लघुकथा
‘दुनियाँमा सिंगल हुनु जति पीडा अरु केही छैन। मानौ, सिंगल हुनु ठूलो अभिशाप हो। दुनियाँले त हेप्यो, हेप्यो आज एकान्तको साथी फेसबुकले पनि मतिर हेरी अपमान घोल्दै खित्त हाँस्यो।’
सानो ऐनामा घण्टौँ टोलाएपछि आकाशले आफैभित्र बेलुनजस्तै फुकेर फुस्काएको संवाद थियो त्यो। फेसबुकभरि कपल च्यालेन्जका फोटैफोटै लहराएको देख्दा आकाशलाई दुनियाँमा आफूलाई मात्र सिंगल पायो। जस्को पनि कपल, अनि प्रशंसाका कमेन्टहरु पढदा पढदा उस्लाई भित्रभित्र निकै पोल्न थालेको थियो। कास, मेरो पनि कोही दुनियाँमा भइदिएको भए, म पनि फेसबुकको किलामा झुन्डयाइदिन्थेँ भनी विचार गर्दै बस्यो। उस्को दुनियाँका कोही थिएन।
अरुको जोडीले मन अति नै धुँवाएपछि, उस्ले फेसबुक चलाउनै छोड्यो। कपल च्यालेन्जले भने उस्को मनको भित्तो च्यातेर च्यालेन्ज दिइरहेकै थियो। यसै उपज, उस्को मस्तिष्क विकृत हुँदै गइरहेको थियो। ऊ दिउँसै नसाले लठ्ठ भएर बाहिर गल्ली गल्ली भौँतारिन थाल्यो।
भौँतारिने क्रममा, उस्लाई बाहिर ऊजस्तै जुम्ल्याहा पीडा बोकेको कसैले बोलाएर भनिरहेको भान हुन्थ्यो ‘एक कपल फोटो खिच्ने होइन, हामी पनि फेसबुकको भित्तैमा टाँसौ।’
उस्को दिमागमा त जसरी पनि एउटा जोडी फोटो खिच्नु छ र फेसबुकको भित्तोमा टाँस्नु छ र अपमान गर्दै हास्ने दुनियाँको अगाडि तिनीहरुको हाँसोभन्दा दुई गुणा ठूलो आवाजको विस्फोटमा हाँस्नु छ।
ऊ नसाले मातिँदै टहल्दै जाने क्रममा खोलाको बगरमा रहेको एउटा मन्दिरको पाटीमा पुग्यो। जुन पाटीले काखमा भगवान शिवलाई बोकेको भए पनि बस्तीबाट टाढा भएकोले उपेक्षित नै देखिन्थ्यो। त्यो निष्पट्टतामा वर्षोदेखि एउटी पैतीस, चालीस उमेरकी एउटी बहुलाही बस्थी। कपाल कोरेर, हातमा ऐना लिएर ओठमा लिपिस्टिक घोल्दै बस्ने ती बहुलाहीको पीडा आज बल्ल उस्ले नसामा भए पनि बुझ्यो।
बेहुली हुन चाहने त्यो बहुलही र बेहुला हुन चाहने आफ्नो बहुला मनको पीडाको रंगमा कुनै अन्तर पाएन। अरु बेला त्यस बहुलहीबाट तर्किदै हिँडने आज ऊ बहुलहीको नजिक पुग्यो र अँगालो मार्यो। बहुलही उस्को अँगालोमा गुटमुटिएर खुसीले होकी अरु कारणले, ओठबाट मुस्कान चुहाइरही। उस्ले आफ्नो गोजीबाट मोबाइल निकाल्यो र त्यो अँगालोलाई अझ कस्दै एक सेल्फि खिचिक्क पार्यो र त्यहाँबाट आफ्नो घरतिर हिँड्यो, फटाफट।
त्यो दिन आफ्नो घरको मुल ढोकामा चुकुल लगाउन पनि बिर्स्यो। उस्को पाइलाहरु नसाले लर्खराएको थियो। उस्ले कोठामा पुगेर नसाकै सुरमा फेसबुकमा फोटो पनि टाँस्यो र आफ्नो तर्फबाट कपल च्यालेन्जमा सहभागिता जनायो। कतिले बधाइ कमेन्टमा ओइराए, कतिले लाइकको ठाउँमा खित्त हाँसे। जे होस्, उस्ले एक हप्तापछि पहिलो पटक अपार सन्तुष्टि पायो। त्यही सन्तुष्टि च्याप्दै ऊ भुसुक्क निदायो।
होसमा आउँदा उस्को पहिलो नजर पुलिसको लठ्ठिमा पुग्यो जस्ले उस्को दाँया कुहिना घोचिरहेको थियो। ‘ए उठ बहुला, उठ’ भन्दै घोचिरहेको थियो। होइन के भयो भन्न नपाउँदै उस्को कठालो तानियो। त्यसपछि पृथ्वीमा जोरले खुट्टा टेकेको ऊ, पुलिसहरुसँगै चौकीमा पुग्यो। चौकीमा त्यही बहुलाही पनि ल्याइएको थियो।
पुलिसको भयबाट मुक्त भएको साँस आफ्नो फोक्सोबाट झिक्दै, उस्ले मनैदेखि साहस निकाल्दै सोध्यो, ‘साहेब, मबाट के गल्ती भयो?’
इन्सपेक्टरले माइलो औँलाले बहुलाहीको पेटतिर इशारा गर्दै बोल्यो, ‘अब यो रंगशाला जस्तो ठूलो पेटको जिम्मा तिमीले लिनुपर्छ। मन्दिरमा गएर सुहागरात मनाएको पनि दुनियाँलाई लाइभ दिने हो बहुला। रिपोर्ट आयो होइन? अब योसित बिहे गरी घरजम गर।’
ऊ टवाल्ल भयो। कपल च्यालेन्जमा सहभागी हुन खिचेको एक सेल्फिमा प्रथम भएर पाएको उपहार नियालिरह्यो, एक चिरपरिचित बहुलाहीको अजंगको पेट र त्यस पेटभित्र पनि गुटमुटाएर रहस्यको गर्भमै राखेको एक अर्को बम्पर उपहार। जस्ले ऊतिर होइन, उस्को अनिश्चित भविष्यतिर हेरेर खित्त हाँस्यो, हाँसिरहयो।