कविता
पट्-पट् फुटेको ओठ छाम्दै
हेरिरहेको थियो त्यो वृद्ध
पट्-पट् फुटेर चिराचिरा परेको
सुकेको नदी
जब ऊ केटाकेटी थियो
गोठालाहरुसँगै भैँसी चढेर आउथ्यो
घामको न्यानो किरणमा
त्यो नदीमा
मज्जाले भैँसीहरु आहाल बस्थे
पानी हाँसहरु रमाउँथे
थरीथरीका सानाठूला माछाहरु
पौडिरहन्थे, उफ्रिरहन्थे
तर
जुन दिनदेखि सुक्यो
न त केटाकेटी आए
न त भैँसी, माछा, हाँस नै आए
कहाँ गयो कता गयो
अविरल बगिरहने त्यो पानी
जल बिना रित्तो रित्तो
सुकेको नदी
जब ऊ जवान थियो
त्यो नदीको पानी
वर्षामा त यस्तरी उर्लन्थ्यो
बल्ल तल्ल हेलिदै हेलिदै तर्नु पर्थ्यो
उसको जोश र नदीको जोश
उस्तै उस्तै
घाँसको भारी बोकेका घाँसेहरु
पारि खेत हिँडेका खेतालाहरू
लुगा सुर्कि सुर्कि तर्थे
सर्वाङ्ग भिजेर
अनि लुगा मचक्क मिचेर सुकाउँथे
किनाराका ठूला-ठूला चिप्लेटी ढुङ्गामा
त्यहीँ किनारमा हिउँद महिनामा
हाट लाग्थ्यो
नदीको शितल हावामा रमाउदै
युवा-युवतीहरु दोहरी गाउँथे
नदीको कलकल सङ्ग्लो पानी पनि
सँगसँगै गाइरहन्थ्यो
नदीको वरिपरि
पर पर
माथिल्लो गाउँ
तल्लो गाउँ
उमंग र उल्लास छरिन्थ्यो
छङ् छङ् आवाजको सुमधुर धुनले
तर
जुन दिनदेखि सुक्यो
न त घाँसे, न त खेताला
न त त्यो हाट
न त युवा युवतीको दोहोरी
कहाँ गयो कता गयो
त्यो रमझम खुसीयाली
एक्लो एक्लो अलपत्र
सुकेको नदी
धमिलिएको पावरवाला चश्मा
पुछेर आँखामा मिलाउँदै
त्यो वृद्धले सबैतिर नियाल्ने चेष्टा गर्यो
पर परसम्म बगरै बगर
फाँडिएका सबै वनपाखा
पहिरो गएर भासिएर
बसाइँपछि छुटेका
गाउँ घरका
टुटे फुटेका अवशेष
यसो टुसुक्क बसेर
त्यो वृद्धले उजाड नदीको सतह
यता उता हातले छाम्यो
स्नेहपूर्वक
आफ्ना बाल्यकाल र जवानी
खोजे झैँ
तर चुपचाप चुपचाप छ
सुक्खा सुक्खा
सुनसान
उराठलाग्दो
सुकेको नदी।