पहाडलाई चिर्दै र हुत्तिदै आएको बतासले
फूलले नचाहँदा पनि
फूललाई अचेट्दै र धकेल्दै
फूलका पत्रहरू जम्मै भुईँभरि झारेर जान्छ ।
आँधीलाई घचेट्दै
चट्याङसँग पाखुरा सुर्कंदै
बैँशमा लठ्ठिएर हिँडेको युवा
अहँ! बुट बजार्दै म छेउ आइपुग्छ ।
आँखा उठाएर हेर्न खोजेँ
आँखाको दहमा तलसम्म खस्न पुग्छु
दहका तरङ्गले पिटिन्छु
हृदय जोडसँग धड्किएर
भर्याङ तल–माथि गरेझैं हुन्छ ।
नजिकै आएर भन्छ
ऊ मलाई प्रेम गर्छ रे !
मेरो अस्वीकृति मान्न ऊ तयार छैन
क्षणभरमै आगो भरिएको पानीले
मेरो अनुहारको चिनारी मेटाएर जान्छ ।
म चिच्याउँछु
झ्यालका सिसाहरू
मेरो चिच्याहट्ले झर्याम्म फुट्छन्
उसको प्रेमले अलप भएको मेरो सौन्दर्य
पत्रहरू झरेको फूलजस्तै भएको छ ।
मेरा स्वप्नहरूलाई मातेका आँखासँग
कुनै संवाद गर्नु छैन
म आधा आकाश, देशको आधा हिस्सा
मुटुमा प्रेम बोकेर
नागरिक अनुभूति हुने पर्खाइमा
हत्केलाले छेकेको लाज
न्यायको बर्कोले ढाक्न चाहन्छु ।
मलाई मेरो देशको अर्थपूर्ण मान्छे हुनु छ
उसको प्रेमले लाछिएको मेरो अनुहारमा
राष्ट्रियता अंकित
सर्जरी चाहन्छु ।