अन्तिम भेटमा बोलेर कहिले नथाक्ने मेरा झ्याप्ले दाजै, खासै बोलेका थिएनन्। उनले कुरा र हाँसो दुवै हराए? वा खोज्नै छोडे? प्रश्न आफैसँग गरेँ, पुलुक्क दाजु तिर हेरेँ र सोधेँ 'सब ठिक त छ नि दाजै?’
'बा-आमाको स्वर्ग जाने बाटो मैले छोराछोरी नजन्माएर रोकेँ रे भन्छिन् आमा, बाँकी सब ठिक छ' चुरोटको धुँवा उडाउँदै उनी हल्का गुनासिएका थिए। विचरा गाउँका बा-आमालाई दाजुले निलु भाउजूसँग सम्बन्ध विक्षेत गरेको महिनौ दिन भैसकेको कुराको के पत्तो?
'हरेक दिनलाई आफ्नो अन्तिम दिन सम्झेर, आफूलाई जे गर्दा खुसी मिल्छ, त्यही गर्नुपर्छ' भन्दै साइकल चढेर मुसुक्क मुस्कुराए बिदाइको हात हल्लाएका मेरा झ्याप्ले दाजैलाई नभेटेको पनि आज महिना दिन भएछ। बाको चौतारी शून्य पारेर जाने रमाइला झ्याप्ले दाजै यति निष्ठुरी पनि होलान् भन्ने मैले कहिल्यै सोचेकै थिइनँ।
पहिलो भेटमा चिटिक्क परेर, मोटरसाइकलबाट झरेर मुसुक्क मुस्कुराएर 'म आदर्श है' भन्दै हात मिलाएको अझै छर्लंग सम्झन्छु र अन्तिम भेटको हात हल्लाई कहिल्यै बिर्सन सक्दिनँ। परबाट साइकल चडेर कोही आयो की 'अरे दाजै' जस्तो लाग्छ। मन झस्कन्छ, नजिक आएपछि उनी हुँदैनन् मन चस्कन्छ।
दाजैको प्रतिक्षामा मेरो मन बिरामी पर्ने भो। दाजै खुबै रमाइला मान्छे, नयाँ जोक कतै सुने वा पढे भने फुर्सद भएसम्म भेटेरै नत्र फोनमा नै भए पनि सुनाएर हाँस्नु पर्ने र हसाउनु पर्ने। फोनबाट जोक सुन्दा उनको लामो र आनौठो हाँसो मात्र सुन्न पाइने तर भेटेरै सुन्दा दाजैको लामो र आनौठो हाँसोपछि उनको आखाबाट बर्बरी भुइँभरि झर्ने आँसु पनि देख्न् पाइन्थ्यो। कोही मान्छे यतिसम्म कन्चन कसरी हुन सक्छ?
ठूलो अफिसको ठूलै घुम्ने कुर्सीका हकदार दाजै, लुसुक्क भृकुटीमण्डप छिरेर बाको चौतारी आउँथे। हामी बेरोजगार चौतारिया सबैलाई चिया मगाउँथे र चुरोट सल्काउँथे। पलेटी मारेर सुरु गर्थे अनौठो अनौठो किस्सा।
आफूलाई खोजकर्ता भन्ने उनी, हाँस्न खोजे हाँसी दिन्थे, हसाउन खोजे हसाइदिन्थे, रुन खोजे रोइदिन्थे, रुवाउन खोजे रुवाइदिन्थे। कोही मान्छे यति अनौठो कसरी हुन सक्छ? मोजकर्ताबाट खोजकर्ताको यात्रा तिर लम्किएका यात्री उन्को एउटा सिद्धान्त थियो- 'मान्छेले खोज्नु पर्छ।'
'के खोज्ने दाजै' भन्ने प्रश्न गर्यो भने, 'अरे यार! के कमि छ खोज्नु पर्ने कुराको? म सानो छदाँ यो चाहियो, त्यो चाहियो भनेर बा-आमासँग निहुँ खोज्थेँ। आजकल मेरी मसँग त्यसैगरी निहुँ खोज्छे। त्यो पनि खोजेकै त हो नि।' हा हा हा... जिस्कन कसैले उनीसँग सिकोस्।
'के ब्रो? जेमा पनि जोक नहान्नुस् न यार' एक बेरोजगारी चौतारियाले दाजै जिस्केको मन पराएन। 'ल अब सिरियस है' भन्दै दाजैले अनुहारमा भावुकता पोते।
'म आजकल आफ्नै लागि खुसी खोज्दै छु। सानु हुँदा मैले राम्रो पढ्दा बा-आमा खुसी हुनुहुन्थ्यो, म उहाँहरुको खुसी भित्र खुसी देख्थेँ, केही ठूलो भएँ, साथीभाइको माझमा पैसा उडाउथेँ, उनीहरु खुसी हुन्थे, म उनीहरुको हाँसो भित्र आफ्नो खुसी देख्थेँ। प्रेमिकाहरु विभिन्न उपहार पाउदा खुसी हुन्थे, म त्यस खुसीलाई माया ठान्थेँ, खुसी हुन्थेँ। हाकिमहरुको चाकडी गर्थेँ, उनीहरु खुसी हुन्थे। मेरो तलब बढाइ दिन्थे, म खुसी हुन्थेँ।
श्रीमती महिना दिनको तलब उनको हातमा राख्दिदाँ प्रशन्न हुन्थिन्, त्यस्तो प्रशन्नतालाई म आफ्नोपन ठान्थेँ, खुसी हुन्थेँ। तर के म आफै खुसी हुन सक्दिनँ? खुसी हुन पनि अरुको साथ चाहिने, त्यो परजीवी खुसी कस्तो खुसी?’ दाजै रोकिए, हामी वाल्ल पर्यौँ। एकले अर्कोलाई हेर्यौँ, दाजुले एक सुर्को चिया पिए। कोही मान्छे यति गहिरो कसरी हुन्छ?
सुरु सुरुमा भेट्दा मलाई लाग्थ्यो की यी दाजै सबै कुराले भरिपूर्ण छन्। उनको उपस्थितिले मात्र पनि हामी बेरोजगार चौतारेहरु भित्र आशाको किरण झुलुक्क उदाउथ्यो, कास मेरो आत्माले उनको शरीर पाउथ्यो। उनको जस्तो जिन्दगी मेरो हुन्थ्यो भने मलाई पुग्थ्यो।
धेरैपछि एकदिन रमाउदै दाजु चौतारी आए, उपस्थित सबैलाई चिया मगाए, हाम्रा चिया पसले बाले हाँस्दै चिया ल्याए, र गए। खुसी हुँदै दाजुले भने 'ल आजबाट कसैको चाकडी गरेर बस्नु नपर्ने भयो' उपस्थित सबैले बुझे की दाजैले जागिर छोडे, चियाले मेरो जिब्रो डाम्यो। खान हतार नगर्नु। कोही मान्छे यति आँटिलो कसरी हुन् सक्छ?
म जस्तो जागिर खाने सपना देख्थेँ, दाजैले त्यस्तो जागिर नै छोडिदिए। जागिर छाडेपछि दाजै कहिले कता कहिले कता ध्यान केन्द्र धाउन थाले, दारी कपाल काट्न छाडे। मोटरसाइकल भाइलाई जिम्मा दिएर साइकल किने। जागिर छोडेको लगभग ६ महिना जतिमा निलु भाउजूले उनलाई छोडिन् र आफैले जागिर खाने कम्पनीको मालिकसँग वैवाहिक सम्बन्ध जोडिन्। निलु भाउजूसँग साथ टुट्दा पनि दाजै बाहिर खुसी नै देखिन्थे। त्यत्रो पीडा लुकाएर बाहिर सजिलै कसरी हाँस्न सक्छ मान्छे?
एकदिन चौतारीमा म एक्लै परेँ, दाजैलाई फोन गरेँ। उनी आए। चिया मगाए, अचम्म चुरोट मगाएनन्। दाजुले चुरोट पनि छाडे। 'सबैलाई आफ्नो खुसी खोज्ने आधिकार छ, म किन दुखी हुनु?’ निलु भाउजूको बारे दाजै एस्तो सोच्थे।
'हरेकले एउटा जीवन पाउने हो, लगभग मेरो आधा जीवन भैतिकवादी भएर बिताएँ, शारीरिक सुखको पछाडि बहुला जस्तै भागेँ, थाकेँ। अबको आधा जिन्दगी आद्यात्मिक भएर बाच्छु। आत्माको सुखको लागि खर्च गर्छु बाँकी जीवन, त्यसको लागि म जस्तोसुकै मूल्य चुकाउन तयार छु' सुन्दा खुब आनन्द लागि रहेको थियो, सुनिरहेँ।
‘यो भौतिकवादी संसारमा पैसाको डङ्गुरले थिचेर मान्छेको खुसी मुर्छा परिसक्यो। अहंकारले सुखको हत्या गरिसक्यो, अब तिनै हत्याराहरुको राज छ। जसलाई हेर, पैसा र अहंकारको पछाडि कुदेर थाकेका छैनन् तर म थाकेँ। कतै एकान्त जान्छु र मुक्तिको पछाडि अडिक भएर लाग्छु।’
दाजैको एकान्त जाने कुराले पिरोलिदै मैले सोधेँ 'एकान्तमा त बाघले खाला नि दाजै?’
दाजै फिस्स हाँसे। 'यो भीडमा मरे भने खरानी भएर धर्तीमा मिल्छु, बाघले खायो भने मल भएर धर्तीमा मिल्छु, आखिर यही धर्तीमा मिल्ने न हो।' दाजैको पुराना अनौठो हाँसो फर्कियो। मैल पनि हाँस्दै सोधेँ 'दाजै तपाईलाई मर्न डर लाग्दैन?'
दाजैले उनको कुमकुमसम्म झुन्डिने लामो कपाल मिलाउदै भने 'कसलाई लाग्दैन यार मर्न डर! जस्लाई स्वर्ग जाने रहर हुन्छ, उसलाई पनि कालसँग डर हुन्छ। सबै प्राणीलाई आफ्नो प्राण जति प्यारो हुन्छ, प्राणलाई पनि शरीर उति नै प्यारो हुन्छ।'
कोही मान्छे यति ज्ञानी कसरी हुन सक्छ? अब फेरि चौतारीमा त्यस्ता कुरा हुने छैनन्। हामी न्यास्रिए जस्तै त्यो चौतारी पनि दाजैको हाँसो र बोलि सुन्न नपाएर न्यास्रिदो हो। के पत्तो? हामी सबै बेरोजगार चौतारे टुहुँरो भएका छौँ। मान्छेहरु आफ्ना-आफ्ना अड्कल काट्छन्।
'त्यस्तो राम्रो मान्छे श्रीमतीले छोडेर पागल भयो विचरा, मर्यो होला त्यो मान्छे'- निराशावादीहरु। 'एक दिन त उनी पक्का आउछन्'- आशावादीहरु। म भने दाजैको पुरानो मोबाइल नम्बरमा दिनको ५ पल्ट फोन गर्छु तर फोन लाग्दैन।
आफ्नो जिन्दगीको बाटो हरेकको फरक-फरक हुन्छ र हामी फरक-फरक तरिकाले उक्त बाटो हिडिरहेको हुन्छौँ। यस्तै एक फरक बटुवा थिए झ्याप्ले दाजै। जिन्दगीको यात्रामा केही खोज्न केही छोड्न पर्छ, केही पाउन केही गुमाउन पर्छ, केही खोज्ने प्रयास गर्नेले केही छोड्ने शाहस गर्न सक्नु पर्छ।
दाजैले अध्यात्मिक सुख खोज्नको लागि भौतिक सुख त्यागे र फरक बाटो लागे। मलाई पनि यो भौतिकवादी संसारलाई अझै आफ्नै तरिकाले बुझ्नु छ। उनको उमेरको हुँदासम्म सायद बुझ्छु। त्यतिन्जेल पैसाको पछाडि पागल जस्तो कुद्छु, आफूभित्रको अहंकारलाई मल जल गर्छु। ठूलो बनाउछु र ज्ञानको बन्चरोले फेदैमा काट्छु।
पैसा कमाउछु, थुप्रो बनाउछु, मन्द मन्द मर्दै गरेका सुख र खुसीलाई पैसाको तराजुमा नाप्छु। थाक्छु र दाजै झैँ अध्यात्मको बाटो लाग्छु। लाग्छ, त्यो बाटोको कुनै कुनामा त्यसबेला पनि झ्याप्ले दाजै फेला पार्छु। मैले 'दाजै’ भनी बोलाउँदा उनले मलाई चिन्लान् कि नचिन्लान्?