कविता
तिम्रो उमेर कति हो ?
पन्ध्र
के यो शिशुलाई जन्म दिन्छयौ ?
दिन्नँ
के गर्छौ त ?
पेटमा धारिलो पत्थर बजारेर फुटाउँछु म यो जुठो डल्लोलाई
बाको गोजीको चुरोट झिकी, सल्काइ, जलाउँछु यो सल्लोलाई
कस्को हो त्यो डल्लो ?
थाहा छैन
आफ्नै अनुहारमा अनुहार जोतेकालाई चिनेनौ ?
अहँ, बीचमा कपडाको टालो थियो
भन्न त सक्छयौ नि, कति जना थिए, दस, बाह्र ...
म बेहोस थिएँ, बेहोसी लुटने पालै पालो थियो
यति भन्दै सुकसुकाइ
मैले फेरि सोधें
भन नानु, तिम्रो यो इज्जत कस्ले लियो ?
यति थाहा छ, मेरै गाउँको गाउँले थियो
नरोऊ नानी, यो देशमा कानुन छ, कानुनलाई छोडिदेऊ
कस्तो कानुन ? म त गरिबकी छोरी हुँ
पन्ध्र वर्षकी एक बलात्कृत बालिका
आफ्नो लाम्चो पेटतिर घोप्टे नजर नियाल्छिन्
आँसु बर्रर्र झार्छिन्
अन्तिम प्रश्न मेरो
तिमीमाथि अन्याय गर्ने कसैको त नाम लेऊ
ती बालिका एक क्षण गम खाई
पेटमा हातमा सल्बलाई र भनी
अब यही शिशुलाई पहिला यो धर्तीमा ल्याउँछु
यसैको अनुहारबाट अपराधीको अनुहार पहिल्याउँछु
अघि भन्या होइन तिमीले नै जन्म दिन्नँ
अब लाग्यो, आधार चाहिन्छ अपराधी चिन्न
आँखामा आँसु अझै बर्रर्र थियो
निलडाम बाँकी नै थियो
लुगा पनि सात महिनाअघि जसरी च्यातेका थिए
दुष्टहरूले
त्यस्तै नै धर्रर्र थियो