कैयौँ वर्षदेखि कपाल नकाटेको, जिंग्रिङ्ग परेको, धेरै वर्षदेखि ननुहाएको, परैदेखि ठस्-ठस् गन्हाइरहेको एउटा आकृति मेरो सामुन्ने आयो। उसको हातमा बडेमानको कसाहीको खुँडाजस्तो हतियार थियो। यसका दाँत पनि फालीजस्ता र हातखुट्टा पनि बुढो सालको मुढोजस्तै खस्रा।
म आफ्नै फेसबुक लगइन गर्न खोज्दा पासवर्ड नमिलेर तनाबमा थिएँ। एक्कासी जीवनभर कहिल्यै नदेखेको भिमकाय राक्षसजस्तो मान्छे सामुन्ने पर्दा मुटु ढक्क फुल्यो। मनमा त्रासको बाढी बगिरहेको भएपनि उसलाई केही प्रारम्भिक प्रश्नहरु गर्न मन थियो। अरु प्रश्न त के गर्नु, उही तपाई को हो र यहाँ किन आउनु भयो?
एकछिन सोचेँ, यो नेपाली जस्तो पनि देखिन्न, न कुनै अंग्रेज वा भारतीय जस्तो। कुन दुनियाँबाट आएको हो! मैले जान्ने भाषा भनेको उही नेपाली र टुटेफुटेका हिन्दी र अंग्रेजी। यही भाषाको दुबिधामा घोत्लिरहेको बेला उसको मलाई च्याप्प समात्यो र भन्यो, ‘ल मसँग हिड्, तेरो मिति पुग्यो’। नेपाली नै बोलेको हुँदा मलाई सहज नै लाग्यो। सोचेँ, सायद लकडाउन र निषेधाज्ञाले गर्दा व्यवसाय गुमेको कुनै टोले गुण्डा होला।
उसले तान्न थालेपछि मैले डराइ-डराइ सोधेँ, ‘तपाई को हो, मलाई किन अपहरण गर्न लागेको?’ मेरो लगइन हुन नसकेको आइफोन-एट त्यत्तिकै उत्तानो परेर बसेको थियो, खल्तीमा पर्स पनि थियो, यही देखेर उ मलाई अपहरण गर्न आएको हुनुपर्छ। एकछिन सोचेँ, अन्त्यमा केही सीप नलागे यही आइफोन र पैसा बुझाएर भएपनि उबाट छुट्कारा लिनु पर्ला।
मैले आइफोन र खल्तीबाट पर्स निकालेँ, उसलाई दिएँ। पर्सको कुनामा एउटा गोप्य खल्ती थियो, त्यो खल्तीमा ४/५ हजार कहिल्यै छुट्दैनथ्यो। यहाँसम्मकी त्यो पैसा मेरी श्रीमतीले समेत पत्ता लगाउन सकेकी थिइनन्। बाहिरी खल्तीमा खुद्राखाद्री गरी २५ सय जति हुन्थ्यो।
नयाँ आगन्तुकलाई मैले मोबाइल र पैसा सरेन्डर गर्न हात अगाडि बढाएँ। तर उ लिने पक्षमा देखिएन। उसले च्याप्प मेरा दाउरे हात समायो, मकै भुट्ने सिन्का समाए झैँ। ‘ल अब उठ, आजबाट तेरो मिति सकियो, अब म तलाई लिन आएको। म यमदूत।’
मेरो सातो गयो। वरपर गुहार माग्न खोजेँ, कोही देखिएन। केही मान्छेहरु बाहिर आफ्नै सुरमा हल्ला गरिरहेका थिए। म चिच्याउन खोजेँ, तर मेरो गुहार मुखबाट बाहिर निस्कन सकेन। उसलाई मैले बिन्ती गरेँ, ‘मेरा बाआमा, मेरी श्रीमती, छोराछोरी, आफन्तहरु बाहिर होलान्, बोलाईदेऊ।’
उसले भन्यो, ‘१ हप्ता अगाडि ज्वरो आयो भनेर यहाँ भर्ना भइस्, तलाई कोरोना लागेको रिपोर्ट आयो, यो सुनेदेखि यहाँ वरपर रहेका डाक्टर, नर्स, तैले भनेका आफन्तहरु भागे, कोही तल छिँडीमा बसेर रोइरहेका छन्, कोही तैले आफूलाई पनि सारीदिइस् की भनेर सराप्दै जाँच्न थालेका छन्।’
‘अघिसम्म त सद्य नै थिएँ, अहिले कसरी कोरोना लाग्यो?’ जिज्ञासा सोध्न नपाउदै ऊ बड्बडायो, ‘यो कुरा मलाई मतलब छैन, ल उठ् अब म तलाई लैजान्छु।’
म जान्न भनेर अड्डी कसिरहेँ ‘कमसेकम मेरी श्रीमतीलाई त भेट्न देऊ, मलाई कन्फ्यूजनमा राख्न पाइदैन’ भनेर चिच्याएँ, खाटको खुट्टा समातेर थुचुक्क बसेँ।
‘तेरो श्रीमतीलाई पनि भेट्न दिँदैनन्, जीवनभर सुखदुखमा साथ दिएकी तेरी श्रीमती र तेरा लालाबालाहरुलाई भेट्ने अनुमति छैन, अब यहाँबाट सिधैँ कसैको मुख नहेरी तलाई गुटमुट्याएर लान्छन्, टेन्सन नलिइ, खुरुखुरु हिड्।’ म मान्दै मानिनँ, ‘बरु मेरो फेसबुकमा एउटा अन्तिम स्ट्याटस हाल्न देऊ, त्यसपछि लैजाऊ।’
ऊ पनि थुचुक्क बस्यो र छिटो गर भनेर उर्दी जारी गर्यो। अघिसम्म पासवर्ड बिर्सेको फेसबुक आफैँ खोलियो। एउटा सेल्फी खिचेर अलबिदा भन्दै फोटो पोष्ट गरेँ। एक कप कालो चिया खान पाए हुन्थ्यो जस्तो लाग्यो, आफूलाई लागेर के गर्नु, दिने मानिस कोही भेटिएन। हातगोडा छामेँ, चिसो थियो, कुनै फ्रिजमा राखेको मासुजस्तो।
झलक्क आफू जन्मेको गाउँको याद आयो। एउटा गज्जुवा गोरु थियो, मलाई अचाक्ली माया गर्ने। गाउँभरिका सबै गोरुलाई जुधेर जितेको थियो, त्यसैले उसका वरिपरी कोही पर्दैनथे। यद्यपी, ऊ कसैलाई निहुँ नखोजेसम्म हान्न जादैनथ्यो। चराउन लैजाँदा उसले चपक-चपक घाँस दाँतले काटेर खाएको म खुब हेर्थेँ, उ फू... गर्दै सिंगान मतिर फाल्थ्यो, ए अघाएपछि बरपिपलको चौतारमा रहेको ठूलो छप्पानीमाथि चिसो हावा लिँदै सुत्थेँ। ऊ आइपुग्थ्यो र मेरो अनुहार, कपालमा आफ्नो खस्रो जिब्रोले चाट्थ्यो।
अर्को एउटा बोको थियो, घरमा महिला र केटाकेटीलाई देख्यो की बेतोडले लखेट्थ्यो। अझ बेलाउँती चोर्न आउने केटाकेटीहरुलाई त बारीसम्म लखेट्थ्यो र फर्केर आएर मसँग जुध्न आह्वान गर्थ्यो। भर्खरै सुत्केरी भएका माउहरु २/३ दिन घरमा सुत्केरी बिदामा बस्थे र त्यसपछि पाठापाठी पछि लगाएर चर्न जान्थे।
बेलुकी चराएर घर फर्कदा ठाडो उकालो बाटो भएकोले गोरु, बाख्राका बथानलाई घर लैजादा तालमेल मिलाउन निकै गाह्रो हुन्थ्यो। भर्खर व्याएका, गर्भवती माउहरु र साना पाठापाठीहरु, हिड्न नसकेर फ्याँ.. फ्याँ.. गर्दै अगाडि बढ्थे, साना पाठापाठी त काखमै लिएर ल्याउनु पर्दथ्यो। यसो गर्दा पाठापाठीको मायाले माउ दायाँबायाँ कतै नलागी पछि लागेर आउँथ्यो। यता तन्नेरीहरु र गज्जुवा गोरु अगाडि लम्कदै बाटोमा पर्ने अर्काको बारीमा पसेर लगाएको बाली खाइदिन्थे।
वनका रुखहरुमा झ्याउकिरीहरु कराएर अँध्यारोको संकेत दिइरहेका हुन्थे। घर पुगेपछि साना पाठापाठीहरु समूहमा जम्मा भएर आँगन र पिँढीमा दौडिएर एकअर्कालाई हान्ने, उफ्रिने, भाग्ने गरेको दृष्यले दिनभरको सारा तनाब र थकाइबाट मुक्ति मिल्थ्यो। तर खोरमा थुनेपछि बलियाले निर्धोलाई हान्ने, एउटा माउले अर्काको पाठापाठीका कान टोक्ने हान्ने गर्थे।
त्यो अवस्था अहिले गृहयुद्धमा फसेको सिरियाको हालतभन्दा कम हुँदैनथ्यो। हान्नेहरुको पहिचान गरी उसलाई खोरको ढोका खोलेर छेउमा घिच्याउँदै बाँध्ने गरिन्थ्यो। यहि दृष्य हेर्नको लागि म एकपटक गाउँ जान चाहन्थेँ।
‘ओई उठ्, अब कुनै बहाना चल्दैन।’ निकै धम्कीयुक्त वाणीले मेरो तन्द्रा खुल्यो। मलाई लछारपछार गर्न तम्सियो, यही तनावका बीचमा अन्तिम पटकको लागि भनेर एकपटक फेसबुक हेरेँ, धमाधम कमेन्ट बक्समा रिपको बाढी आयो। अलि जाँगर फुर्सद भएकाहरुले श्रद्धाञ्जलीसम्म लेख्न भ्याए।
एकदुई जना साथीहरुले मेरो फोटो तानेर टाइमलाइनमा श्रद्धाञ्जली पोष्ट्याए। यस्तो लाग्यो यो संसारमा माया पाउन मर्नु नै पर्ने रहेछ। नभए खासै कसैले नचिनेको सुशान्त सिंह राजपुत मरेपछि सारा संसारले बल्ल थाहा पायो।
अब यमदूत जुरुक्क उठ्यो र तान्न थाल्यो। ‘म एकपटक भएपनि आफन्तहरुको मुख हेर्न चाहन्छु’ भन्ने जिद्दीमा अडिएँ, उ मानेन। उसले अरु यमदूतहरु पनि बोलायो। यमदूतहरु थपिए। टाउकोदेखि पैतालासम्म पूरै शरीरभरि लुगा लगाएका यमदूतहरु आएर जुरुक्क उचाले। म छट्पटाउन थालेँ। वरपर आँखा तन्काएँ, अहँ, कोही देखिएन।
अघिपछि म आफै मान्छेहरु मरेको ठाउँमा जाँदा वरपर आफन्तहरु रोएका हुन्थे, अलि टाढाका मान्छेहरु न्याउरो मुख लगाएर लासलाई एकोहोरो हेरिरहेका हुन्थे, यही आशमा आँखा तन्काएर हेर्दा कसैलाई देखिनँ।
एक्कासी टाउको, मुख, शरीर सबै ढाकेका केही अपरिचित मानिसहरु आए, मलाई प्लाष्टिक र सेता कपडाहरुले फन्फनी बेरे, उकुसमुकुस भयो, अन्धकार भयो। एउटाले टाउकोतिर र अर्कोले खुटृातिर समाते र फ्वात्त एउटा खाटतिरबाट कुनै ठाउँमा फाले। एकैछिनमा गाडी स्टार्ट भयो, बेपत्ता कुद्न थाल्यो, केही समयपछि एक ठाउँमा टक्क रोकियो।
मलाई गाडीबाट निकाले र विस्तारै तल झारे। केही समयपछि माथिबाट माटो ढुंगा म माथि खस्न थाल्यो। शरीर पूरै माटो र ढुंगाले थिचियो, म आत्तिन थालेँ। मेरो फोन हरायो, फेसबुक पनि बेवारिसे भयो। कुनै मलामी बिना एक्लै यात्रा गर्नुपर्ने र आफूले आफैलाई एक्लै श्रद्धाञ्जलि अर्पण गर्ने म यस युगमा थपिन पुगेको कोरोप्रेमी आत्मा।
सायद यही यात्रामा कतिले लामो दूरी तय गरिसके, कति त्यही यात्राको बोर्डिङ पास लिएर यात्राको लागि प्रतिक्षारत छन्। गुड बाई।