'बाबु थोरै त खालास् नि?' बार्दली हुँदै भित्र पसेको आमाको वाक्य कोठामा ठोक्किदा पृष्ठभूमिमा अनुप घोशालको 'तुज्से नाराज नही जिन्दगी हैरान हूँ मे' बजिरहेको थियो।
'गोपालले कर गर्यो, उस्कोमै खाएर आएँ आमा' बन्द कोठाबाट प्रतिउत्तर पठायो विक्रमले।
विक्रमले कोठालाई निहाल्यो। भित्तामा झुन्डिएको फ्रेमभित्रको दुबोको माला 'विक्रम+नम्रता मंसिर १' लेखिएको तस्बिर काखी च्यापेर टोलाइ रहेको थियो। छरिएका किताबहरु, नमिलाइएका कपडाहरु, दराजको तल्लो खानामा ठिंग उभिएको एकथान जग, एउटा बोत्तल अनि गिलास फरक-फरक अस्तित्व सहित टसमस अटाएका थिए।
प्ले लिस्टमा मनोज राइले अनुप घोसाललाई बिदा गरिसकेका थिए, पानीको फोका जस्तै छुट्यो हाम्रो माया...।
'थोरै दूध त खालास् नि?' ढोका ढक-ढक गरेसँगै थालीमा एउटा केरा, दुइटा रोटी र एक स्टिल गिलास तातो दूध सहित आमाको आगमन भएको थियो। 'पल्लो घरको बुहारी माइतीबाट आएकी रे, कोशेली ल्याएकी, खाएर सुत्। भोलि हिड्नुपर्ला फेरि बिहानै, नाति मसँग सुत्छु भनेको छ' आदेशसँगै आमा बाहिरिनु भयो।
'माइतीबाट आएकी रे' हावामा बिलिन आमाको त्यो वाक्यले ताजा गरिदियो उसलाई नम्रताको आगमन। दुई/तीन दिन मात्र आफ्नो जन्मघर बसेर फर्किदा पनि के के झमेला गर्नुपर्थ्यो उसलाई। घरमा पाकेको लिची हजुरलाई मन पर्छ भनेर, अनि यो रामफल हजुरले कहिलै नखाएको फल, अनि यो हाफ-स्वेटर मामुले हजुरलाई बुनिदिएको, अनि कति धेरै कुरा कति धेरै माया। मानौँ त्यो दुई/तीन दिन उसको माइतीमा यसरी बित्यो जहाँ विक्रम अनि मात्र विक्रमको रोजाइ र चाहनाका उत्खनन् अनि समाधान भए।
एकटक फेरि हेर्यो विक्रमले त्यो थालीमा। धेरै कोसेली सहित कलेजी कुर्ता-सुरवाल अनि घाँटी र वक्षस्थल छोपेर पछाडि झरेको रातो चुन्री सहितको हँसिलो मुहारमा ठिंग उभिएर 'बस न' भन्ने आदेशको प्रतिक्षामा थिइ नम्रता। निद्राविहीन सपनाको चक्रब्युबाट निस्कन जुरुक्क उठेर झ्याल खोल्यो उसले।
औंसीबाट चन्द्रमा अपहरित थियो। आफ्नो मधुर तर अदिप्त प्रकाश सहित जुन उदाएको बेला चटक्कै बिर्सिने दुनियाँलाई ताराहरुको झुण्डले गिज्याईरहेका थिए आकाशबाट। त्यस्तो लाग्थ्यो सबै निर्जवाफ थिए अनि सोच्दै थिए, त्यहिीबेला के हो साथ अनि के हो अटुट साथ?
सायदै कोही थिए यो वारदातबाट बेखबर त एक हुल जुनकिरी। सायद गर्व थियो उनीहरुलाई आफ्नो आत्मनिर्भरतामा अनि घमण्ड पनि। त्यसैले गिज्याईरहेका थिए बालेर सानो रोशनी अनि उडेर बेतालले, कहिले गोठ तिर कहिले बारी तिर।
अस्ट्रेलियाबाट फर्केको झन्डै दुई महिनापछिको यो रात अरु रातहरुभन्दा धेरै फरक थियो विक्रमका लागि। मन जतिखेर पनि नम्रताकै सेरोफेरोमा थियो। निचलायमान भएर बन्द आँखाले हेरिरहेको थियो आफ्नो विगत उसले जस्तो एउटा चलचित्रमा, त्यो पनि ठूलो अनि रङ्गीन पर्दामा। नायक आफै थियो, नायिका उही नम्रता अनि अरु थुप्रै कलाकार र फरक फरक पृष्ठभूमिका दृष्यहरु।
'अझै सुतेको छैनस् र बाबु?' परिचित चुरोटको गन्ध पछ्याउदै आएको बाको प्रश्नले उसको चलचित्रमा सानो विश्राम ल्याइदियो। 'निद्रा खुल्यो हजुर बोलेर' जवाफ फर्काईहाल्यो उसले।
आफ्नो दिनचर्याले सबैलाई बेचयन बनाएको कुरामा कृतिम अनविज्ञता देखाईरहनु पर्दा साह्रै आत्मग्लानी भएको थियो विक्रमलाई। उसलाई खुट्टा टेकाएर हरेक सुख दुखमा नआत्तिने अनि नमात्तिने बनाएका बा पनि यसको शिकार हुँदा भावविव्हल भएको थियो ऊ।
'घरको पहिलो विवाह हो, मन फुकाएर गर्ने हो' कति हौसिएका थिए उसका बा जब नम्रताको माइती पनि छोरीका लागि आँगन-पोल्न राजी भएका थिए। त्यसै त साँवाभन्दा ब्याजको माया त्यसमाथि पनि यहाँ त गोरुको लडाइ बाछाको मिचाइ नै हुने डर।
आफ्नो अबोध नातिको अनिश्चित भविष्यको गुथि खोतल्न दुईवटा गुन्ध्री जोडेर बनेको विस्तारामा नातिलाई बीचमा सुताएर मन ध्यान गर्दै थिए उसका बा-आमा। उनीहरु नसुतेको प्रष्ट पार्न बाको चुरोटको धुँवा फेरि ताजा र खरो भएर उडेको थियो। माहोल फेरि शून्य बन्यो, बाको चुरोटको गन्धले उसको विगतको अर्को पाटो चलचित्रको विषय बन्यो। विक्रमले आँखा चिम्लियो।
‘चुरोट खानु स्वास्थका लागि राम्रो हैन नि है’ छ वर्ष अघि धरान मेडिकल कलेजको एनाटोमी क्लासमा आफ्ना एकहुल चुरोटे साथीहरुसँग भित्र पसेपछि छेउकै अर्को बेन्चमा बसेकी नम्रताले भनेको वाक्य थियो त्यो।
इथिकल इस्युज, हेल्थ वर्कर्स एण्ड सर्भिस प्रोभाइड्स नामको सेमिनारले जुराएको त्यो संयोगमा आफ्नो सहेलीको कानतिर फर्काएर विक्रमलाई हानेकी थिइ त्यो शब्दरुपी गोली नाम्रताले।
सेमिनारका वक्ताहरु तिर आफ्नो मुहार निर्देशित गरेपनि विक्रमको आँखा आफूतिर सोझिएको सहजै भेउ पाउन सकिने गरी अवस्थित गरेकी थिइ उसले आफूलाई। फ्याट्फुट्ट कलेजको खाजाघरमा बाहेक यति लामो एकसाथ बसाइको यो पहिलो अवसर थियो दुवैका लागि।
समयसँगै फ्याकल्टी एकै नभएपनि कलेजका अलग भवनहरुले आत्मसमर्पण गरिसकेका थिए। बुढासुब्बा, दन्तकाली र पिन्डेश्वर दाहिना भएका थिए। शंका र आशंकाका दागहरु नमस्तेफल्को निर्मल पानीले पखालीसकेको थियो। गन्तव्य टाढा भएपनि अस्पष्ट थिएन। दुविधामा निम्ता दिन्थ्यो घडी टावर र भन्थ्यो हेर यहाँबाट के देखिन्न?
आफ्नो सामिप्यतासँगै विक्रमको चुरोटको लतको बिदाइ गरेकी थिइ नम्रताले। 'हजुरलाई काहीँ कतै सुहाउँदैन त्यो चुरोट पिएको। त्यसमाथि पनि तपाईको प्रोफेशन, के तपाईलाई आफ्नो चुरोटको लत बोकेर अरुलाई त्यसको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावका बारेमा प्रवचन दिने नैतिक धरातल रहन्छ?' चट्ट छाडेको थियो विक्रमले उसको यो कुलत।
थाहा छैन विक्रमलाई केले काम गर्यो? नम्रताको तर्कले या उस्का लागि सबैकुरा त्याग्न सक्ने विक्रमको समर्पणले। आफ्ना हरेक तर्कमा कति अडिक थिइ नम्रता। कहिले काहीँ लाग्थ्यो, छाडीदिउँ स्टेथेस्कोप, रेडियोग्राफी, गाउन् स्पोंज अनि सर्जिकल सिजर्सका कुरा अनि लेखौँ एउटा प्रेमकाव्य दिएर समय जसले बयान गरोस् मात्र नम्रताको कुरा, उसको निष्ठा, विश्वास अनि पारस्परिकताको।
कुरा धरान मै सीमित रहेन, फैलिदै गयो अनि ठोक्कियो नारायणगढ सहरको एउटा अग्लो घरको भुइँतलामा। पितृले सराप्ने कुरा, गरिबी त ठिकै छ तर जातनै नमिल्नेसँग त भएन नि? आफ्ना तीनजना काकाहरु अगाडि आफ्ना बुवाले हठ गर्दा पनि कति विचलित भएकी थिइन नम्रता।
'के मैले यो सबै गरेको आजको दिन देख्नका लागि हो?' बुवाको वाक्य नसकिदै हुक्क गरेकी थिइन् उसकी आमा। ससुराली निम्त्याइएका भिनाजु उसका दाजुसँग मोर्चा कसेर ससुराबाको अभियानमा होस्टेमा हँसियो गरेका थिए।
'अब भन तिम्रो पालो? कुल खान्दानी हो, अस्ति भर्खर सेख मुजिबबाट एमडी सकाएको विज्ञान र उसको परिवारको छुट्टै पहिचान छ समाजमा। मौका सधैँ आउदैन' आफू ज्वाइ हुनुको धर्म पूरा गरेको आभास दिनेगरी ठूला आँखा ससुराबा तिर सिधा पारेर विश्राम लिएका थिए भेनाले।
यो त मात्र भेनाको विश्राम थियो, पालो सबैको आयो। काकाहरु दाइ अनि कामले आउन नभ्याएका मावलीहरुको सन्देश पनि। सायद कोही थियो यो भिडमा जसले बाहिर हँ मा हँ मिलाए पनि अनुहारको हाउभाउमा त्यो अडान कस्न नसकेको त नम्रताको दिदी।
सायद कथित कुल र प्रतिष्ठाको रापले आफू जस्तै आफ्नी बहिनी पनि नपोलियोस् भन्ने चाहन्थिन् उनी, भनेर एकथोक अनि सोचेर अर्को थोक।
समय बित्यो, नम्रताले टसमस नगरेपछि राजी भए उसका बा छोरीलाई अन्माउन। आशंका र असहमतिका धर्सा अनुहारको कुनै कुनामा दबाएर जन्ती बिदाइ गरे उनले। विक्रमको गाउँमा खसी ढालिए, एकजोर धन्कुरी गुन्जिए, सुपारी चाम्रो, जिन्दगीको दुईपल एकपल तिमीलाई अनि हो गइ वन टू टू घन्किए गाउँभरी।
मेडिकल काउन्सिलबाट लाइसेन्स निकालेर एउटा प्राइभेट नर्सिङ होममा जागिर सुरु गर्यो विक्रमले। नम्रताले पनि आफ्नो बिएस्सी नर्सिङको अन्तिम परीक्षा दिइ। काठमाडौँको महँगी, पारिवारिक आशा, इन्जिनियर पढ्ने सुरमा रहेको भाइको पढाइको खर्च अनि प्रत्येक वर्ष उत्पादित सयौँ डाक्टरहरुको ठेलाठेलमा बढ्दै गएको पारिश्रमिकताको मोलतोलले च्यापिन लाग्दा विक्रमले निर्णय गर्यो बाहिरिने।
सोचे जस्तै भयो। सिड्नी युनिभर्सिटीले अफर लेटर पठायो। आफ्नो एक वर्षको मिहेनत, भएका नम्रताका गहना सबैले साथ दिए कोर्स फी पठाउन। इसिइओ आयो अनि लाग्यो भिसा पनि। दुबई हुँदै पुग्यो इमिरेट्स किंग्स फोर्ड स्मिथ एयरपोर्ट लिएर विक्रम एक्लै अनि छाडेर नम्रता नेपालमै।
त्यसै त विकसित देश, त्यसमाथि पनि राजधानी, समुन्द्रका चंचल लहरहरु, गगनचुम्बी महल, सिंगारिएका ठूला साना पानीजहाजहरुलाई काखमा राखेर लमतन्न सुतेका समुन्द्री तटहरु, मानौँ यहीँ नै हो उसले सानोमा सुन्ने गरेको स्वर्गको वृतान्त।
सबैका आ-आफ्नै व्यथा, आ-आफ्नै कथा अनि त्यसैले प्रभाव पर्ने बाहिरको हेराइ गुन्थ्यो मनमनै विक्रम र खट्थ्यो आफ्नो दिनचर्यामा। सहज भएनन् दिनहरु, अध्ययन अनि आर्थिक संकटको निरुपण, बिरानो ठाउँ अनि छुटेका आफन्तहरुबीच दिनहरु वर्ष बनेर बिते। फोन, स्काइप, इमो माध्यम बनिरहे अनि भइरहे आदानप्रदान खबरहरु दुख-सुखका।
व्यस्तताका बीच निकालेका समयमा कुरा हुन्थ्यो घरपरिवार अनि नम्रतासँग। 'सबै ठिकै छ नि? ख्याल गर्नु, यताको पिर नलिनु।' छोटो भएपनि पूर्ण हुन्थ्यो बा-आमासँगको भलाकुसारी। तर त्यो मात्रले अपुग हुन्थ्यो नम्रतासँग। के खानु भयो? अनि हिजो त फोन गर्नु भएन नि? अब त किन गर्नु पर्यो र, आदि आदि थप्पिन्थे ऊसँगको सम्वादमा।
बिछोड कसका लागि सुखद् हुन्छ र, विकल्प नभएपछि मन भुलाउनत हो, चाहे देखेर होस् सुन्दर मिलनको सपना, चाहे स्वीकारेर होस् वर्तमानको तितो यथार्थ। कहिले काहीँ कुराकानीको दौरान आफ्नो व्यग्रता छाताछुल्ल पार्थी नम्रता अनि शान्त पार्थी आफ्नो तड्पन दिएर दोष विक्रमलाई।
बुझ्दथ्यो तात्पर्य विक्रम अनि सम्झाउथ्यो- 'पख न, अब कति नै छ र तिमीलाई अस्ट्रेलियामा स्वागत गर्न।' त्यो दिन पनि आयो, थपिए २-४ जना ऋणदाताहरु, बुझाइए विवाह दर्ताका प्रतिलिपिहरू अनि बिमाका कागजातहरु पनि, उड्यो फेरि इमिरेट्स जुरायो दुई मन।
बिछोडका पीडाहरुमा मल्मह लगाउदै बिते अस्ट्रेलिया आगमनपछिका केही दिनहरु। तर गन्तव्य अर्कै थियो, कुद्नु त थियो नै लिएपछि दौडमा भाग। घटाउनु थियो नम्रताको आगमनले उकालो लागेका साहुहरुको सुची, दिनु थियो भाइलाई पढाउने कि नपढाउने बाको प्रश्नको उत्तर अनि दिनु थियो सबैलाई आभास, मैले हारेको छैन।
सँगै पढेका सहकर्मीहरुको देखावटी प्रगति, माइतीबाट आइरहने छिमेकी साथीहरुको प्रगति विवरण, फेसबुकमा देखिने नयाँ-नयाँ गहनाहरुको डिजाइन, नम्रताको अरु को नै थियो र यहाँ, पोख्थी आफ्नो बह अनि देख्ती फेरि विक्रम नै दोषी र भन्थी- मान्छे कहाँ पुगिसके, हामी भने।
समयले दुईबाट तीन बनायो। नाम पहिले नै तय थियो। विक्रमको बि र नम्रताको नम्र जोडियो अनि राखियो नाम, बिनम्र। बिनम्र घरमा आएदेखि अझै थपियो काम अनि थपियो जिम्मेवारीको अर्को सुची पनि। एकातिर विक्रमको व्यस्तता, अर्कातिर आफ्नो पढाइलाई बीचमा रोकेर बच्चाको रेखदेख, बिरानो मुलुक नम्रताको भारी पनि गह्रुंगो थियो।
सबैभन्दा बढी साथ चाहिने बेलाका आफन्त पनि प्रतिकुल स्वाथ्य र घरायसी कारणले रोकिएका थिए नेपालमै। गुनासाका चाङहरु विस्तारै बढे अनि मडारियो मनमुटावको बादल विस्तारै। आगो परालको रहेन अब, 'छिमेकीले सुन्छन्, नेपाल जस्तो कहाँ हो र' 'सुने सुन्छन्, जेसुकै होस्' बिनम्रको भाषा प्रशिक्षणका सुरुआती शब्दहरु यी र यस्तै बने।
नम्रताको खस्कदो अवस्था देखेर आफ्नो स्वास्थ्यको बहानामा एक वर्ष बिदा लियो विक्रमले। काम र अध्यनको व्यस्तताले नम्रतालाई दिने समयमा कमि भएको ठानेर लिएको थियो उसले यो उपाय। नम्रता बेखुसी नै थिइ। सानो सानो कुराले पनि छिनीदिन्थ्यो उसको खुसी।
आफू बाहेक सबैलाई खुसी देख्थी अनि त्यही भिडमा पाउथी आफूलाई एक्लै। घरको काम र बिनम्रको स्याहार सुशारमा हात बटाउनु, नम्रताको जन्मदिन र विवाह गरेको दिनमा केही न केही उपहार ल्याउनु, कहिले काहीँ नाम्रतालाई मनपर्ने खानेकुरा बनाउनु। विक्रमका हरेक कोशिशहरु विस्तारै नाकामयाव भएका थिए।
'अरुको मूल्यांकनमा आफ्नो खुसी दाँज्नु तिम्रो सबैभन्दा ठूलो भुल हो, बुझ्यौ?' आफ्ना हरेक प्रयास विफल भएपछि अलि चर्को स्वरमा सम्झाएको थियो त्यसदिन नम्रतालाई उसले।
'हामीसँग के छैन? जुन कुराको लागि तिमी दुखी छौ? म नै तिम्रो प्रगतिको बाधक हो भने पनि भन? तिमी यसरी दुखी भैराखेको देख्न सक्दिनँ म?' जीवनमा पहिलो पटक नम्रताको अगाडि आँसु खसालेको थियो उसले।
बदलामा नम्रताले फर्काएकी थिइ जवाफ, 'त्यसो भए के छ त? के हामीसँग घर छ? के हामी पनि यिनीहरु जस्तै खुसी छौँ? के मसँग पनि यी सबै कुरा छन्' छेउमै रहेको ल्यापटप तानेर आफ्नो फेसबुक प्रमाण स्वरुप देखाएकी थिइ उसले।
'तिमी अरुको प्रगतिमा जल्छौ, त्यसैले तिम्रो फेसबुक पनि छैन' थपेकी थिइ उसले। अब त्यो नम्रता रहिन, विक्रमले निधो गरेको थियो त्यसै दिन अनि भनेको थियो जवाफमा, 'सरी'।
पीडाले मन भरिदा बाथरुमको सावर खुला राखेर रुन्थ्यो विक्रम। सोच्थ्यो, मलाई मेरा बाले किन आफू जस्तै मास्टर बनाएनन्। सायद खुसी हुने थिएँ एउटा सानो गाउँमा, सिकाउथेँ विद्यार्थीलाई मनको खुसी चिन्न, खान्थेँ आमाले पकाएको, जान्थेँ मेला-पर्म अनि बसाउथेँ त्यतै एउटा सानो संसार।
नम्रता र उसको माइतीसँगको सम्वाद बाक्लो भैरहेको थियो। कामबाट घर फर्किदा चलिरहेको सम्वाद एक्कासी अँ हो, खै होला, जस्ता शब्दमा मात्रै साघुँरिँदा लाग्थ्यो, विक्रमकै बारेमा कुरा भैरहेको छ।
नम्रताले आफ्नो र विक्रमको बेमेल माइतीलाई पढाईसकेकी थिइ। 'भनेकै त हो, यस्तै हुन्छ भनेर। त्यतिबेला सुनिनस्, तर केही छैन' जस्ता आश्वासनहरु उसका बाच्ने आधार भएका थिए। त्यही आत्मबलले कहिले काहीँ घर अझै कोलाहलमय हुन्थ्यो, भाडाहरु फ्याकिन्थे, बिनम्र अझै जोडले रुन्थ्यो, पाकेको भात बासी बन्थ्यो र गाली खान्थ्यो कुनामा चुपचाप बसेको गणेशको मूर्तिले।
विक्रमको परिवारमा पनि यो बेमेलको सुइँको पुगिसकेको थियो। सयौँ पटक फोनमा बुहारीसँग कुरा गर्ने आमाको इच्छालाई विक्रमका हरेक बहनाहरुले आस्वस्थ पार्न सकेको थिएन। कहिले बाबु सुताउदै छ, कहिले अफिस गएकी छ, कहिले आज त्यती सन्चो छैन, सुतेकी छ।
आमा किन त्यती लाटी थिइन् र बाले फोन गरिहाले- 'के हो कुरा साँचो भन्?'
'अब फोनमा के भन्नु १-२ महिनामै नेपाल आउछौँ अनि त्याही भनौँला' विक्रम तर्किन्थ्यो जुटाउन नसकेर हिम्मत।
अन्ततः काठमाडौँ उत्रियो जहाज लिएर भारी मनहरु। नम्रताले गाउँ जाने रहर देखाइन। बिनम्र मसँगै जान्छ, नम्रताले कर गरी अनि गाडी चढ्यो विक्रम, बनेर एकल यात्री भीमफेदीको। गाउँ बज्यो, विक्रम आयो रे।
कसैले बुहारी सोधे, कसैले नाति, कसैले हालखबर सोधे, कसैले कमाइ अनि कोही चुपचाप रहे बनेर बेखबर। मानौँ, ऊ कहिलै कतै गएन यो ५ वर्ष। प्रश्न अनि प्रश्नकर्ताका जवाफ एक एक गरेर दियो विक्रमले, कसैले सबै पत्याए, कसैले आदि कसैले आफ्नै सुने कसैले अरुको। दिन बित्दै गए, हप्ता नाघ्यो, गाउँमा गाइगुइ हल्ला चल्यो- केटीले छाडी अरे।
हजुरबुवा-आमाको नाति देख्ने रहर अनि नातिको पनि बाबा भेट्ने रहरले विक्रमको भाइ काठमाडौँबाट फर्किदा लिएर आएको थियो बिनम्रलाई भीमफेदी। भोलि तय गरिएको वकिलसँगको सरसल्लाह भेटको पुनर्स्मरण गराएका थिए ससुराबाले विक्रमलाई भाइमार्फत। छोराको आगमनले कुदेका ज्वारभाटाहरुलाई शान्त पार्न कोठामा पसेर ढोका थुनेको थियो ऊ हिजो साँझ।
छ वर्षको सम्बन्ध अबको केही घन्टामै कानुनी बाटो हुँदै विसर्जनको संघारमा थियो। आज तय गरिएको भेटघाट, सम्बन्ध विच्छेदका कानुनी जटिलताले माग गर्ने समय सीमा काम गर्न गरिने सम्झौतामा केन्द्रित थियो। आखिर यो सबै किन? मनमा धेरै प्रश्नहरु उठिरहेका थिए। तर आफ्नो अनुत्तरित प्रश्नका खातिर यो अन्योललाई निरन्तरता दिनु कसैको लागि ठिक देखेन विक्रमले।
कुनै खास गल्ती बिना आफ्नो यो निर्णयमा पुगेकी नम्रतालाई जिज्ञासा राख्ने कुरा त केही थिएन विक्रमको लागि तर पनि यति लामो सम्बन्धलाई टुङ्ग्याउनु अघि केही लेख्नु उचित ठान्यो उसले। चिठी लेखौँ, उसलाई गरिएको सम्बोधनको अवधि उसले चिठी नपढ्दै सकिने अवस्था।
के गरौँ र कसो गरौँको अस्पष्टतामा याद आयो उसलाई नम्रताको त्यो वाक्य ‘तिमी अरुको प्रगतिमा जल्छौ, त्यसैले तिम्रो फेसबुक पनि छैन बुझ्यौ?’ साँच्चै फेसबुक त उसले हेरी हाल्छे नि।
झट्ट ल्यापटप तान्यो अनि खोल्यो पहिलो खाता फेसबुकमा। फेसबुकको सर्च बटनले थुप्रै नम्रता देखायो, विक्रमले आफ्नी नम्रताको फेसबुक प्रोफाइल, उसका फोटाहरु अनि स्टाटसमा नजर डुलायो र सुरु गर्यो म्यासेन्जरमा गएर टाइप गर्न।
प्यारी नम्रता,
तिमी सही थियौ, मेरा अनेक कमजोरी मध्ये फेसबुक नहुनु एक प्रमुख थियो। आज त्यो चेतनाले ढिलै भएपनि तिमी सामु पुग्ने चाहना पूरा गर्यो। अझै अर्को कुरा त मलाई थाहा भएको मेरो कमजोरी, तिमी मबाट औपचारिक रुपमा टाढा नहुँदै, सुधार गर्ने मौका पाएँ।
हाम्रो अस्ट्रेलिया बसाइका कति राम्रा तस्बिर अनि कमेन्ट्सहरु, सबै नसके पनि केही पढेँ। हामी बीचको फाटो कति धुर्त्याई गरेर लुकाईदिएको, यो देखेर त फेसबुक प्रतिको मेरो सम्मान अझै प्रखर भएर आयो।
रातभरी हाम्रो मिलनको सुरुका दिनदेखि आजसम्मको पलहरुलाई सरसरी पुनर्स्मरण गरेँ। हाम्रो सम्बन्ध यो संघारमा पुग्नुमा मेरो कमजोरी कहाँ रह्यो, पत्ता लगाउनमा असमर्थ नै रहेँ। सायद मान्छेका मनहरु फरक भएर होला भगवानले यति धेरै मान्छे बनाएका, आज त्यो भिन्नताले हामीलाई एक छानामुनि अट्न नसक्ने बनायो।
आगामी दिनमा बन्ने तिम्रो सहयात्री र तिमी बीचको भिन्नता सकेसम्म न्यून होस्। आफ्नो यथार्थता अनुहारमा राम्रोसँग छोप्न नसके पनि आफूलाई सुखी देखाउने रंगमंचमा बेतालले अभिनय गर्न सक्ने सहयात्री भेट्नु तिमीलाई मेरो सुभकामना।
तिम्रो विक्रम।
म्यासेन्जरको सेन्ड बटन थिची सकिएको थियो। छोरालाई केही खुवाएर पठाउने सुरसारमा बा-आमा उठिसकेका थिए। यसै बीच छेउको ल्यापटपमा आएको टुंग आवाजले उसको ध्यान खिच्यो। नम्रताले पठाएको प्रतिउत्तरले खुसी हुँदै निकालेको रहेछ ल्यापटपले आवाज। उसले प्रतिउत्तरमा लेखेकी थिइ।
मेरो राजा,
नेपाल आगमनपछिका यी दुई महिनाहरुले मलाई जीवन चिन्न सिकाए। यो दौरानमा मैले धेरै मान्छेहरुको जीवन हेरेँ। आफ्ना सन्तानका खुसीका लागि आफ्नो जीवन संसर्ग गरेका मान्छेहरुको आत्मसन्तुष्टी हेरेँ। आफ्नो दृढ संकल्पमा बाहिरी कुराले कत्ति पनि प्रभाव नपार्ने अविचलित आमाहरु देखें। आफ्नो दैनिकीमा भेटिने हजारौँ खुसीहरू समेट्न छाडेर अरुको दैनिकी झाक्ने मान्छेहरुको हुल पनि देखेँ।
त्यसो त हजुर बिनाका एक हप्तामै मेरो ज्ञानको चक्षु खुलीसकेको थियो। तर पनि मैले आफूलाई दण्डित गर्न उचित ठानेर केही समय अझै लिएँ। उत्कृष्ट पीडाको अनुभवका लागि बिनम्रलाई पनि हजुरसँग पठाएर हेरेँ। बिनम्र गएपछि म पनि कोठामै एक्लै बसेर हाम्रो पहिलो भेटपछि आजसम्मका हरेक पलहरु पुनः स्मरण गरेँ।
खुसी त अनुभूति हो रहेछ, नकी लक्ष। पल-पलमा भेटिने खुसी समेट्न बिर्सेर भौतारिने मेरो भुलको भागीदार हजुर बनेकोमा म धेरै क्षमा प्राथी छु। यी सब कुराले मलाई बाँकी जिन्दगी नेपालमै बसेर मान्छेहरुलाई शारीरिक स्वास्थ्यसँगै मनको खुसी पनि चिन्न सघाउन मन लागेको छ। के मेरो यो चाहनामा हजुर पनि मेरो सहयात्री बनिदिनु हुन्छ? बाँकी कुरा साँझको भेटमा।
उही जिद्धी
नम्रता।
नम्रताले प्रतिउत्तरको अपेक्षा राखेकी थिइन। विक्रमले ल्यापटप बन्द गर्यो, तल आँगनमा आमाले फोनमा 'भाग्यमानी भएस्' भनेको सुनियो। 'ल ल चाडै हिड्नु, भरे अबेर होला' फोन काटियो।
'केही समय सुतेर उठ्छु' आमालाई लक्षित गरेर बोल्यो विक्रम। 'केही खाएर सुत्, रातभरी नसुतेको' आमाको जवाफले अचम्मित भयो विक्रम। मनमनै भन्यो 'आमालाई थाहा नहुने के नै होला?'