‘ए सान्नानी, चकलेट खान्छ्यौ?’ अरु दिन झैँ वस्तुभाउ लिएर वनतिर जानै लागेकी सान्नानीलाई ४० वर्ष जतिको कुल्वीरले फकायो। दश वर्षकी बालिका चकलेटको नाम सुन्नेवित्तिकै लोभिइ। तर पनि नसुनेझैँ आफ्नो वस्तुभाउलाई पछ्याउन थाली।
कुल्वीर फेरि नजिकै आएर भन्यो- ‘तिम्रो लागि हेर मैले कति धेरै चकलेट ल्याइदिएको छु।’
आफ्नो हत्केलाभरी दश/बाह्र वटा ललीपप राखेर सान्नानीतिर देखायो। अब भने वस्तुभाउभन्दा कुल्वीरको हत्केलामा तैरिरहेको ललिपपतिर सान्नानीको ध्यान गयो। उस्ले लजाउँदै भनी- ‘तपाईसित त्यति धेरै चकलेट रैछ। उसो भए मलाई पनि दुइटा दिनुस् न।’
‘यहाँ कहाँ दिन्छु र? जाऔँ त्यो सल्लेरी वनमा। त्यो वनभित्रको गुफामा लुकाएर पो दिन्छु।’
‘नाइँ, म त्यहाँ लिन्न। दिनै भए यहीँ दिनुस् अंकल’ उस्ले ढिपी गरी।
‘उसो भए यो चकलेट सबै तिम्रा बाख्रालाई खुवाउँ?’ कुल्वीरले एउटा बाख्राको खुट्टामा एउटा ललिपप फुत्त फालिदियो। भोको बाख्राले ललिपपलाई केही महत्वपूर्ण जिनिस पाएजस्तो खुट्टाले नै खोतल्न थाल्यो। अब भने उस्को मुख साह्रै रसायो।
ललिपप पाएर पनि चुस्न नजानेको आफ्नो बाख्रालाई हेर्दै ऊ मुसुक्क हाँसी। कुल्वीरले पनि सान्नानीको निश्चल हाँसोमा कुटिल हाँसो थप्यो। सान्नानीको पछि पछि लाग्दै कुल्वीर वनैसम्म पुग्यो। हातभरी ललिपप लिएर पछ्याइरहेको कुल्वीरलाई सानान्नीले आज कुन प्रलोभनमा, जानेर पनि नजाने जस्तो वनसम्मै पछ्याउनै दिइ।
वनको एकान्तमा पुगिसकेपछि, कुल्वीरले अब मौका यही हो भन्दै चकलेटको प्रलोभन देखाउन थाल्यो। गुफातिर कुल्वीरले हातले इशारा गर्दै बोल्यो- ‘अब म त्यहाँ भित्र गएँ। मसित ललिपप नै ललिपप छ। फ्रुटी पनि छ। यी कुरा खाने भए वस्तुभाउलाई एकातिर चराएर तिमी पनि भित्र आऊ।’
सान्नानीले कुल्वीर भित्र छिरेको हेरिरही। बायाँ हातमा दश/बाह्र वटा ललिपप र दायाँ हातमा एउटा फ्रुटी च्यापेर गुफाभित्र गएको कुल्वीरले भनेको कुरा नमाने हातैमा आएको चकलेट र फ्रुटी पनि गुम्ला जस्तो सान्नानीलाई लाग्यो। उस्ले वस्तुभाउ गुफा बाहिरै चर्न दिएर ऊ पनि चकलेट र फ्रुटीको लोभमा गुफाभित्र प्रवेश गरी।
भित्र कुल्वीरले उस्लाई गुफाभित्रको अँध्यारो ठाउँमा राखेर चकलेट पेटभरी खान दियो। चकलेट रितिसकेपछि कुल्वीरको हात उस्को शरीरको विभिन्न ठाउँमा सर्न थाले। फ्रुटीको रसमा रसिरहेको बेलामा उस्ले खासै ध्यान दिइन। लुगा फुकाल्न लाग्दा पो थाहा पाइ उस्ले, कुल्वीरको नियत। कुल्वीरले नाङ्गै पारेर उस्लाई भुइँमा पल्टायो।
ऊ जोडले कराइ। तर उस्को मुख थुनेर, कुल्वीरले पनि बल लगाएर उस्लाई बलात्कार गर्यो। कुल्वीरले आफू सन्तुष्ट भइसकेपछि उस्लाई फकायो- ‘कसैलाई केही नभने। म तिमीलाई भोलि पनि यतिकै चकलेट दिन्छु। अब लुगा लगाऊ, जाऊ तिम्रा बाख्राहरु भोकाइरहेको होला।’
कुल्वीरले दश/बाह्रवटा चकलेट सान्नानीको फ्रकको गोजीमा हालेर भन्यो- ‘अब लुगा लगाऊ।’ आफ्नो लुगाको गोजीमा चकलेटले टाउको लुकाएको देखेर सान्नानीले भर्खरै पाएको पीडा पनि बिर्सी। आफ्नो भित्री अंगबाट टपटप चुहिरहेको रगतलाई चकलेटले भरीएको फ्रक लगाएर लुकाइ।
असाध्यै दुखेपछि सान्नानीले कुल्बिरलाई सोधी- ‘बाजेले यो निलडाम कसरी भनेर सोध्यो भने के भन्ने?’ सान्नानीले आफ्नो घाँटी पछाडिको निलडामतिर औँलाले टेकेर सोधी। फेरि मेरो त लुगा पनि च्यातियो भन्दै सुँकसुँक रोइ।
‘म भोलि तिमीलाई योभन्दा राम्रो नाना दिन्छु।’ यति भन्दै कुल्वीरले सान्नानीलाई फकायो।
‘हो र?’ यति भन्दै सान्नानीले खुसीको आँखा उचाली।
‘निलडामलाई जंगलमा लडेर ढुंगामा बजारियो भन न। अनि लुगा काँडाले तानेको है।’
सान्नानीलाई केही नभएजस्तो, बिहान जसरी वनमा आएको थियो, त्यसरी नै चिटिक्क पारेर कुल्वीर आफ्नो घरतिर फर्कियो। घर पुग्दा साँझ पर्न पर्न लागेको थियो। घरतिर पुग्नेबित्तिकै आफ्नी छ वर्षकी छोरीले हातभरी चकलेट च्यापिरहेको देख्यो। छोरी चकलेटलाई काखैमा राखेर रमाइ रमाइ खेलिरहेको थिइ।
कुल्वीरले छोरीको हातमा चकलेट नै चकलेट देखेपछि रिसाएर करायो- ‘छोरी तिम्रो हातमा यतिधेरै चकलेट कहाँबाट आयो?’
‘बसन्त काकाले दिएको।’
‘त्यो चकलेट सबै फाल। म तिमीलाई एक पोका चकलेट दिन्छु।’ उस्ले गोजीमा राखेको एक पोका चकलेट निकालेर छोरीतिर देखायो। कुल्वीरको एक पोका चकलेट देखेर छोरी कराई- ‘बाबा, बाबा कति धेरै चकलेट।’
छोरीले हात थापी। त्यो एक पोका चकलेट छोरीको हातमा दिनै लाग्दा उस्को हात थर्रर काँपिरहयो।
‘बाबा, तपाई किन काप्नु भएको?’
उस्ले काँपेकै हातले छोरीको हातको सबै चकलेट पहिला खोसेर झ्यालबाट बाहिर फालिदियो। एक पोका चकलेट छोरीको हातमा राखिँदिदै, छोरीलाई आफूतिर तानेर शरीरको वरिपरि ओल्टाइ पल्टाइ हेर्न थाल्यो। घाँटीको पछाडि भागमा हेर्यो, फेरि अगाडि हेर्यो।
‘बाबा, यसरी के हेर्नु भएको?’
‘छोरी तिमीलाई कतै निलडाम त लागेन?’
‘नाइँ’
चुलोमा जोड जोडले आँगो फुकिरहेकी आफ्नी श्रीमतिलाई हकार्दै भन्यो- ‘ए ठूलीकी आमा, आज राति छोरी सुत्दा उस्को लुगा एकपटक खोलेर हेर है। घाउचोट पो लाग्या छ की? कतै निलडाम पो छ की?’
यति बोल्दै फेरि छोरीतिर हेर्यो। छोरीको चोलीको पछाडि भागमा एकतिर धर्रर च्यातिएको देख्यो। उस्ले छोरीतिर हेर्दे रिसाएर बोल्यो– ‘छोरी यो लुगा कसरी च्यातेको? हिजो मात्र हाल्देको यो नयाँ लुगा भन कस्ले च्यातेको?’
छोरी अवाक बनेर बाबुको मुखमा ट्वाल्ल परेर हेरिरही, हेरिरही। उस्को मस्तिस्कमा तीन वर्षको भाइको बदमासी खेल्न थाल्यो। ‘दिदीलाई मात्र नयाँ नाना’ भन्दै भर्खरै धर्रर च्यातेको सम्झी। मेरो कारणले भाइलाई नपिटाऊँ भन्दै ऊ मौन नै रही।
छोरीको मौनताले बाबुको अनुहार भने झन् झन् बिग्रदै गइरहेको थियो। अब भने चकलेटको स्वादसँग रमाइरहेको उस्को जिब्रो पनि शान्त भइसकेको थियो। बाबुको रिसाएको अनुहार देखेर थर्कमान भएकी छोरीले अन्जानैमा कतिखेर मुठी खुल्यो र मुठिभित्र बलैले च्यापेको ललिपप एक एक भुइँमा खस्न थालेको चालै पाइन।