कविता
नलेखु भन्दै थिए
चुपचाप बहस सुन्दै थिए
हेर्दाहेर्दै माहोल बदलियो
परिस्थितिले बेग्लै मोड लियो।
हैन यो कस्तो अस्तित्वको लडाइँ चल्यो।
अब त अति भयो
दबिएको श्वास उकुसमुकुस भै फुल्न थाल्यो।
अत्याचारले सीमा नाघ्यो।
ओठ आफैं चल्न थाले
बन्द कलम पनि आफैं लेख्न थाले।
ए नारी,
कहिले सम्म कुवाको भ्यागुतो बन्छेऊ
श्रृंगार पट्यारले सजिन्छेऊ
अत्याचार मै धर्म कहन्छेऊ
वाह! कति संस्कारी हुन्छेऊ
श्रीमान की प्यारी अनि
कुल घरानकी
बुहारी कहलिन्छेऊ।
एक पल्ट डिलबाट संसार चिहाउने
हिम्मत गरेर त हेर
तिम्रै अस्तित्वको लडाइँ चलिरहेछ बाहिर।
सोच्छौ होला दुनियाँ त तिम्रै मुठ्ठीमा छ
किनकी उपमा त पाएकै छौ
देवी सरस्वती र पार्वती।
कहिलेसम्म बस्छौ भ्रममा ?
मन्दिर नामको जेलमा
कैद छौ आभूषणको नेलमा
तिम्रो होइन उनकै रहरमा हुन्छ प्रवेश
अन्यथा सबै निषेध।
कतै!
तिमी नै त होइन, तिम्रो शत्रु??
त्यसैले अपराध मौलाइरहेछ
पुरूषत्व बौलाहिरहेछ
सासूबुहारी नन्दभाउजू
सबै त नारी हौ
आखिर कुन नाताले अल्झाइरहेछ।
अपनत्व ओइलाइरहेछ।
थाहै छ यो तिमीलाई
हजारौं सतीले आहुति दिएको भूमि हो।
अझ कति निर्मला र सुस्मिताको
बली खोजी रहेछ अस्मिताको।
जन्मकैद र मृत्युदण्ड पनि
पीडितकै पोल्टामा पर्छ
न कि अपराधीको
छिछि र दुरदुर
सामाजिक बहिष्कार उनैको।
हो, संविधानको ठेलीबाट
न्यायको परिभाषा हराएको देश यो
न त कोही तिम्रो पक्षमा
वकालत गर्ने कालो कोट छ।
यहाँ त न्यायाधीशकै तराजुमा खोट छ।
कि त छोरी लिङ्ग जन्माउने प्रकृतिकै दोष छ।
होइन भने सधैं तुलोले अन्याय नै किन जोख्छ?
शक्तिको बर्दीले अपराध छोपिन्छ।
पुलिस र प्रशासनको आँखामा
बढुवा र सरुवाको पट्टी बाँधिन्छ।
अस्तित्वको लडाइँमा तिमीलाई फेरि हराइन्छ।
प्रतिनिधित्व कहाँ छ तिम्रो?
कता हराए तेत्तीस प्रतिशत?
ए राष्ट्रआमा!
कतै करोडौंको गाडी र कार्पेटमा
बन्दी त बनाइए न शितलनिवासमा?
होइन भने त सुन्नुपर्ने
ती कारुणिक चित्कारहरू
कोपिलामै निमोठिएका पुष्पाहरू
देख्नुपर्ने यत्रतत्र अलपत्र।
महशुस गर्नुपर्ने आफ्नो छोरीको दर्द।
छाती फुलाएर मञ्चमा कुर्लंदै गरेको मर्द
हाँसी रहेको स्वतन्त्र।
शून्य गायब पारिन्छ यहाँ
बीस वर्षे कैदबाट
के भरोसा भोलि पुनर्जन्म हुनसक्छ अपराधीको
मृत्युदण्ड पश्चात् ।
त्यसैले नउर्ल सडकमा
नकुर्ल मञ्चमा
आफ्नो लडाइँ आफैं लड
मन्दिरको प्रतिमा होइन
साक्षात् दुर्गा बनेर भीड।
कोही आउँदैन हात थाम्न संकटमा
आफ्नो आफैं भरोसा गर
हार्दै नहार बरु प्रेतआत्मा बनेर झर
शक्ति सम्पन्न नारी बन
भावी छोरीको इतिहास फेर्नुछ भने
तिम्रो वर्तमान बदल।
होइन भने पुस्तौं पुस्ता पुर्पुरोलाई धिक्कार।
पुर्पुरोलाइ धिक्कार।