साथीभाइहरु मेरो अगाडि सधैँ एउटा प्रश्न तेर्साउने गर्छन्- 'तँ उति टाढा गोंगबु किन बस्छस्?'
'मलाई रिङरोड घुम्ने अजंगका बस चढ्न खुब मन पर्छ' सबैलाई मेरो जवाफ यहीँ हो। म दिनभर ज्ञानेश्वरमा हुन्छु, बेलुका लखरलखर हिँड्दै गौशला पुग्छु। कहिले काहीँ पशुपति छिर्छु, आरती हेर्छु।
आरती एउटा बहाना मात्र हो, त्यहाँ आउने धर्मात्मा केटी हेर्छु। माथि चटक्क टप्स, तल चिपिक्क पेन्ट लगाएका उनीहरु आरतीमा बालेका दियोभन्दा खुबै चम्किला लाग्छन्।
'हे महादेव, सबै धर्मात्माको यो भिडमा म अझैँ पापी नै छु।' यसरी आरातीलाई बहाना बनाएर चम्किला केटीहरु हेरेको दिन चाबहिल हुँदै जाने बसमा चढ्छु। पशुपति छिरेर, अरुको यौवनमा आँखा लगाउने पाप नगरेको दिन प्रायः कलंकी घुम्दै जाने बस चढ्छु। त्यसो गर्दा स्वयम्भू दाहिने पर्छ। आफूलाई 'कम' पापी महशुस गर्छु।
स्कुल वा कलेजमा कुनै दिन अगाडि सिटमा बसेको रेकर्ड नभएको मान्छे, बसमा किन बस्छु अगाडि? खुइँ-खुइँ पछाडि जान्छु। स्कुल, कलेजमा अगाडि नबस्नुको कारण सर–मिसहरुको हेराइबाट बच्नु थियो। बसमा अगाडि नबस्नुको कारण पाकेटमारको घेराइबाट बच्नु रह्यो।
स्कुल कलेजमा सर–मिसको आँखा छलेर साथीभाइसँग जिस्कन सक्ने बहादुर पछाडि बस्छन्। बसमा २०/३० जना ठेलेर निस्कन सक्ने बहादुर पछाडि बस्छन्।
त्यसदिन धर्मात्मा केटीहरुलाई क्वारक्वार्ती हेर्ने पाप नगर्ने विचार गरेँ। गौशलाबाट कलंकी हुँदै नयाँ बसपार्क जाने अजंगको रातो बस चढेँ। हेरें, लास्ट सिट पूरै खाली, खुरुक्क गएर झ्यालको सिटमा थुचुक्क बसेँ। खलासी भाइ 'ओइ कोटेश्वर–सातदोबाटो–बल्खु–कलंकी' भन्दै छेरौला झैँ गरी करिब ५ मिनेट चिच्यायो।
त्यस ५ मिनेटको अन्तरालमा करिब २० चोटि म बसेको झ्यालको बाहिर पट्टिको तल्लो भाग फुटाउला झैँ ठटायो। खलासीहरु के खान्छन कुन्नि? म बिहान बेलुका भात खानेले त्यसो गरेको भए घोक्रो सुकेर र हात दुखेर बेहोस हुन्थेँ होला।
सायद यो जुनीमा उनीहरुले मैलेभन्दा धेरै हण्डर खाएका छन् र दुःख पाएका छन्। जति धेरै हण्डर खायो उति बलियो हुन्छ मान्छे। त्यो ५ मिनेटको बसाइमा १५ जना त्यो बसमा चढे। बस एयरपोर्ट तिर आघि बढ्यो।
एयरपोर्ट बिसौनी नपुग्दै खलासी भाइले १०/१२ जानलाई पछाडि सबै खाली छ भन्दै झुक्यायो। तीन जान कलेज पढ्ने केटीहरु म बसेको लास्ट सिटमा हस्याङ फस्याङ गर्दै बसे, बाँकी यात्रु खलासी भाइको जालमा फसे।
इण्डियन बसले नेपाली मान्छे हल्लार्ई हल्लाई उभ्याउँछ, बाँकी त्यसैगरी हल्ली रहे। तीन जाना कलेज पढ्ने केटी कानमा एअरफोन ठुसी टोपलेर म पूरा तयार भएँ अब उनीहरुको आधा नेपाली र बाँकी अंग्रेजी मिसिएको किस्सा सुन्न।
मेरो छेउकीले 'आज त कति गर्मी है' भनी अंग्रेजीमा। अर्कीले सहमति जनाइ, अंग्रेजीमै। तेस्रोले नेपालीमा अंग्रेजी मिसाई 'तेरो एक्सभन्दा पनि हट?' तीनै जना बेजोड हाँसे आफ्नै आफ्नै भाका हालेर।
उनीहरुलाई लाग्दैछ म गीत सुन्दै छु। एअरफोनले मान्छे भुसुक्कै फसाउँछ। बस रोकिँदै रोकिँदै अघि बड्दै थियो तर उनीहरुको गफको गति सुपर एक्सप्रेस। एक्सबाट सुरु भएको गफ कलेजको डेक्स हुँदै सेक्ससम्म पुग्न ५ मिनेट लागेन। बस र उनीहरुको गफ कोटेश्वरमा रोकियो। करिब २० मिनेटमा उनीहरु १५ पल्ट मरी मरी हाँसेँ। म अन्तिम पल्ट त्यसरी कहिले हाँसेको थिएँ? आफैसँग प्रश्न गरेँ तर जवाफ पाइनँ।
के खान्छन् होला उनीहरु? जसले गर्दा त्यति गुलिया हुन्छन्। सायद मैले यो जुनीमा उनीहरुले भन्दा धेरै हरेस खाएको छु। जति धेरै हरेस खायो, उति अमिलो हुन्छ मान्छे।
कोटेश्वरमा करिब १० मिनेट रोकिएपछि बस पूरै खचाखच भरियो। नेपालको सार्वजनिक यातायातमा यात्राभन्दा पनि जात्रा बढी हुन्छ। यो यातायात हैन, हताहत हो! सार्वजनिक हताहत। बस भित्र जस्ता पनि मान्छे थिए। अग्ला, होचा, काला, गोरा, चुच्चा, थेप्चा, बुढा, जवान।
खलासी भाइ कराइ कराइ सबैलाई मिलाएर राख्न व्यस्त थियो। पूरै सेतो लुगा लगाएका एक दाजुले म तिर हेर्दै भने 'हेर्नुस त भाइ, एउटा यो खलासीले कसरी बस भित्र सबैलाई मिलाएर राख्छ। यो देशका नेता भनाउँदाहरुले सबैलाई लडाउन मात्रै खोज्छन्। मलाई हाम्रो देशको नेताहरुभन्दा यो खलासी भाइ बेस लाग्यो।
ल यो बसलाई नै देश सम्झनु भयो भने, यस बस भित्र महिलाको लागि छुट्टै सिट छन्, जहाँ पुरुष बस्न उसले दिदैंन। अशक्तहरु सिटमा अशक्तलाई नै राख्छ, वृद्धाहरुको लागि छुट्टै सिट छ। उभिनेलाई पनि दुई तर्फ मिलाएर राख्छ, बच्चा बोकेका महिला छिरे भने अरुलाई उठाउँछ र उनीहरुलाई राख्छ।
बुढा पाका छिरे भने, ल बा-आमालाई सिट छोड्दिनुस् है भन्छ। झर्ने बेलामा पनि पख्नुस है ठाउँमा मात्रै रोक्छ भन्छ। लाग्दो भाडा मत्रै लिन्छ। म अघि अगाडि उभिँदादेखि हेरेको बडा गज्जबको रैछ केटा।'
दाजुको कुरा सुनीरहेका अर्का दाजु कुर्लिए। 'नेतालाई मात्रै दोष दिन मिल्दैन, नेपाली जनता भेडा हुन्, खलासीले मिलाउन खोजेर मात्रै हुन्छ? मान्छे पनि त भनेको मान्ने चाहिन्छ नि, रोक्न नमिल्ने ठाउँमा रोक भनेर थर्काकै छन्, चढ्न नहुने ठाउँबाट चढेकै छन्, बुढाबुढी र बच्चा च्यापेको मान्छे चढ्यो की मुन्टो बटारेकै छन् की निदाएको जस्तो गर्या छन्, खलासीले मिलाउन खोजे झन् टेडो पर्या छन्, पाकेटमार छिरे भने आफ्नो मत्रै खल्ती जोगाएका छन्। खास यो देश जनता नै बेबकुफ भएर हो नबनेको।'
उनी रोकिए, सुनी रहेका सबै ले होमा हो थपे। मैले बाहिर हेरेँ, बस सातदोबाटोमा रोकिएको थियो। केही मान्छे चढे, धेरै मान्छे झरे। छेउका दाजुले प्रश्न गरे- 'भाइ, के गर्नुहुन्छ?'
'पढ्दै छु' मैले जवाफ दिएँ र सोधेँ 'अनि तपाई?'
'म रिह्याब सेन्टर चल्लाउँछु। प्लिज, डन्ट डु ड्रग्स है। मेरो तपाइलाई बिन्ती।' अकस्मात दाजुको अनुहारको रंग बद्लियो।
'मेरो पनि तपाई जत्रै छोरा थियो, ड्रग्स ओभर डोजले बित्यो, उसकी आमा त्यही पिरले बितिन्। अरु कसैले मेरो जस्तो नियति भोग्न नपरोस्।'
दाजुले एक थोपा आँसु झारेका भए म घुँक्क घुँक्क रुने थिएँ, झारेनन्। 'जिन्दगीमा हरेस खानुस् तर चरेस नाखानुस्' भन्दै दाजु झन्डै झन्डै हाँस्न खोजे, सकेनन्। म बोल्न सकिनँ।
म मनमन्निएँ 'आफ्नो प्रेम र आश दुवै गुमाएर, कमाएको सम्पति सबै बेचेर, रिहाब खोलेर सेवा गर्ने आत्मबल जुटाउन यी दाजुले के खान्छन् होला?'
खलासी भाइले भट्यायो 'एकान्तकुना झर्ने जति हात हातमा भाडा लिएर आउनुस् है।' भिजिटिङ कार्ड दिँदै दाजुले भने 'म झर्छु है भाइ।' म होसमा आउँदै कार्ड समाउँदै भनेँ 'तपाई धेरै बलियो हुनुहुँदो रैछ दाइ।' सिटबाट उठ्दै हल्का हाँसेर उनले भने 'जति चोट खायो नि उति बलियो हुन्छ मान्छे।'
दाजु लुसुक्क झरे। टाउकोभरी लामा लामा डङ्गुर बाल भएको केटो, टाउकोभन्दा ठूलो हेडफोन भिरेर छेउमा थुछुक्क बस्यो। उसको देब्रे घुँडाको घाउ च्यातिएको ठाउँबाट चिहाउँदै ङिच्च हाँसिरहेको थियो। ऊ अंग्रेजी गानाको तालमा हल्लदै थियो अनि उसका एक डङ्गुर बाल उसकै तालमा हल्लँदै थिए।
उसको फोन आयो 'के? को गयो रे? बिबेक? ला दामी नमज्जा भो नि यार।'
कस्तो होला दामी नमज्जा? उसले फोन काट्यो र फेरि अर्कोलाई फोन लगायो 'डक्स ब्रो, कहाँ हो तपाई? म के अघि भर्खर भेटेको बाले भाइ, बिके मामाघर गएछ, तपाई सेफ बस्नुस् है।'
फोन काटेको जस्तो लागेको थियो, उसले अर्कोलाई फोन लगाईसकेछ। 'पार्ट कहाँ हो तँ? ल मैले अख्खा माल ल्याएको छु, भरे हान्न पर्छ।' यति भन्दै फोन काट्यो र फेरि टाउको हल्लाउन थाल्यो। ऊ सँगै त्यो डङ्गुर बाल भएर होला वरपर कसैको उसलाई बाल थिएन। ऊ कलंकीमा आफ्नो बहादुरी पेश गर्दै ५ मिनेट लगाएर झर्यो। उसले 'के खान्छ?' जवाफ मै सँग थियो। जति धेरै नशा खायो, उति धेरै बेहोसी हुन्छ मान्छे।
अब छेउको सिटमा बस्ने पालो खुस्बुदार केटीको थियो। ऊ सलक्क परेकी थिइ, उसको अनुहार खै केले हो टलक्क टल्किएको थियो। ऊ अंग्रेजीमा भन्नु पर्दा मोडल अनि नेपालीमा भन्दा नमुना जस्ती थिइ। 'तिम्रो नाम के हो?' सोध्न मन थियो, तर फेरि लाग्यो नाम उसको मात्रै सोध्नु जोसँग कुनै काम होस्, सोधिनँ।
ऊ फोनमा व्यस्त भइ 'उम्, के, हुँ, ओके, हस' मात्र। त्योभन्दा केही बोलिन। बस सितापाइलामा रोकियो, ४/५ जाना झरे, बस अघि बढ्यो। केहीबेरमै बसको अगाडि उभिएको भिडमा खैला–बैला सुरु भयो। बस रोकियो। पाकेटमारले पाकेट मारेछ।
'पासपोर्ट बनाउन ल्याएको १७ हजार लग्यो' एक अन्दाजी ३५ वर्षका दाजु घुँक्क घुँक्क गर्न थाले। पाकेटमारले पाकेट र पैसाभन्दा ठूलो खुसी र सपना मार्यो। आफ्नो खुसीको लागि के अरुको खुसी मार्नै पर्छ? अब खलासी र ड्राइभर माथि सबै खनिए।
'सबै मिलेका छौ तिमीहरु, पाकेटमार भन्ने थाहा हुँदाहुँदै किन चढाएको? पुलिस पनि मिलेको हुन्छ' के–के के–के। अरु बुझिएन। मेरो छिमेकी नमुनाले एयरफोन झिक्दै सोधिन् 'के भएछ?'
'सपना लुटिएछ' मैले भनेँ, उ ट्वाँ परि।
'पाकेटमारले पैसा लगेछ।'
'ए यस्तो त सधैँ हुन्छ' ऊ फोनमा बोल्न थाली, म ट्वाँ परेँ। त्यतिकैमा अगाडि पुलिस देखिए, सोधखोज गरे र स्वयम्भुमा झरे।
'मैले अघि नै थाहा पाइसकेको थिएँ' बीचबाट एक ५५ जतिका भलाद्मी बोल्न थाले। यसरी उसरी आफ्नो मोबाइल जोगाएँ भन्दै फलाक्न थाले। उनी आफू जोगिएकोमा खुसी थिए।
मेरो सिट अगाडिका ज्याङ्गो दाजु जंगिए 'को हो त्यो? साला आफ्नो जोगाएँ भनेर उफ्रने? तैँ जस्ताले गर्दा हो मान्छे लुटिने, अहिले ठूलो स्वर गर्छस्? अघि तेरो बोली कहाँ गएको थियो? सब चुप, दाजु कराउँदै आघि बढे, बालाजुमा झरे।
जोगिएका भलाद्मीले फेरि कुरा सुरु गरे। छेउकोलाई सुनाए, खाली सिटमा बसे, अर्कोलाई सुनाए। पापीहरुको के कमि छ र? खलाँसी भाइ करायो 'ल माछापोखरी आयो, गाडी अगाडि जाँदैन'।
छिमेकी नमुना अझै फोनमा कुरा गर्दै मेरो अगाडि लागी, लुटिएका दाजुसँग खलासीले पैसा लिन मानेन। मसँग खल्तीमा जम्मा ५० रुपैयाँ थियो, १५ जोगाउन एकान्तकुनाबाट भनेँ। के यो पनि पाप हो? आ होस्, मलाई स्वर्ग जानु छैन।
लुटिएका दाजुको उद्रिएको शीरको टोपी र च्यातिएको ज्याकेटले उनको गरिबीको हद सबैको सामु छर्लङ्ग देखाएको थियो। बसबाट झर्दा दाजु कमजोर देखिन्थे, अति कम्जोर, जति धेरै सपना लुटिए उति धेरै कमजोर हुन्छ मान्छे।