यात्रा जीवनको पथिक म स्वयं क्या मार्ग देखाउँछु
आफ्नै ज्ञान रहन्छ हावी त ममा क्या अर्को सिकाउँछु।
ज्ञानी मानी र दानीको होस् उपमा यै चाहना राख्तछु
यस्तो सत्य लुकाउँछु उपरमा मिथ्या वचन डाक्तछु।
मुखले बोल्दछु गर्नुछ अझ कति सोच्दै अधिकै गरेँ
बल्दो दीपक मुन्तिरको अँधेरो देख्दिनँ कवै हरे।
बोल्छु मृदुलय मिसाइ ममता जो झुक्छ ममा अति
प्रश्नै गर्नु हुँदैन मैँ हजुरमा भड्किन्छ छिट्टै मति।
जो हुँ म कहिल्यै नदेखुन् दुनियाँ देखुन् जो म होइन
सुनुन् सत्य आदर्श सिद्धान्तका कुरा जो मैँमा नै छइनँ।
देख्ने दाँत त एक लुकाउने अनेक त्यो मत्त हात्ती म हुँ
यस्तै सज्जन मानिस पो हुँ मता ज्यादा त के नै कहूँ।