म हुर्किदै गर्दा नगरपालिका कार्यालय अघि धनगढीमा सब्जिमन्डी हुने गर्थ्यो। त्याहाँ प्रायः मधेशी मुलका व्यापारीहरु हुन्थे। त्यही इस्लाम मुलका मासु पसलहरु नि हुन्थे। प्रायः मेरो वरपरका धनगढी बासीहरु त्यही तरकारी किन्न जन्थे। मासु पनि त्यहीको खाने गर्थे। हामी स्कुल त्यही बटो हिँड्नु पर्थ्यो अनि सब्जिमन्डीको दृश्य, मासु पसलहरु प्रायः सधैजसो देखिन्थ्यो।
त्यहाँ स-सना आस्थायी टहराहरु, स-साना माटोले लिपेका घरहरु हुन्थे। पछि तरकारी व्यवसायमा त्यहीका विशेषगरी थारुहरु, र अन्य स्थानीयहरु पनि लाग्न थाले। सब्जिमन्डीभन्दा हाटबजार बढी प्रचलित हुन थल्यो। तर अझै केही सब्जी पसलहरु, टहराहरु, र मासु पसलहरु त्यहाँ थिए र छन्।
स्कुल सकेपछि म शिक्षक पेशामा लागेँ। धनगढीको निजी शैक्षिक संस्थाहरुले शिक्षकहरुलाई निकै पेल्थे। लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक लाब्धांक हेरेर धेरै मध्य कुनैलाई छनौट गर्थे। छनौट भएको दिन के-के न भा'को जस्तो लाग्थ्यो। महिना मर्दा थाहा हुन्थ्यो, तलब पाइन्थेन।
अनि कतिपय अवस्थामा छ महिना, वा त्योभन्दा बढीको तलब पाइन्थेन। अझ कहिले त कत्ति नि पाइन्थेन।
त्यस ताका माओवादी जनयुद्ध पनि उत्कर्षमा थियो। घरि-घरि, घर भित्रबाट पनि गोली चलेका आवाजहरु, बम पड्किएका आवाजहरु सुनिन्थे। हामी खाटमुनि लुक्थ्यौँ। प्रहरीलाई त कोठा भाडा नै पाइन्थेन।
हाम्रो घरअघि एकदिन छिमेकमा डेरा गरि बसेका एक प्रहरीलाई भात खानको लागि हात धुन बाहिर आउदा, माओवादीहरुले सडकमा बोलाई 'ड्याङ्! ड्याङ्! ड्याङ्!' तीन गोली ठोकेर मारेको मैले आफ्नै आँखाले देखेको थिए।
मलाई सपना जस्तै लगेको थियो। मन्छेको ज्यान त्यति सस्तो र सजिलो भएको देखेर। नजिकै दुई मिनेटको दूरीमा प्रहरी चौकी थियो। तर घटना भएको निकै समयसम्म कोही त्यहाँ आएनन्। माओवादीहरु साइकलमा भागेका थिए। मेरो मम्मीले गाई डोर्याउदै गर्दा नजिकबाट देख्नु भएछ।
भुइँमा लडेको प्रहरीलाई सहयोग गर्न खोज्दा मम्मीलाई नि बन्दुक तेर्स्याएका थिए। सम्भवत: मेरो मम्मीले नै सबैलाई बोलाएर 'अस्पताल लग बचिहाल्छन् कि' भन्नु भएको थियो। त्यस दिनदेखि मम्मी केही महिनासम्म आफै मानसिक तनावबाट गुज्रनु भयो। घर नजिक कोही नौलो मन्छे आउदा उहाँ 'माओवादी मार्न पो आएकी' जस्तो सोच्नु हुन्थ्यो।
एक रात फेरि गोली चल्यो। हामी खाटमुनि लुक्यौँ। खाटमुनि लुक्नुको कारण ‘गोली भित्ताबाट छिरेपनि भुइँमा सुतेको, त्यसमाथि खाटमुनि लुक्दा बाचिन्छ’ भन्ने अनुमान थियो। रातभरी गोलीको आवजमा निद्रा परेन।
कहाँ के भयो, कति मान्छे मरे? केही थाहा भएन। भोलिपल्ट स्कुलमा पढाउन नि’ जानु थियो। बिहान खाना खाएर स्कुल तर्फ हानियो। स्कुल पुगेपछि थाहा भयो, त्यतिबेला कक्षा युकेजीमा पढ्ने मेरो विद्यार्थी ‘ज्योती’ को निधन भएको खबर सुनियो। म स्तब्ध भए। घटनाको प्रकृती सुन्दा मन भारी भयो।
त्यो रात चलेको गोलीहरु मध्य एक गोलीले त्यो अबोध बालिकालाई पनि चिर निद्रामा सुताएको थियो। उस्को परिवार त्यही सब्जिमन्डी छेउछाउका माटोका घरमा बस्थे। सायद तरकारी व्यापार गर्थे। गोलीचल्दा सायद खाटमुनि पनि लुके होलान्। तर त्यो अबोध बालिकालाई अस्ताउने गोलीलाई, त्यो माटोको भित्ताले छेक्न सकेन।
सुनेँ, उसले 'ऐया' पनि भनिन। उ निद्रामै थिई। नगरपालिकामा आक्रमण भएको रहेछ। अरु पनि मारिए। तर मलाई त्यो अबोध मृत्युले अझै झस्काइ रहन्छ। दोहोरो गोलीको शिकार त्यस वस्तीका मानिसहरु भएछन्।
गर्मी महिना थियो। गोली भित्ताबाट छिरेर छोरी अस्ताइ सकेकी थिई। आमाबाबुले बिहान मात्र पत्तो पाए। अध्यारोमा छाम्दा चिसो त लागेको थियो, तर पसिना सम्झिएर वास्ता गरेनछन्। बिहान भएपछि मात्र थाहा भयो उनीहरुको काखको घाम, बिना कारण जनयुद्धले खोसिसकेछ। उनीहरुले रातो रगतलाई पसिना सम्झेछन्।