फेसबुकको भित्तामा एडिथले नवजात छोरीसँगको फोटो हालेकी थिई।
छोरीको एकातिर उसको लोग्ने र अर्कोतिर ऊ दुबै हाँसिरहेका थिए।
फोटोमा उसको खुसी दुवै ओठको बीचबाट फुस्किरहेको थियो। प्रायः दुखी मनुष्यका रूपमा प्रस्तुत हुने एडिथलाई यस भावमा देख्दा मलाई निकै आनन्द लाग्यो।
एडिथ संसारकै अभागी मान्छेका रूपमा आफूलाई प्रस्तुत गर्ने गर्छे। उसले जीवनमा ठूलो चाहना पालेकी छैन। फराकिलो कल्पनाको संसार बुनेकी छैन। सुखी परिवार र आफ्नै सानो घर होस् भन्ने उसको अभिलाशाको घडा आधा भरिएछ। अब आधा पूरा हुन बाँकी छ। त्यो पनि चाँडै पूरा होस् भन्ने कामना गरें।
म बसेको संसारको अर्को कुनामा मबाट धेरै टाढा बसेकी थिई ऊ। विगत छ वर्षदेखि इमेल र फेसबुकका माध्यमबाट मसँग मित्रताको रथ हाँकिरहेकी एडिथसँगको विगतका घटना यहाँ बताउँछु।
एक दिन मेरो फेसबुकमा साथी बन्ने अनुरोध आएको रहेछ। मैले अनुरोध पठाउनेको प्रोफाइल खोलेर हेरें।
बाक्लो ओठ र भुक्क परेको अनुहार थियो उसको। कालो वर्णकी केटी थिई ऊ। मिनी स्कट र भेस्टमा रातो लिपिस्टिकले पोतिएकी थिई ऊ। उसका बारेमा जान्न फोटा पनि चेक गरें। धेरै थिएनन् , दुई चार वटा मात्रै। उसको नाम एडिथ टाम्बा राखेकी थिई। विदेशी केटीको प्रस्ताव मैले सहजै स्वीकार गरी फेसबुक साथी बनें। भोलिपल्ट मलाई उसले ‘हाई ’भनेर म्यासेज गरी।
मैले जवाफमा ‘हेल्लो ’ लेखें।
‘म र तिमीसँग एउटा असल मित्र बनेर एक अर्काका बारेमा अनुभव, देश र समाजका बारेमा जान्न बुझ्न सक्छौं।’
म प्रमाणपत्र तह अध्ययन गर्दा ताका पत्रमित्रताको चलन थियो।
टाढा-टाढाका अपरिचितहरूबीचमा पत्रका माध्यमबाट मित्रता हुन्थ्यो। त्यो बेला मेरा पनि केही पत्र मित्र थिए। मैले त्यही करिब तीस वर्ष अघिको कुरा स्मरण गरें।
एडिथले मलाई हप्तामा दुई तीन पटक फेसबुक वा इमेलबाट सम्पर्क गर्थी। उसले आफ्ना बारेमा धेरै कुरा बताई। ऊ दक्षिण सुडानकी नागरिक रहिछे।
उसका अनुसार अफ्रिका महादेशको सुडानबाट सन् २०११ मा स्वतन्त्र भएर दक्षिणी सुडान बनेको रहेछ।
मैले पनि उसलाई नेपालको बारेमा संक्षिप्त जानकारी गराएँ।
सगरमाथा भनेको सुनेकै रहिनछ। गौतम बुद्ध भने उसलाई थाहा रहेछ।
उसले त्यहाँको सैनिक उच्च अधिकारीकी छोरी हुँ भनेर चिनाई। अनि ऊ अहिले इजिप्टमा अध्ययन गर्दै गरेको कुरा लेखेकी थिई।
उसको स्वभाव निकै बोलक्कड जस्तो लाग्यो। आफ्ना बारेमा अरु पनि निकै कुरा लेखेकी थिई।
***
केही दिनपछि मैले फेसबुक खोलेको मात्र थिएँ। उसले मलाई ‘गुड इभिनिङ’ भन्दै मसँग च्याट गर्न सुरू गरी। मैले पनि त्यसै गरी जवाफ दिएँ। उसले एक दुई वर्षभित्र नेपाल आउने इच्छा देखाई।
मैले स्वागत छ भनेर जवाफ दिएँ।
उसले मलाई पनि इजिप्ट घुमाउने सपना देखाउन पनि भ्याई। उसका प्रत्येक कुरामा आर्थिक सम्पन्नता झल्कन्थ्यो।
त्यस दिनदेखि उसले मलाई दिनहुँजसो सम्पर्क गर्न थाली।
‘मलाई तिमीसँग कुरा नगरी चित्तै बुझ्न छोड्यो’, ऊ बारम्बार भन्थी।
म पनि उसको कुराले उत्साहित बन्थें। मैले पनि कल्पनामै आकासको उडान सुरू गरेको थिएँ।
देखभेट नै नगरेको विदेशीसँग अनलाइनका माध्यमबाट ज्यादा हिमचिम बढाउनु राम्रो कि नराम्रो मैले खुट्याउन आवश्यक ठानिनँ।
उसले आफ्नो परिवारका बारेमा पनि बताएकी थिई।
‘एउटा दाजु र एउटा बहिनी छन्। आमाको निधन भैसकेको छ। बुवाले असाध्यै माया गर्नुहुन्छ’ उसले मलाई बताएकी थिई।
एक दिन उसले अरु बेलाभन्दा अलिक निराशभावमा कुराको सुरूआत गरी। उसले बुवा जेलमा भएको सुनाई। म छक्क परें र कारण सोधें।
‘केही उच्च सैन्य अधिकृतसँगै मेरो बाबालाई सरकारले विभिन्न अभियोग लगाई जेलमा राखेको छ। उनीहरूलाई देशद्रोहको मुद्दा चलाइएको छ। तर मेरो बाबा निर्दाष हुनुहुन्छ। छुट्नु भयो भने उहाँको पुनर्बहाली अवश्य हुनेछ’, उसले भनी।
‘पिर नगर, सबै ठीक हुन्छ। तिम्रो बाबाको सकुशल रिहाइको लागि भगवानसँग प्रार्थना छ’, मैले उसलाई सान्त्वना दिएँ।
***
केही दिनपछि फेरि एडिथको मेल आयो।
मेलमा दक्षिणी सुडानको दर्दनाक स्थितिको बारेमा उल्लेख गरेकी थिई। उसको बाबालाई जेलबाट छुटाउन केही रकम नपुगेकोले सहयोगको लागि अनुरोध गरेकी थिई।
आफूसँग अचल सम्पत्ति प्रशस्तै भएको तर बैंक ग्यारेन्टीका लागि तत्कालै रकम चाहिएकाले बीस हजार डलर सहयोगको याचना गरेकी थिई। मेरो कुरा विश्वास नभए यो नम्बरमा सम्पर्क गरेर बुझ्न सक्छौ भनेर लामो फोन नम्बर पनि लेखेकी थिई।
उसको कुरा पढेर म छक्क परें। नपत्याउने कुनै आधार थिएन। तर बीस हजार डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा करिब बीस लाखजति हुन्थ्यो। यत्रो रकम मेरो सामर्थ्यभित्र पर्दैनथ्यो।
साँच्चै भन्ने हो भने त्यति रकम मैले आजसम्म एकैपटक छोएको पनि थिइनँ। जसरी गोरो छाला भएका सबैलाई हामी अथाह धनी देख्छौं,त्यसैगरी उसले पनि मलाई करोडपति सम्झेकी होली।
अर्को कुरा फेसबुक र मेलमा एकदुई महिना कुराकानी हुँदैमा त्यत्रो रकम पठाउने मूर्खता कुन सम्पत्तिवालले गरोस्।
उसले योभन्दा अगाडिको मेलमा आफू अविवाहित भएको कुरा सुनाएकी थिई।
एडिथले मसँग बिहे गर्ने प्रस्ताव गरेकी थिई। नत्र भए उसको व्यवसायिक साझेदार बनाउने प्रस्ताव गरेकी थिई। केही महिनामा उसको पाँच लाख डलर आउने कुरा पनि बताई।
त्यसपछि व्यवसाय सुरू गर्ने र मैले पठाएको रकम सेयरमा बदल्दिने प्रस्ताव समेत लेख्न भ्याइछ। जसरी भए पनि मबाट पैसा फुत्काउनका लागि अनेक प्रलोभन देखाएकी हुन सक्थ्यो।
मैले उसको मेल दोहोर्याएर पढें। त्यसमा प्रत्येक शब्दशब्दमा उसको पीडा पोखिएको थियो।
प्रत्येक शब्दशब्दमा उसको याचना र भविष्यका लागि मलाई देखाइएको सपना थियो। केहीबेर म घोरिएँ। खिन्न भएँ। किनकि एक जना साथी जो अथाह समस्याको दहमा डुबेकी थिई, अनि त्यहाँबाट पार हुन मेरो हात मागिरेहकी थिई।
मेरो मन र मस्तिष्कबीच जोडसँग अन्तर्द्वन्द्व पैदा भयो।
मनले अहिल्यै पैसा पठाइ दिऊ भन्यो।
मस्तिष्कले कुरै नबुझी भावनामा बहकियो भने दु:ख पाइन्छ भन्यो।
अन्ततः मस्तिष्कै जित भयो। किनकि मनले अह्राएजस्तो उसलाई सहयोग गर्ने हैसियत मेरो थिएन।
मैले उसको तत्काल जवाफ पठाइनँ। बेलुका फेरि उसले मेरो फेसबुक मेसेन्जर उही कुरा झिकी। मैले खासै प्रस्ट कुरा गरिनँ।
बेलुका ओछ्यानमा पल्टिएँ । एडिथकै कालोकालो मुस्कुराइरहेको चेप्टो अनुहार झुल्कियो। सोचें ,एउटा समस्यामा परेको मान्छेलाई अल्मल्याउनु हुँदैन प्रस्ट भनिदिनुपर्छ। उठेर ल्यापटप खोलेर मेल गरें। मैले मेरो आर्थिक अवस्थाको बारेमा सामान्य रूपमा उल्लेख गरें।
‘म अहिले तिमीलाई भावनाले सहयोग गर्न सक्छु। शब्दले ढाडस दिएर सहयोग गर्न सक्छु तर पैसा पठाएर सहयोग गर्ने अवस्थामा छैन। हेर एडिथ, तिमी हरेस नखाऊ। तिमीले भनेझैं समस्यामा छौ भने पनि धैर्य गर, सब ठीक हुन्छ।
विवाह र पैसालाई शर्त बनाएर तिम्रो र मेरो सम्बन्ध अघि बढ्दैन। दुई गोलार्धका दुई प्राणी हामीबीच न भाषा मिल्छ ,न रङ मिल्छ , न जात मिल्छ ,न धर्म मिल्छ तै पनि हामी बीचको मानव मन मिल्छ, हाम्रो भावना मिल्छ। हाम्रो मित्रताको आधार यही हुन सक्छ।’
मैले मेरो टुटेफुटेको अंग्रेजीका प्रयोग गरेर लेखें।
त्यसपछि केही दिनसम्म
रहेकी एडिथसँग मेरो सम्पर्क भएन। मसँग ऊ रिसाई होला भन्ने ठानें ।
त्यसको दश दिनजति पछि फेरि ऊ फेसबुकमा जोडिई। मैले उसको बुवाको कुरा के भो भनेर जिज्ञासा राखें।
उसले हाहाहा.... हाँसेको इमोजी पठाई। मलाई अलिअलि रिस उठ्यो।
मैले कुनै प्रतिक्रिया देखाइनँ।
उसले फेरि भनी,‘तिमीलाई मैले दिमाग चाटें माफ गर है। म कुनै उच्च पदस्थ सैनिककी छोरी हैन। खासमा म दक्षिणी सुडानबाट शरणार्थीका रूपमा इजिप्टमा आएकी युवती हुँ।
यहाँका मात्र होइन संसारका धेरै मानिसले फेसबुक , इमेलजस्ता माध्यमबाट मानिसहरूलाई भावनामा डुबाएर पैसा पठाइ माग्ने काम गर्छन। म साँच्चै आर्थिक चरम संकट भोगिरहेकी व्यक्ति हुँ। मैले पनि मेरा साथीलेझैं पैसाका लागि तिमीलाई फसाएकी थिएँ। तर मेरो बल्छीमा त माछा परेन भ्यागुतो परेछ।’
उसले फेरि उही उन्मुक्त हाँसोको सङ्केत स्वरूप तीन वटा हाहाहा पठाई। म जिल्ल परें। मनलाई मस्तिष्कले भनेकोको कुरा साँचो रहेछ।
उसले फेरि लेखी, ‘तर केही छैन। अब म तिमीबाट पैसाको आशा राख्दिनँ। तिमी र असल साथी बन्न सक्छौं।’
तिम्रो मेसेज पढेपछि पैसा नआउने भो भनेर म निराश बनेकी थिएँ। तिमीप्रतिको मोहभंग भएथ्यो। तर मैले तिमीलाई भुल्न सकिनँ।
स्वार्थबस् गाँसेको मित्रताको सम्बन्ध मैले थाहै नपाई गाढा भइसकेछ। तिम्रो निर्दोष अनुहार सम्झेर रिस होइन माया पो लाग्न थाल्यो। अब पैसाको कुरा छाडिदेऊ। विवाहका कुरा छाडिदेऊ, तिमी र म असल साथी बनेर आआफ्ना सुखदुख एक अर्कालाई बाँडौं।’ उसले म्यासेजमा लेखेकी थिई।
त्यसदिनदेखि एडिथ र म उसकै शब्दमा असल साथी बन्यौं।
ऊसँग मेरो फेसबुक र इमेलमा कुराकानी हुन्थ्यो। एक दिन एक्कासि उसले यस्तो लेखी , ‘दक्षिणी सुडानमा गृहयुद्ध चलिरहेको छ। तिमी गृहयुद्धको दुष्परिणामको अनुमान लगाउन सक्छौ? युद्धमा मानवता भन्ने चिज नामेट हुँदो रहेछ। मानिस कोमल मनको हैन पाषाणहृदयी हुँदो रहेछ।’
उसका विना प्रसंगको कुराले म झसंग भएँ।
गृहयुद्ध भन्ने शब्द नै विश्मयकारी छ। यसबाट मानवले दु:ख भोग्नुपर्छ। डेढ दशकअघि हामी नेपालीले पनि यस्तै युद्धको सानोतिनो अभ्याससँग परिचित हुने कष्ट उठाएका थियौं। त्यो बेला मान्छेले भोगेको अनेक पीडा मेरा मनमा सल्बलाए। सर्वसाधारण मानिसहरूले विद्रोही र राज्य दुवै पक्षबाट चेपुवामा परेर सास्ती पाएका थिए।
उसले अगाडि लेखेकी थिई , ‘सुडानमा सैनिक विद्रोह गरी सन् १९८९ मा सत्तामा आएका राष्ट्रपति बसारले निरङ्कुश तन्त्र चलाए।
उनको तानाशाही शैलीको शासनले देश गृहयुद्धमा होमियो। उत्तरी भागमा बसोबास गर्ने बहुसङ्ख्यक मुसलमान र दक्षिणी भागमा बसोबास गर्ने अल्पसङ्ख्यक इसाईबीच भीषण युद्ध भयो।
यो युद्धमा १५ लाख मानिसले ज्यान गुमाए। अन्ततः मुलुक टुक्रियो। सन् २०११ मा सुडान र दक्षिणी सुडान दुई अलग अलग राष्ट्र बने।’
उसले अझै अगाडि लेखेकी थिई,‘लाखौं मानिसको बलिदानी सङ्घर्षपछि दक्षिण सुडान स्वतन्त्र त भयो तर पनि यहाँ शान्ति छाएन। शान्तिपूर्ण जीवन जिउने नागरिकको अभिलाषामा तुषारापात भयो। स्वतन्त्रताका लागि मिलेर लडेका डिंका जातिका राष्ट्रपति साल्भा कीर र न्यूर जातिका उपराष्ट्रपति रीक माशरले दुई वर्षभन्दा बढी मिलेर काम गर्न सकेनन्।
राष्ट्रपतिले उपराष्ट्रपतिलाई पदबाट हटाइदिए। त्यही बेलादेखि दुई जाति,दुई समूहबीचको संर्घष भड्कियो। लाखौं मानिस मारिए। २० लाखभन्दा बढी मानिस घरबारविहीन हुन बाध्य भए।
दक्षिण सुडानमा मुख्य जातिका रूपमा पैतीस प्रतिशत जति डिङ्का र पन्ध्र प्रतिशत जति न्युर छन्। त्यसपछि क्रमश शिलुक, अजान्डे, बारी, काक्वा, कुकुलगायतका जातिका मानिसको बसोबास छ। त्यही जातीय विविधिता नै अहिले दक्षिण सुडानका लागि अभिशाप सावित भइरहेको छ।
विशेषगरी डिंका र न्युर दुई समुदायका काला जातिका मानिसबीच घृणा यति चरम छ किन एउटालाई देख्दा अर्काले आफूलाई नियन्त्रण गर्नै सक्दैन।
एक करोड बीस लाख जनसङ्ख्यामध्ये सम्भवत यस्तो कुनै परिवार छैन, जसलाई जातीय द्वन्द्वले नछोएको होस्। युद्धकै कारण दक्षिणी सुडानको औसत आय ५४ वर्षमा सीमित छ। साक्षरता प्रतिशत पनि २७ प्रतिशतको हाराहारी मात्र।’
मैले गुगल म्यापमा दक्षिणी सुडान खोजें। मध्य अफ्रिकाको सुडानको दक्षिणमा युगान्डा, केन्या, मध्य अफ्रिकी गणतन्त्र र कङ्गोलाई छिमेकी बनाएर बसेको विश्वकै सम्भवत् कान्छो अभागी मुलुक अँध्यारो मुहार लगाएर टुक्रुक्क बसेझैं लाग्यो।
एडिथले मलाई केही दिन बिराएर दक्षिण सुडानका बारेमा लेख्ने गर्थी।
अर्को दिन उसको मुलुकमा भएका घोर अमानीवय घटनाहरू हत्या हिंसा र बलात्कारका बारेमा लेखेर पठाई। त्यो पढ्दा म अत्यासले काँपेको थिएँ। इमेलमा उसले अनेक कहाली लाग्दा घटना उल्लेख गरेकी थिई।
‘द्वन्द्वको चपेटामा परेका मान्छेको अत्यासलाग्दो कहानी पचाउन तिम्रो मुटु कतिको बलियो छ? मलाई थाहा छैन। तै पनि तिमीलाई बताउँछु, सुन।’
यति पढेर म रोकिएँ।
दक्षिण सुडान आर्थिक सूचक र भौतिक विकासका दृष्टिले पिछडिएको मुलुक हो।
यस्तै पिछडिएका मुलुकहरू अनेक खाले द्वन्द्वको चपेटामा परेका छन्। द्वन्द्वमा खासगरी महिला र बालबालिकाले भोगेका दुसाध्य पीडाको कुनै लेखाजोखा हुँदैन।
संसारमा युद्धका कारण लाखौं मानिसको जीवन चङ्गाझैं चुँडिएको छ। करोडौं मानिसको घरबार छिन्नभिन्न भएको छ। धेरै मानिसले नारकीय हिंसाको शिकार हुनु परेको छ। यस्तैयस्तै कुरा दिमागमा सल्बलाए।
मैले पुनः उसको मेल पढ्न सुरू गरें।
उसले लेखेकी थिई, ‘दक्षिणी सुडानमा महिलाको अस्मिताको कुनै मूल्य छैन। विद्रोही सैनिक र सरकार समर्थित सैनिक हत्या, हिंसा,लुटपाट र बलात्कारका मुख्य कारक देखिएका छन्।
महिला र बालिका ज्यादा जोखिममा छन्। बाबुलाई खाँबामा बाँधेर पत्नी र छोरीलाई निर्वस्त्र पारेर पालैपालो बलात्कार गरेको हेर्नुपर्दा कुन पुरूषलाई आफ्नै आँखा फोडू जस्तो नलाग्ला?
यहाँ पीडक बेलगाम आफ्ना कुकृत्यको नाङ्गो नृत्य प्रदर्शन गर्दा पीडित बेसहारा बनेर छटपटाउनुको कुनै विकल्प छैन।
एउटा घटनामा केही व्यक्तिहरूले एक जना पुरूष, एक महिला र दुई किशोरीमाथि आक्रमण गरे। पुरूषलाई कुटपिट गरी लखेटियो। त्यसपछि महिला र दुवै बालिकालाई कुटेर हलचन गर्न नसक्ने बनाएपछि बलात्कार गरे।
चार महिने शिशुलाई दुध खुवाइरहेकी आमालाई सरकारी सुरक्षा बलका अधिकारीले सामूहिक बलात्कार गरे। बलात्कारपछि आमा र बच्चालाई जिउँदै जलाए।
यस्ता घटना दक्षिणी सुडानमा सामान्य रूपमा दिनहुँ घटिइरहेका हुन्छन्। यौनपिपासुका आपराधिक घटना सुन्दा सायद यमराजको पनि मुटु काम्छ होला।’
‘दक्षिणी सुडानमा सेनाका लडाकुलाई तलब दिन नसकेर सरकारले नै महिलालाई बलात्कार गर्ने अनुमति दिइएको छ भन्ने हल्ला सर्वत्र व्याप्त छ। त्यसैले यहाँ कुनै महिला सुरक्षित छैनन्। यहाँ पासविक बलात्कारको सिकार हुनु नपरेका कुनै महिला विरलै मात्र भेटिन्छन्’उसले लेखेकी थिई।
‘भो, आज यहाँभन्दा ज्यादा लेख्न सकिनँ। शायद यो पढ्दै गर्दा तिम्रो मन र मस्तिष्क नराम्ररी बिथोलिएको होला। तिमीलाई यहाँभन्दा धेरै दुखाउन चाहन्नँ।’
पढेर मेरो मुटु टुक्रियो, श्वास बन्द भयो। हतभागी मान्छेका करुण चित्कार शब्दशब्दमा प्रतिध्वनित भइरहेको अनुभव भयो। पढेर म जड बनें। मानिसले कतिसम्म दुर्नियति भोग्न बाध्य हुनुपर्छ भन्ने कुरा थाहा पाउँदा म लल्याकलुलुक बनें ।
मेरो मुटुको धडकन तीव्र गतिमा चलिरहेको थियो। लामो श्वास फेरें। पाँच मिनेटजति घोसे मुन्टो लगाएँ। ल्यापटप बन्द गरें। शरीर पानीजस्तै चिसो भयो। उठेँ ,तर काममा जाँगर चलेन।
बेलुकाको खाना खान पनि खासै मन भएन। ओछ्यानमा पल्टिएँ तर निद्रा आएन। उही दिउँसो पढेका कारुणिक शब्द जघन्य अपराधका दृश्यमा परिणत भए। धेरैबेर कोल्टो फेर्दाफेदा बल्लतल्ल कुन बेला निदाउँन पुगेछु।
दुई तीन दिनपछि मैले नै फेसबुकमा एडिथलाई मेसेज गरें , ‘खाना खायौ?’
‘अँ पकाउँदैछु।’
‘तिम्रो देशको दूरावस्था देखेर धेरै दु:ख लाग्यो। तिम्रो भोगाइप्रति सहानुभूति छ।’
अर्को दिन फेरि उसको मेल आयो।
मेलमा लेखेकी थिई,‘उर्वरा जमिन, परिश्रमी जनता, मिलेको भूगोल र प्रशस्त तेल खानी भएको अफ्रिकी मुलुक अहिले जर्जर छ। मान्छेलाई गरिखान जाँगर छैन। मर्न पनि सक्दैनन्। बाँच्न पनि गाह्रो छ। दक्षिण सुडानमा अनिकाल व्याप्त छ। बालबालिका कुपोषणको चरम सिकार बनेका छन्। सुकेका जीउमाथि जोडिएको अस्वभाविक टाउकोले बालबालिकाको दुरावस्था छर्लङ्ग पारेको छ। बालबच्चाका नाङ्गा शरीरमा करङ प्रष्टै गन्न सकिन्छ।
सुडानका लगभग चालिस लाख नागरिकले चरम आर्थिक संकट भोगिरहेका छन्।
एकातिर भोकमरी,अर्कोतिर असुरक्षा। योभन्दा ठूलो संकट मानव जीवनमा के आइपर्ला र? मेरा काका ,मामा , सानिमा आदि आफन्तहरूले दक्षिणी सुडानमा भोगिरहेको दर्दनाक यथार्थ हो यो।
धेरै अभागीहरू बाँच्ने जिजीविशाले छिमेकी मुलुकमा शरणार्थी जीवन बिताउन बाध्य छन्। तिनै अभागीहरू मध्येकी एक हुँ म।
त्यही गृहयुद्धमा मेरी आमाको बलात्कारपछि हत्या भयो। दाजुलाई गोलीले उडाइदिए।
अहिले मेरो परिवारका पाँच जनामध्ये मेरो बुबा र म मात्र जीवित छौं। हाम्रो जीवनको रंगीन सपना उजाड भइसकेको छ। विद्रोहीहरूले भत्काएर भग्नावशेष बनेको घरजस्तै मेरो मन पनि भत्किएर खण्डहर भइसकेको छ।
यतिका कुरा बताइसकेपछि अरु के लुकाउनु र तिमीलाई। अझै एकपल्ट सुन्न आँट गर, म आफैं पन्ध्र वर्षको उमेरमा छ जना विद्रोहीहरूको सामूहिक बलात्कारको सिकार भएँ।
उनीहरूले मलाई घिसारेर बारीमा ल्याए। लगाएको लुगा च्यातिदिए। अनि पालैपालो ती पापीहरूले भोगे। बलात्कारकै क्रममा म पीडा सहन नसकेर बेहोस भएँ। मरेको ठानेर ती नरपिशाचहरूले मलाई छोडेर गएका थिए। सम्झिन्छु , म त्यही बेला किन मरिनँ। यो घटना सम्झिँदा मेरो शरीरको रगत भकभक उम्लिन्छ।’
उसको लेखाइ अझै सकिएको थिएन। पढ्दापढ्दै मेरा आँखा अघि रसाइसकेका रहेछन्। छेवैको तौलिया उठाएर पुछें।
‘हत्या ,बलात्कार र लुटपाट दक्षिणी सुडानको पर्याय बनेका छन्। यहाँको राजधानी सहर जुवा पनि मसानघाट सरह उदास र उराठ लाग्दो छ। धेरै मरिसके,धेरै शरणार्थी बने।
मानिसहरू पातलिएका छन्। उनीहरू घर बाहिर प्राय: कमै निस्किन्छन्। यहाँका सम्पन्न भनिने मानिस पनि खान पाउने आशमा आन्तरिक शरणार्थी शिविरमा खचाखच छन्।
जिउ ज्यानको सुरक्षा र बाँच्नका लागि पेट भर्ने समस्यामा अल्झेका दक्षिणी सुडानका नागरिकका लागि भौतिक विकास भन्ने कुरा त धेरै टाढाको कुरा हो।’
म उसको कथा पढेर स्तब्ध भएँ। गला अवरुद्ध भो। रिङ्गटा लागेर आँखा चिम्म गरें। एक हप्तादेखि दक्षिणी सुडानको कथा व्यथाले म नराम्ररी गिजाोलिन पुगें। मलाई एडिथको औधी माया लागेर आयो।
‘मेरो प्यारो साथी ! तिमीलाई मेरो र मेरो मुलुकको बारेमा जान्ने इच्छा थियो। अब त थाहा पायौ। हेर युद्धजस्तो विश्मयकारी चिज केही हुँदो रहेनछ।
यसले मान्छेको मनबाट कोमलता भन्ने चिज नै हरण गरिदिँदो रहेछ। मैले सर्वस्व गुमाएँ, यहीँ गृहयुद्धमा परेर। गृहयुद्धको कालो छायामा मजस्ता लाखौं युवायुवतीहरूको कल्कलाउँदो जीवन असमयमै निमोठियो।
‘तिम्रो देशमा त सबै जाति मिलेरै बसेका होलान्। शान्ति होला’, उसले लेखेकी थिई।
विभिन्न जाति मिलेर बसे भने फूलवारीको सुगन्ध कायम हुन्छ। बेमेल बढे,घृणा फैलिए कुरूक्षेत्रको दुर्दशा भोग्नुपर्दो रहेछ। धन्न हाम्रो मुलुक भने छोटै समयमा यो रोगबाट मुक्त हुन सक्यो। मेरो मुहारमा प्रसन्नता झल्कियो।
त्यस दिनपछि पनि ऊसँग मेरो कुराकानी सम्पर्क भइरहन्थ्यो। उसले आफ्ना बारेमा अनेक बताइरहन्थी।
‘जीवनमा माया गर्ने लोग्ने होस्। आफ्नै परिवार होस् अनि ओत लाग्ने सानो भए पनि घर होस् अरु केही चाहिँदैन भनेकी थिई।’उसले वैवाहिक जीवनमा रमाउने सपना हृदयभरि सजाएकी थिई।
दुई वर्षअघि उसको यो इच्छा साकार भएको थियो। ऊभन्दा केही वर्ष पाको जस्तो देखिने कालो हप्सी केटासँग अँगालो हालेका केही फोटा पठाएर विवाह गरेको जानकारी दिएकी थिई।
उसको बिहेका तस्विर हेर्दा मलाई आफ्नै चेली सुखद दाम्पत्य जीवनमा बाँधिएको अनुभूति भएको थियो।
त्यहीँ हतभागी नारीले विदेशी भूमिमा पुत्री लाभ गरेकी थिई। ऊ आफ्नो परिवारसहित आफ्नै मुलुकमा फर्किन चाहन्थी।
पुरानो घरको भग्नावशेषमा सानो नयाँ घर ठड्याएर आफ्नै खेतबारीलाई खनी खोस्री गरेर जीवनयापन गर्ने उसको धोको चाँडै पूरा होस् भन्ने कामना गरें।