Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, जेठ २४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नियति   

रविन्द्र केसी

रविन्द्र केसी

यो रात  चुक घोप्टिएजस्तै अँध्यारो छ! धेरै बेरको  मुसलधारे वर्षापछि  चिसो पनि असाध्यै बढेको छ। टाढा-टाढासम्म पनि मानिसहरूको कुनै आवाज  सुनिँदैन, रात जति जति छिप्पिँदै  छ, त्यति त्यति भुस्याहा कुकुर,  स्याल र लाटो कोसेराहरूका एकोहोरो अलापले झनै अत्यास लाग्दो हुँदैछ।

यही  शून्यतामा  नितान्त एक्लो छु म !  थाहा छैन यो यात्राको विराम कहाँ छ? लक्ष्य कहाँ छ ? जीवनको अन्त्यमा छ कि त्यस भन्दा पनि पर छ !

कोठामा टुकी बत्ती पिलपिलाई रहेको छ। त्यसैको मधुरो प्रकाशमा महिनौदेखि बिरामी परेकी छोरीको  निधार मुसार्दै छु। 

आज पनि ऊ बेस्सरी तातेकी छ, कैयन्  दिनदेखि बढेको ज्वरो बीसको उन्नाइस पनि भएको छैन।  न नै घट्नेको छाँटकाँट छ। कति ओषधिमुलो गरिसकें, कति झारफुक। तर अहँ केही सीप लागेन। हेर्दाहेर्दै ऊ  मुठ्ठीभरि भैसकी। उसको त्यो हालत देखेर ज्यादै  विक्षिप्त छु।

छोरीलाई पानीपट्टी लगाइरहेकी थिएँ। अकस्मात दराजमाथि राखेको तस्बिरमा आँखा पुग्यो। आज त्यो तस्बिर मलाई  मेरो पति माधब कै जस्तो लाग्दैन, किनकी  त्यसमा मैले सधैं अनुभूत गर्ने त्यो आत्मीयता बिलकुलै  छैन , फुंग उडेको छ । 

‘हेर त माधुरी ! कस्तो  उज्यालो छ  हाम्री छोरीको मुहार ! पूर्णिमाको चन्द्रमा जस्तै ! यिनी सधैं  यस्तै जगमगाई रहनु  पर्छ है!’ त्यसै त  भनेको थियो माधबले   मलाई  ! मृत्युशैयामा  उसले बोलेका ती शव्दले मलाई  सधैं घोचिरहन्छन्।

 उसको अन्तिम निशानी यो छोरी थिई त्यो पनि  खै .... के पो हुने हो ! ...  !   अनिष्ठ  तर्कनाले  मुटु फुट्लाजस्तो हुन्छ! छट्पटिन्छु। अनि फेरि आफैं सम्हालिन कोशिस गर्छु।

यस्तै तरकनामा पूरै रातै बितेको पनि पत्तो हुँदैन।   

बिहानी पख भाले बासेपछि झसंग भएँ। हत्तपत्त छोरीको निधार छामें। ज्वरो त उत्तिकै छ, सुकेको परालजस्तै खंग्रग भयो मन।

यसरी त छोरीको व्यथा निको हुन्न जस्तो  छ  बरु  काठमाडौं लगेर  राम्रोसँग उपचार गर्न पाए पनि  हुन्थ्यो! झ्यालबाट यसो हेरें, बाहिर मिर फाटेर बिस्तारै उज्यालो हुँदैछ छ तर मन रत्तिभर उज्यालिँदैन। 

काठमाडौं लगेर उपचारको  कल्पना गर्न पनि कठिन। तर पनि आमा हुँ। यतिकै कतिदिन घरमै राख्ने! मन मानेन। उज्यालो हुनासाथ पैसाको जोहो गर्न दौडिएर ठेकेदारको घरैमा पुगें।  

उसले पाईपाई हिसाब गरेरमात्र पैसा दियो। पैसा पाउने बितिक्कै हतारहतार घर आएँ।

छोरी सुति नै रहेकी थिई। बिस्तारै बोलाएँ। उसले आँखा खोली। थोरै मनमा शान्ति मिल्यो। ठेकेदारकोबाट मात्र ल्याएको पैसाले त के नै पुग्थ्यो र! अरू कोसँग हात फैलाउने!

चिने जानेकाहरू तर्किन थाले। संकोच मानीमानी घरबेटीसँग पनि हात फैलाएँ तर के पत्याउँथे! के गर्ने, के दिमाग चलिरहेको थिएन। पाकेको  कर्कलो जस्तै गल्दै गएँ!

अरू केही उपाय नलागेपछि बाध्य भएर लगाइराखेको स्वयम्बरको औंठी र तिलहरी पनि बेच्न लगें।

तर त्यो फुकालेर जब तुलोमा राखें। एक्कासि माधबका यादले मर्माहत भएँ तर पनि बिरामी छोरीको मायाले गर्दा त्यसलाई जोगाइराक्न सकिनँ।

आफूसँग भएको पैसा बोकेर उपचारको लागि छोरीलाई काठमाडौं लैजाने निधो गरें।

भोलिपल्ट  बिहान करिब ८ बजेतिर कोठाबाट निस्कें। तर जाने कहाँ!

त्यही बेला झल्यास्स मामाकी छोरी कुसुमलाई सम्झें र  उसैको घरतर्फ मोडें। गाडीबाट करिव ५ घण्टाको यात्रापछि हामी कुसुमको घर पुग्यौं।

साँझ कुसुमलाई छोरीको बारेमा बताएपछि उसले  बडो सहानुभूतिपूर्बक भनि  ‘दिदी  किन पिर गर्न हुन्छ! यहाँ यति राम्रा अस्पताल छन्, राम्रोसँग उपचार गरेपछि   ठीक भइहाल्छ नि , भो अब धेरै चिन्ता नलिनुस्’  सबैतिरबाट निराश भैसकेकी मलाई उनको यति भनाइमा पनि ठूलो भरोसा मिलेजस्तो भयो अनि मन खुसीले  भक्कानियो।

लाखौं कोशिसका बाबजुद् पनि निन्द्रा भने पटक्कै लागेन ।

अर्को दिन बिहान ८ बजेतिर छोरीलाई लिएर अस्पताल पुगें।  

छोरीलाई जाँचेपछि डाक्टरले  भने, ‘हुन त बिरामी धेरै ढिला ल्याउनु भयो तर  आत्तिहाल्नु  पर्ने  पनि देखिँदैन, केही टेस्ट लेखिदिएको छु, भोलि रिर्पोट लिएर आउनु होला। रिर्पोट हेरिसकेपछि कस्तो उपचार गर्नुपर्ने हो अनि भनुँला।’   

भोलिपल्ट रिर्पोर्ट हेरेपछि डाक्टरले भने, ‘रगतमा केही खराबी देखिएको छ त्यसैले  केही  थप औषधी  लेखिदिएको छु,  यो खाएर सात दिन हेरौं, यदि यसले पनि  ठीक भएन भने अस्पताल नै  भर्ना गर्नुपर्छ।’

समस्याहरू दिनदिनै झन् बढ्दै थिए। म आफूलाई सम्हालिँदै, समस्यासँग जुध्दै सामना गरिरहेको थिएँ।

अर्को कुरा कुसुमको घरमा बसेको पनि धेरै नै भइसकेको थियो। आफैंलाई अप्ठ्यारो लाग्न लागेको थियो। तर जाने कहाँ?

त्यसैले लाचारीपूर्वक बस्न बाध्य थिएँ। त्यसमाथि उपचारका लागि  गरगहना बेचेर आएको पैसा पनि करिब  निख्रिन लागिसकेको थियो। पैसा सकिए त केही भएन तर छोरीको स्वास्थ्यमा खासै सुधार नआएकोले चिन्ता झन् झन् थपिँदै  थियो।

छोरीलाई फेरि : जचाउन  फलोअपमा लगें।  

डाक्टरले हेरेपछि भने, ‘हेर्नुस् बहिनी, नानीलाई  सामान्य उपचारले ठीक हुने जस्तो देखिएन, अलि विस्तृत अनुसन्धान नै  गर्नुपर्ने भयो। खर्च अलि बढी लाग्छ के गर्नुहुन्छ?’

डाक्टरको कुरा सुनेर स्तव्ध भएँ! त्यसपछि खर्च जुटाउन गरेको कष्ट र उपचारमा सकिएको आफ्ना सबै समस्या बताएँ। विवश, लाचार अनि बाध्य थिएँ।

उहाँले पनि सहानुभूतिपूर्वक भन्नुभयो,‘हेर्नुस बहिनी तपाईंको समस्याको  बारेमा सुनेर  मलाई  पनि ज्यादै  चिन्ता लाग्यो तर मैले पनि गर्न सक्ने कुरा त्यति  धेरै त हुँदैन, तर तपाईंलाई कति मद्दत गर्न सकिन्छ,  म पूरा कोशिस गर्छु। उहाँको कुराले मलाई ठूलो आड मिल्यो।’

जिन्दगी जसोतसो चल्दै थियो, अचानक एक दिन कुसुमले आफ्नो बाध्यता  सुनाई। हामीले उसको घर छोड्नु पर्ने भो। हुन त मलाई पनि त्यहाँ बस्न निको लागिरहेको थिएन। तर उसले हामी बस्ने ठाउँ भने मिलाइदिई।

नजिकै उसको साथीको आश्रम रहेछ। पैसा  पनि सस्तो अनि बेला बेलामा भेट्न आउने वाचा गरी।

उसलाई साँच्चै नराम्रो लागिरहेको थियो। तर उसको बाध्यता…

जिन्दगीले थाहै नपाई कसरी बेवारिस पनि बनाउँदो रहेछ भन्ने सोचे र मन चसक्क  भयो। तैपनि  सम्हालिएँ। अनि चुपचाप छोरी बोकेर उसको घरबाट आश्रमतिर लागें।

आश्रममा आएको रात मनमा धेरै कुरा खेलिरहे,निन्द्रा पटक्कै परेन। छोरी र म  त्यहाँको एउटा साँघुरो कोठामा  बस्यौं।

आखिर आश्रम न हो, न कोही कसैका आफन्त थिए, न कोही कसैका पराई नै!  नकुनै बनावटी आत्मीयता, न  चित्त दुखाई  नै! 

बसाइ त  ठीकै थियो तर छोरी भने  झन् झन् शिथिल हुँदै गई। त्यही चिन्ताले मलाई सताइरह्यो। परिस्थिति सामना गर्नुबाहेक केही विकल्प थिएन मसँग!

एकदिन साँझ अकस्मात् ज्वरो बढेर छोरी बेहोसजस्तै भई। हार-गुहार गर्दै छोरीलाई अस्पतालको इमरजेन्सीमा लगे।

डाक्टरले  लेखिदिए अनुसार औषधी लिएर आएँ। भएभरको पैसा सकियो।

केही समयको उपचारपछि बिस्तारै ऊ होसमा आएर आँखा खोलेर मलाई देख्नासाथ आँसु झारी। मन बेस्सरी कुडियो तर के नै गर्न सक्थे र! छोरीलाई सुमसुम्याएँ। उसले पानी खान्छु भनी र थोरै पानी पिलाएँ।

एक छिनपछि खपि नसक्नु भयो। अस्पतालबाट  बाहिर निस्केर एउटा कुनामा बसें। धक् फुलाएर रूँन पनि सकिनँ। जिन्दगीमा यस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने कहिले सोचिनँ। दैव पनि कति निष्ठुरी! अनि सायद मेरो नियति नै यस्तै रहेछ। न म छोरीलाई अलपत्र छोडेर मृत्युलाई अगाल्न सक्थें! न  आफू बाँचेर  मर्दै गरेकी छोरीको त्यो हविगत हेरी रहन सक्थे ! अगाडि के गर्ने न सोच्न न नै सकें न बढ्न नै।

मुढाजसरी बसिरहेकी थिएँ, आँखाबाट अनायसै आँसु झरिरहे। यस्तैमा  अचानक मलाई पछाडिबाट कसैले  थप्थपाएजस्तो लाग्यो र हत्तपत्त आँसु पुछेर हेरें। 

एक जना धनीमानी जस्ती देखिने अधबैंशे महिलालाई रहिछ।

केही बोल्न नपाउँदै उनले मलाई  सोधिन् ‘नानी के भयो ? किन रोएको ?  एक्लै बसेर यसरी रोएर समस्या समाधान हुँदैन , के भयो भन त।’

हुन त जीवनका  भोगाइले  मलाई जगतप्रति कै मोह भंग  भै  सकेको थियो।  तै पनि सुनिरहे र उनी भन्दै गइन ‘समस्या के हो मलाई भन त’  यिनलाई आफ्नो दु:ख पोखेर के हुन्छ र!  भन्ने लाग्यो। निकै बेर मौन रहें!

तर  पनि कता कता फेरि केही आशा जाग्यो। र आफ्ना कुरा बताएँ।

कुरा सुन्दै गएपछि उनले सुमसुम्याउदै भनिन् ‘नानी आत्तिनु पर्दैन, तिम्रो छोरी मेरो नातिनी जस्तै भइनन्  र ?  खर्चको चिन्ता नगर यति हट्टाकट्ट र जवान छौ। पछि जे काम गरेर पनि तिर्न सक्छौ, अहिलेको लागि उपचार खर्च म दिउला! बरू मलाई सकेको बेला तिर्नू।’

उनी अचानक किन र  कसरी प्रकट  भइन्? किन मलाई यसरी सहयोग गर्दैछिन् ? भन्ने प्रश्नको उत्तर  मसँग थिएन।

मलाई उनको व्यबहार देखेर अचम्म नलागेको होइन, बिना स्वार्थ त पक्कै पनि उनले मलाई सहयोग गर्न तयार भएकी  होइनन् होला भन्ने सोचेर मनमा डर पनि लाग्यो। तर छोरीको मायाले अरू केही सोच्न सकिनँ। विवशतासामु  घुँडा टेकें र  उनकै सहयोगमै  छोरीको उपचार चल्दै गयो।

यसैबीच डाक्टरहरूको धेरै प्रयास र हाम्रो लाखौं कामनाका  बाबजुद् पनि  छोरीको स्वास्थ्यमा कुनै  सुधार आएन। अन्तत: उसले जिन्दगी सँगको युद्ध  हारी  र एकाबिहानै मेरै काखमा प्राण त्यागी।

ऊ शान्त थिई। चीरनिन्द्रामा थिई। एकोहोरो उसलाई हेरिरहे। विवेकशून्य र  मूर्तिजस्तै भएको थिएँ। आँखा अगाडि पूरै अँध्यारो छाएको थियो। छोरीप्रतिको सम्पूर्ण कल्पना,  आशा र विश्वास पनि समाप्त  भएका थिए।

आजबाट मेरो काख मात्र रित्तिएन  मेरो बाँच्ने चाहना पनि  समाप्त भयो। शिशा जस्तै गरी मेरो माधवको अन्तिम निशानी  झर्‍यामझुरुम भयो। केही बाँकी रहेन अब केवल म! एक्लै जिन्दगीको अनकन्टारमा ! सम्हालिन खोज्दाखोज्दै  सकिनँ। धेरै बेर रोएँ र  पछि उनै दिदी आएर सम्हालिन्।

त्यसपछि  मलाई  कसले कसरी कहाँ लिएर गयो थाहा भएन। केही समयपछि उही अपरिचित दिदीसँग बिष्णुमती किनारमा थिएँ।  

उनले मलाई झकझकाइन् र भनिन् ‘नानी छोरीलाई मट्टी दिनुपर्छ आऊँ। हामी सबै मिलेर उसको चिर-आत्माको शान्तिको कामना गरौं।’

म खाल्डोमा सुताइएकी छोरीको नजिकै  गएँ,  उसको अनुहार हेरें ‘विल्कुल शान्त  थिई! न कुनै पीडा न कुनै छटपटी! , आज उसलाई कोही चाहिएको थिएन, आफ्नै प्यारी आमा पनि!’ छोरीको त्यो मृत शरीर देखेर आफूलाई सम्हाल्न सकिनँ र भुईंमा थचक्क बसें!

छोरीको आन्तिम संस्कारपछि दिदीले बडो स्नेहपूर्वक मेरो टाउको सुमसुम्याएर  भनिन् ‘नानी यस्तै हो संसार! दुनियाँ नै एउटा ठूलो भ्रम हो नानी , कतिले बुझ्छन् र  कतिले बुझदैनन् ! यहाँ कोही कसैको हुँदैन खाली हामीलाई आफ्नो हो भन्ने भ्रम मात्र हुन्छ। वास्तवमा ऊ पनि हाम्रो थिइन र हामी सबैलाई छोडेर गई। तिमी पनि अब  भ्रमबाट बाहिर निस्क र सत्यलाई स्वीकार। आखिर जाने गए पनि  हामी त बाँच्नै पर्छ। बरू हिँड मसँग काठमाडौंदेखि टाढा मेरो होटल छ, केही दिन आराम गर, आफू ठीक भएजस्तो लागे पछि ,त्यही काम गर आफैं कमाऊ बाँच!’

समवेदनाहीन भैसकेकी म  उनका कुरा सुनेर  पनि प्रतिक्रियाहीन  मात्र होइन  र  विवेकशून्य थिएँ। मलाई वरिपरिका कुनै पनि चिजहरूले केही प्रभाव पारिरहेका थिएनन्।

उनले मलाई तानेर लगिन् र गाडीमा बसालिन्। गाडी गुडिरहेको थियो, त्यैबिच उनले मलाई सुमसुम्याउदै भनिन् ‘अहो हेर त कति पसिना आएको!  ज्वरो पो आए  कि क्या हो ? ” उनले झोलाबाट दुई वटा ट्याबलेट झिकेर मलाई खुआइदिइन् र भनिन ‘अब अडेस लागेर राम्रोसँग बस, केही छिनपछि तिमीलाई आराम हुन्छ।’

उनले भनेजस्तै गरी अडेस लागेर बसें, केहीबेर मै गहिरो निन्द्रामा परेछु, अरू कुरा के के भए थाहै भएन।

जब आँखा खुल्यो, बिउझिना साथ छोरीलाई सुमसुम्याउन अभ्यस्त मेरा हातहरूले उसरी नै  सुमसुमयाउन खोजे तर छोरी त अतित भैसकेकी थिई,त्यो सम्झेर झसंग भएँ। तै पनि आफूलाई सम्हालें।  

वरिपरि हेरें, एउटा अँध्यारो कोठामा थिएँ, टाउको पनि  खपि नसक्ने गरी दुखिरहेको थियो।  

यो कोठामा कसले, कसरी ल्यायो!

यसैबीच  झल्यास्स गाडीमा दिदीले खुआएको २ वटा ट्याबलेटको सम्झना आयो, अनि दिदीले नै सुताएको हुनुपर्छ भन्ने सोचेर थोरै आश्वत भए।

छोरीको लामो समयसम्मको उपचारको तनाव र उनको मृत्युको पीडाले शिथिल भैसकेको थिएँ।

बेडबाट मुश्किलले उठें। चारैतिर आँखा डुलाएँ। कोठाको भित्ताभरि महिलाहरूको छाडा तस्बिरहरू टाँसिएको थियो। भुईंमा जताततै चुरोटका ठुटाहरू फालिएका थिए र वरिपरिबाट रक्सीको टाउकै फुट्लाजस्तो गन्ध आइरहेको थियो।

कोठाको हालत  देखेर मनमा चिसो पस्यो र हत्तपत्त दिदी दिदी भन्दै चिच्याउँदै ढोका ढक्ढकाएँ।

तर ढोकामा दिदीकै उमेरकी अर्कै अधबैंसे महिला देखापरिन्।

अनुहारभरि भद्दा मेकअप , मोटो शरीर भएकी हेर्दै डर लाग्दी ती महिलाले भन्दै थिइन् ‘निन्द्रा पुग्यो? निकैबेर सुत्यौ त! कुन दिदी खोजे कि तिमीले ? उनी त तिमीलाई यहाँ छोडेर गई सकिन् नेपाल, कुरा बुझ्यौ होला नि उनले तिमीलाई  मोटो रकममा बेचेर गइन्! तर केही छैन ,यहाँ ऐय्यास धनाढ्यहरूको कमी छैन , मेरो लगानी उठ्न धेरै लाग्दैन। जाऊ नुहाई धुवाई गरेर आराम गर, दुई चार दिन पछि धन्दा गर्नुपर्छ!’

अकस्मात् मेरो पैतालामुनि जमिन भासिएजस्तो भयो र उभिएकै ठाउँमा थेचारिएँ। कुनै बोली फुटेन, मेरो त्यो अवस्थाप्रति उनमा कुनै सहानुभूति पलाएन उल्टै झनै कड्किएर भन्न थालिन् ‟यो सब नाटक यहाँ चल्दैन बुझिस् , यहाँ त केवल रूप, जवानी र पैसा चल्छ। तेरो पनि चल्ने त्यही नै हो” यति भनेर मेरो प्रतिक्रिया समेत नसुनी उनी फरक्क फर्किइन्।

उनी फर्किनासाथ मलाई तीन जना भुसतिघ्रेहरूले समातेर जबरजस्ती  फेरि त्यही कोठामा थुनिदिए।

म धेरै रोएँ, कराएँ, चिच्याएँ तर कसैले सुनेन। म पटक पटक मर्न खोजें, त्यसको पनि कुनै उपाय फेला परेन।

जिन्दगीलाई पछाडि फर्केर हेरें, आँसुको समुन्द्रजस्तै लाग्यो। बाबु आमा बिनाको बालापन , लोग्ने बिनाको जवानी , सन्तान बिनाको मातृत्व! यीबाहेक यो उमेरसम्म  के पाएँ र मैले? सम्झदै कहालीलाग्दा दिनहरू! विधिको मप्रतिको  क्रुरता एकपछि अर्को गर्दै सबै  सहदै गएँ। तर पनि मैले एक मुठ्ठी सन्तोषको साससम्म कहिल्यै पनि फेर्न पाइनँ!

मैले सम्पूर्ण विश्वास ईश्वर मै खन्याएँ। आस्थाले हरेक साँझ  बिहान पूजा गरे, तर उनी भने  मप्रति सधैं नै  निर्दयी भए। त्यसैले मलाई लाग्छ कि उनी मेरा लागि ईश्वर नै होइनन्, जल्लाद हुन्।

जल्लादले त बरू एउटा प्राण एक पटक लिन्छ तर उनले त मलाई जीवनभर  निमोठी रहे। यतिसम्म कि उनले एउटा ममतामयी आमाको आँखै सामुन्ने  उनको सन्तानको प्राण मात्र चुडेनन्  मातृत्वका अमृत धारा सुक्न नपाउँदै कोठीमा बेचिदिए।  

भगवान् कस्तो भाग्य लेख्यौ तिमीले! आफ्नै छोरी बितेको २४ घण्टा नपुग्दै म कोठीमा बेचिएँ ......

 

 

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १३:२८
सिफारिस
संसारभरि घट्न थाल्यो छोराको चाहना
संसारभरि घट्न थाल्यो छोराको चाहना
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
चौकीभित्रै एक प्रहरीको मृत्यु भएपछि, हेर्नुस् युट्युबमा
'महानायक' राजेश हमालको देशव्यापी भ्रमण– फिल्मको प्रचार कि २०८४ को तयारी?
'महानायक' राजेश हमालको देशव्यापी भ्रमण– फिल्मको प्रचार कि २०८४ को तयारी?
'नेपालीसँग यस्तो चिज छ जुन अमेरिका–युरोपका मानिससँग छैन'
'नेपालीसँग यस्तो चिज छ जुन अमेरिका–युरोपका मानिससँग छैन'
वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन, एक बजे उम्मेदवारी दर्ता
वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन, एक बजे उम्मेदवारी दर्ता
चारवटा समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
चारवटा समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
घट्यो अमेरिकी डलरको भाउ, अरू विदेशी मुद्राको विनिमयदर कति छ?
माधव नेपाल विरूद्ध मुद्दा लगेपछि अख्तियारसामु उठेका दुई प्रश्न
माधव नेपाल विरूद्ध मुद्दा लगेपछि अख्तियारसामु उठेका दुई प्रश्न
आफूलाई समलिंगी भनेर चिनाएपछि उनले भोगेको अनुभव (भिडिओ)
आफूलाई समलिंगी भनेर चिनाएपछि उनले भोगेको अनुभव (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यो घामले त के पोल्छ र जति तिम्रो मायाले पोल्छ!
प्रेमी-प्रेमिका पनि पूर्व हुन्छन् र?
राजनीति र जलवायु परिवर्तन!
‘तिमी अझै राम्री डिजर्भ गर्छौ’
हेरेर मात्रै बसेको प्रेम!
सदस्यतावाद जिन्दाबाद!

विचार

गोकर्णप्रसाद उपाध्याय
एउटा विश्वास थियो– हामी पुग्नेछौं! गोकर्णप्रसाद उपाध्याय
नारायण श्रेष्ठ
कम शब्दमा लामो कथा भन्ने विश्वप्रसिद्ध लेखक नारायण श्रेष्ठ
जगतप्रसाद रिजाल
स्थानीय सरकारको काँधमा विद्यालय शिक्षाको भविष्य जगतप्रसाद रिजाल
शिव बाँस्कोटा
हुम्लाको हिमताल 'विस्फोट' मा मैले जे देखेँ शिव बाँस्कोटा

ब्लग

अमर अधिकारी
छातासँगको नाता! अमर अधिकारी
अनुज घिमिरे
'बिग डे' मा बिहान २ बजे नै उठेर हिँड्दा जे देखियो अनुज घिमिरे
बालकराम देबकोटा
दैनिकरको भेल र सुनारखोलाको पहिरो तर्दा बालकराम देबकोटा
रेशमबहादुर खड्का
जन्मे हुर्केको माटो सम्झिँदा गर्व लाग्छ, घृणा होइन! रेशमबहादुर खड्का

साहित्यपाटी

जनक अर्याल
यो घामले त के पोल्छ र जति तिम्रो मायाले पोल्छ! जनक अर्याल
सबिन कार्की
प्रेमी-प्रेमिका पनि पूर्व हुन्छन् र? सबिन कार्की
मित्र पाठक `काँचुली`
राजनीति र जलवायु परिवर्तन! मित्र पाठक `काँचुली`
संगम गिरी
‘तिमी अझै राम्री डिजर्भ गर्छौ’ संगम गिरी

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल
भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP