कविता
हिजोआज एक पेट
खान पाउने आशमा
देशको राजधानी
दुईतिहाईको सरकार
भएको बेला पनि
सयौँ सयौँ भोकले छट्पटिएका
खाली खाली पेटहरूसँगै
रित्तो रित्तो बटुकाहरू थापेर
आशै आशले कुरिरहेछ
भोको खुलामञ्च
भोक खप्न नसकी
यता र उता छट्पटिएर
हातमा सीप भएर पनि
गरीखाने बाटो उजाडिएर
भुराभुरीदेखि बुढाबुढीसम्म
रित्ता हातगोडा र
रित्ता पेट बोकेर
रोइरहेका असङ्ख्य आँसु
आफ्नो समस्या आफ्नो दु:ख
आफैलाई पोखेर
के होला कसो होला भन्ने
अनुत्तरित प्रश्नमा रूमल्लिएर
बहुमत सरकारले के भन्छ
भनी डराउदै असमञ्जसमा परेर
आफ्नै नेपाली दाजु-भाइ दिदी-बहिनीलाई
विशाल मायाको छातीमा राखेर
मजबुर टुलुटुलु हेरिरहेछ
भोको खुलामञ्च
त्यो खुलामञ्चको भातसँग
जोडिएको मुटुको धड्कन
कसै कसैको विलासितामा
बेरोजगारहरूको जीवन
कसरी भन्नु दर्द कस्तो हुन्छ
भोकको ज्वालाले पेटमा हान्दा
लाज लाग्नु पर्ने के छ र
भोकाले जसोतसो सास धान्दा
भो नउजाड
एक पेट गाँसलाई
भो बन्द नगर
भोकाको अन्नदातालाई
यहाँ खान नपाएका दुब्लो दुब्लो
हाडछालाको शरीर नासिन्छ
देश र सरकार बलियो बनाउने
तिम्रै कर्मठ जनता मासिन्छ
भन्दै
भोकाहरुको आँसु पुछ्दै
पुकार गरिरहेछ
भोको खुलामञ्च।