जाडो मौसम भए पनि दिन घमाइलो भएकोले त्यति चिसो महशुस भएको छैन। सृजनाको अगाडि आज यस्तो समस्या आइपरेको छ, जसको समाधान अहिले नै गर्नु पर्ने भएको छ। आमाले धेरै पटक थाहा नपाउने गरी हेरेर जानु भएको सृजनालाई थाहा छ।
सृजनाले अझसम्म कुनै निर्णय गर्न सकिरहेको छैन, केही निर्णय दिन सकिनन् भने आमाले सोध्नु हुनेछ 'सृजना, छोरी तिमीले के विचार गर्यौ? हेर उनीहरु अमेरिकाबाट आएर हाम्रो निर्णयको प्रतिक्षा गरीरहेका छन्। तिमी विवाह गर्न सहमत होस् भन्ने चाहीरहेका छन्।'
सृजना र उसको बुबा-आमाले बिहेको कुरालाई बिर्सिसकेको भए पनि फेरि किन दोहोराएर त्यही सम्बन्धलाई निरन्तरता दिन जोड दिइरहेका छन्? सृजनाको आमाले सबिन्द्र असल केटा हो भनेर मनमा लिइ राख्नु भएको छ।
अमेरिकामा स्थापित व्यवसाय छ। दिएको उपहारहरुलाई सबिन्द्रको आमाले अनेक खोट देखाएर फिर्ता गरेको कुरा सृजनाको आमाले कसरी बिर्सन सकेकी होलिन्। सबिन्द्रको बुबाले लाज पचाएर होटलको बिल नतिरी अमेरिका फर्केको अनि सृजनाको बुबाले तिरेको उनीहरुले कसरी बिर्सने!
यस्ता कुराहरुलाई कसरी थाहा नपाएको जस्तो गर्ने। अनि उनीहरुको के विश्वास! भविष्यमा फेरि यस्तो नदोहोरिएला भनेर। त्यस्तै व्यवहार गरे भने त्यसको परिणाम के होला? सृजनाको भविष्य के होला?
आफ्नो छोरीलाई अमेरिका पठाउन जो कोही पनि सबिन्द्रलाई छोरी दिन तयार हुनेछन्। त्यतिबेलासम्म सृजनाको जिन्दगीबाट अभिषेक गैसकेको हुनेछ। सृजनाले कुनै हालतमा पनि अभिषेकलाई गुमाउन चाहदिनन्।
गत वर्ष सबिन्द्रसँग सृजनाको टीकोटालो भयो। सृजनाको एकजना आन्टी अमेरिकाबाट आउनु भएको थियो। उहाँले नै यो बिहेको कुरा चलाउनु भएको हो। जब सृजनाको बिहेको कुरा चल्थ्यो, आमा-बुबाले लामो श्वास फेरेर भन्ने गर्नु हुन्थ्यो 'हाम्रो छोरीको पनि अमेरिका युरोप तिरको केटासँग विवाह भइदिए हुन्थ्यो।'
उनीहरुको छिमेकमा धेरैका छोराछोरीहरु कसैको ज्वाइ, कसैको बुहारी भएर गएका थिए। सायद यही कारणले होला, सृजनाको आमा-बुबाले पनि छोरी विदेशमा जाओस् भन्ने चाहना लिएको। अनि सृजनाको आमा-बुबाले पनि भन्न पाउनेछन् 'हाम्रो छोरी पनि अमेरिकामा छ, ठूलो घर छ, गाडी छ।'
जब इन्दिरा आन्टी उनीहरुको घरमा आउथिन्, आमाले दिनहूँ आन्टीलाई बिहेको कुरा चलाउन दबाब दिन थालिन्। आन्टीले पनि आफू अमेरिका फर्केपछि केटा हेरेर कुरा गरुँला भनेर आमालाई भन्न थालिन्। तर सृजनाको आमालाई यति हतार की त्यतिन्जेल पर्खिन धैर्यता थिएन। इन्दिरा आन्टीले अमेरिकामा कसैसँग कुरा गरिन्। एक हप्तापछि उनीहरु नेपाल आउदै थिए, दुई हप्ता नेपाल बस्ने कार्यक्रम सहित।
इन्दिरा आन्टीले सबिन्द्र असल केटा हो भनेर बखान लाइन्। उनीहरुको त्याहाँ धेरै वर्ष पहिलादेखिको स्थापित व्यवसाय छ। सहरमा ठूला-ठूला स्टोरहरु पनि छन्। सृजनालाई आन्टीले केही बढाई चढाई कुरा गरेकी हो की जस्तो लागेको थियो। तर आजकल सृजनाको आमालाई यस्ता कुरा साह्रै मन पर्न थालेको थियो।
'उनीहरु नेपाल आएको अर्को दिन जलपानको लागि घरमा बोलाउनु पर्ला, सृजनालाई देखेर कसले मन नपाराउला, रुपरंग राम्रो छ, गोरी छ, स्लिम, स्मार्ट छ। हामी विवाह धुमधामसँग गर्न चाहन्छौँ, पाँचतारे होटलमा बिहे गर्नेछौँ। दाइजोमा पनि कुनै कमि राखिने छैन।'
नेपाल आएको अर्को दिनमा सृजनाको आन्टीले उनीहरुलाई घरमा लिएर आइन्। आमाले सृजनालाई राम्रोसँग तायर हुनको लागि पहिला नै भनि सकेकी थिइन्। आन्टीले उनीहरुको परिचय गराए 'उहाँ मिसेस शीतल, मिष्टर हरिश र उहाँको छोरा सबिन्द्र।'
सबिन्द्रको आमाले झट्ट बोली 'सबिन्द्र होइन इन्दिरा, सैब। हामीलाई यो नेपाली नाम मनै पर्दैन।'
'सैब...! अल राइट।' सबिन्द्रको आमाले जसरी विरोध गरेकी थिइ, इन्दिरा आन्टीले त्यति नै सहज तरिकाले सहमति जनाइन्। यो सुनेर सृजनालाई हाँसो साथ साथै रिस पनि उठीरहेको थियो।
'सरी मिसेस शीतल, मैले त खास मानिससँग परिचय गराउनै भुलेछु।' आन्टीले सृजना आउदै गरको देखेपछि उठ्दै 'अब... उनी मोष्ट चार्मीङ गर्ल सृजना।' आन्टीले सृजनाको कम्मरमा हात राख्दै बडो जतनका साथ उनीहरुको अगाडि प्रस्तुत गरिन्, मानौँ सृजना कुनै बहुमूल्य वस्तु हो।
'सृजना बडो होनहार केटी छ, भेरी स्मार्ट, ब्युटिफूल एण्ड अफकोर्स भैरी एजुकेटेड।' इन्दिरा आन्टीले एकै श्वासमा सृजनाको बारेमा भनिन्।
आन्टीले सृजनाको बारेमा राम्रा कुराहरु गरेर उनीहरुलाई प्रभावित पार्ने कोशिस गरिरहेकी थिइन्। 'मिसेस शीतल, सृजना राम्रो संस्कारमा हुर्किएकी केटी हो, उसलाई तपाईले बुहारी बनाएपछि सधैं मलाई आभार व्यक्त गर्नुहुनेछ।' आन्टीले उनीहरुलाई आश्वस्त बनाउने प्रयास गरिन्। बिहेमा कुनै कमी राखिने छैन, पाँचतारे होटलबाट बिहे गरिनेछ... इत्यादी।
सबिन्द्रको आमा स्वभावले घमण्डी जस्तो देखिन्थिन्। सायद अमेरिकामा बस्ने भएकोले होला। सबिन्द्रको बुबा खासै बोलेनन्। केबल श्रीमतीले बोलेको मात्र हेरीरहे।
सबिन्द्रको आमाले घरको बैठक कोठामा चारैतिर नजर दौडाएपछि मेरो आमालाई भनिन् 'हेर्नुस् मिसेस अमृता, हाम्रो नेपाल आउने काम सबिन्द्रको बिहेको लागि केटी हेर्नु मात्र थिएन। इन्दिराले प्रस्ताव राखेको हुनाले, हामीले पनि हेरी हालौन भनेर सोच्यौँ। उसले अनुरोध गरेको भएर मात्र हामी तपाईको घरमा आएको हौँ।
सृजना हामीलाई मन पर्यो तर अहिले हतारमा हामी जवाफ दिन सक्दैनौँ। हामीलाई निर्णय लिन एक हप्ताको समय चाहिन्छ, सायद तपाईहरुले बुझ्नु भयो होला' भन्दै सोफाबाट उठिन् साथसाथै सबिन्द्र र उसको बुबा पनि उठे।
'ओके मिसेस अमृता, नाइस टु मिट यु अल। इन्दिरा तिमी अमेरिका कहिले फर्किदैछौ?'
'अझ केही दिन नेपालमा बस्छु। आफन्तहरुलाई पनि भेटघाट गर्नु छ। बस्नुस न! किन उठ्नु भएको? यसो चियापान गरेर जानुहोला।' उनीहरु जान लागेको देखेर इन्दिरा आन्टीले अनुरोध गरिन्।
'ठिकै छ इन्दिरा, अब हामी जान्छौँ। तिमीले भनेको भएर मात्र आएको हामी... ओके... बाई।'
उनीहरु गएपछि इन्दिरा आन्टीसँग सृजनाको आमाले चिन्तित हुँदै भनिन् 'इन्दिरा उनीहरुलाई के कुरामा चित्त बुझेन, केही खान पिन गरेनन्, यत्तिका तयारी गरेका थियौँ।'
'भाउजू, चिन्ता नलिनुस्, शीतलको आनीबानी नै त्यस्तै हो। म उनीहरुसँग कुरा गरेर बुझूँला।'
पाँच दिन बित्यो, उनीहरुको तर्फबाट कुनै जानकारी आएन। सृजनाको आमाले इन्दिरा आन्टीलाई फोन गर्ने तर्खर गर्दै गर्दा आन्टी आइपुगिन्। 'दुई दिनको लागि म नारायणघाट गएको थिएँ, सानिमालाई भेट्न। शीतललाई भर्खरै भेटेर आएको, बेलुकीसम्म खबर गर्छु भनेका छन्।'
बेलुकीसम्म कुनै खबर आएन। राति ९ बजे तिर आन्टीको फोन आयो। सृजनाको आमा खुसीले उफ्रिन्।
'शीतलले हामी सोच्दैछौँ भन्दै थिइन्।' आन्टीले भन्दै थिइन् 'कुरा मिल्ला जस्तो छ।' अर्को दिन उनीहरुलाई केटी मन पर्यो भनेर मोबाइलमा मेसेज आयो।
इन्दिरा आन्टीले भनिन् 'छिटै कुनै ठूलो होटलमा टीकोटालो (इन्गेजमेन्ट) गर्नु पर्छ... सके आजै नभए भोलिसम्म।'
भोलिपल्ट लाजिम्पाटको एउटा तारे होटलमा धुमधामका साथ सबिन्द्रसँग सृजनाको टीकोटालो (इन्गेजमेन्ट) भयो। सबिन्द्रको सम्पूर्ण परिवारलाई महंगो उपहारहरु दिइयो। सुनको औँठी, महंगो घडीदेखि महंगा साडी र सुट दिइयो। सृजनाको आमा एकदमै खुसी भएकी थिइन्। सृजनाको बुबालाई पनि राम्रै लागि रहेको थियो। अब छोरी अमेरिका जान पाउने भइ भनेर सृजनाको आमाको खुसीको सीमा थिएन।
अमेरिकामा बस्ने केटासँग सृजनाको टीकोटालो (इन्गेजमेन्ट) भएकोमा आफन्त र साथीहरुको बधाइ आजसम्म पनि मोबाइलमा मेसेज आइरहेको थियो। अमेरिका फर्किनु पहिलो दिन सबिन्द्रको आमाले सृजनाको आमालाई फोन गरिन् 'मिसेस अमृता, तपाईहरुले हामीलाई उपहार त दिनु भयो तर गह्रुंगो साडीहरु अमेरिकामा कसले लागाउँछ, सुनका गहनाहरु ठिकै छ... साडी र लेडिज ड्रेसहरु अलि मन परेन।'
सबिन्द्रको आमाको यस्तो कुरा र व्यवहार देखेर सृजनाको आमाले आफ्नो गल्ती स्वीकार्दै भनिन् 'शीतल, हामीबाट गल्ती भयो, तपाईहरुले नराम्रो नठान्नुस्... आइन्दा हामी ख्याल राख्नेछौँ।'
सृजनाको आमाले उनीहरु नरिसाउन् भनेर आफ्नो गल्ती स्वीकार गरिन्। सृजनालाई सबिन्द्रको आमाले आमा प्रति गरेको व्यवहार र आमाले गल्ती स्वीकार गरेको राम्रो लागेन तैपनि चुप रहिन्।
'मिसेस अमृता, हामीलाई मनपरेको उपहार हामीले लादैछौँ। अरु इन्दिरालाई दिएका छौँ फिर्ता लैजानु होला, तपाईहरुलाई काम लाग्ला।'
सृजनाको आमाले केही नबोली 'हजुर... हजुर' मात्र भनि रहिन्। अमेरिका फर्किएपछि सबिन्द्रको आमाले गरेको यो पहिलो फोन थियो। छोटो समयमा धुमधामसँग टीकोटालो गरेको र उपहार दिएकोमा सबिन्द्रको आमाले आभार व्यक्त गर्नेछिन् भन्ने सृजनाको आमाले आशा राखेकी थिइन्। तर भविष्यमा अति नै नजिकको नाता सम्बन्धमा जोडिन लागेका सम्बन्धलाई समेत कुनै ख्याल नराखी जुन किसिमले सबिन्द्रको आमाले तुच्छ व्यवहार देखाए, त्यो सृजनाको आमाले अपेक्षा गरेको थिइन्।
केही दिनसम्म सृजनाको आमा एकदमै चिन्तित रहिन्। सृजानको बुबालाई सबै कुरा भनिनन्, सृजनाको बुबाले उनीहरुलाई हाम्रो केही उपहार मन परेन, बिहेको बेलामा ख्याल राख्नु पर्ला भन्नु भयो।
इन्गेजमेन्ट भएपछि सबिन्द्रसँग मेरो एक/दुई पटक कुराकानी भयो, तर त्यो भेट निरस थियो, बिहे हुन लागेको केटाकेटी बीच हुनु पर्ने जस्तो रोमाञ्चित भएन। सृजनाले जहिले पनि केही जिज्ञासा राख्दा सबिन्द्रले खरो जवाफ फर्काउने गर्दथ्यो। कहिलेकाहीँ त जवाफ 'हो/होइन' मा सीमित रहन्थ्यो।
सबिन्द्रको यस्तो व्यवहार सृजनालाई राम्रो लागिरहेको थिएन। सृजनालाई राम्रो नलागे पनि आमा-बुबाको चाहना र भावनामा चोट लाग्ला भनेर सृजनाले यी कुराहरु चुपचाप मन भित्र आफैमा सीमित राखिन्। सृजनाले आमा-बुबालाई बिहेको चिन्ताबाट टाढा राख्न खोजे पनि अर्को दिन इन्दिरा आन्टीले अमेरिकाबाट फोन गरिन्, त्यो फोनले सृजनाको आमा-बुबाले विवाहका लागि जुन उत्साहा देखाउनु भएको थियो, सेलाएको जस्तो देखिनु भयो।
'हेर्नुस् न भाउजू! अहिले अमेरिकाको आर्थिक अवस्था राम्रो नभएकोले उनीहरु पनि अब नेपाल आउने सोच बनाईरहेका छन्। उनीहरु त्यतिबेला नेपाल आउनुको उद्देश्य सबिन्द्रको बिहेको लागि केटी हर्नु मात्र थिएन। नेपाल फर्केपछि के गर्न सकिन्छ भन्ने अवसरको खोजिमा आएका रहेछन्।
उनीहरुले सृजनालाई हेर्नु अघि सबिन्द्रको बिहेको लागि अरु केटीहरुलाई हेरेका रहेछन्, यी सबै कुरा मैले अहिले अमेरिका आएपछि थाहा पाएँ, अब तपाईहरुलाई जे ठिक लाग्छ त्यही गर्नुस्।'
इन्दिरा आन्टीको कुराले सृजनाको बुबा-आमा चिन्तित हुन थाले। सृजना बाहेक अरु केटीहरुलाई पनि हेरेका रहेछन् उनीहरुले... तर उनीहरुले... इन्दिरा आन्टीले भनेको भएर मात्र आएको भनेर झुटो बोलेका रहेछन्।
बिहेको कुरालाई लिएर केही दिन घरमा शान्ति छाएको थियो। सृजनाको आमा-बुबा दुवै चिन्तित थिए। सृजना पनि अब के गर्ने होला भनेर असमञ्जस अवस्थामा थिइन्। यही सोच्दा सोच्दै तीन महिना बितीसकेछन्। यो तीन महिनामा न यताबाट उनीहरुसँग सम्पर्क गर्ने प्रयास भयो न त अमेरिकाबाट उनीहरुले।
जे भएपनि सृजना र उसको आमा-बुबा यस कुरालाई भुल्ने प्रयास गरिरहेका थिए, त्यही बेला अमेरिकाबाट इन्दिरा आन्टीको फोन आयो। आन्टीले सबिन्द्रको आमासँगै बसेर फोन गरेकी थिइन्। उनले सृजनाको आमालाई भनिन्- सबिन्द्रको आमाले फोनमा जे कुराहरु भनेकी थिइन्, त्यसका लागि माफी माग्न चाहन्छिन्।
आन्टीले सबिन्द्रको आमालाई फोन दिइन् 'मिसेस अमृता, म सबिन्द्रको आमा शीतल, त्यो दिन म साह्रै टेन्सनमा थिएँ। मेरो भनाइले तपाईलाई नराम्रो लाग्यो होला, त्यसका लागि माफी चाहन्छु। सृजना हामीलाई साह्रै मन पर्यो। हामी उसलाई बुहारी बनाउन चाहन्छौँ। तपाईहरुले हाम्रो अनुरोधलाई स्वीकार गर्नु हुनेछ भन्ने आशा राखेका छौँ।'
'ठिकै छ शीतल जि... तपाईले माफी मागिरहनु पर्दैन। सृजनाको बुबासँग सल्लाह गरेर हामी तपाईलाई...।'
सबिन्द्रको आमा बीचैमा बोली 'तपाईहरुलाई आफ्नो छोरीको बारेमा निर्णय लिने पूरा अधिकार छ। अब हामीहरु बीचको असम्झदारीहरु समाधान भएको जस्तो लाग्छ। तपाईहरुले जहिले भन्नुहुन्छ हामी त्यसैबेला नेपाल आउन तयार छौँ। ल अब इन्दिरासँग कुरा गर्नुस्' र उनले फोन आन्टीलाई दिइन्।
इन्दिरा आन्टीले आज फेरि उनीहरुको वकालात गर्न थालिन् 'उनीहरुको बिजनेस अब फेरि राम्रो हुन थालेको छ। उनीहरुले आफ्नो व्यापारमा बृद्धि गरिरहेका छन्। सबिन्द्रको लागि पनि बेग्लै पसल खोलीदिएका छन्। भाउजू तपाईलाई थाहा छ, अमेरिकामा बच्चाहरु हुर्किएपछि आमा-बाबुसँग बस्दैनन् नि।'
यी कुराहरु सुनेपछि सृजनाको आमाको मनमा फेरि कौतुहलता जाग्न थाल्यो। आन्टीले फोन राख्नसाथ सृजनाको आमा सृजनाको कोठामा आएर छेउमा बसिन्। इन्दिरा आन्टीको कुरा सुनेर सृजनाको के प्रतिकृया हुन्छ भनेर सृजनाको आमाले जान्न बुझ्न चाहन्थिन्।
सृजनाको आमाले जसरी पनि छोरी बिहे गरेर अमेरिका जाओस् भन्ने चाहना राखेकी थिइन्। सृजनाको आमाको यो चाहना पूरा हुन्छ हुँदैन, सृजना आफैलाई थाहा छैन। सृजना अचम्ममा परिरहेकी छिन्। आमाले त्यो टीकोटालो गर्दा दिएको उपहारको बारेमा सबिन्द्रको आमाले गरेको टिकाटिप्पणी कसरी बिर्सेकी होलिन् भनेर। अहिले उनीहरुले के-के कुरामा झुटो बोलिरहेका छन् भन्ने कुरा पनि स्पष्ट भइसकेको थियो।
आन्टीको फोन आएको दुई दिनपछि सबिन्द्रको फोन आयो। फोन सृजनाले उठाएकी थिइन्। सबिन्द्रको फोन भनेर थाहा पाएपछि सृजनाको आमा खुसी भएकी थिइन्। सृजनाले सबिन्द्रको फोनको अपेच्छा गरेकी थिइन्। तर सृजनाले अब उसलाई वास्ता गर्दिनँ भन्ने दृढ विश्वास संकल्प गरेकी थिइन्। फोन उठाउन साथ उताबाट 'हेलो म सबिन्द्र, अमेरिकाबाट।'
खै किन हो सृजनाले आक्रोसित हुँदै भन्न सुरु गरिन् ' ए! सबिन्द्र पो... होइन होला, सैब हुनु पर्ने... नेपाली नाम त तपाईलाई मन पर्दैन होला की। तपाईले सैब भने पनि मैले चिन्ने थिएँ किनभने तपाईसँग मेरो टीकोटालो भइसकेको छ। बिहेको सपना हेरीरहेकी छु, सपना पनि किन नदेखूँ, किनभने टिकाटालोपछि नै बिहे हुन्छ।
मिस्टर सैब, तपाई अमेरिकामा बस्नु हुन्छ, तर नेपाली श्रीमती चाहिएको छ। किनकी यिनीहरु सोझा हुन्छन्, मान्यजनलाई सम्मान गर्न जान्दछन्, अप्ठ्यारोमा साथ दिन्छन्। जबकी अमेरिकी केटीहरु सानसाना कुराहरुमा निहूँ खोजेर सम्बन्ध बिच्छेद गर्न धम्की दिन्छन्...'
'प्लीज, हामी बीच असमझ्दारी भएको छ। त्यतिबेला कुरा गर्दा म टेन्सनमा थिएँ...।'
'के हो तपाई पनि आफ्नो आमा जस्तै सधैँ टेन्सनमा हुनुहुँदो रहेछ। केही दिन पहिला तपाईको आमाले पनि यसैगरी मेरी आमासँग माफी माग्नु भएको थियो। आज चाहिँ छोराले...।'
'तपाई किन यसरी रिसाउनु भएको?'
'सायद आज म टेन्सनमा छु... त्यसैले।'
'चित्त दुखाएकोमा म माफी चाहन्छु, तपाईले जे सजाय दिन चाहनु हुन्छ, दिनुस्... तर प्लीज डोन्ट स्पोइल मि।'
'मिष्टर सैब, तपाई र तपाईको आमा यो सम्बन्ध बिगार्नेमा जिम्मेवार हुनुहुन्छ। मेरो आमा त अझ पनि तपाईको आमाको व्यवहारलाई बिर्सेर तपाईहरुसँग सम्बन्ध गाँस्न तयार हुनुहुन्छ। तर मिष्टर सैब ढिलो भइसक्यो, अब त्यो सम्भव छैन।'
'सृजना जि! प्लीज त्यस्तो नभन्नुस्... मलाई निराश नबनाउनुस्।'
'तपाई किन निराश हुनुपर्यो? तपाईले नेपाली केटीसँग बिहे गर्न खोजेको होइन र? गर्नुस्, कसले रोकेको छ? तपाईहरु नेपाल आउदा अरु केटीहरुलाई पनि हेरेको भन्ने सुनेको थिएँ। त्यसमध्ये एउटालाई रोजेर बिहे गरे भइहाल्यो नि। मेरी आमा जस्तै कोही आफ्नो छोरी अमेरिका पठाउने लोभमा तयार हुनसक्छन्।'
'तपाईको हामी प्रतिको गुनासो उचित हो, रिसाउनु जायज हो। म तपाईलाई विश्वास दिलाउन चाहन्छु भविष्यमा यस्तो हुनेछैन।'
'तपाईको सरी, माफी माग्नाले ती दिनमा हामीले भोगेको तनाव चिन्ता त कम हुँदैन, हामीले कसरी ती रात दिन बितायौं, तपाईले सोच्न पनि सक्नु हुन्न। म भगवानसँग प्रार्थना गर्छु की तपाईलाई बिहेका लागि नेपाली केटी भेटियोस्, तपाईको आमालाई प्राप्त भएको उपाहारको बारेमा बोल्ने मौका मिलोस्' भनेर सृजनाले फोन राखिन्।
सृजनाले फोन राख्ने बित्तिकै आमाले रिसाउदै झपारिन् 'यो के तरिका हो बोल्ने सबिन्द्रसँग, कसरी कुरा गरेको?'
'के भन्न बाँकी छ र आमा अब! तिमीहरुको कहिलेदेखि बाटो हेरेर बसेका छौँ... भन्नु पर्ने।'
सृजनाको आमाले रिसाउदै भन्दै थिइन् 'भयो... भयो... तिमीले जे गर्यौ, त्यो ठिक गरेनौ। सबिन्द्रले के सोच्यो होला?'
'जेसुकै सोचोस्, मलाई केही मतलब छैन। अब हाम्रो धारणा के छ सबिन्द्रले बुझेको हुनु पर्दछ। अब म अमेरिका जान्न आमा। अब यो छोरी तपाईहरुको वरिपरि यही नेपालमा बस्छे। अब तपाईले सबिन्द्रको नाम सधैँको लागि बिर्सिदिनुस्। विश्वास गर्नुस् आमा, अभिषेकसँग मेरो जीवन राम्रोसँग बित्ने छ। तपाईहरुले पनि अभिषेकलाई चिन्नु भएको छ, हामी कलेज पढ्दा एक/दुई पटक त हाम्रो घरमा पनि आइसकेको छ।'
लगभग केही वर्ष अघि अभिषेकसँग सृजनाको भेट अनौठो तरिकाले भएको थियो। सब्रिन्द्रसँगको सम्बन्ध टुटेपछि सृजनाले सानो तिनो नोकरी गर्न लागेको थिइन्। सृजना जहाँ काम गर्थिन्, अभिषेक पनि त्यही सिनियर अफिसर थिए।
नोकरीको पहिलो दिन जब सृजना अफिस जाँदै थिइन्, कार्यालयको गेट प्रवेश गर्ने क्रममा गार्डले ढोका खोल्यो। एउटा पुरुष कर्मचारीले सृजनालाई पहिला जानको लागि इशारा गर्यो। सृजनाले त्यस पुरुष व्यक्तिलाई हेरिन्, अनुहार कतै परीचित जस्तो लाग्यो। त्यस पुरुष व्यक्तिले पुन: सृजनालाई हेर्दै आश्चर्य मान्दै बोल्यो 'सृजना तिमी... म अभिषेक!'
'अभिषेक! तिमी कहाँ छौ, के गर्दैछौ?'
'ठिकै छु... तिम्रो यही सहरमा छु। यही कम्पनीमा काम गर्छु। तिमीले सोच्यौ होला अभिषेक यो संसारबाट गईसक्यो। यति छिटो म जानेवाला छैन, अझ धेरै कुराहरु गर्न बाँकी छ। विवाह गर्नु छ, बच्चा हुनेछन्, उनीहरुले बाबा बाबा भनेर बोलाउनेछन्...।'
यतिका वर्षपछि पनि अभिषेकले बडो सहज तरिकाले आफ्ना कुराहरु व्यक्त गरिरहेको थियो। सृजनाले अचम्भ मान्दै अभिषेकलाई भनी 'तिमी जहिले पनि यस्तै, मजाक गर्ने बानी कहिल्यै नजाने भो।'
'अनि भन सृजना, तिमीले किन नोकरी गर्न थालेको नि? तिमी त केबल हाउस वाइफ मात्र भएर बस्न चाहनथ्यौ त!'
यस्तै कुरा गर्दै दुवैजना कार्यालयमा प्रवेश गरे। वास्तवमा कलेज पढ्दाको समयमा उनीहरु कति स्वतन्त्र थिए, कुनै कुराको मतलब, चिन्ता थिएन। उनीहरु एक-अर्कालाई चाहन्थे। कयौँ पटक अभिषेकले सृजनाको हात समातेर कुरा गर्दा कुनै अप्ठ्यारो लाग्दैनथ्यो तर आज अभिषेकसँग भेट हुँदा असहज महशुस गरीरहेकी थिइन्।
विस्तारै उनीहरु पहिलेको जस्तै घुलमिल भइसकेका थिए। कयौँ पटक अभिषेकले सृजनालाई बाइकमा घरमा छोड्न समेत आउने गर्दथ्यो।
पछिल्लो तीन/चार महिनामा अभिषेक धेरै पटक सृजनाको घरमा आएर चिया खाजा खाएर गएको थियो। उनीहरु कयौँ पटक रेष्टुरेन्टमा गएर पनि खानपिन गरेका थिए। एकदिन बेलुकी अभिषेकले कफी खान जान अनुरोध गर्यो। उनीहरु प्राय: गइरहने कफी शपमा गए। कफी पिउने क्रममा अभिषेकले सृजनाको हात समातेर केही भन्न खोजिरहेको थियो।
सृजनाको शरीरमा एक किसिमको कम्पन भयो। अभिषेकले सृजनाको हात कयौँ पटक समातेको थियो तर पहिला यस्तो महशुस गरेको थिएन। अभिषेकले भन्न खोजेको कुरा किन हो कुन्नी भन्न सकेन। उसले सृजनालाई घरमा ड्रप गरेर गयो। केही नबोली बाई भनेर हात हल्लाउदै गयो।
अर्को दिनमा अफिस आउने क्रममा अभिषेकको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भयो। खुट्टा फ्याक्चर भएको थियो। सृजनाले भेट्न जाँदा अभिषेक उदास देखिन्थ्यो। ऊ यसरी उदास भएको सृजनाले कहिल्यै देखेको थिइन। उसको निराशापनलाई हटाउन सृजनाले उसकै लवजहरु प्रयोग गरिन् 'अभिषेक तिमीले बिर्सियौ, तिमीले भन्ने गर्दथ्यौ- छोराछोरी जन्माउनु छ, उनीहरुले बाबा बाबा भनेर बोलाउने छन्, फेरि उनीहरुको...।'
अभिषेकको चञ्चले बानी, उसको अनुहारमा त्यही पुरानो अभिषेक देखियो। उसले सृजना तिर नशालु नजरले हेरीरहेको थियो। त्यस हेराइले सृजनासँग केही प्रश्नको जवाफ खोजिरहेको जस्तो थियो। सृजनाले टाउको हल्लाएर उसको प्रश्नको उत्तर दिइन्। उनीहरु बीचमा एउटा नयाँ सम्बन्धको मुना पलाएको थियो।
सृजनाको आमा छेउमा नै उभिएकी थिइन्। आमालाई बोलाएर सृजनाले हाँस्दै भनिन् 'आमा, मैले निर्णय गरिसकेँ। अब सबिन्द्रको परिवारलाई भनिदिनुस्, उनीहरुले यहाँ कुनै आशा लिएर नआउन्। मैले अभिषेकलाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरीसकेँ।'
सृजनाले गरेको निर्णय ऊ आफैलाई ठिक गरेँ जस्तो लागेको थियो तर त्यो निर्णय सृजनाको आमालाई अवश्य ठिक लागेको थिएन। किनभने सृजनाको आमाले अब कसैलाई भन्न पाउने छैन 'मेरी छोरी अमेरिकामा बस्छे।'