Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, जेठ २५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

हिरुनी

प्रदीप सुबेदी

प्रदीप सुबेदी

प्रदीप सुबेदी।
प्रदीप सुबेदी।

म उनी बस्ने घर अगाडि उभिएर उनको मोबाइलमा फोन लगाएँ।

‘तपाई आइपुग्नु भयो? ल पख्नुस्, म तल आएँ’ यति भनेर उनले फोन काटिन्।

केही छिनपछि ठूलो आवाज निकाल्दै गेट खुल्यो। मैले दुई हात जोडेर नमस्कार गरेँ, उनले नमस्कार माथि मिठो मुस्कान पनि थपिन्। त्यो मुस्कान जसको म फिदा थिएँ कुनै बेला। उनको फ्ल्याटमा पुगेपछि चटक्क परेको सोफा तिर इंगित गर्दै बस्दै गर्नुस्, म चिया बनाएर ल्याउछु भन्दै उनी किचेन तिर पसिन्।

बैठक कोठाका भित्ताहरु उनको तस्बिरहरुले चम्केका थिए, कुनै तस्बिरमा उनी त्यही मनमोहक मुस्कानको साथमा एक्लो थिइन् त कुनै तस्बिरमा अवार्ड लिदै गएको देखिन्थिन्। मन्त्रमुक्त जवानी र मनमोहक हाँसो भरिएका तस्बिरहरुले त्यो कोठा नै उज्यालो महशुस हुन्थ्यो।

‘यिनै फोटाहरु त हुन् आजकलका मेरा साथी,’ चियाको कप म तिर सार्दै उनले भनिन्।

‘निकै राम्री हुनुहुँदो रहेछ त्यसबेला’ कप समाउदै मैले भनेँ।

‘अहिले चाहिँ छैन र?’ जिस्कदै उनले प्रश्न गरिन्।

‘मुस्कानको मात्रै कमि हो’ उनी तिर हेर्दै मैले भनेँ।

‘है’ भन्दै उनी मुस्काइन र सोफामा बासिन्। म पनि मुस्काउँदै बसेँ।

‘कुन पत्रिका रे तपाईको?’ उनी जिज्ञासु देखिइन्।

‘खोजपत्र’ मैले मिठो चियाको पहिलो चुस्की लिदै भनेँ।

‘अनि बडा हयाण्ड्सम हुनुहुँदो रैछ, कति छन् प्रेमिका?’ अब उनी जिज्ञासु सहित जिस्कने पनि भइन्। म के कम?

‘तपाई जस्ती सुन्दरी कतै भेटे भने सिधैँ म तिमिलाई प्रेम गर्छु भनिदिने थिएँ तर दुर्भाग्य आजसम्म भेटिनँ।’

उनी अहिले भने मस्त हाँसिन्। मैले पनि साथ दिएँ।

‘रोमान्टिक पनि हुनुहुँदो रैछ’ उनीले थपिन्।

मैले हाँसेरै सोधेँ ‘खुसी हुनुहुन्छ?’

‘कोसँग?’ उनको हाँसो हरायो।

‘जिन्दगी?’ मैले पनि आफ्नो दाँत देखाउन बन्द गरेँ।

चियाको चुस्कीसँगै, सिलिङ तिर हेर्दै, लामो सास फेर्दै उनले भनिन्, ‘खुसी छु। कहिले उजाड अनुहारभरी नौरंगी श्रींगार भरेर ऐना हेरेर खुसी हुन्छु, कहिले भरी भाराउ दराज खोल्छु, नाना थरिका कपडाले चाउरिदै गहिरहेको शरीर डाक्छु। ऐना अगाडि उभिन्छु, खुसी हुन्छु, कहिले अनेक परिकार बनाएर खान्छु खुसी हुन्छु।

कमि मात्र यति हो कि शृंगार हेर्दै कति राम्री मेरी मायालु भनिदिने मायालु कोही छैनन्, नौरंगी पहिरनमा सझिदा पछाडिबाट अँगालो हालीदिने श्रीमान् छैनन् र बनाएको परिकारको गुणगान गाउदै ‘माइ मदर इज ग्रेट’ भनिदिने सन्तान छैनन्।’

यसो भनिरहँदा उनको गालाका शृंगार लुस्दै आँसुका धारा भुइँमा हाम्फाल्दै थिए। मेरा आँसु भने आँखाका आलीसम्म आए, टिलपिलाए र हराए।

‘यी आँसुले मेरो असली रुप तपाईको सामु छर्लंग पारिदिने भो’ भन्दै उनी रुन्चे हाँसो हासिन्। त्यसरी हाँस्दा उनको गालाको चाउरी त छर्लंगै देखिए तर सेता दात भने लुकीरहे। उनको हाँसोको जवाफमा मैले मेरा पहेला दाँत देखाएँ, धन्न मेरा गालाको मुजा छेक्न कालो बाक्लो दारी थिए।

उनको आँसुसँगै रित्तिएका जोडी कप उठाउदै उनी भान्सातिर लागिन्, म उनको बाल्यकालको सुन्दर तस्बिरमा अड्किएँ।

‘के हेर्नु भएको त्यसरी एकोहोरो?’ सोफामा बस्दै उनले सोधिन्।

‘चंचलता’ मैले भनेँ।

‘लजाउलिनी विचारी’ उनले भनिन्।

‘ए, उ लजाउथी पनि?’ मैले सोधेँ।

‘एउटी १० वर्षे छोरीमा हुने गुण ममा पनि थिए, फरक पनि थिएँ सायद आफ्नो दौतरीहरुभन्दा किनकी मलाई त्यही उमेरमा थाहा थियो भविष्यमा मलाई के बन्नु छ। कसैले के बन्छेस् भोलिपर्सी सोध्नासाथ भनिदिन्थे हिरुनी।’

उनी भन्दै गइन्, म सुन्दै रहेँ। अभावको झुपडीकी म, चौथी छोरी थिएँ। मभन्दा तल बा-आमाको बुढेसकालको लौरो थियो। बा-आमा आफ्नो बुढेसकालको लौरोको खुब जतन गर्थे भने तीन वटी फोकटका खेताला र गोठालालाई खटन गर्थे। मलाई पनि बा-आमा खटनभन्दा धेरै जतन गर्थे।

त्यसो गर्नुको पछाडि मेरा स्कुलका सर-मिसहरु र साथीहरुको वहावहाईको ठूलो हात थियो। म पढाइमा होस् वा अन्य क्रियाकलापमा, कहिले दोश्रो हुन् जानेकी थिनँ। स्कुलमा हुने कार्यक्रममा कि नाच्थेँ कि नाटकमा भाग लिन्थेँ, जे गर्थेँ सबैको ताल नै पाउथेँ। सबैले भन्न थालेका थिए, यो पक्का हिरुनी बन्छे।

बा-आमा यस्तो कुरा सुन्दा दंग पर्थेँ। एसएलसी पहिलो चोटि पहिलो श्रेणीमै पास गरेँ। मेरो खुसीको सीमा थिएन, खुसीको सीमा नहुनुको कारण पास हुनु त थियो नै तर त्योभन्दा पनि म अब अभिनय र नृत्य सिक्न काठमाडौँ जान पाउने भएको थिएँ। बाले एसएलसी पास गरेपछि यसलाई फुपुकोमा काठमाडौँ पठाई दिने हो भन्नु भएको थियो, त्यस्तै भयो। हिरुनी बन्ने सपना बोकेकी म, हर्षित हुँदै काठमाडौँ आएँ।

बिहान पढ्न जान्थेँ, दिउँसो अभिनय र निर्त्य सिक्न, त्यसै ताका मेरा घर तिरका एक दाजुले उनको गीतमा खेल्न प्रस्ताव राखे, मैले केही नसोची हुन्छ भनिदिएँ।

त्यसपछि सुरु भयो मेरो सपनाको यात्रा, करिब तीन वर्ष चल्यो यस्तो यात्रा। तीन वर्षको अन्तरालमा भिडिओ कति खेले हिसाब छैन, हरेक दिन जस्तो आयोजना हुने महत्वहीन अवार्ड कति पाएँ, त्यसको कुनै अभिलेख छैन। धनाड्यका पार्टीमा कति नाचेँ जवाफ छैन, कति प्रेमी आए र गए, अहिले याद छैन। यिनै हिसाब बिहीन क्रियाकलापहरुले प्रसिद्धिको चरम उत्कर्समा मलाई पुर्यायो र म हिरोनी बनेँ। बा-आमा दंग थिए, छोरी वर्षको मुस्किलले २/३ पल्ट घर आउँदा पनि।’

यति भनिसकेपछि एकछिन है भन्दै उनी ट्वाइलेट पसिन्, मेरो फोन बुढी कलिङ देखाउदै बज्न थाल्यो, उठाएँ।

‘कता बुडु?’ उस्ले सोधी, ‘म काममा छु’ जवाफ फर्काएँ।

‘किन गरेको फोन?’ मैले सोधेँ। ‘याद आएर नि, हेर्न कल गर्दा पनि किन भनेर सोध्छ यो मान्छे, ब्वाइफ्रेण्ड हुँदा जस्तो बुढो हुँदा पनि त्यस्तै’ उ झर्की।

‘कस्तो?’ मैले सोधेँ। ‘आलु जस्तो' उस्ले भनी, 'तर आलु आइ मिस यू’ भनि र मैले ‘मिस यू टु’ भन्दा नभन्दै फोन काटी।

‘हतारे!’

‘के हो महासय? मलाई ढाँटेको?’ उनले सोधिन्। ढाँटेको हैन, ठटटा गरेको, साँच्चै भन्नु पर्दा म विवाहित हुँ र मेरो घरमा दुई वर्षकी लक्ष्मी छिन्।’

‘छोरी? छोरी बोल्छिन्?’ उनले सोधिन्।

‘मलाई बाबा भन्छे,’ मैले भनेँ।

‘ओहो! ह्याण्सम मान्छे, के लभ म्यारिज?’ उनले सोधिन्। मैले सहमतिमा मुन्टो हल्लाएँ।

‘गज्जब रमाइलो रैछ नि है’ उनी मुस्काइन्।

‘हो, म खुसी छु’ मैले भनेँ।

‘म पनि खुसी थिएँ, त्यो बेला जुन बेला आफूलाई स्खलित हुनुलाई प्रेमको उत्कर्श मान्नेहरुभन्दा फरक प्रेमी थिए मेरा।’ यसो भन्दा उनको आँखामा छुटै चमक थियो।

‘उ फरक थियो, आज आएर सम्झदा उ फरिस्ता थियो, मलाई सहि के हो? गलत के हो? छुट्याइदिँदै सधैँ सही बाटो हिँड्न प्रेरित गर्ने फरिस्ता। तर म पशु भैसकेको थिएँ। उ आजसम्म मैले खेलेको सबैभन्दा सफल चलचित्रको लेखक थियो। आज पनि उस्ल्लाई सम्झन्छु र लाग्छ यो सबै छोडेर कास मैले उसँग विवाह गर्थेँ। तर ममाथि भूत सवार थियो, सबैभन्दा चर्चित हिरोनी बन्ने भूत।

लेखक सधैँ भन्थे कि परिवारको खुसी जति ठूलो सम्पत्ति, अवार्ड र पैसा होइनन्। म भने पैसा नाम र अवार्डको पछि पागल जस्तो दौडीरहेको थिएँ। यस्तो दौडमा दौडदा दौडदै म परिवारबाट धेरै पर पुगिसकेको थिएँ। मेरा तीन वटै दिदीले गरिब बा-आमाको मर्का बुझेर भागेर विवाह गरिसकेका थिए। भाइ पनि पल्स टु सकेपछि मैलेनै पैसा हालेर पढ्न अमेरिका गयो। बा-आमाले पटक-पटक विवाहको कुरा गर्दा पनि मेरो करियर बर्बाद हुन्छ भन्दै टालिरहेँ।

एकपछि अर्को चलचित्रमा काम गरिरहेँ, कुनै बेला यतिसम्म व्यस्त भएकी एकै दिन तीन वटा चलचित्रको सेटमा सुटिङ पनि गरेँ। पत्रपत्रिकामा अर्धनग्न फोटो छापिन्थे, म दंग पर्थेँ। पाँच तारे होटेलमा खाना खान्थेँ, गाडी चड्थेँ। आसिकहरुको ठूलो जमात थियो। अखबारहरुले कहिले कुन हिरोसँग त कहिले कुन निर्मातासँग नाम जोडेर समाचार छाप्थे, म आफू बद्नाम भएको भन्दा चर्चित भएको ठान्थेँ।

म कसैलाई दुई पैसाको भाउ दिन्न थिएँ। दिनभर सुटिङमा व्यस्त हुनु, राति मदिराको नसामा झुम्म हुनु र वरिष्ठ पुरुषको साथमा मस्त हुनु मेरो दिनचर्या थियो। लेखकले भनेको थियो, यो त चलेको हैन तेरो जवानी, रुप र बिकाउपन कुदेको हो। उस्ले यस्तो भन्दा, म उसलाई अर्काको सफलतामा डाढ गर्ने एक असफल लेखेक सम्झन्थेँ। तर उस्ले यसो भन्नुको पछाडि उस्को म प्रतिको असिमित माया रैछ भन्ने बुझ्दासम्म धेरै ढिलो भैसकेको थियो।

त्यस बेला मलाई अचम्म लाग्थ्यो कि, मेरा बा-आमा मलाई आफ्नो छोरी भन्न किन लाज मान्थेँ, भाइले तेरो पैसा भन्दै किन फिर्ता गरेको थियो। दिदीहरुसंग त मैले कहिले नै पो राम्रो सम्बन्ध राखेँ र? त्यसैले उनीहरुको छोराछोरीको सानीआमा बन्ने अधिकार पनि पाइन्ँ। परिवारका कसैलाई मेरा वास्ता थिएन। म केबल हिरुनी बनेँ मात्र पर्दाको।’

उनले लामो साँस फेरिन्, घुटुक्क पानी निलिन् र फेरि थालिन्। उनी, रोकिने छाँटकाट थिएन।

‘एक पटक धेरैपछि अचानक लेखकलाई भेटेको थिएँ, उ उनी खुसी थिए आफ्नो जिन्दगीसँग। भन्दै थिए, छोरा स्कुल जान्छ र एक वर्षकी छोरी छ, धेरै भो फिल्म लेखेको छैन। खासै धेरै कुराकानी भएन। जाने बेला उनले एउटा कागज मेरो हातमा थमाए, उनी ओझेल नपरुनजेल हेरिरहेँ, कागज खोलेर हेरेँ, लेखिएको थियो

‘त सोच्छेस् सधैँ एउटा कुरा

तलाई परिस्थितिले अर्कै बनाउछ

त ढाक्छेस श्रींगारले आफ्नो रुप

तलाई यो रितले कुरुप बनाउछ

त रोक्छेस् अत्तरले शरीरको गन्ध

तेरो वास्तविकता यो समाजलाई उ परै गनाउछ।


त बेहोस छेस् यो भीडहरु माझ

तलाई जीवनले कुनै पल एक्लो जगाउछ

त चिच्चाउनेछेस अन्धकार माझ

न सुन्ने छ कसैले न कोही आउछ।


त सोच्छेस् सधै एउटा कुरा।’

यति भनिसक्दा उनको मुटु भित्र आसुँका मूल फुटेर दुई आँखाबाट अविरल बग्न थाले। म निशब्द हेरीरहेँ, उनी आँसु पुस्दै जुरुक्क उठिन् र केही नबोली भान्सा तिर पसिन्, मैले रेकर्डर एकछिन बन्द गरेँ र पानी खाएँ। उनी फर्कदा करिब आधा रित्तो भैसकेको हुइस्किको बोतल उनको हातमा थियो,

‘तपाईसँग के लुकाउनु अब। खाने?’ उनले सोधिन्। ‘नाइँ’ भन्दै मैले मुन्टो हल्लाएँ अनि मैले उनको अवस्था र घडी हेरेर आजलाई यति गरौ हुँदैन भनेँ।

‘त सोध्छस् सधैँ एउटा कुरा, तलाई परिस्थितिले अर्कै बनाउँछ, आजको जस्तो परिस्थिति भोलि नहुन पनि त सक्छ महाशय,’ उनले जवाफ दिइन्।

‘तपाईको डाइलग डेलिभरी र टाइमिङ अझै पनि उस्तै रैछ,’ मैले हाँस्दै भनेँ। उनी मुसुक्क हाँसिन् र एक पेग रक्सी गुटुक्क निलिन्।

‘मेरो रक्सीको साथी यी सम्झनाहरु थोरै मिठा छन्, धेरै तिता छन्,’ उनी मातिएको उनको आँखामा स्पष्ट देख्न सकिन्थ्यो। अब ढिलो गर्न नहुने सोचेर, ‘अनि के भयो?’ मैले प्रस्न गरेँ।

‘त्यसपछि म बुढी भएँ,’ उनी फिस्स हाँसिन्, ‘त्यसपछि फिल्मको अफर आउन कम भए, सोचेँ अब बिहे गर्छु र त्यस बेलाको प्रेमीलाई बिहे गरौँ हामी भनेँ। उस्को जवाफ थियो- पागल भइस्? तँ जस्तीसँग बिहे गर्ने? त्यो पनि मैले? म बिहे त आफ्नै प्रेमिकासँग गर्छु। म छागाँबाट यसरी खसेँ कि अब मदिरामा डुब्नुभन्दा मेरो अर्को विकल्प थिएन।

त्यसपछि बल्ल वास्तविकताले चिमोटिएको थिएँ, थाहा पाएको थिएँ कि अब मेरा आफ्ना भन्ने कोही बाँकी थिएनन्। बा-आमा अमेरिका गईसकेका थिए। फिल्मका अफर आउथे फाट्टफु्ट्ट, त्यो पनि कि आमाको कि दिदीको रोलमा तर म त हिरुनी हुँ, हिरुनी।’

यति भन्दै फेरि अर्को पेग रक्सी हालिन् र भन्न थालिन् ‘त्यसपछि मेरो जीवनबाट एकाएक सबै कुरा हराए, मेरो जीवन भर्खर छोरी अन्माएको आँगन जस्तो भो, केही अघि रमझम थियो। अब रोदन र पीडा मात्रै बाँकी। त्यसपछि आफैले आफैलाई बेचेर कमाएका घर बेचेँ, कार बेचेँ, गहाना बेचेँ। अब बाँकी छन् त यिनै भित्ताका फोटोहरु र विगतका यादहरु। के गर्ने? फर्केर विगतमा जान नमिल्ने, नत्र सबै ठिक गर्ने थिएँ।’

उनले लामो साँस फेरिन् र भनिन् ‘कथामा मेरो नाम चाहिँ नआवस् है।’ मैले हुन्छ भनिदिएँ।

‘जिन्दगीमा जब सबै कुरा थियो। मलाई हिरुनी बन्नु थियो, हिरुनी बने अब कुनै कुरा बाँकी छैन।’ यति भन्दै उनी मौन भइन। बाहिर रात छिप्पिदै थियो, मैले रेकर्डर बन्द गरेर खल्तीमा हालेँ, कापी झोलामा हालेँ र भनेँ ‘तपाईलाई धेरै-धेरै धन्यवाद।’

‘मेरो चाहिँ तपाईलाई धन्यवाद, धेरै पछि कसैसँग यति लामो कुरा गर्न पाएँ’ उनले भनिन्।

म उलाई उनकै हालतमा छोडेर बाहिर निस्किएँ। सम्पादक दाइलाई फोन लगाएँ।

‘सकियो हिरोनिको व्यथा सुनेर?’ उनले प्रश्न गरे।

‘सकियो दाइ’ मैले जवाफ दिएँ।

‘छाप्न रेडि कैले हुन्छ?’ दाजुले प्रश्न गरे।

‘दाइ यो स्टोरीको त म किताब लेख्छु,’ मैले जोसिदै जवाफ दिएँ।

दाजु मज्जाले हास्नु भो, ‘ल, ल लेख। म पनि सहयोग गरौला।’

हिरुनीसँग भेट भएको तेस्रो दिन बिहानै एक मित्रले म्यासेज पठाए, जतिसक्दो छिटो टेलिभजन हेर्नु नयाँ समाचार छ। मैले हतार-हतार टेलिभिजन खोलेँ, रातो ब्याकग्राउन्डमा सेतोले लेखिएको थियो ‘वरिष्ठ अभिनेत्री... ले गोली हानि आत्महत्या।’

म झसंग भएँ र सम्पादक दाइलाई फोन लगाएँ अनि भनीदिएँ ‘दाइ हिरोनीले त आत्महत्या गरिछन्।’

‘यो आत्महत्या होइन भाइ, यो हत्या हो। तिमीसँग उस्ले गरेको कुराकानीबाट थाहा हुन सक्छ, हत्यारा को हो? पत्ता लगाउ र लेख उपन्यास ‘हिरुनी’।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १३:००
सिफारिस
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
संसारभरि घट्न थाल्यो छोराको चाहना
संसारभरि घट्न थाल्यो छोराको चाहना
'महानायक' राजेश हमालको देशव्यापी भ्रमण– फिल्मको प्रचार कि २०८४ को तयारी?
'महानायक' राजेश हमालको देशव्यापी भ्रमण– फिल्मको प्रचार कि २०८४ को तयारी?
'नेपालीसँग यस्तो चिज छ जुन अमेरिका–युरोपका मानिससँग छैन'
'नेपालीसँग यस्तो चिज छ जुन अमेरिका–युरोपका मानिससँग छैन'
वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन, एक बजे उम्मेदवारी दर्ता
वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन, एक बजे उम्मेदवारी दर्ता
चारवटा समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
चारवटा समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
माधव नेपाल विरूद्ध मुद्दा लगेपछि अख्तियारसामु उठेका दुई प्रश्न
माधव नेपाल विरूद्ध मुद्दा लगेपछि अख्तियारसामु उठेका दुई प्रश्न
आफूलाई समलिंगी भनेर चिनाएपछि उनले भोगेको अनुभव (भिडिओ)
आफूलाई समलिंगी भनेर चिनाएपछि उनले भोगेको अनुभव (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्!
किन निलो भित्तासँग फोटो खिच्न आशक्ति?
एक थप्पड हान्दा छोरीको निवेदन- बाबाको डिएनए टेष्ट गरी पाऊँ!
बिहेअघि चिना हैन, स्वास्थ्य जाँच गरौं!
यो घामले त के पोल्छ र जति तिम्रो मायाले पोल्छ!
प्रेमी-प्रेमिका पनि पूर्व हुन्छन् र?

विचार

सुशील बहादुर कार्की
अदालतले मात्र कहिलेसम्म धान्ने लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारका मुद्दा? सुशील बहादुर कार्की
गोकर्णप्रसाद उपाध्याय
एउटा विश्वास थियो– हामी पुग्नेछौं! गोकर्णप्रसाद उपाध्याय
नारायण श्रेष्ठ
कम शब्दमा लामो कथा भन्ने विश्वप्रसिद्ध लेखक नारायण श्रेष्ठ
जगतप्रसाद रिजाल
स्थानीय सरकारको काँधमा विद्यालय शिक्षाको भविष्य जगतप्रसाद रिजाल

ब्लग

अच्युत शाली घिमिरे
पैसा सापटी मागेर फिर्ता गर्न नजान्नेहरू! अच्युत शाली घिमिरे
अमर अधिकारी
छातासँगको नाता! अमर अधिकारी
अनुज घिमिरे
'बिग डे' मा बिहान २ बजे नै उठेर हिँड्दा जे देखियो अनुज घिमिरे
बालकराम देबकोटा
दैनिकरको भेल र सुनारखोलाको पहिरो तर्दा बालकराम देबकोटा

साहित्यपाटी

सरोज भट्टराई
कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्! सरोज भट्टराई
अविनाश आले
किन निलो भित्तासँग फोटो खिच्न आशक्ति? अविनाश आले
विदुर दाहाल
एक थप्पड हान्दा छोरीको निवेदन- बाबाको डिएनए टेष्ट गरी पाऊँ! विदुर दाहाल
मन्दिरा घिमिरे
बिहेअघि चिना हैन, स्वास्थ्य जाँच गरौं! मन्दिरा घिमिरे

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल
भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP