‘...त्यसपछि मैले प्राण त्यागें। मलाई यस्तो लागेको थियो। त्यस पापीलाई कालो मोसो दलेर सारा गाउँ डुलाउँछु अनि चौबाटोमा लगेर झुन्डाउँछु।
मेरो के दोष थियो र नमिता दिदी?
किन मलाई बलात्कार गरेर हत्या गरियो?
म कति चिच्याएँ। न त मेरो आवाज मन्दिरभित्रका भगवानले न त मन्दिर बाहिरका कोही मानवले सुने। अन्तिम साससम्म प्रतिवाद गरिरहें। आज म मरेको यतिका दिन भैसक्दा पनि त्यो अपराधीले सजाय पाउनु त परै जावस् उसले खुलेयाम छाती फुलाएर हिँड्दा मेरो आत्माले कहिल्यै शान्ति नपाउने भयो।’
सरला मेरो काखमा घोप्टो परेर रूँदै आफूलाई परेको अन्याय सुनाई।
‘हेर बैनी यी सबै महिला, दिदीबहिनीहरू बलात्कारमा परेर आत्माले शान्ति नपाएका दिदी बहिनीहरू हुन्। कोही बलात्कारकै समयमा मारिएका कोही अलि पछि मरेका,’ मैले यमलोकमा भएका हजारौं महिलालाई देखाउँदै आफ्नो कहानी सुरू गरें।
‘मेरो घर नेपालको तराईमा हो। म साथीको घरबाट आफ्नो घर फर्कंदै गर्दा मेरो साइकल रोकेर मलाई उखुबारीमा लगेर विभत्स तरिकाले बलात्कार र हत्या गरियो। म मरेको त झन् दुई वर्षभन्दा बढी भइसक्यो।
बलात्कारी पत्ता लगाउन अनुसन्धानको नाममा कति आयोग गठन भयो। धेरै पैसा खर्च गरियो तर अपराधी पत्ता लगाउन अहिलेसम्म पनि सकेनन् वा चाहेनन्।
मलाई कति औडाहा हुन्छ होला सरला। कहिले अपराधी पत्ता लाग्ने? कहिले उसले सजाय पाउने? अनि मेरो आत्माले शान्ति पाउने? मेरै आँखाले जतिबेला पनि त्यो अपराधी देखेको हुन्छु। अपराधी यो हो चिच्याएर भनेको हुन्छु। तर हामी मरिसकेको मानिसले बोलेको कसले सुन्ने!’
हाम्रो कुरा गरिरहेको टाढैबाट सुनिरहनु भएकी सुभद्रा दिदी हामीहरू नजिकै आउनुभयो।
‘नानीहरू हो... तिमीहरू त भर्खर भर्खर मरेका म त धेरै वर्ष पहिला हो। त्यसबेला बलात्कारको विषय अहिले जस्तो सार्वजनिक बहसको विषय हुने त कुरै छाडौं। बलात्कारको कुरा उठाउनु समेत लज्जाको विषय हुन्थ्यो तर पनि भित्रभित्र धेरै महिलाहरू पीडित थिए।
त्यसबेला छोरीलाई नपढाउने सानैमा बिहे गरिदिने चलन थियो तर मेरो पढ्ने जिद्धीलाई बुवा-आमाले नाइँ भन्नसक्नु भएको थिएन। म नौ कक्षामा पढ्दै थिएँ। मलाई गाउँकै एउटा केटाले पच्छाइरहन्थ्यो तर पनि मैले कुनै मतलब गरिनँ। किनकी म आफ्नो उद्धेश्यमा प्रतिबद्ध थिएँ। एकदिन स्कुलबाट घर फर्कंदै गर्दा सोही व्यक्तिबाट दुर्व्यवहार भोग्न पर्यो।
मैले सबै कुरा आमालाई बेलिबिस्तार लगाएँ। आमामार्फत् बालाई पनि। हामी तीनै जना भएर गाउँको प्रधानपन्चकोमा उजुर गर्न गयौं।
छोरी तह लगाउन नसकेको समयमै बिहे नगरी दिएर छोरी पढाउने भाको। भनेर उल्टै प्रधानपन्चले बा-आमालाई गाली गरे।
प्रधानपन्चलगायत अन्य भलादमीहरूको भेलाले बलात्कारीको हातबाट सिन्दुर लगाएर उसैसँग जिन्दगी काट्ने निर्णय गरे।
त्यसदिन मेरो शरीर मात्र होइन मेरो उद्धेश्य, सपना, रहर सबै बलात्कृत भए। त्यस दिनदेखि नै सास फेर्ने लास भएर पृथ्वीमा बसें। आज पृथ्वी छोडेको दशकौं भैसक्दा पनि मेरो आत्माले शान्ति पाएको छैन।
एउटा बलात्कारीलाई लोग्ने मान्नुपर्ने कस्तो न्याय हो यो?’
सुभद्रा दिदीले दाइने हातको मुड्की देब्रे हातको हत्केलामा बजार्नु भयो।
सुभद्रा दिदीको देब्रे हातको हत्केलालाई सुमसुमाउँदै मेनका दिदीले आफ्नो कहानी सुरू गर्नुभो।
‘दसैंको बेला थियो। म र मेरो आफन्त माथि डाँडामा हालेको पिङ खेलेर घरतिर फर्कंदै थियौं।
बाटोमा मैले उसबाटै अकल्पनीय दुर्व्यवहार भोग्नु पर्यो। उसले मलाई यो कुरा कतै भनेमा ज्यान मार्ने धम्की समेत दियो तर मैले आमालाई सबै कुरा भनें। आमाले मलाई एक थप्पड गालामा हान्दै मलाई अँगालो हालेर दसैं आको हो कि मेरो दशा भन्दै रूनुभयो। नानी यो कुरा कहीँकतै कसैलाई नभन्नू भन्दै मेरो हात आफ्नो टाउकोमा लगेर कसम खान लगाउनु भयो।
दसैंको बेला भए पनि मेरो अनुहार मलिन भइरहयो। खुलेको मौसम पनि अँध्यारो लाग्न थाल्यो। दसैंलगत्तै हुनुपर्ने मेरो महिनावारीको पालो पनि कट्यो। दुई महिना अझै कुरें। अहँ महिनावारी भइनँ। विस्तारै म गर्भवती भएको लक्षण देखिन थालेपछि भिरबाट हाम फालेर आत्महत्या गरें। मेरो आत्माको हत्या त त्यसै दिनमा नै भइसकेको थियो। मैले त शरीरको मात्र...
आफन्तहरूबाट त महिलाहरू सुरक्षित छैनन् भने कस्को विश्वास गर्ने?’
मेनका दिदी टाउको भित्तामा बजारदै रून थाल्नु भो।
मेनका दिदीको आँसु पुछ्दै गीता दिदीले आफ्नो व्यथा कहन सुरू गर्नुभयो।
हामीहरू त प्रतिनिधि पात्र मात्र हौं। यस्ता व्यथाहरू त धेरै महिलाहरूको होलान्। म त्यस्तै १५/ १६ की थिएँ। असारको महिना थियो। घरको सबै जना बेंशी खेतको रोपाइँमा जानुभएको थियो। म खेतलाहरूलाई खाजा बनाउनको लागि घरमै थिएँ। खाजा लिने निउँ गरेर आउने मानिसबाट मैले घरमै दुर्व्यवहार भोग्नुपर्यो।
साँझ बाबा आमा आएपछि मैले सबै कुरा भनें।
भोलिपल्ट गाउँको भलादमीहरू जम्मा भएर नगद क्षतिपूर्ति दिने र बाहिर हल्ला नगर्ने गाउँको कुरा गाउँमै मिलाउने सहमति भयो।
नगद क्षतिपूर्तिले मेरो शरीर र भावनामा लागेको चोटको कसरी क्षति पूर्ति हुन्छ र ? त्यस बलात्कारीले त आफ्नो नयाँ जिन्दगी सुरू गर्यो तर मेरो जिन्दगी फुल्न नपाउँदै झर्यो। गाउँमै सीमित गर्ने भनिएको विषय तिनिहरूबाटै सात गाउँपारिसम्मै फैलियो। न त मेरो घरबार न त कुनै अरू प्रगति। मलाई मानसिकरूपमा ठूलो आघात पर्यो।
समाजको नजरमा म बहुलाएर मरें।
न घरभित्र, न घरबाहिर, न आफन्त, न पराई कहाँ सुरक्षित छन् नारी... ।
गीता दिदीले मुड्कीले टेबुल बजार्नु भयो।
म , सरला बहिनी, मेनका दिदी ,सुभद्रा दिदी ,गीता दिदी कुराकानी गरिरहेकै बेला नेपालको पूर्वी तराई जिल्लाबाट मरेर आउनु भएकी चेतमाया बज्यै लौरी टेक्दै हाम्रो छेउमा आउनुभयो।
आफूले टेकेको लौरो हाम्रो नजिकैको माटाको घैटोमा बेस्सरी बजार्नु भयो। अनि एक्कासि कराउँदै भन्नुभयो।
हो, यसरी फुटाल्न मन छ मलाई ती बलात्कारीहरूको र बलात्कारीलाई प्रश्रय दिने नेता भनाउँदाहरूको टाउको।
हाम्रो नेताहरूले दिएको अभिव्यक्ति सुन्यौं नानीहरू तिमीहरूले?
हाम्रो देश बलात्कारीहरूको घटनाहरूको दृष्टिकोणले अझै एक नम्बरमा त परेको छैन नि रे ...।
आफ्नो इच्छाले सम्बन्ध राख्छन् अनि पुरूषलाई दोष लगाउँछन् रे... ।
के मजस्तो ८० काटेको महिलाको पनि यौन चाहना थियो र?
के महिनावरी पनि सुरू नभएका अबोध नानीहरूको त्यस्तो इच्छा थियो होला र?
बच्चा,बृद्धा,अस्पतालमा भर्ना भएका बिरामी कोही पनि छोडेनन् है पापीहरूले।
के मानिसहरूमा पशु जतिकै पनि विवेक छैन?
कति पुस्ताले सहने यस्तो अत्याचार?
हाम्रो पालामा त समाज अशिक्षित थियो। पछि समाज शिक्षित भएपछि छोरी नातिनीहरूको पालामा यस्ता समस्याहरूबाट छुटकारा हुँदै जाला भन्नै सोचेको थिएँ तर आजभोलि औषतमा दैनिक सात जना बलात्कारमा परेको समाचार आउँछ।
यस्ता घटना दोहोरिरहनुको कारण कडा कानुनको अभाव र भएको कानुनको पनि फितलो कार्यान्वयन होइन र?
बूढीआमाले आँखा राताराता बनाउँदै पृथ्वीतिर हेर्दै दाँत किट्दै चिच्याउनु हुन्छ। कानुन बनाउने नेताहरू र तिनका भरौटेहरूलाई समस्या नपरेसम्म जनताको कुनै पनि समस्यालाई आफ्नो ठान्दैनन्। पापीहरू...
आगोको पीडा जल्नेलाई थाहा हुन्छ ताप्नेलाई होइन।
बुढीआमाको रिसको आवेगले गर्दा उहाँको हातमा जिरिंग काँडा उठेको हामीले प्रष्टै देख्यौं।
बुढीआमाको पछिपछि लागेर हामीले पनि पृथ्वीतिर हाम्रो देश नेपाल हेर्यौं।
त्यहाँ विभिन्न सभा, गोष्ठीहरू भइरहको दृष्य देखियो। जहाँ हाल नेपालमा बढिरहेको बलात्कार लगाएत विभिन्न प्रकारको यौन हिंसाविरूद्ध दिदीबहिनी दाजुभाइले आ-आफ्नो मन्तव्य राख्दै कानुन संशोधनको विषयमा गहन छलफल गरिरहनु भएको थियो।
हाम्रो समाजलाई यौनहिंसामुक्त बनाउन अपराधीलाई कडा सजायमात्र होइन हरेक व्यक्तिलाई असल संस्कार एवम् उचित यौन शिक्षाको उत्तिकै भूमिका हुन्छ भन्ने उहाँहरूको निष्कर्ष सुन्दा हामी सबैले खुसी भएर ताली बजायौं।
हाम्रो आत्माको चिरशान्तिको लागि र आगामी दिनमा छोरीहरूले यस्तो दुर्व्यवहार भोग्न नपरोस् भनेर कडा कानुनको माग राख्दै आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णयले हामी सबैको आँखामा खुसी छायो।
त्यतिकैमा कालोपट्टि बाँधेका महिला दिदीबहिनीहरूको समूहले (उहाँहरूलाई सपोर्ट गर्ने दाजुभाइहरू समेतले) नारा लगाउँदै गरेको देखियो।
यौन दुराचारीलाई कारबाही गर.... कारबाही गर कारबाही गर
हत्यारा बलात्कारीलाई... फाँसी दे फाँसी दे फाँसी दे।
हामी पनि त्यहाँ सुनिने गरी चिच्यायौं।
हत्यारा बलात्कारीलाई फाँसी दे... ।
(नोट: बलात्कार गरेर हत्या गर्ने जस्ता अपराधिक घटना बढ्दै गइरहेको हालको अवस्थामा नेपालमा कडाभन्दा भन्दा कडा कानुनको आवश्यकता देखिन्छ।)