कविता
कोरोनाको कहरबीच आएको
महान पर्व बडादसैं
यसपालि आफ्नै घरभित्र सीमित छ
न दूरी, न मौसम
न समय, न यातायातले छेक्ने
अहिलेको यो डिजिटल दसैं
भवानीको पूजा
लहलह जमरा
पण्डितकै भरमा
घरभित्रै बसी बसी
मालसिरी पाठ
दुर्गामाताको आशीर्वाद
दूरसञ्चारको माध्यमले
अहिलेको यो डिजिटल दसैं
केटाकेटी घरभित्रै औंलाहरूले
मच्याउने थरीथरीका पिङ
तनमन दिएर एक्लै उडाउने
रङगीचंगी चंगाहरू
भिडिओ गेमका किहरू
किवोर्डमा थिचेर
अहिलेको यो डिजिटल दसैं
घर घरमा टीका बटुल्दै चाख्ने
दही चिउरा केरा
त्यो जमघट
त्यो रमझम
त्यो उत्साह
अब आफ्नै मनभित्रमात्र
सीमित राखेर
सेलफोनको बातचित र
फोटोमा तल्लीन भएर
अहिलेको यो डिजिटल दसैं
बुवाआमा काकाकाकी
मामामाइज्यू सानोबुवासानीआमा
हजुरबुवा हजुरआमा
सबै बडामान्यजनका आशीर्वाद
सुन्दै कहीँ फोनबाट
हेर्दै कहीँ भिडिओबाट
अहिलेको यो डिजिटल दसैँ
स्ट्याटस लेख्छन् फेसबुकमा
कोहीले ट्वीटरमा
कसैको मेसेज
‘यसपालि दसैं जो जहाँ छ त्यहीँ मनाऔं’
‘फोनबाटै यो दसैंको टीका लगाऔं’
‘भर्चुअल सम्पर्क गरी दसैं चाडमा रमाऔं’
‘वृद्ध वृद्धा दीर्घ रोगीलाई जोगाऔं’
‘कोरोना भाइरसबाट आफू जोगिऔं अरूलाई नसारौं’
अहिलेको यो डिजिटल दसैं