आमा !
तपाईंलाई क्यै नकिनेको नि
कति भो कति !
यसपालिको दसैं पनि...!
उऽऽऽस् !
काँ जान्चु र म
तिमरू हिन्न पर्नि मन्छे
तिमरूलाई ल्याओ न
चोलो त फेरम् न आमा !
पर्दैन क्या, नयैं छ परारकै
ओहोरै सजिलो छ
जीउमा कतै टोक्तैन ।
ओई कान्छा
ओई नानी !
काँ गए यिनीहरू
आओ न
खान जाओ त
तिमरू खाओ
अनि खाम्ला म ।
हामी अघाएपछि
खान बस्नी आमा
डाडूपन्यूँको लयले थाहा हुन्थ्यो
आमालाई पर्याप्त छैन
अपार शक्ति प्रेमको !
आमा त सन्तोषैले अघाउनी ।
रात परेपछि
थाङ्नाथरा बटुलेर
ओछयान लाउँदा
कठै !
आमा भैंमा
हामी थाङ्नामा
हाम्लाई च्यादर
आमालाई उही
फरियाको फेर ।
यिनै हैनन् आमाहरू
अदम्य साहसका सगरमाथाहरू
यै हैन
आमाको परिचय ?
फरक छुट्टयाइरहेछु आज
घरकी आमा अनि
यो देशकी आमा
एउटी साँच्चिकै आमा
अर्की ख्यालख्यालकी आमा !
जन्म दिएर मात्र हैन
आमा त भावनाले पनि बनिन्छ
एउटी आमा
कसरी पाषाण हुन सक्छे ?
आमाभित्र त
हृदय हुन्छ नौनीजस्तै
धैर्य हुन्छ पहाडजस्तै
विशाल छाती हुन्छ
सगरजस्तै
सहन सक्ने शक्ति हुन्छ
धर्तीजस्तै
झलमल्ल प्रेम हुन्छ
हिमालजस्तै
तर,
हाम्री राष्ट्रिय आमाको हृदय
केले बनेको रैछ कुन्नि !
आज लाखौं सन्तानले
गास गनिरहँदा
आमा ! भोक लाग्यो भनिरहँदा
बेपरवाह कसरी ?
देश दुख्दा तिम्लाई दुखेन ?
बिरामी सन्तान
भैंसी गोठमा !
कसरी सुहाउला लाली
तिम्रा ती ओठमा ?
यति बेला गलत लागिरहेछ
यो श्लोक
‘कुपुत्रो जायत
क्वचिदपी कुमाता न भवति ।’
आमा
कुआमा कहिल्यै बन्न सक्दिनन् ।
तर,
जनताले गुन्द्री नपाउँदा
करोडको मखमली गलैंचामा
कसरी टेक्न सक्छयौ ?
वरिपरि आसेपासे
बडिगार्डले घेरिएर
साइरन बजाउँदै
राता कार्पेट ओच्छयाएका
सुग्घर बाटामा सवार हुने तिम्ले
कालो शिशा बन्द
करोडौंका गाडीबाट
भुइँमान्छे नि देख्छ्यौ र ?
शीतल निवासमा
शीतल तापेर बस्ने
तिमीलाई के थाहा
भोका पेटहरू
कसरी भत्भती पोल्छन्
भन्न त भन्छ्यौ,
‘भोकै कोही पर्दैन
भोकले कोही मर्दैन ।’
जनताको आँसु र पसिना
मिसिएको पैसाले किनेको
गलैंचामा बस्दा
स्नानगृह र शौचालयमा पस्दा
यिनै भोका र नाङ्गा जनताको
आँसु र पसिनाको बास्ना
बारम्बार नआओस् ।
महिनौंदेखि नबलेको चुलो हेर
आँसुले धोएको अनुहार हेर ।
यी दुःखका दिन सकिएपछि
केके फेर्नुपर्छ फेर
सुनेकै हौली
जनतालाई छैन खाना
मन्त्रीलाई
लाखौंको जिमखाना !
जनता रोगभन्दा पनि
भोकले मरिरहेछन्
तिमी त बडो
मीऽऽऽठो दिवा निन्द्रामा !
अब त
ब्युँझ र ओर्ल
राजसी ठाँटबाट ।
घाम पश्चिम पुगिसके
यस्तै हो भने
डुब्नै लागेको
दुई तिहाइको घाम
भोलि
फेरि उदाउने छैन ।
ख्याल गर !
चिसा अगेनाका ढुंगाहरू
हातहातमा बोकेर
निस्किएको भीडले
चिन्ने छैन
राष्ट्रपति भवन
सिंहदरबार
बालुवाटार
संसद
सांसद
गाउँगाउँ पसेका
स्याना सिंहदरबार !
भोको भीडले
पक्कै विद्रोह ल्याउनेछ
कोसीको बाँध भत्किएझैं
धैर्यको बाँध भत्कियो भने
आँसुको भेलमा
परैऽऽऽसम्म बग्नेछ नेपाल
र परिचय खोजिरहनेछौं हामी ।