन किनकी ऊमुनि अर्की प्यारी बहिनी जन्मिएकी थिइ। बहिनी मात्रै पाँच वर्षकी थिइ भने सानेका बा किसानी पेशा र आमा पनि उहीँ बाबुको दाहिने हात भएर बसेकी थिइन्। परिवार हेर्दा सानो र खुसी देखिन्छ।
तर वास्तविक्तामा हेराइ र भोगाइ बीच आकाश जमिन कै फरकपना हुन्छ र सानेको परिवारमा फरकपना उब्जनुको मुल जड भनेको नै आर्थिक अवस्था थियो। तर सानेलाई भने आफू बलवान, बुद्धिजीवी र विवेकशील सबै हुनु थियो।
सानेका बा कोदालो बोकेर खेतमा पुग्न नपाउँदै र आमाले चियाका भाडा चुलोमा बसाल्न नपाउँदै एकाबिहानै हातमा झोला र झोला भित्र केही जोर कपडा लिएर निस्किन्छ। बा-आमाका कोठाको टेबुलमा सानो कागजमा केही थान अक्षरहरू समेटेर ऊ आफैले आफैसँग बिदा मागी घरबाट निस्किन्छ। घरको पर पुगेपछि एक झलक घरको धुरीसम्म नियाल्छ।
खाली खुट्टा खेल्दै र उफ्रदै गरेको करेसा बारी पनि हेरिरहन्छ र मनमा पनि अनेकौ प्रश्नहरू उब्जाउदै ऊ सूर्यका ताप झुल्कनु अघि नै पाइला बढाउछ। सानेले त्यति छोटो समयमा पनि सुरूदेखि अन्तिमसम्मका सबै हाँस्यौली, ठट्यौली, पिर, खुसी, चिन्ता, उसले जति पनि भोग्यो सबै एकै सासमा सरसर्ती सम्झेर पाइला अघि लम्कायो।
कुखुरी काँ र बाँ, अर्थात् कुखुरा र भैसीको आवजले सानेकी आमाको निन्द्रा खुल्छ र सधैजसो आफ्नो दैनिकी सकी चियाको कप लिएर बाहिर पिँढीमा बसी साने र सानेका बालाई गुहार्छिन्। तर चिया सेलाउदासम्म पनि छोरो बाहिर नआउदा सानेकी आमा भित्रै कोठामा गइ हेर्दा उसका आँखा अघि रित्तो विस्तारा र भरिभराउ पान्ना देख्छिन।
सानेका बा नपढेका भएपनि उबेला आमाले कक्षा पाँचसम्म पढेकी थिइन्। सरसर्ती ती अक्षरहरू पढिन् र अक्षरहरूले समुन्द्रमा छाल आए सरी उनलाई गिज्याइरहे झैँ लागेको थियो। अन्तिममा उसले लेखेको थियो,
‘थाहा छैन मेरो निर्णयलाई कस्तो रूप दिनु हुन्छ तर मलाई जीवनमा ठूलो मान्छे पनि बन्नु छ। किनकी मलाई असल मान्छे त हजुरहरूले बनाइसक्नु भएको छ र मेरी बहिनीलाई पनि उज्जवल भविष्य तिर लम्काउनु छ। उमेरले सानै छु र हजुरहरूका लागि सधैँ साने नै रहिरहनेछु तर जिम्मेवारीले परिपक्क छु आमा। यो कुरा बालाई पनि सुनाइदिनु होला, हजुरको छोरा केही बनेरै फर्किनेछ।’
सहर आएको केही समय सानेले सबै रहनसहन बुझ्छ तर धेरै समयसम्म उसलाई एउटा कोठा पाउन पनि मुस्किल पर्छ। किनकी हेर्दा त ऊ निकै जवान र लोर्के देखिन्थ्यो तर उसको पहिरनले भने पक्कै पनि ऊ कुनै गाउँबाट सहर झरेको संकेत दिन्थ्यो। कयौँ घरहरूको ढोका ढक्ढकाउदै गर्दा अन्तिममा उसले बल्ल एउटा कोठा फेला पार्छ।
कोठा पनि के भन्नू, किनकी त्यो निकै सानो थियो जसमा एउटा खाट, र टेबुल अट्थ्यो होला। त्यही पनि ऊ खुसी हुँदै त्यही बस्ने निर्णय गर्यो। उसले आफू जस्तै परिपक्क साथी पनि भेट्टाउछ र सहरका बारेमा थप जानकारी उसैबाट लिन्छ। उसले सानोतिनो कामको खोजी गरी केही पैसा जम्मा गर्न थाल्छ।
सानेलाई नआउने काम कम नै थिए होलान् र हेर्दै केही गर्ला जस्तै देखिन्थ्यो, ऊ निकै टाठो थियो। सानेको मिहेनतका बाबजुद उसले केही पैसा जम्मा गरेरै छाड्छ र धेरै ढिला नगरी कक्षा ११ मा भर्ना हुन्छ। यसैगरी ऊ बिहान पढ्न जाने र दिउसो काम गर्न थाल्छ।
खुब मिहेनत र लगनका साथ अघि बढ्छ र हरेक पटक पढ्ने बेला आफ्ना बाले भनेका कुरा सम्झिन्छ। हाम्रा पाला टुप्पी कसेर पढ्नेहरू कोही मास्टर भए कोही डाक्टर र ऊ पनि खुब मिहेनत गरी १२ कक्षा पास गर्छ, मानविकी संकायमा।
उसले आफ्नै पसिना बगाएर जम्मा गरेको पैसाले १२ पनि सजिलै पास गर्छ तर उसलाई अझै धेरै पढ्नु थियो। किनकी एकाबिहानै घाम पनि नझुल्किदै बिना सहायता आफ्नै सोच र हिम्मतका साथ घरबाट निस्केको सानेले गाउँभरि कै धेरै पढेको व्यक्ति बनेर फर्कनु छ भन्दै ऊ फेरि पोलिटिकल साइन्स लिएर ब्याच्लर जोइन हुन्छ।
उसले पोलिटिकल साइन्स लिनुको कारण कता-कता आफूप्रति राजनीतिको मोह पनि थियो। तर उसले त्यस राजनीतिको मोहलाई उच्च पदमा पुगेर राम्रो र असल कार्य गरेर राजनीति कुनै घटिया खेल होइन, यो खेल राम्रोसँग खेल्न सके मह जत्तिकै पवित्र छ भनी सावित गर्नु थियो। सानेको मुख्य उद्देश्य नै बलवान, बुद्धिजीवी र विवेकशील हुनु थियो र हुन्छ पनि।
एक रातको कुरा हो, साने साथीको घरमा खाना खाएर आफ्नो कोठा फर्किने क्रममा उसले ‘बचाउ, कोही छ, बचाउ’ भनेको आवाज सुन्छ। कता कता उसलाई रातको समय मेरो भ्रम होला भनी हिड्न खोज्छ तर फेरि त्यही आवाज सुन्छ र साने यो पक्कै भ्रम हैन भनी झल्यास्स हुन्छ र आवाजको पछि पछि जान्छ जहाँ दुई पुरूषले मदिरा सेवन गरी एक महिलाको इज्जत लुटिरहेका थिए।
त्यसै बेला रिसले चुर भएर आँखा नदेखेको सानेले यति कुट्छ ती निच राक्षसहरूलाई र पुलिसमा खबर गर्दिन्छ। सानेले एक महिलाको इज्जतमा लाग्न लागेको दागलाइ पन्छाइदिन्छ र भोलिपल्ट समाचारमा साने नाम जताततै चर्चामा आउँछ। यो खबर गाउँसम्म पुग्छ।
साने पहिलेदेखि नै एक बुद्धिजीवी व्यक्ति थियो तर पहिले ऊ व्यवहारमा बुद्धिजीवी थियो भने अहिले शैक्षिक क्षत्रमा पनि उत्कृष्ट अंक ल्याएर दोब्बर बुद्धिजीवी भएको छ। सानेका व्यवहार र लगनशीलता देखेर विभिन्न पार्टीका मानिसहरूले सानेलाई आफूहरू तिर तान्न खोजिरहेका थिए तर उसलाई म स्वयम् आफ्नै सफल, उत्कृष्ट पार्टी बनाउनु छ।
उसले आफू जस्तै इमान्दार व्यक्तिहरूलाई जम्मा गरी छुट्टै संगठन बनाउँछ र उसको संगठनका कार्यले उसलाई माथिल्लो तहसम्म पुर्याएर छाड्छ। यो भएन, त्यो भएन भनी ढिपी गर्ने धेरै सन्तानहरू हुन्छन् तर आफ्नो बा-आमाको दुख र संघर्ष बुझ्ने सन्तान कमै मात्रामा हुन्छन्। हो, साने पनि त उहीँ कमै र उत्कृष्ट सन्तान मध्ये एक भएर देखायो।
सानेले के गरेन, ऊ आफ्नो खुट्टामा उभियो। बहिनीलाई पढायो र पढाउदै छ। बा-आमालाई सहायता दियो। आज गाउँ-सहर चारैतिर साने कै नामले परिचित छ र आउँदो दिनमा सानेले चुनावमा उमेदवार भइ जितेर यो देशका निम्ति म केही नौलो र सुनौलो अवश्य गर्ने छु भनी पूर्ण विश्वासका साथ ऊ अघि बढिरहेको छ।
हाम्रो समाजमा कयौँ सानेहरू छन् जसमा, कोही हिम्मत नहारी अघि बढिरहेका छन् त कोही साहस जुटाउन नसकेर पछि परिरहेका छन्। यदि राम्रो अवसर र उचित ज्ञान पाउने हो भने कयौँ सानेहरू जो आर्थिक अवस्थाका कारण पिछडिनु परेको छ, उनीहरूले पनि सुनौलो अवसर प्राप्त गर्ने थिए र हातमा मास्टर्स डिग्रीका सर्टिफिकेट लिएर बसेका युवाले देश छाडेर विदेश रोज्नु पर्ने अवस्था आउने थिएन।
आशा छ, आउँदो दिनमा कुनै पनि युवाहरूले प्राप्त गरेको ज्ञानको नतिजा घरको दराजको एउटा कुनामा मात्रै सीमित नरहेर व्यवहारमा उचित ढंगले लागू भइ हजारौँ सानेहरूले यो देशका कोण कोणलाई नयाँ र उचित तरिकाले परिमार्जन गर्नेछन्।