मंसिरको पहिलो साता
एक्लै गुर्दी फाँटमा काट्नै बाँकी थियो
दोपहरको मार्सी झाँट्नै बाँकी थियो
टारी खेतमा धानका निहीन
गरामै थिए
अनदीको पराल
तगारोमै थियो
काफल डाँडामा कोदो पाक्नै बाँकी थियो
धान काट्ने खेताला डाक्नै बाँकी थियो
दोपहरमा कुनियो बल्ल ठडिएको थियो
खलो काट्न
खलो पोत्न
दैलामुनि साग मुला छर्ने गरो जोत्न
मियो काट्न
अनि
दाँइ आँट्न बाँकी नै थियो
खै,
अनायसै,
कसले लखेट्यो मलाई परदेश?
सोच्दै थिएँ
यसपालि हिँउदमा
खोरिया फाँड्छु
बिजम्बरे वनमासा ऐंसेलु अनि चुत्रोले निलिसकेछ
त्यो फाँडेर आगो लगाउँछु
बाँस्कोटेका गराका फाँटा साँघुरा भए
तिनका कान्ला बिराउँछु
एउटा बहरे गोरु दाउँछु
तारे गोरु अब बुढो भइसक्यो
कटेरोको धुरी चुहिएको छ
त्यसलाई छाउँछु
दुई हार जति दाउरा मार्छु
खरबारी उघारो पार्छु
भैंसीको डुँडको खामो मक्किसकेछ
त्यसलाई फेर्छु
बाख्राको टाट्नो चित्राले बेर्छु
अनगिन्ति झिना सपना मनमा थिए
खै,
अनायसै
कसले धकेल्यो मलाई परदेश?
माहुरीले चाका भर्दै थियो
केरा थामेको टेको सर्दै थियो
माली गाईको ब्याउने किलो आउँदै थियो
न्याउलीले बिरह गाउँदै थियो
धान राख्ने भकारी मिलाउनु थियो
धान चुट्ने टाट सिलाउनु थियो
देउरालीमा बाँदर धपाउँदा धपाउँदै
मकैका ठेला चपाउँदा चपाउँदै
पाखा पखेरासँग प्रिती बस्दा बस्दै
गाउँबेसीको मायाले कस्दा कस्दै
मैले गर्ने हरेक उकाली ओराली
अनि पाथ्राका ढुंगाले चिनिसकेका थिए
आँसी उदाउने ढुंगा अनि पर्खालका छापनीले
आफ्नै ठानिसकेका थिए
खै, अनायसै
कसले खेदयो मलाई परदेश?
बारीका पाटाको अम्बा काँचो थियो
जताततै कामको माचो थियो
खर काटेर धुरी मार्नु थियो
गाई डिङ्गा बेसी झार्नु थियो
बाँझो जोतेका डल्ला फोर्नु थियो
जंगलका पत्कर सोहोर्नु थियो
दैलामुनि मकैको शुली थाप्नु थियो
स्याउलाले गोठ छाप्नु थियो
बाँदरबाट बाली बचाउनु थियो
हजुरआमाको सुगर जँचाउनु थियो
सबै काम, सबै कुरा
लथालिंग
भताभुंग
रारङ्ग थिए
खै,
अनायसै
कसले धपायो मलाई परदेश?
सोच्छु माली गाईले मलाई खोज्दै होला
तारे गोरु मलाई नै सोच्दै होला
मोती कुकुर्नी मेरै बाटो हेर्दी हो
मुने पाठीले गनगन गर्दी हो
म आउने दिन कुरेर बालेको दियोको
तेल रित्तियो कि
मैले आँसी उदाउने ढुंगो मेरो स्पर्श खोज्दो हो
कराङ्कोटका काफल र दमौराका रुख
मलाई सम्झिँदा हुन्
खेतका आली
बडहरका अनि पाखुरीका डाली
मलाई नै पर्खिँदा हुन्
मलाई कुर्दा कुर्दै चौतारीको पीपल पनि
बुढो भइसक्यो कि
हामी लुकामारी खेल्ने मुखियाको चौतारी
म यतै कतै लुकेको छु कि भनेर एकान्तमा घोत्लिँदो हो
खै,
अनायसै
नचाहँदा नचाहँदै
मन भारी बनाएर
व्यवस्थाले लखेट्यो कि
शासनले धपायो कि
नियतिले गलत्यायो
थाहै भएन
खै,
अनायसै
कसले लखेट्यो मलाई परदेश?
(लेखक जनक बराल पोर्चुगल बस्छन्।)