'' काssssलो त छ नि त्यो यै रिमोट जस्तै''।सरूले रिसको आवेगमा रिमोट टिभीतिर हुर्याइदिई।
''धन्नले टिभी फुटेन।''लक्ष्मीले भुँइमा खसेको रिमोट उठाउँदै छोरी सरूतर्फ फर्केर कराइन्।
''कहिले अलकत्राजस्तो कहिले कोइला जस्तो अब हुँदा हुँदा अब रिमोट जस्तो कालो पो भन्न थाली। कालै भए पनि पूजा त कागकै हुन्छ बकुल्लाको पूजा गरेको देखेकी छस् र? रूपभन्दा गुण ठूलो हो भनेर तँलाई कति सम्झाउनु।"
छोरीलाई जति सम्झाउँदा पनि दाल नगल्ने देखेर लक्ष्मी सोफाबाट जुरुक्क उठिन्।
सोमप्रसादले फेरि एक पटक सम्झाउने प्रयास गरेर छोरीको नजिकै बसेर।
हेर नानी कुपुत्र जाएते क्वचिदपि कुमाता न भवति भन्छन्। छोरा खराब भए पनि आमा खराब कदापि हुँदैन। आमाले तँलाई सम्झाएको म अघिदेखि सुनिरहेको छु।
हुन त तेरो उमेरमा रूप ठूलो लाग्नु अस्वभाविक होइन तर सबै पक्षलाई विचार गर्दा केटा राम्रो लागेर नै हामीले तँलाई सम्झाएका हौं। मैले केटालाई सानैदेखि चिन्छु। विदेशमा राम्रो कमाइ छ। तँलाई गाँउमा बसेर घरव्यवहार गर्न पर्ने पनि होइन सहरतिरै बस्ने हो।
बुवाले धेरैबेर सम्झाएपछि सरू चुप लागी। मौनम् स्वीकिर्ति लक्षण भन्ने अर्थ लगाएर मंसिरमा नै बिहे गर्ने टुङ्गो लगाएर केटापक्षलाई खबर गरे सोमप्रसादले।
एक्काइस वर्षको उमेरमा विए पास गरेर कमाउन भनि विदेशतिर गएको समिरले पाँच वर्षमा बल्ल बल्ल एउटा घडेरी जोडेको थियो सहरमा। गाउँको सामान्य परिवारमा हुर्किएको समिरलाई सहरमा एउटा घर घडेरी जोड्न पनि सामान्य कुरो थिएन तर नेपालको धरै जसो गाउँले युवाहरू जस्तै उसले पनि सहरमा घर घडेरीको सपना देख्नु स्वभाविकै थियो।
व्यापार व्यवसायको लागि ऋणको धितो राख्न उसँग प्रसस्त जग्गा जमिन थिएन फेरि व्यापारबाट फाइदा नै हुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी पनि थिएन।
प्राइभेट जागिरको भर नहुने। इमान्दारिताको सरकारी जागिरले घर घडेरी जोड्न कम्तिमा पनि पेन्सन पकाउनु पर्ने थियो। त्यसैले उसले विदेश जानेनै निर्णय नै गरेको थियो।
विदेशबाट पहिलो छुट्टीमा नेपाल आउँदा बिहे कुरा जसोतसो टारेर विदेश फर्किएको थियो। किनकी ऊ विदेश गएको एक वर्षको कमाइ त विदेश जाँदाको ऋण तिर्न ठिक्क भएको थियो तर यसपालि ऋण तिरिसकेर सहरमा एउटा घडेरी पनि जोडिइसकेको थियो।
आफन्तको करमा आफ्नो रहर पनि मिसिएकोले यसपालि बल्ल पहिलो पटक केटी हेर्न गएको थियो समिर।
सरुको बुवाले मंसिरमा बिहे गर्ने निधो पठाएपछि समिरको परिवारले पनि तयारी सुरू गर्यो। दुवै परिवारको सहमतिमा समिर र सरुको धुमधाम बिहे भयो।
उनीहरू दुबै खुसी थिए। बिहे पछिलगत्तै उनीहरू सहर फर्किए। तीन महिनाको छुट्टीमा नेपालमा आएको समिरको विदेश फर्कन तीन दिनमात्र बाँकी भयो।
'दुई चार महिनापछि विदेश गए हुन्न र जम्मा तीन महिना तीन दिनमै सकियो' बिहानको खाना पस्किँदा अस्ति देखिनै भन्छु भनेर मनमा राखेको कुरा सरुले समिरलाई भनि।
'कस्तो मेरो मनको कुरा गर्यो तिमिले। मैले हिजो नै कम्पनीलाई फोन गरेर थप तीन महिना स्वीकृत गराएको छु तर त्यसपछि भने बिदा थप्ने कुरै नगर्नु है नत्र जिन्दगीभरि घडेरीमा साग रोपेर बसे हुन्छ। म विदेश गइनँ भने समयमै घर बनाउन त के अरु व्यवहार अगाडि बढाउन पनि गार्हो हुन्छ' समिरले आफ्नो भागको अचार पनि सरुकोमै राखिदिँदै भन्यो।
'ओ हो बिदा नै स्वीकृत पो गराइसक्नु भयो। हजुरको र मेरो मनको कुरा कस्तो ठ्याक्कै मिलेछ है।'
' त्यही त तिमी गोरी म कालो तर हाम्रो मन त मिल्दो रै'छ नि'समिरले हाँस्दै भन्यो।
'थाहा छ.. हजुर हाम्रो घरमा बिहेको प्रस्ताव लिएर आउँदा मैले हजुरलाई कस्तो रिमोटजस्तो कालो भनेर झण्डैले बिहे गर्न नमानेको नि। अहिले त राम्रो लाग्छ।'
कस्तो.. रिमोटको बोक्रा खोल्साए जस्तो।
'होइन, फुलब्राइट बनाएर खोलेको टिभीजस्तै उज्यालो..' भान्सा कोठाभरि हाँसो गुन्जियो।
यसरी हाँस्दै खैल्दै उनीहरूले थप तीन महिना बितेको पनि पत्ता पाएनन्।
'एक दिन साँझ टिभी हेरिरहको बेलामा सरुले अप्ठ्यारो मान्दै भनि अब हजुर तीन महिना पछिमात्र फर्किए हुन्न र त्यतिन्जेल मेरो ज्यान पनि हलुङ्गो हुन्थ्यो।'
'अब त जागिर छोडे मात्र। बिदा त थप्न मिल्दै मिल्दैन। बच्चाको लागि भए पनि हामीले कमाउन जरुरी हुन्छ त्यसैले म जानुपर्छ बरु तिम्रो डेलिभरीको समयमा आमालाई बोलाउनु। दिनदिनै मेसेन्जरमा कुरा गरंला।एक वर्षपछि त म आइहाल्छु नि।'
धेरैबेर सम्झाएपछि मात्र सरु राजी भई।
'एयरपोर्टमा लिन जान पो रमाइलो पुर्याउन जान त साह्रै गाह्रो''।सरुले गह्रु मन बनाउँदै घरबाटै समिरलाई बिदा दिई।
बुहारीको बारेमा सबैकुरा थाहा पाएपछि सरुको सासु सरु सुत्केरी हुने मितिभन्दा एक महिना अगाडि नै सहर आउनुभयो सरुको डेरामा।
डाक्टरले भनेकै मितिमा नर्मल डेलिभरी भयो। बच्चा जन्मिएको तीन घन्टामा नै सरुले समिरलाई भिडिओ च्याट गरेर छोराको अनुहार देखाइन्।
''बाबु त कस्तो मजस्तै रैछ है न्वारनमा आउन नपाए पनि पास्नीसम्म त आउँछु नि ''समिरले मख्ख पर्दै भन्यो।
''...अबदेखि दिनदिनै साँझ पाँचबजे एकछिन एकछिन कुरा गर्ने लामो कुरा गर्न त कहाँ पाइन्छ र। बाबुलाई समय दिन पर्यो''।दश मिनेट जति कुरा गरेपछि सरुले फोन काटी।
छोराको न्वारनको दिनमा सहरमा भएका आफ्ना आफन्तहरू र साथीभाइलाई बोलाएर राम्रोसँग न्वारन सम्पन्न भयो।
प्रत्येक दिन साँझ पाँच बजे भिडिओ च्याट गर्ने नियम अनुरूप न्वारनको दिन साँझ पाँच बजे समिरले सरुलाई फोन गर्यो तर आज सरुले फोन ढिलो उठाइन्। पाँचौ पटकमा बल्ल बल्ल फोन उठ्यो।
''के भयो सरु? किन फोन उठाउन ढिलो गर्यौ ?आँखा किन सुन्निएका छन् त?।'' समिरले एकै सासमा तीनवटा प्रश्न गर्यो।
''आज दिउँसो घरबेटी आएर नानाभाँति भने। सुत्केरी भनेको छ,दिनदिनै मान्छेको भीडभाड गरेको छ, चौबिसै घन्टा हिटर बालेको छ,दिनभरि मानिसहरूको भीडले डिस्टर्व, रातभरि बच्चा रोएर डिस्टर्भ के के हो। मलाई त बेकारमा घर नबनाइकन बच्चा जन्माए छु जस्तो लाग्यो।'' सरु फोनमै रुन लागी।
'' नरोऊ सरु यो वर्षको बचतले जग पुर्न पुग्छ। अर्को वर्षको बचतले घर बनाउन पुग्छ। अब म दुई वर्ष पछिमात्र नेपाल फर्कन्छु। बीचमा नेपाल आए भने तिमीहरूको मायाले मलाई विदेश फर्कनै गाह्रो हुन्छ। फेरि आउँ जाउको खर्च पनि हुन्छ। म दुई वर्ष कटाएर नेपाल आएपछि उतै ढुक्क व्यापार गरेर बसौंला। तिमी पनि विस्तारै घरको जग पुर्ने सोच बनाउँदै गर्नु।''
''हुन्छ बूढा घरबेटीसँगको कचकच भन्दा त बरु हजुरसँगको दुई वर्षको विछोड सहुँला''आफ्नो बच्चा रोएको आवाजसँगै सरुले फोन काट्न बाध्य भई।
सासुले बच्चा हेर्न गरिदिएको सहयोग र बूढाले कमाएको पैसा तह लगाउने उसको बानीले एक वर्ष भित्रैमा एक तलाको घर पनि तयार भयो।
सरुले घरको छतमा बसेर सरुले बूढासँग भिडिओ च्याट गर्दै बूढालाई वरिपरिको परिवेश देखाउन मोबाइल घुमाउँदै भनि ''देख्नु भयो...''।
''अँ देखें। हाम्रो घर वरिपरि कति अग्ला घरहरू बनेछन् त्यो पनि जम्मा दुई वर्षभित्रमा। हाम्रो घरमा त घाम पनि पर्दैन कि क्या हो।''
''त्यही त बूढा बच्चालाई घाम ताप्न पनि बाटो पारी जानु पर्छ छतमा पनि घाम आउँदैन।''
''दुई वर्ष बितिहाल्यो अब एक वर्ष बसें भने एक तला थप्ने पैसा पुग्छ अनि छतभरि घामैघाम। तिमीहरू कत्ति पनि नआत्तिएर बस है बरु त्यसपछि म कुनै पनि हालतमा विदेश बस्दिनँ जिन्दगीभरि सपरिवारसँगै नेपाल बसौंला।''
''हाम्रो लागि नभए पनि बच्चाको लागि घामको जरुरी छ। मैले कसरी हुन्न भनम् बरु हजुर नेपाल आउँदा भित्तामा टाँस्न मिल्ने ठूलो टिभी पनि ल्याउनु होला है। कति हेर्नु चौध इन्चको टिभी कालो रिमोट थिचेर।''
दिनभरि घरको कामकाज बच्चाको हेरविचार अनि फुर्सदमा टिभी दिनहरू बितेको पत्तै भएन।
...अब बूढा आउन एक महिनामात्र बाँकी त्यसपछि त कहिल्यै पनि विदेश फर्कनु हुन्न। यतै व्यापार गरेर बस्ने अनि जिन्दगी सेटल।
सरुले यस्तै कुरा सोचेर टिभी हेरेर बसेकी थिई। ढोका ढकढकाएको आवाजले झस्किई।हतार हतार सरुले ढोका खोली।
नन्द लगायत अरु धेरै आफन्त निन्याउरो मुद्रामा ढोका अगाडि उभिएको देखेर सरुले आत्तिदै सोधी किन....? के.... भयो?
भाउजू जिन्दगी यस्तै रैछ। दाइ काम गर्ने मेसिन विस्फोट हुँदा दाइ पनि....ढिलो चाँडो मान्छे यो पृथ्वीबाट जानै पर्छ। मन दह्रो बनाउनुहोस् भाउजू। बाबुको मुख हेरेर भए पनि हजुरले चित्त बुझाउनु पर्छ।
हिजो साँझ राम्रै कुरा गरेको मान्छे। आज साँझ रात नपर्दै.... सरुको खुट्टा लगलगी काँपे। आँखा वरिपरि कालो छायो ।
हातबाट रिमोट फुत्त भुँइमा खस्यो। कस्तो मेरो भाग्य यही रिमोटजस्तै कालो...