अझैँ त म भित्र रहेको मानवता मरेको छैन
बाटोमा विचलित तिमीलाई भोकै छोड्ने गरेको छैन
ठूलो साथ र सहयोग गर्न चाहेर पनि सक्दिनँ तर
तिमीलाई सानु सेवा गर्ने मेरो हात झरेको छैन
तीन वर्ष पुगेर चार लाग्यो तिमीसँग मेरो भेट भएको
त्यति नै वर्ष भयो तिम्रो भोक तिर्खा मैले हेर्दै गएको
केही दिन त टुँडिखेलमा पेटभरी खाना पाएँ भन्थ्यौ
आज आँसु झार्दै सुनायौ आफू त्यहाँको कसिंगर भएको
मलाई भोक लाग्दा तिमीलाई पनि लाग्छ भन्ने जानेर
आफू अघाएर मात्र हुन्न सबैले खानु पर्छ भन्ने ठानेर
तिमी जस्ता सडकमा बस्न र बाँच्न बाध्यहरुलाई
सकेको सहयोग गर्दा के बिग्रन्छ र आफ्नै आमा मानेर
तिमीले मागेर खाएको देख्दा इज्जत जान्छ रे देशको
राज्यले जिम्मेवारी लिनु पर्छ नाङ्गो तिम्रो भेषको
सक्छौ भने तिमी नाङ्गै गएर छेउमा बस आमा
अनि त कठोर मन पग्लिएर आउँछ की त्यसको।