कविता
भुलुक्क उम्लेको गुन्द्रुकको झोल
अब त सपना भयो
छुट्यो त्यो पहिलेकै गाउँघरमा
आँखा अगाडि त केवल याद
रायोको साग र तोरी बारीको
त्यसैलाई
घाममा सुकाएर
केराको पातमा पोको पारेर
खाल्डोमा ढुंगाले थिचेको
अनि
बास्नादार गुन्द्रुक
तोरीको तेलको भुटुनमा
नुन खुर्सानी पड्काएर
पानीले झ्वाइईया पारेर
स्वाद लिइ लिइ मुछेर खाएको
पहिलेको जिन्दगीदेखि
अहिलेको जिन्दगीसम्म
खान त कति किसिमको झोल खाइयो
कुनै झोलले शितल गर्थ्यो
कुनै झोलले गरम पार्थ्यो
कुनै झोलले तागत दिन्थ्यो
कुनै झोलले होस नै लान्थ्यो
त्यो लगेको होसलाई
कुनै झोलले फेरि फर्काउथ्यो
तर
गुन्द्रुकको झोलमा
कुनै किसिमको दुर्गुण नभएको
गरिबको घरदेखि खरबपतिको निवाससम्म
एउटै रूप, एउटै रङ्ग
एउटै गन्ध, एउटै स्वाद
हाम्रो आफ्नै देशमा बनेको
शुद्ध आफ्नै माटोमा उत्पादित झोल
नेपालीहरूकै जिब्रोको निम्ति बनेजस्तै
झुप्रोको चुलोदेखि महलको डाइनिङ टेबलसम्म
एउटै मिठास
पहिले पहिले
जिजुबुवा हजुरबुवाको पालामा जस्तै
आज फेरि च्याख्लासँग
तातो-तातो पिरो-पिरो
गुन्द्रुकको झोल
जिब्रो पडकाएर
स्वाद लिइ लिइ
खान मन लागेको छ ।