कविता
हो, जान मन छ काठमाडौँ
सपना पनि त्यहीँको देखिन्छ
गाउँले भएपछि
यही गाउँमा
सानो छाप्रोमा बसेर
बाहिरी जमाना हेर्दा
उदेक उदेक देखिन्छ
कहिले जवान चिल्लो राँगो
जुध्छ अर्को राँगोसँग
बलको तुजुब देखाउन
कहिले खिच्चो कुकुरले
ठूलोलाई झम्टिन्छ
मालिकको आडमा
कहिले तारे गोरू सिङ भाँचुन्जेल
हानाहान गर्छ माले गोरुसँग
मै हुँ भन्ने घमण्डले उम्लिएर
ङ्यार्र ङ्यार्र रिसाको बिरालोलाई
झम्टिदै कुकुरले लखेट्छ
सानो समूहको भनी हेपेर
कहिले कागले कोइलीलाई थाहै नदिइ
सुटुक्क अण्डा ओथारो दिन्छ
छलछाम गरेर
विचरो एक थरीको चरो बकुल्लोलाई
अर्कै थरीका कागहरू मिलेर ठुङ्छ
समूहबाट गलहत्याउन
यस्तो अनेक अनेक तमाशा
गाउँमै छ
भन्छन्
काठमाडौँमा पनि हुनसक्छ
यस्तै यस्तै खेला
तर अहँ
कदापि हुँदैन
हुनै सक्दैन
घट्नै सक्दैन
यस्ता सानातिना घटना
त्यत्रो ठूलो राजधानीमा
त्यत्रो त्यत्रो महल र मोटरगाडी भएको ठाउँमा
त्यत्रा मान र धन हुनेहरू बस्ने ठाउँमा
त्यहाँ त
एउटै टिमको
राँगो राँगो भए पनि
ठूलो कुकुर सानो कुकुर भए पनि
अथवा
छुट्टाछुट्टै समूहको
बिरालो र कुकुर भए पनि
मिलेर बस्दा हुन्
एकले अर्कोलाई सहयोग गरेर
सधैँ असल भएर
तारे र माले गोरु
एक हल भएर गाडा तान्दा हुन्
कागले कोइलीको आँखा
कहिले छल्दैन होला
सबै कुरा प्रष्ट हुन्छ होला
बकुल्लो आफ्नो दलमा आउँदा
कागहरूले अन्तर हृदयदेखि
स्वागत गर्छन् होला
सम्मान गरेर
त्यसैले त
हो, जान मन छ काठमाडौँ
सपना पनि त्यहीँको देखिन्छ
गाउँले भएपछि
यही गाउँमा
सानो छाप्रोमा बसेर
बाहिरी जमाना हेर्दा
उदेक उदेक देखिन्छ।