कविता
दाजै !
खै किन हो अचेल
तिहार पनि तिहार जस्तै लाग्दैन।
आँगनको डिलभरि फुलेका
मखमली अनि सयपत्रीले पनि
सौन्दर्य छरेझैं लाग्दैन।
बरू,यस्तो लाग्छ-
तिहारे फूलले पनि
तपाईंका गलामा सजिएपछि मात्र
पूर्ण सौन्दर्य छर्नेछन्,
र धन्य हुनेछन्।
दाजै !
यसपालिको तिहारमा मैले
थालभरि,
लड्डु मिठाइ बदाम ओखर र
रोटीका परिकार लिएर,
बत्ती फूलमाला र टीका अगाडि राखेर,
तपाईंले नै पठाइदिएको
महंगो मोबाइलमा,
भिडिओ कल गरिरहँदा पनि
त्यतिबेलाकै तिहार सम्झेकी छु,
जतिबेला मसँग,
मसलाका रूपमा
दुई चारवटा सुन्तली मिठाई पिपलगेडी र
अलिकति सेलरोटी हुन्थे।
मलाई जतिनै खान मन लागे पनि
तिहारको दिन त म
तपाईंलाई नखुवाइ
कदापि खान्नथें।
दाजै !
बाले दिएको पैसाले तपाईंलाई
ढाकाटोपी किनेर लगाइदिँदा
यस्तो लाग्थ्यो मानौं,
संसारको सबभन्दा सुन्दर दाजु
तपाईं नै हो।
केवल तपाईं।
दाजै !
हेर्नुस् न म त,
कति कमजोर भएछु ऐले।
त्यसै रोएकी छु।
त्यतिबेला त,
तपाईंका बाधाहरू हटाउन
दैलामा आफ्नै कलिला हातले
ओखर फुटाएर फाल्दा पनि
मलाई दुख्दैनथ्यो,
केवल हातमा नीलडाम देखिन्थ्यो।
तर अहिले,
हात, त्यसै त्यसै गलेझैं लाग्छ।
दाजै !
यसपालिको तिहारमा त
मन पनि एकतमासको भएको छ।
देउसी अनि भैलोको संगीतमा पनि
तपाईंको कण्ठको झङ्कार सुन्न खोज्छु म।
अनि झस्कन्छु,
कतै डिस्को र डान्सबार तिर त पुगेको छैन
तपाईंको ध्वनि ?
दाजै !
तपाईं सुट बुट र कालो चस्मामा
ठाँटिएर हिँडेको देख्दा,
फुरुङ्ग नभएकी त म कहाँ हो र?
तर,
बा को फाटेको दौरा र थोत्रो टोपी देखेर पो
मन विचलित भएको हो।
अनि, दाजै !
सानैदेखि सबैकुरा तपाईंसँग नै सोध्ने म,
आज पनि सोध्छु है
?
मेरो उदासी त तिहार नजिकिँदै गर्दा बढ्दै जान्छ
अनि,
तिहार निख्रिँदै गर्दा विस्तारै कम पनि हुन्छ।
तर ,
बा र आमाको उदासी सधैं बढेको बढ्यै किन हुन्छ ?
अनि,
तपाईंको अनुहारमा पनि
बनावटी हाँसो मात्र देख्छु।
के, डलरले हाँसो पनि साट्छ र ?
दाजु !
हैन भने त्यही उदारता सहितको
उन्मुक्त हासो हाँसीदिनुस् न त।
अनि हँसाउनोस् मलाई पनि।
र अरूले झैं,
मैले पनि भन्न सकूँ,
ह्याप्पी तिहार !
ह्याप्पी तिहार !!