सम्झौता पत्रमा
सायद सर्तहरु पढिन मैले
हुनसक्छ मनन गरिन मैले
खाली पानीमा औँला चोबेँ
सन्धीपत्र अर्कैले पढिरह्यो
म एकोहोरो प्रेममा डुबिरहेँ
त्यही सन्धीको निहुँ पारेर!
म उकाली चढिरहेँ
जुन हेर्दै-हेर्दै
पाइला फेर्दै-फेर्दै
बादल आएर जब पर्दा लगायो
भुइँमा खुट्टा टक्क अडिए
मैले उकालीको निहुँमा
ओराली झर्न बिर्सेछु
यतिसम्म बिर्सेछु कि
ओरालीमा साथ दिन ती दुई पाइलासँगै रहने छैनन्
भुलक्कड कसरी हुनसक्छु म?
सवालहरु बिना जवाफ उर्लिरहे
पारि पाखामा एकनासले रोइरह्यो न्याउली
त्यस्लाई के थाहा?
रुन नसक्नुको पीडा पनि त बेग्लै छ!
तातो रातो रगत म भित्र बग्दै गर्दा
तिमी चिसो भैसकेछौ भन्ने खबर पाएँ
घर छेवैको डिलबाट
तिमी झर्दै गरेको अन्तिम दृश्य सम्झेँ
उफ् म कति बुद्धु होला
त्यो पाइलाहरु संगालेर किन राखिन आखिर?
देशलाई काँधमा बोक्दै हिँडेको तिमी
आज तिमीलाई बोक्न केबल देशको माटो उभिएको थियो
साथ भनेको त यस्तो पो त!
छेवैमा उभिएका दुई/चार हुल मान्छे
ढल्ने दिनको प्रतिक्षामा
केवल आस्थाको एउटा खोल ओढिरहेका थिए
जिन्दावाद! मुर्दावाद्!
वादहरु सकिएपछि
मान्छेका वातहरु पनि सकिए
विस्तारै सकिए!
आगोको रापिलो ताप!
अलिकति खरानी जुनको लागि उड्यो
केही मेरा सिउँदो खोज्दै हावामा बरालिए
माफ गर प्यारो मान्छे!
त्यसपछि मलाई मान्छे भैरहन मन लागेन!!