वैशाखको महिना थियो। वर्षौझैँ बादलको गड्गडाहडसँगै पानीको झर्-झर्। आजको रात खासै खास त थिएन तर अरू दिनका जस्तो सामान्य पनि थिएन। घर वरिपरि ठडिएका आँपका रूखमा फलेका ती स-साना दानाहरूले गर्दा घरको छेउमा घर-जमाइ बसेको बिरालो र उसकी सानी छोरीका लागि मानौं हिँड्ने ठाउँ नै थिएन।
ती आँपका दाना पहिले पनि नझरेका हैनन्, आफ्नो भार थाम्न नसकेर वा आफ्नो हाँगासँगको रिसानीले। तर आज केही अलग थियो। न त भार, न त मन मुटाव। बाहिरी कुनै व्यक्तिले दुई जनाको बिछोड गराउन खोजेझैं।
समीर जोशी। काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाटको सानो गल्लीमा एउटा सानो कोठा लिएर पढिरहेको विद्यार्थी। जागिरका नाममा एउटा ल फर्म थियो। कोठाको भाडा तिर्न पुग्थ्यो उसलाई। वैशाख महिनामा १/२ साताको छुट्टी लिएर घर फर्केको थियो, महेन्द्रनगर।
वैशाखको महिना भएकाले उसको छुट्टीहरु आँप, लिच्ची, र तराईको चर्को घाममा गहुँ काट्न, चुट्नमै व्यतित भयो।
भोलि सोमबार ४ बजेको उसको काठमाडौँको टिकट थियो। त्यै कुरा सोच्दै राम्ररी सुत्न सकेको थिएन समीर। आखिर केही दिनको विश्रामपछि आमाबाट फेरि टाढिँदै थियो। बाहिरको झम्-झम् परिरहेको पानीका थोपासँगै चलिरहेका थिए उसका मनका भावनाहरू। उ सम्झिरहेको थियो, आमाले मदानीमा छाँच बनाउँदै गर्दा, नौनी बसाएका ती काखमा आफ्नो शिर बिसाई सुनेका सगुन र फागहरू।
भोलि ४ बजेको बस भएकाले समीर ३ बजे नै बसपार्कका लागि घर बाट हिँड्यो। काठमाडौँ जस्तो एकल सहरको यात्रा गर्दा धेरैले मुम्फली, पेठा, मिठाई झोलामा हाली लाने गर्दछन्। उसले पनि १-१ किलोका ३ पोका बाँध्यो। उसको एकल सहरको सहाराका लागि। उसको सिट नं. थियो 'ए-५'।
उसको सिटमा अर्कैले झोला राखेको थियो। सबै विद्यार्थी घरबाट फर्किने मौसम भएकाले कोचाकोच थियो बसमा। एक-दुई चोटि सिटका लागि झगडा भएन भने खल्लो लाग्थ्यो। धेरै परिश्रमका पश्चात, समीरले आफ्नो सिट जितेरै छोड्यो। उसको छेउको सिट पनि खाली नै थियो। ४ बजेको बस ५ बजे काठमाडौँका लागि छुट्यो।
ठाउँठाउँमा मान्छे थपिने क्रम जारी नै थियो। मान्छेभन्दा पनि 'काक्रो-काक्रो, तितोरा'भन्दै हात र कम्मरका बीचमा पानीका बोतल झुन्ड्याई हिँडिरहेका स-साना बच्चाहरूको भीड थियो। बस अत्तरिया भन्ने ठाउँमा पेट्रोल भरि केही समय रोक्यो, फेरि हिँड्यो। समीर आँखा बन्द गरी बसको भित्तामा आफ्नो टाउको ठड्याई भित्र बाहिरको हल्ला सुनिरहेको थियो। धेरै पर नपुग्दै बस फेरि रोकियो।
'ब्याग हटाउनुस् न, हेलो हेलो'भन्दै बोलिरहेको आवाज समीरको कानमा गुन्जियो। को रहेछ भन्दै आँखा खोलेको उसको नजर, आफ्नो अगाडि करिब २०-२२ वर्षकी, काँधमा ल्यापटप ब्याग बोकेकी सुन्दर स्त्रीमा पर्यो। आफैँलाई बोलाएको अनुभूति गर्यो उसले। आफ्नो ब्याग हटाउँदै समीरले उसलाई बस्ने ठाउँ बनाइदियो।
धनगढीबाट लम्की पुग्दासम्म उनीहरूबीच कुनै संवाद हुन सकेको थिएन। समीर उसँग बोल्ने इच्छा गरिरहेको थियो तर लजालु स्वभावको भएकाले आँट गर्न सकेको थिएन उसले। कर्णालीको चिसो हावा झ्यालबाट भित्रै छाउन थाल्यो। 'माछा खाने माछा'भन्दै बस भित्रबाहिर हातमा ठूलो टोकरी र त्यस माथि लामा-लामा पोलेका कर्णालीका माछा बोकी त्यहाँका माछीहरू आउँदै जाँदै गरिरहेका थिए।
समीरलाई कर्णालीका माछा एकदम मनपर्ने। पहिले बाबा आमासँग जाँदा, बच्चाझै जिद्धी गर्थ्यो ती माछा खान।
'एक्सक्युज मी, माछा खानुहुन्छ हजुर?'भन्दै समीरले आफ्नो कथाको पहिलो शब्द लेख्न सफल भयो।
'अहँ नखानी म'उत्तर आयो।
एक्लै खान राम्रो लगिरहेको थिएन उसलाई। उसले पुनः भन्यो, 'खानुस् न, कर्णालीको माछा एकदम मीठो हुन्छ।'
उत्तरको प्रतिक्षा नगरी उसले दुई वटा माछा माग्यो माछीलाई। लजालु अनुहार बनाएर समात्न बाध्य भइन् उनी।
'थ्याङ्क्यू'
'म समीर अनि हजुर?'
'सन्ध्या, सन्ध्या गुरुङ।'
बस्, यत्तिमै दुई जनाको संवादले विश्राम लियो। सन्ध्या धेरै नबोल्ने, लजालु जस्ती देखिन्थिन्। यस्तो लागिरहेको थियो कि उसलाई समीरमा कुनै रूचि नै थिएन। समीर देख्नमा खासै नराम्रो हैन। तर पनि सन्ध्याको ध्यान आकर्षण गर्न उ सकिरहेको थिएन।
सायद पहिलो भेट भएर पनि होला सन्ध्या खुल्न सकेकी थिइन्। उनीहरूकै पछाडिको सिटमा सानो बच्चा बोकेकी आमा बसेकी थिइन्। रोइरहेको त्यो बच्चाको आवाजले उसकी आमा मात्रै नभई लगभग सबै यात्रुलाई बाधा पुर्याइरहेको थियो। तर सन्ध्या त्यसमा रमाएकी देखिन्थिन्।
भन्छन् नारीहरूको साना बच्चाहरू प्रतिको लगाव छुट्टै हुन्छ रे। त्यही भएर होला, यता-उता कुनै कुराको ध्यान नदिई, सानो बच्चालाई आफ्नो मोवाइल दिएर, उसँग रमाइरहेकी थिइन्। समीर उनीहरूको ठट्याइलो व्यवहार हेर्दै, मसक्क मस्किँदै, बीचबीचमा बच्चालाई डराउलो नजरले हेर्दै हाँस्दै बसिरहेको थियो।
'रेलको झ्याल समातेर सँगै भागम्ला...'गीत पूरा नहुँदै, सुस्ताइरहेको बस एउटा किनारमा रोकियो। रातिको ९ बजिसकेको थियो। छेउमा १-२ वटा खुला पसलको उज्यालो बाहेक पूरै अन्धकार थियो वरिपरि। धेरै राति नभए पनि पूरै बस निन्द्रामा मग्न थियो।
'कोहलपुर पुग्यो है, झरम्-झरम् छिटो-छिटो खाना खाम्'भन्दै बस सञ्चालक जोरले बोल्दै, बसको ढोकामा ढक्ढकाउन थाल्यो। सन्ध्या, कानमा इयरफोन अनि आफ्नो चुन्नीले पूरै मुख बेरेर, आँखा बन्द राखी सिटमै बसिरहेको थिइन्। समीरलाई उसँग बोल्ने आँट अझै आइरहेको थिएन।
सन्ध्याको सुन्दर रूपलाई हेर्दै, मसक्क मस्किँदै बोल्ने प्रयत्न गरि नै रहेको थियो। यो पहिलो पटकको भेट भए पनि समीरलाई सन्ध्या कुनै नौलो केटी अवश्य लागिरहेकी थिइन। चिनेको धेरै नभए पनि, बच्चासँगको ठट्यौली व्यवहार अनि लजालु स्वभावले गर्दा, उ रूपजस्तै मनकी पनि एकदमै राम्री हुनपर्छ भन्ने सोच बनाइसकेको थियो।
'सन्ध्या जी! सन्ध्या जी, खाना खान जानुहुन्न?'
'हजुर'झसङ्ग उठ्दै सन्ध्याले जवाफ दिइन्।
'कोहलपुर पुग्यौँ, खाना खान जामर।'
आफ्नो कानको इयरफोन र अनुहार बेरेको चुन्नी निकाल्दै, उनी जानलाई तयार हुन थालिन्। ल्यापटप ब्याग नि आफू सँगै बोकिन्।
दुवै जना बसबाट ओर्लेर पसल तर्फ लागे।
'हजुर फ्रेस भएर आउनुस्, म यही हजुरको वेट गर्छु है। ब्याग दिनुस्, म समाइदिन्छु।'
सन्ध्याले कुनै सङ्कोच नमानी, समीरलाई हेर्दै आफ्नो ब्याग अनि निन्द्रायुक्त मधुर मुस्कान दिइन्।
खाना खाने बहानाले दुई जनाको कहानीले अझ गति लियो। सन्ध्या पनि खुलेर आफ्नो स्वभावमा आउन थालिन्। सायद दुबैलाई एकअर्कालाई जान्ने बुझ्ने मौका दिन कोहलपुरको आगमन भएको थियो।
सबै यात्रीलाई बस भित्र बसाइँ, आफ्नो गन्तव्य तर्फ लागे गुरुजी। बत्ती बन्द गरी, साउथ इन्डियन फिल्म चलिरहेको थियो, सधैझैँ। कोही निन्द्रामा मग्न थिए त कोही फिल्मको मज्जा लिइरहेका थिए। सन्ध्या र समीर पनि आफ्नै धुनमा व्यस्त थिए। अब उनीहरूलाई एकअर्का सँग बोल्न कुनै अप्ठ्यारो महशुस भइरहेको थिएन।
दुवैका बीच राम्रो परिचय भैसकेको थियो र सन्ध्याको ध्यान आकर्षण गर्न परिश्रम गरिराख्न परेको थिएन समीरलाई।
'के पढ्नु हुन्छ हजुर?'समीरले सोध्यो।
'विडिएस् गर्दैछु, अहिले अन्तिम वर्ष। अनि हजुर?'
'म मास्टर गर्दैछु 'ल'मा।'
'ओहो वकिल साबसँग पो बसेकी रहिछु'ठट्यौली पारामा सन्ध्याले भनिन्।
समीर केही नबोली केही क्षण मस्किदै केवल सन्ध्यालाई हेरिरह्यो। सन्ध्याको आँखा झट्ट समीरमा पर्यो र भनिन् 'के भयो वकिल साहेब, किन मस्किरहनु भएको?'
'यसपछि हाम्रो भेट कहिल्यै होला र सन्ध्या जी? 'भन्दै त्यो मुस्कान, उदासीपनमा परिणत भएको पत्तै भएन।
'किन त्यस्तो भन्नु भएको?'
खै किन समीर केही बोल्न सकेन।
'अनि मलाई 'हजुर'भनेर सम्वोदन नगरिस्यो ल, यू आर सीनियर टु मी'- सन्ध्याले थपिन्।
'हस् सन्ध्या'- मलिन स्वरमा समीरले उत्तर दियो।
अचानक समीरको मन किन पिरोलिरहेको थियो। कर्णालीको माछा अनि कोहलपुरको घन्टौंका गफगाफ, सम्झनामा आइरहेका थिए उसलाई। उसको सुन्दर रूपमा मोहित त भइनँ' भन्ने सोचहरू उसको दिमागमा हरबखत घुम्दै खेलिरहे। माया हावा जस्तै हो, जसलाई स्पर्श गरेको ज्ञात हुँदैन। माया मानव शरीरको हरेक कण हो, जसले जीवनलाई सार्थक तुल्याएको छ।
त्यसैले मायाले समय, परिस्थिति र परिवेश नहेर्दो रहेछ। उसलाई आफू सन्ध्याको सुन्दरतामा मोहित भएको डर थिएन। उसलाई डर थियो त केवल सन्ध्या र समाजको। सन्ध्या एक सुन्दर नारी थिइन्। के उनले मलाई माया गर्लिन् भन्ने पीर र यदि गरिनै हालिन् भने पनि उनी 'गुरुङ 'अनि म 'जोशी'।
यो उसका लागि संघर्ष थियो। संघर्ष, सन्ध्याको मनसँगको। संघर्ष आफ्नो परिवार अनि समाजको जातीय तथा पुरातन सोचसँगको। उसलाई आफ्नो कथा पनि सोमदत्त अनि सुम्निमा झैँ विलीन हुने डर थियो।
वेशाखको महिना भए पनि झ्यालबाट चिसो हावा आइनै रहेको थियो। वरिपरि वनजङ्गल अनि निकुञ्जहरू भएकाले समय समयमा आर्मीको चेकपोस्टमा बस रोकिराखेको थियो। समीर र सन्ध्यालाई खासै निन्द्रा लागिरहेको थिएन। दुवै जना बोल्ने मौका खोजिरहेका थिए।
जीवनको यथार्थ नै यस्तै रहेछ। बोल्न मन पर्ने वा बोल्न खोज्ने मान्छेसँग बोल्ने शीर्षक नमिल्दो रहेछ। त्यसैले त कयौँ प्रेमीहरूको कहानीमा सुरुआत नहुँदै पूर्णबिराम लाग्दो रहेछ।
'हजुरको जिएफ छ होला नि केटिएममा?' आफ्नो सल मिलाउँदै सन्ध्याले सोधिन्।
'छैन' समीरले उत्तर दियो।
'किन नि? हेर्दा त ठीकठाक नै होइसिन्छ नि.'
'ध्यान नै गएन कहिल्लै त्यता तिर। तिम्रो छैन कोही?'
'थियो।'
'अनि?'
'छोड्नुस न यो कुरा, आइ डन्ट केयर।'
समीर धेरै गहिराइमा जान चाहेन। उसलाई आफ्नै मनको पीरले खाइरहेको थियो। सन्ध्या धेरै ठट्यौली वा धेरै भाउ दिने स्वभावकी अवश्य थिइनन्। त्यसले गर्दा संवादमा केही अपुग-अपुग लागिरहेको थियो समीरलाई। तापनि सन्ध्याले बोल्ने प्रयत्न नगरेको पनि हैन। सायद मायामा शब्दको गन्ती नहुँदो रहेछ, जति खर्चेपनि अपुग।
समीरले बोल्ने प्रयत्न गर्दै भन्यो- 'अनि'
संवादमा सबैभन्दा गरुङ्गो र हलुङ्गो शब्द भनेकै 'अनि' रहेछ। यसको उत्तर कसैसँग हुँदैन तर पनि कुराकानीलाई हरबखत जीवित राख्न अमृतको काम गर्दछ।
'हजुर भन्नु न।'
'मैले धेरै चोटि तल माथि गरेँ, तर यो यात्रा मेरो लागि सदैव यादकार रहिरहनेछ' समीरले भन्यो।
'तिम्रो धेरै याद आउनेछ सन्ध्या।'
'मलाई पनि' सन्ध्याले उत्तर दिइन्।
'तर तपाईँलाई मेरो याद अवश्य आउँदैन। यो त केटाहरूको डायलग मात्र हो' उनले थपिन्।
'सबै केटा त्यस्तै हुन्छन् भन्ने पनि छैन' समीरले आफ्नो बचाउ गर्दै भन्यो। 'अनि मैले तिमीसँग झुट बोलेर के नै पाउँछु र?'
'मैले गाँजरको हलुवा एकदमै मिठो बनाउँछु। एक दिन हजुरलाई खुवाउँला मौका परे' भन्दै कुरा अर्कैतर्फ मोडिन् सन्ध्याले।
'हस्। कुरा मोड्न कस्तो जानेकी है तिमीले' समीरले फर्कायो।
रातिको ३ बजिसकेको थियो, तर पनि दुई जना निदाउन सकेका थिएनन्। सन्ध्या चिसो हावाले जाडो मान्दै, अलि-अलि कापिरहेकी थिइन्। समीरकी आमाले उसका लागि झोलामा ओड्ने सल हाल्दिनु भएको थियो। उसले आफ्नो झोलाबाट सल निकाल्दै, सन्ध्यालाई दुवैतिरबाट ओडाइदियो। सन्ध्याले नाइँ भन्न सकिनन्।
'थ्याङ्क्यू वकिल साब।'
'अब सुत्नुस् म्याडम, धेरै राति भइसक्यो, नत्र भोलि बिरामी हुनुहोला।'
'अनि भोलि मेरो यसरी ख्याल राख्ने नि कोही हुने छैन' भन्दै उदास भए जस्तो गरिन् सन्ध्याले।
दृश्यभन्दा अदृश्य माया अधिक बलियो र मीठो हुँदो रहेछ। त्यैभएर होला समीर र सन्ध्याका बीचमा केही नभएर पनि छुट्टै मिठास थियो। त्यो मिठास सायद कुनै कथित कथाका मोहिनी युक्त जोडीभन्दा सरस र सार्थक थियो। समाजका लागि यो मिठास बैँसको गन्ध होला, रुखको हाङ्गामा पलेको क्षणिक सुकेको पात होला। तर समीरका लागि त यो इन्दुको कान्ति थियो, जति भोग गर्न खोजे पनि अपुग।
बिहानको ६ बजिसकेको थियो, सबै निन्द्रामा मग्न थिए। बसमा गीत बज्न थालिसकेको थियो,
'मेरा दिल भि कितना पागल है, कि प्यार जो तुम्से करता है।'
बिहानै भएकाले चितवनको घामलाई पन्छाएर मसिनो हावा चलिनैरहेको थियो। बस हातमुख धुन, चिया पिउन चितवनमा केहीबेर रोकियो। बाहिर हातमा तितोरा समातेर बसेकी सन्ध्या सामु दुई गिलास चिया बोकेर आयो समीर।
'कस्तो मीठो चिया' सन्ध्याले भनिन्।
'तिमी त मोडर्न केटी जस्ती छ्यौ, कफी खाने टाइप की' समीरले ठट्यौली पारामा भन्यो।
'अब चिया कफी नि थोप्डा, जिउँडाल हेरेर हुन्छ र भन्या? नचाँहिदो कुरा' सन्ध्याले जवाफ फर्काइन्।
'मलाइ भेट्न आउँदिनौ कहिल्यै?'
'समयले हामीलाई मिलाउन खोज्यो भने अवश्य' सन्ध्याले उत्तर दिइन्।
'यदि तिम्रो अनि तिम्रा गफगाफको याद आयो भने कसरी मेटाउनु त्यो तिर्सना' समीरले भन्यो।
सन्ध्याले समीर तिर हेर्दै भनिन्, 'खै हजुरको मोबाइल दिनुस् त'।
'हिजो राति घरतिर हावाहुरी चलेर, बत्ती नै थिएन। त्यसैले ब्याट्री डाउन छ मेरो मोबाइलको' समीरले निन्याउरो अनुहारका साथ भन्यो।
'सायद हाम्रो मेल नहुने लेखेको छ। मैले फेसबुक नि चलाउदिनँ, देखावटी समाज अनि समयको बर्बाद' सन्ध्याले दु:ख पोखेझैँ भनिन्।
केही समय दुवै चुपचाप बसिरहे। अनि आफ्नो ल्यापटप ब्यागको अगाडिको खल्तीबाट कलम निकाल्दै, समीरलाई आफ्नो हात अगाडि बढाउन अनुरोध गरिन्। उसको हातमा आफ्नो नं. लेख्दै भनिन्, 'प्रतीक्षामा हुनेछु।'
'हस् म्याडम' आशा लाग्दो मुस्कान सहित समीरले भन्यो।
समय धेरै थिएन वा मानौ पर्याप्त समय थियो। सन्ध्याका तर्फबाट पनि समीरका लागि सकारात्मक भावना नै थियो जस्तो लाग्थ्यो। एकअर्काका वचन अनि मायाका लहरहरूले दुवैको मन भरिभराउ थियो। विपी कोइरालाले सुम्निमामा भनेझै 'मन भरिपूर्ण भएपछि, शब्द निरर्थक हुँदो रहेछ।'
दुवै शान्त थिए। यात्रा समाप्त हुनमा धेरै समय बाँकी थिएन अब। समीरका मनमा केबल एउटा ख्याल मात्रै थियो, बसको यात्रा टुङ्गे पनि जीवनको यात्रा चलिरहोस्, सदासदा कालसम्म।
९ बजे नौबिसेमा केही क्षणका लागि रोकेको बस पुनः गन्तव्य तर्फ लाग्यो। समीरले २ प्याकेट कुर्कुरे र लेज अनि पानीको बोतल किनेर ल्याएको थियो। सन्ध्या समीर दुवै मौन थिए। बाहिर सिमसिमे पानी परि नै रहेको थियो। दुई जनाका बीच धेरै बोल्न केही बाँकी पनि थिएन।
घर परिवारका कुरा देखि लिएर, आफ्नो जीवनका धेरै कुरा एकआपसमा बाढिसकेका थिए। सन्ध्याका बुवा र आमाबीच मेल नभएर सानैबाट होस्टेल बस्दै आएकी रैछिन्। आफ्नो दिदीको बिहेका लागि धेरै पछि घर आएकी थिइन्।
अन्तत: धादिङको उकालो अनि थानकोटको जाम पछ्याउँदै, सपना अनि वेदनाको सहर काठमाडौँ आइपुग्यो। जति रफ्तारका साथ बस सहर पुग्यो, त्यही रफ्तारका साथ समीरको मुटु कापिरहेको थियो। उ टाढा हुन चाहन्नथ्यो सन्ध्याबाट। उसलाई अन्त्य चाहिएको थिएन यस यात्राको। तर प्रकृतिको नियम हो, सुरु भएसी अन्त्य आवश्यक हुन्छ।
बसबाट समान निकाली दुवै जना छुट्टिन बाध्य भए। काठमाडौँमा मुसलधारे पानी बर्सिरहेको थियो। समीरलाई कीर्तिपुर अनि सन्ध्यालाई धुलिखेल जानुपर्ने हुनाले दुवैले छुट्टाछुट्टै गाडी खोजे।
'हस् वकिल साब, मौका जुरे फेरि भेटौँला' भन्दै पहिलो र सायद अन्तिम अंकमाल गर्न सन्ध्या अघि सरिन्।
बाई त कहिल्यै भेट अनि सम्झना नहुने मान्छेलाई पो भन्छन् भन्दै समीरले केही नबोली सन्ध्यालाई ट्याक्सी चडाई आफू पनि कोठातिर लम्क्यो। पानी झन् जोर जोरले बर्सिन थाल्यो। गाडीबाट सामान निकाल्दै, भिज्दै गल्ली-गल्ली कुदेर कोठासम्म पुग्यो।
उसको मन बसबाट अझै टाढिन सकेको थिएन। बस अनि सन्ध्यालाई सम्झिदै, आफ्नो हातबाट मोबाइलमा नं. सार्न खोज्दा बल्ल सम्झना आयो। तर अफसोच, पानीको भेलले हातमा भएको नम्बर पनि धुमिल बनाइसकेको थियो। समीरले लाख प्रयास गर्यो, ती धुमिल अक्षरहरू चिन्न, तर उसको दिमाग तिरमिराइरह्यो, बस् तिरमिराइरह्यो।
अनि मनमनै मनोभाव गर्न थाल्यो, कतै मेरो सन्ध्यासँगको मिलन यस्तै धुमिल हुने त हैन। सन्ध्यासँग काठमाडौंमा भेट्ने र आफ्नो नवीन समयको सारथी बनाउने उसको चाहना र हालसालै सजाइसकेको सपनामा समेत ब्रेक लागेको त हैन?
दुई हप्तासम्म समीर एकोहोरो भइरह्यो आफ्नो सोचाइ र आफ्नो लापरबाहीमा। सन्ध्यालाई कसरी भेट्ने भनेर उसले कुनै भेउ पाउन सकेन। 'पक्कै पनि सन्ध्या मेरो फोन कुरेर बसेकी हुनुपर्छ। कति छट्पटाइरहेकी होलिन् उनी।'
'होइन होइन, मैले जस्तै उनले नठानेकी पनि हुनसक्छे। डाक्टर मान्छे, पढाइ नै अफ्ठ्यारो हुन्छ भन्छन्, पक्कै पनि उ बिर्सिसकेकी हुनुपर्छ मलाई, पढाइको पेलानले।'
समीर आफूसँगै अन्तर्द्वन्द गरिरहेको थियो, सन्ध्याको मनोभावलाई लिएर। 'तर उसले कति चित्त दुखाएकी थिइन् छुट्टिने बेलामा। फेरि आफ्नै हातले मेरो हातमा स्पर्श गर्दै आफ्नो नम्बर नोट गरेकी थिइन्, फोन गर्नु ल भन्दै। फेरि मसँग बोल्न पनि त लालायित भएकि थिई उ, मैले केही नभन्दै। विचरी, कति दुखेको होला उसको मन मेरो प्रतीक्षामा।
म कसरी अमानवीय हुनसक्छु यसरी। सन्ध्याका कारण म विचलित हुँदिनँ, कदापि हुँदिनँ' भन्दै समीरले कयौं पटक दृढताका साथ मुठ्ठी बाँधी मनमनै संकल्प गरिरहेको थियो। तर मनका अगाडि बुद्धि के नै पार लाउन सक्थ्यो र?
अन्तत: यो अन्तर्द्वन्दको ज्वारभाटाबाट उसले निस्कर्ष निकाल्यो। समीर सन्ध्यालाई भेट्न भोलिपल्ट बिहान धुलिखेल नै जाने भयो।
समीरको मन चञ्चल थियो। कतिखेर सूर्योदय होला भनेर उसको कौतुहलताले सीमा नाघ्न आँटेको थियो। 'मलाई अकस्मात् आफ्नो कलेज वरिपरि देख्दा सन्ध्या कति प्रफुल्लित हुँदी हुन्। मैले के भनेर बोलाउँला उसलाई। उसका साथीहरूले देखे भने त हामीलाई जिस्काउँदै बस्छन् होला है। सन्ध्या त लाजले भुतुक्क हुन्छे होला। खैर, भोलि सन्ध्यालाई आफ्नो मनको कुरा पखालि छोड्छु र यी दुई मनलाई एक बनाउने मेरो अन्तर्यको भावलाई पछ्याइछाड्छु।'
बिहान हुने बित्तिकै समीर चिरिच्याट्ट भयो। भिनाजुले अघिल्लो महिना इन्डोनेसियाबाट ल्याइदिएको पर्फ्यूम छर्कियो र आफ्नो बाइक स्टार्ट गर्यो र वेगवान कुदायो अरनिको राजमार्ग हुँदै धुलिखेल।
चौकोटको डाँडो अगाडि समीरले आफ्नो बाइक रोक्यो। विडिएस्को पढाइ त्यही हुन्छ भन्ने बुझेको थियो उसले। सेतो कोट लगाएका युवाहरू ओहोरदोहोर गरिरहेको देख्थ्यो क्याम्पस परिसरभित्र। मनमनै गुन्न थाल्यो समीर पनि।
'उ सेटो कोट, म कालो कोट, कस्तो सुहाउँथ्यो होला है हाम्रो जोडी' अनि मनमनै धन्यवाद पनि दियो भगवानलाई, सन्ध्यासँग भेट गराइदिएकोमा। अघि बाटोमा आउँदा उसले किनेको रातो गुलाफ तर्फ नजर डुलायो, कोटको खल्तीमा सुरक्षित राखेको थियो सन्ध्यालाई दिन।
सन्ध्याको कुराइमा समीरले दिनभरिको भोक र समय गएको प्रतित, सबै बिर्सिसकेको थियो, र एकटक आँखा तेर्स्याइरहेको थियो क्याम्पसको गेटतिर, सन्ध्याको प्रतिक्षामा।
करिब ४ बजेतिर हुलका हुल सेतो कोटमा सजिएका विद्यार्थीहरू गेटतर्फ आउन लागे। समीरको मुटु झन् रफ्तारसँग बढ्न थाल्यो। अब आउँछिन् होला सन्ध्या भन्दै आँखा तिखा पारिरह्यो। विद्यार्थीहरूको लहर गेट छिचोल्दै कोही पूर्वतर्फ लागे, कोही काठमाडौँ फर्किने बाटोतिर डोरिए।
सेता कोटधारीहरू आउने क्रम पातलिदो थियो। आक्कल-झुक्कल मात्र देखिन थाले कोहीँकोहीँ। अब भने समीरको मनमा चिसो पस्न थाल्यो। कतै सन्ध्या क्याम्पस आएकै छैन कि? समीरको मुटुको धड्कन झन्झन् बढ्दै थियो र सँगै बढ्दै थियो उसको डर।
'घ्वार्र...घ्वारघ्वारघ्वार...' बुलेट बाइकको जस्तो आवाज लाग्ने गरी एउटा बाइक गेटबाट बाहिर आइरहेको थियो। बाइक आफू नजिक आउँदा उसले स्पष्ट चिन्यो। कुनै ठूला जगल्टा अनि जुँगादारी पालेको पुरुषले बाइक चलाइराखेको थियो, पछाडि सेतो कोट लगाएकी सन्ध्या बसेकी थिइन्।
बाइकले गेट पार गर्यो र समीरको नजिकै आयो। सन्ध्याको नजर पनि समीरको दर्दनाक अनि त्यै पूरानै मोहिनी लाग्दा आँखामा पर्यो। केही क्षण हेरेपनि, सन्ध्याले पुलुक्क अनुहार विपरीत दिशा तर्फ फर्काइन्। समीरको मुहारको मधुर मुस्कान, कालो भएको पत्तै भएन।
'सन्ध्या, सन्ध्या' भन्दै बोलाएको पनि नचिने जस्तै गरी एक पटक पनि पछाडि फर्किनन्।
समीरका मनमा कुनै शब्द थिएनन्, न त थिए उसको मनमा कुनै भाव। उ केवल सन्ध्याकै बाटो हेरिरह्यो। उसले यतिका दिनदेखि देखेका सपना टुक्राटुक्रा भएको हुनाले होस् अथवा मनमा खेलिरहेका माया तथा सम्झनाका वेगले, उ शीतल श्वास लिन पनि सक्षम भैइरहेको थिएन। समीर त्यहीँ थकित रहिरह्यो।
समीरलाई अझै पनि सन्ध्या प्रति कुनै क्रोधको भावना जागेको थिएन। आफैँलाई दोषी ठान्छ उसले, सन्ध्याले त अपेक्षा राख्न भनेकी पनि थिइनन्। त्यही पनि यतिका दिन केही नसोची 'जीवनमा एउटा मान्छे खास हुँदो रहेछ, माया गरोस् नगरोस् आश हुँदो रहेछ' भनेझैं समीर आफ्नै सपनाका लहरहरू सजाइबसेको छ।
(लेखक पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्।)