के थियो बाका ती सुस्केराहरूमा
जुन सुस्केराहरूले कालो बादल बनेर
बाका आँखाहरू मडारिन्थ्यो
फेरि पनि किन बाका आँखाहरू
ती काला बादलहरूसँग मडारिएर
बर्सिन सक्दैन थियो साउने झरी बनेर
बाका मुटुहरूलाई ऐंठन हुँदा
किन बाका मुटुहरूले
ती ऐंठनहरूलाई बाँड्न सक्दैन थियो
किन मेरो र बाको मुटु उस्तै भएर पनि
ऐंठन भने बाको मुटुलाई मात्र हुन्थ्यो!
माघको त्यो झरीमा के बाको शरीरलाई
चिसो लाग्दैन थियो र!
यदि बाको शरीरलाई पनि चिसो लाग्थ्यो भने
किन न्यानो ओढ्ने मेरो शरीरमा ल्याएर खापिदिन्थे!
साँच्चि बाका खुट्टाहरूमा त्यस्ता के थिए
सधैं नयाँ लाग्ने गर्थे बालाई
बाका उही पुराना जुत्ताहरू
आजकाल मलाई लाग्छ
बा हजारौं हजार किलोमिटर गुुडेर खिइएपछि
थन्काइएका गाडीका रबरका पाङ्ग्राहरू हुन्
कहिले काहीँ लाग्छ
बा रेडियोबाट एक्लै भुत्भुताइरहेका
त्यही आवाजहरू हुन्
जुन आजकाल मलाई सुन्दा सुन्दा झर्को लाग्छ
वर्षाको समयमा झरी भरि
साथ दिन्जेल ओढेको छाता
जब भाँचियो कसैको हातबाट
त्यही हातबाट छुटेर एक्लिएको छाता झैं
लाग्छन आजकाल बा मलाई
जीवन भर जोतिँदा जोतिँदा
अब ती काँधहरूले हलो जुवा नार्न नसकेपछि
त्यही बुढो गोरु झैं विवश भएर
मालिकको आँखामा टुलु टुल हेरिरहेझैं लाग्छ
बाका ती धमिलो आँखाहरूले आजकाल मलाई
कहिले काहीँ लाग्छ
बा कसैको ओठबाट बजेका
मुरलीका ती सुरिलो धुन हुन्
तर आजकाल त्यो मुरलीबाट
सुरिलो धुन निस्कन छाडेपछि
त्यही मुरली झैं मिल्काइएका छन् बा
र छुटेका छन् आफ्नैका हातहरूबाट
बाका कलेजोहरू आजकाल मलाई
चुरोटका ठुटाहरू निभाउँदा निभाउँदै
जलिसकेका त्यही थोत्रो एस्ट्रे झैं लाग्छ
अनि रस निचोरेर फालिएका
त्यही कागती झैं लाग्छ
जिन्दगीभर बोकेको भारीसँग आफैंलाई रित्याएर
साँच्चि यति निरिह किन बन्छन् बा
जसरी टाङा तान्न नसकेपछि छाडिन्छ
बेवारिसे बनाइ त्यो बुढो घोडालाई
कहिले काहीँ लाग्छ बा त्यही बुढो घोडा हुन्
जो आजकाल कसैको काम आउँदैनन्
बा त्यही माझी हुन्
जो सन्तानलाई गन्तव्यमा पुर्याएर
आफू चाहिँ त्यही किनारामा फर्किन्छन् र
फेरि फेरि त्यही डुङ्गा खियाइनै रहन्छन्
तर डुङ्गा खियाउन नसकेपछि
आजकाल बाका हातहरू मलाई
आफैसँग हार खाएर एक्लो भएको त्यही बुढो माझी झैं लाग्छ
आजकाल बाका पाइलाहरू मलाई
विस्तारै विस्तारै आफ्नै घरको
मूल बाटोबाट हराउँदै गएको
रहस्यमयी हिममानवका पाइला झैं लाग्छ
जहाँ बाले सधैं सधैं सम्झेर खोजिरहे आफ्ना पाइलाहरूलाई
तर बाका ती पाइलाहरूलाई सम्झेर
फेरि फेरि फर्केर बालाई सोध्न आउने भने कोही भएनन्।