प्रियाको सामाजिक सञ्जालको मोहले यो कथानक बुन्यो।
‘हाइ प्रिया के छ’ को एक परपुरूषको प्रश्नलाई ‘सञ्चै छ’ को एक टुक्रा जवाफले प्रियाले सोचेकी पनि थिएनन् कि जीवनलाई यति कठिन मोडमा पुर्याइदिन्छ भनेर।
सामाजिक सञ्जालको मित्रता हो जोसित पनि लगाएर के भो भनेर लगाएको मित्रताले प्रोफाइलमा पुरानो जवान फोटो टाँगेको एक चालिस वर्षको पुरूषसित जोडिदियो।
च्याटहरू बाक्लिँदै गएपछि चियाको अफर आयो।
नयाँ पुस्ताको प्रतिनिधि हो, एक कप चिया सँगै खाएर के नै बिग्रिन्छ र को महान सोच बनाइन्।
दुई चार पटकको चियाको अफरलाई सहर्ष स्वीकारिन्। चियाको अफरले कथामा हरफहरू जोड्दै गएको पत्तै नपाई प्रिया आज यो मोडमा एक्लै ठिङ्ग उभिएकी छन्। जहाँ ऊ नितान्त विवश भएर एक्लिसकेकी थिई।
यद्यपि नयाँ पुस्ताको प्रतिनिधि भएकोले कुराकानीमा हाँसोको चिनी घोलेर चियाजस्तै माधुर्य पार्छन्। यस्तै आज प्रिया चालिस वर्षको पुरूषको चियाको दसौं अफरमा ...
‘दुई कप चिया है, एक मिल्क टि, चिनी हालेको अर्को ब्लेक टि, चिनी नहालेको’ वेटरलाई औंलाले आदेश दिँदै चालिस वर्षको त्यो पुरूषले बीस वर्षकी केटीतिर पुलुक्क हेर्यो र भन्यो, ‘बाइ द वे, हामी कहाँ पुगेका थियौं ?’
‘बारम्बार सोध्ने त्यही रेडिमेड प्रश्न, तिम्रो पढाइ कहाँ पुगेको थियो भनी सोध्नु भएको थियो।’
‘हो, त साँच्चिकै, तिम्रो पढाइ कहाँ पुग्यो ?’
‘म अहिले बि.ई थर्ड एयर काठफोर्ड कलेजमा पढदै छु ।’
हाँस्यो मरी मरी र भन्यो, ‘प्रमोसन भयो है नयाँ जेनरेसनको । हाम्रो पालामा त बिहे पो हुन्थ्यो ।’
‘बिहे गर्नेहरू अहिले पनि छन्।’ प्रियाले ओठमा मजाकको रंग दल्दै बोलिन्।
‘अब भन्नुस्, मलाई यो क्याफेमा किन बोलाउनु भएको ?’
वेटरले दुई कप चिया टेबुलमा राखेर जान्छ। वेटर गएपछि उस्ले बोल्यो,
‘बाइ द वे, नयाँ पुस्तासँग चियाको चुस्की लिने मेरो सौख छ। यही बहानामा, नयाँ जेनरेसनको नयाँ नयाँ हैन्डसम र स्मार्ट विचार सुन्न पाउँछु।’
प्रियाले खित्त हाँस्दै सोधिन्,‘अहिले कति वर्ष पुग्नुभयो ?’
‘उमेर जति आँप जस्तो लटरम्म पाके पनि देखिन त पच्चीसकै देखिएको छु नि, छैन र ? तिमी पत्ता लगाउन सक्छौ ?’ उल्टो प्रतिप्रश्न गर्यो।
उस्ले उमेर बताउन नचाहेको उनले बुझिहालिन्। उनले कटाक्ष गर्दै भनिन्, ‘उमेरलाई सुपारीजस्तो कुटुक्कै टोकेको तपाईंको रोमान्टिक जवाफलाई मानें मैले। तपाईंको उमेरको पाकेको आँप मेरो झटोरोले झर्दैन पनि।’
‘गीत सुनेकी छैनौ तिमीले, दिल तो बच्चा हे जी, थोडा कच्चा हे जी।’
प्रिया फेरि अघिको हाँसोको दुईगुणा गर्लल हाँसिन्।
‘त्यो हात देऊ त तिम्रो ।’
‘किन र ?’ अलि डराइ डराइ हात दिइन्।
‘यो हत्केलामा त गुलाफ राखिदियो भने कुन हत्केला, कुन गुलाफ छुटयाउनै गाह्रो हुन्छ होला। कति कोमल, कति सुन्दर । समात्न दिएमा त जीवनभरि नै समातिराख्न सक्छु।’ उसले भावुक भएर हात समात्दै बोल्यो।
‘पेटमा भोक नलागुन्जेल हो। भोक लागे पछि गुलाफ न सुलाफ, पकापक भात नि खानुहुन्छ,’प्रिया फेरि जोड जोडले हाँसिन्।
छुटिने बेलामा उसले हातको गिलासलाई बेस्सरी निमोठ्दै भन्यो, ‘महाकसम, जीवनभरि भोकै बस्नेछु। प्रिया अर्को शनिबार पनि यसरी नै भेटौं है। तिमी हाँसेको मलाई साह्रै मनपर्छ।’
हात समात्दा पनि प्रिया हाँसेको सम्झेर हो कि, यसो भन्दै आज आएर त्यो पुरूषले प्रियालाई अँगालो मार्यो । प्रियाले हातसम्म छोएको सहेकी थिई तर अँगालो नै मार्दा उनलाई असहज अनुभव भयो।
प्रिया लाज र डरले रातै भएर, मेरुदण्डमा सर्पजस्तो बेरेको त्यो पुरूषको हात आफ्नो पिठ्यूँबाट तानेर उस्कै शरीरतिर फालिन्।
आफ्नो हात आफैंतिर फालिँदा, प्रियाका आँखामा आश्चर्यमिश्रित नजर त्यो पुरूषले फाल्यो।
प्रियाले रूखको लहरामा बेरिएर बसेको अजिङ्गर ओइलाएर भुइँमा झरेजस्तो आफूलाई हलुका पाइन्। दुवै चिया खाइवरी सँगै क्याफेबाट बाहिर निस्किए।
त्यो पुरूषबाट छुटेर घर पुग्दा, प्रियाको मनमा धेरै कुरा खेल्न थाल्यो। उस्को हात समातेर ओल्टाइ पल्टाइ हेरेको र गुलाफको थुँगाको नाम दिएर कामुक अँगालोले डामेको स्मृतिमा आउन थाल्यो।
प्रियालाई आज आएर लाग्न थाल्यो यो बुढो मान्छे किन मेरो जीवनको पछि पछि परेको छ। आधा भन्दा बढी उमेरको फरक छ। साथीहरूले थाहा पाए भने यो बुढो मान्छेसँगको मेरो डेटिङ हाँसोको मसला हुनेछ।
के गरूँ म, अब त्यो बुढो मान्छेसित कहिले नबोलूँ ? मेरो पनि गल्ती छ, मैले उस्को पहिलो प्रस्ताव नै लत्याएर चियाको सुरुप नलिनुपर्ने अब त कहिले फोन उठाउँदिनँ त्यो बुढोको। त्यो चाउरिएको गालामा मलाई के टिप्नु छ र ?
सोच्दासोच्दै मोबाइलको भित्तामा मेसेजको ट्रिङट्रिङ आवाज आएर यसो मोबाइलतिर आँखा लगाइन्। एउटा मेसेज आएको रहेछ । मेसेज खोलेर हेरेको त त्यही बुढोको मेसेज रहेछ।
लेखेको थियो– गुड नाइट प्रिया ।
फेसबुक खोलूँ उस्कै लाइक, सेयर। मेसेन्जरमा पनि उस्कै मेसेजको थुप्रो। भाइबरमा पनि उस्कै मेसेजको चाङ। प्रियालाई लाग्यो, यो बुढो मान्छेले उस्को जीवनमा हरेक पललाई डस्न छोडेको छैन।
कुनै पलमा उन्मुक्तताको आभास छैन। अगणित मिसकल, असंख्य मेसेज।
शुक्रबारको दिन पनि उसले सातपटक फोन गर्यो। एक कप चियाको लागि बिन्ती नै गर्यो। अँगालो मारेकोमा पटक पटक क्षमा माग्यो। अन्ततः मुर्मुरिएको मनले, प्रियाले अब ऊसित अन्तिम पटकको लागि चिया खाएर सदाकालका लागि पुष्पित सम्वन्धलाई विराम लगाउने सोच बनाइन्।
शनिबारको दिन आँखाभरि गएको हप्ताकै असहजताको तनाव पोतेर, प्रिया क्याफेमा पुगिन्। त्यो पुरूष हातमा फूलको गुच्छा लिएर हिन्दी गीतको टुक्रा गुनगुनाउँदै बसिरहेको थियो। प्रियालाई देख्नेबित्तिकै ओठको सतहभरि मात्र खुम्चिने साँघुरो मुस्कान फिँजायो।
‘थाहा छ आज कुन दिन हो ?’ प्रिया सोफामा बस्नेबित्तिकै प्रश्न गर्यो ।
प्रियाको मौनतालाई तोड्दै फेरि उस्ले थप्यो, ‘आज फेब्रुअरी चौध हो नि त। अर्थात् प्रिती दिवस। म तिम्रो बाटोमा फूल ओछयाएर बसिरहेको थिएँ, अघिदेखि। तिमीलाई कुर्दाकुर्दै दुई कप चियाले बाटो तताइसक्यो।’
प्रियाले उस्को अनुहार गौर गरेर हेरिन्। आँखाको कण कणमा कामुकताको बहाव। प्रियालाई लाग्यो, त्यो बुढोको चाउरिएको गालामा दुई चड्कन दिएर जाऊँ। तर उनले त्यस्तो गर्न सकिनन्।
प्रियाले साहस बटुलेर सोधिन्, ‘तपाईंको मप्रति मनसाय के हो ?’
‘यो उमेरमा पनि तिमीसित म सुखी जीवन बिताउन सक्छु। यो मेरो दावा हो।’ प्रियाका आँखामा आँखा खन्याउँदै त्यो चालिस वर्षको पुरूषले बोल्यो।
‘तपाईं मजाक गर्नुहुन्छ। तपाईं र मेरो उमेरको फरक पनि त हेर्नुस् न। न समाजलाई यो कुरा पाच्य छ न कानुनले नै।’ ऊ टुलुटुलु हेरेर बस्छ।
त्यसैबेलामा वेटर आयो र सोध्यो, ‘अघिदेखि यहीँ बसिरहनु भएको छ तपाईंहरू केही अर्डर गर्नु भएको छैन। हजुरहरूलाई के ल्याऊँ ?’
उस्ले केही नभएजस्तो एकक्षण अकमकिएर वेटरतिर पुरानै शैलीमा माइँलो औंला उठाउँदै भन्यो, ‘हो त, दुई कप चिया एउटा चिनी हालेको, अर्को नहालेको है।’
प्रिया जुरुक्क उठिन् र वेटरलाई इशारा गर्दै भनिन्, ‘मलाई पर्दैन, एक कप कालो चिया मात्र, चिनी नहालेको।’
प्रियाले ठूल्ठूला आँखाले त्यो पुरूषलाई घृणाको नजरले हेरिन् र त्यहाँबाट कतै पनि हेर्दै नहेरी बाहिर निस्किन्। ऊ बेसरी चिच्यायो, ‘प्रिया भोलिसम्म जवाफ देऊ है। म प्रतीक्षामा हुनेछु। तिम्रो झोला त लिएर जाऊ।’
प्रिया केही नबोली सरासर घर पुगिन्। खाटमा घोप्टो परेर धुरूधुरू रोइन्।
झोंकमा उनले आफ्नो झोला पनि टेबुलमै छोडेको रहिछ। उनलाई फेरि जीवनमा एक्लो भएको बोध भयो। आमा छैन, ब्यस्त पिताले बुझ्ने कुरै भएन। आमाको स्वर्गवासपछि प्रियासँग खासै नखुल्ने प्रियाको निम्ति यो घडीमा आफ्नो पिता नै अन्तिम सहारा हो भनेर सोच्नै सकिनन्।
एउटी स्त्रीको कमीलाई, अर्को स्त्रीले क्षर्तिपूर्ति गरेर बाँचिरहेको पुरूषभित्र पहिलो स्त्रीको अवशेषप्रति के नै सहानुभूति होला नै जस्तो लाग्यो।
आफू छ महिनाको शिशु हुँदै विष खाएर आत्महत्या गरेकी आमाको कथा उनको जीवनमा रहस्यमै रूपमा रहेको थियो । न उनले कहिले सोध्न सकी, न उनको पिताले नै यस्को कारण बतायो।
साथीहरूलाई यो कुरा राखूँ, हाँसोको पात्र मात्र भइन्छ। उस्लाई के गरूँ, नगरूँ भयो।
त्यो पुरूषको मेसेज ‘प्रिया म पर्खाइमा छु’ ले उनलाई झन् पीडा दियो। उनलाई सपनामा पनि त्यही मेसेजले नै लखेट्न थाल्यो। त्यो घृणित बुढाको प्रस्ताव म कसरी स्वीकार्न सक्छु ?
उनको मनले बारम्बार प्रश्न गर्न थाल्यो। मनभरि उसको प्रस्ताव, कामुक नजर र अँगालोलाई खेलाउँदा खेलाउँदै थाहै नपाई उनी भुसुक्क निदाइन्।
सपनामा पनि त्यही चालीस वर्षको पुरूष र आफूलाई होटलको एक बिछयौनामा देखिई। त्यो पुरूषले प्रियालाई कामुक नजरमा हेरिरहेको थियो। प्रिया डरले थर्थर काँप्दै थिई। प्रिया मध्यरातमा झसंग सपनाबाट ब्युँझिई।
बत्ती बालेर भित्ताघडी हेरेको त रातको एक बजेको रहेछ। र, सुकेको ओठले पानी घटघट खाई।
प्रियालाई सास नै रोकिएला जस्तो भयो। त्यस्तो मध्यरातमा पनि यसो टिङ्गरिङ्ग आवाज आएर मोबाइलतिर झुकेकी त त्यही बुढो मान्छेको मेसेज रहेछ–प्रिया, गुड नाइट। अर्को हप्ता पनि एक कप रोमान्टिक चिया खाऔं है।
अब अति भयो भनेर, प्रियाले त्यो राति भएभरको साहस निकालेर प्रतिक्रियामा लेखिन्,–साला, कुकुर, चोर.....तँलाई लाज लाग्दैन आफ्नी छोरी बराबरसँग रात रातमा यसरी दुख दिन। अब फेरि पनि तैंले यस्तो मेसेज पठाइस् भने म पुलिसलाई रिपोर्ट गर्न बाध्य हुनेछु । त्यसपछि उताबाट केही समयको लागि प्रतिक्रिया आएन।
फेरि एउटा मेसेज टिङ्गरिङ्ग आयो– एक कप चिया खाऔं, भनेको हुँ, म्वाइँ त खाउँ भनेको छैन नि।
प्रियाले त्यो मेसेज पढनेबित्तिकै आफ्नो फेसबुक एकाउन्ट ब्लक गरिन्। अब उनलाई केही राहत मिलेको अनुभव भयो।
उनले त्यो बुढो मान्छेको नियत प्रष्टैसँग बुझिन्। तथानाम गाली गरेर ब्लक नै गरेकोले, उनलाई अब त्यो बुढो मान्छे जीवनमा फर्केर आउँदैन कि जस्तो लाग्यो।
***
कक्षा कोठाभित्र प्रवेश गर्ने बित्तिकै पछाडिबाट कसैले ‘हाइ’ भनी घच्घयाई। यसो फर्केर हेरेकी त रियाले ‘के छ प्रिया, लेऊ तिम्रो झोला’ भन्दै दिई।
थप बोली–‘तिमीले यो झोला अस्ति एउटा क्याफेमा बिर्सेर गएको रे। एउटा चालिस, पैंतालिस उमेरको मान्छेले तिम्रो कलेजको ठेगाना पत्ता लगाएर आई, तिमीलाई देऊ भनेर अघि कलेजको गेटमा मलाई दिएर गएको।’
‘अरू केही कुरा भयो त्यो त्योसित ?’
‘अरू त केही कुरा भएन।’
उनले हल्का चैनको सास लियो। उनले हतपत त्यो झोला खोसेर लिइन्। भावी आतंकले उनलाई घर कहिले जाऊँ र पुगेर त्यो झोलाको मुटु चिरेर हेरुँ जस्तो भयो। प्रत्येक कक्षाको चालिस मिनेट उनलाई एक दिन नै जस्तो भारी भयो।
अन्तिम घण्टीले छुटीको जनाउ दिनेबित्तिकै उनी अरु बेला भन्दा दोब्बर रफ्तारले घर पुगिन्। कोठा चुकुल लगाएर बन्द गरिन् । झोला खोली। झोलामा आफ्ना सवै किताबहरू सकुशलै थिए। किताबको बीचमा एउटा कागज देखिन्। त्यो कागज झिकेर हेर्दा, प्रियाले एउटा चित्र देखी, आफ्नै। त्यो चित्रको मुनि केही लेखिएको थियो। प्रियाले के लेखेको थियो, त्यो चस्माले गौर गरेर पढ्न थालिन्।
लेखिएको थियो, प्रिया, म सदाको लागि तिम्रो जीवनबाट टाढा जाँदैछु। यो केही महिनामा म ज्यादै भावनामा बहकिएँ। खासमा जुन चित्र तिमीले देख्यौ, त्यो तिम्रो चित्र होइन, तिम्री आमा अस्मिताको हो।
जसरी तिमी त्यो चित्रमा आफू भनी झुक्कियौ, म पनि तिम्रो रूपमा अस्मिता सम्झेर झुकिएको हुँ। स्पष्ट पारूँ म बीस वर्षअघि तिम्री आमाको दश प्रेमीमा एक हुँ। तिमी दुरुस्तै तिम्रो आमाको प्रतिरूप लिएकी।
यो रूप जतिपटक यो पृथ्वीमा झर्नेछ, त्यति पटक नै पाप गर्नेछु किनकी यो मेरो प्रेमिकाको रूप हो।
बीस वर्षअघि तिम्री आमा कोठीमा काम गर्थिन्। तर म उनलाई दिलदेखि नै माया गर्थे। तिम्रो आमाको दसौ प्रेमी थियो । तिम्रो आमाको दस पुरूषले महिनाको तीन रात बाँडेर लिन्थे।
तर एउटा महिना जुन ३१ को थियो, त्यो बिजोर एक रातमा हाम्रो भागबण्डा मिलेन। हामी सबैले त्यो रातलाई दश घण्टा बनाएर घण्टा, घण्टामा टुक्रयाएर लियौं। तिम्रो पिता को हो ? मलाई थाहा छैन।
जे होस् तिम्रो आमाको रात घण्टा घण्टामा बाँडेर लिने हामी दश जना साथी भन्दा बाहिर तिम्रो पिता छैन, म विश्वस्त छु यस्मा। तर, तिमी बाँडिचुँडी खाएका कुनै पुरुषतिर नगई तिम्री आमातिर नै गयौ। तिम्री आमा गर्भवती हुँदा एउटा पुरूषलाई सदाको लागि सामाजिक रूपमा छान्नु पर्दा धनको प्रभावले अहिलेको तिम्रो पितालाई छानेको हो। हाम्रो साथीहरूको बीचमा तिम्रो पिताको अलि उँचो रवाफ थियो।
धरोधर्म, अरुले सेक्सको लागि तिम्री आमालाई प्रेम गरे, मैले प्रेमको लागि प्रेम गरें। मेरो प्रेम चिन्नै सकेन तिम्रो आमाले।
तिमीलाई मैले अँगालो मारेको सम्झिरहेकी होली अहिले पनि। मलाई माफ गर, तिम्रो चरित्र पनि त्यस्तै होला भन्ने थियो तर तिमीले मलाई गलत सावित गरिदियौ। अन्तमा, तिमीलाई मेरो असीम प्रेम, के थाहा तिमी मेरो छोरी पनि हुनसक्छौ।
पत्र पढेपछि प्रियालाई भाउन्न भयो। रिस थाम्नै नसकेपछि पत्र टुक्रा टुक्रा पारेर उनी बन्द कोठामा जोड जोडले चिच्चाइन्।
बन्द कोठाभित्र कपाल जिङ्गरिङ्ग पारेर उग्रचण्डीको रूप लिएकी प्रियाले आफ्नो डिएक्टिभ फेसबुक फेरि खोली। त्यो पुरूषसँगका च्याट थुपारिन् र निश्चय गरिन्, यो राक्षसरूपी पुरूषलाई कारबाहीको दायरामा ल्याउनैपर्छ।
यो मेसेन्जरभित्रको राक्षस हो, यो बलात्कारी हो। यस्को ढोंगी रूप समाजलाई उदांगो पार्नुपर्छ। यस्तो एक पुरूष पनि सामाजिक सञ्जालबाट झिक्नु, फेसबुकमा निस्सासिरहेका सयौ महिलाहरुको लागि मुक्ति हो।