कविता
यी आँसुको सराप लाग्नुपर्ने, अभाव र भोकको चित्कार सुन्नुपर्ने,
तर देशमा कोही भोकै बस्नुनपर्ने फरमान गरेका प्रधानमन्त्री बरु
यी भोकाएकी आमाको आँसुमा विरोधीले रचेको षड्यन्त्र पो देख्छन्!
कोरोना किन महामारी नहुनु ! बेसार पानी, हाच्छिउँ गर्दैमा जाने भए
भन्नुहुन्छ प्रधानमन्त्री, न सडकमा कोही भोकले रोएका छन् बरु
छटपटीका सबै समाचारमा शासक प्रायोजित मोतियाबिन्दु छ भन्छन्।
गाडा लिएर तरकारी बेच्न उभिएका गरिबमाथि प्रहरीको लाठी बर्सियोस्,
कोरोना तिनैले त सार्छन् यहाँ, धनीलाई त घरमै पुग्छन् खाद्यान्न बरु
निषेधाज्ञा कडाइ गर्दा भोक र रोगले ती निमुखालाई नछोएको झैं गर्छन्।
बुर्फिन र निम्स खाएरै हिँडुन् गरिब, हुनुहुन्न शासकलाई औषधिको अभाव,
अस्पताल यहाँ भएर के गर्नु ! उपचार नपाएरै छट्पटिउन् गरिब बरु
हेलिकप्टरमा लाखौं खर्चिएर शासकहरू तिनै गरिबको तमासा न हेर्छन्।
अन्यायमा परेकै छन् गरिब, कुटिएकै छन् तिनै निमुखा सडकमा यहाँ,
प्रहरी कुटिँदा गलत भन्यौं, प्रहरीकै अमानवीय व्यवहार सहेकै छौं बरु
न पर्छन् गरिब कुट्नेहरू कारबाहीमा, ती सब नजरअन्दाजमा पो पर्छन्।
गरिबहरू खुलामञ्चमा निहुरिएर गाँस टिप्दैछन् समृद्ध नेपालको यात्रामा
भोकले मर्छन् तिनै बोलिदिने गोविन्द केसीहरू हिँड्डुल गर्नै नपाउन बरु
भइरहेको सबथोकमा जनता यहाँ सरकारको अकर्मण्यता मात्र देख्छन्।
कोरोना कतिञ्जेल पो रहला र ! सरकारले रजाइँमा कमाउन पाउनुपर्छ,
कष्ट सहेरै खाने नेपालीहरू छँदैछन्, घर फर्किएकाहरू भारतै जाउन बरु
मरे गरिब त मर्छन् कोरोनाले खै के मार्ला, भोकमरीले पो सोत्तर हुन्छन्।
(गएको शनिबार दिउँसो रूँदै गरेकी एक महिलाको भावुक भिडिओ ट्वीटरमा पोष्ट भयो। सडकमा बलिन्द्र आँसुका धारामा विलौना गरिरहेकी ती महिलाले बोलेको ३० सेकेन्डको भिडिओमा रूँदै आफूले कुटाइ खाएकोबारे दुःख पोखिरहेकी छन्। विलौना गर्दै उनले भिडिओमा भनेकी छन्, दुःख पाएरै त गाडा गुडाएर हिँडिरहेकी छु। ट्वीटरमा पोष्ट गरिएको जानकारी अनुसार उनको नाम सरस्वती मैनाली हो। यसै भिडिओको पृष्ठभूमिमा आधारित रहेर यो कविता रचना गरिएको हो ।)