कविता
चिसो र तातो मिसाउदा
चर्किन सक्छ
अझ फुट्न सक्छ
सिसा जस्तै
आखिर मानिसको दिल पनि त
सिसा जस्तै हो
चर्कि जाने
फुटि जाने
जब चिसो वचनले
तातो मुटुमा छुन्छ
मुटु चिराचिरा पर्छ।
तातो तातो भाषण गर्दा
थाहै हुँदैन
कुनै दिन
त्यो जमात
त्यो ताली
त्यो झुटो तारिफ
सेलाएर
चिसो चिसो हुन्छ।
अनि त्यो चिसोलाई
चुरूफुरु हुनेको क्रियाकलापले
धप धप बल्नेको तापले
पगाली दिन्छ
पग्लि बलिन्द्रधारा बगेको मैन जस्तै
तत्पश्चात्
चिसो पसेको मनभरि
तातो तातो आँसुका थोपाहरु
बगिरहन्छ
नमिठो लाग्नेगरी।
भलै धपक्कै बलेको रापलाई
शक्तिवाल भनि
विश्वास गरी
अर्को शक्ति
नरम र मधुरो भइ
चिसो हृदय लिइ मिल्न जाओस्
आखिरमा भइहाल्छ
चिसो र तातो शक्तिको घर्षण।
तातो तातो बढ्दै
झन् तातो हुँदै जान्छ
त्यसपछि चिसोमा
एक्कासी तातो मिसिएपछि
एकैचोटि रनक्कै तातेपछि
जति ठूलो भयंकर भए पनि
जति शक्तिशाली भए पनि
कसैले हल्लाउन पनि सक्दैन भन्ने ठाने पनि
कुनैपनि चिज
एक्कासी चर्किन्छ
चिराचिरा परेर
ठूलो जोडको आवाजले
झ्वाम्म फुट्छ
चकनाचुर भएर।
देखेका सारा मिठा मिठा सपना पनि
जोडिनै नपाइ
भुइभरि छरिन्छन्
चकनाचुर भएर।